शनिबार, वैशाख १५, २०८१

दसैँ बिदामा सुदूरपश्चिममा घुम्नलायक ठाउँ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुदूरपश्चिममा यस्ता धेरै ठाउँ छन् जहाँ दसैँ बिदामा आन्तरिक पर्यटकले भरिभराउ हुन्छन्। 
कामको सिलसिलामा घरबाहिर रहेकाहरु दसैँमा घर फर्किंदा नजिकका पर्यटकीय स्थलमा घुमफिर गर्छन्। छोटो अवधिको घुमफिरका लागि सुदूरपश्चिममा हिमालका टाकुरा, हरियाली पहाड, उपत्यका, भित्री मधेस र तराईका फाँटलगायत थुप्रै ठाउँ छन्। दसैँ बिदामा घुम्न लायक उपयुक्त प्रमुख गन्तव्य यस्ता छन् :

कैलाली 
तराई र पहाडी भूभागसमेत रहेको कैलालीमा पर्यटक लोभ्याउने थुप्रै स्थल छन्। नेपालकै लामो नदी कर्णाली र दक्षिण एसियाकै नमुना एकखम्बे पुल सुदूरपश्चिमलाई काठमाडौंसँग जोड्ने प्रमुख द्वार हो। कर्णाली नदीका ताजा माछाको स्वाद चाख्न र ¥याफ्टिङको आनन्द लिन यो स्थल उपयुक्त मानिन्छ।

टीकापुर पार्क 
२०२८ सालमा तत्कालीन राजा महेन्द्र एक महिना बसेको स्थल हो टीकापुर पार्क। ५ बिघामा फैलिएको यो पार्क स्विट्जरल्यान्डको लक्साल सहरको नक्साअनुरुप रेखाङ्कन गरिएको छ । यहाँ ८० प्रकारका गुलाब फूल र विभिन्न प्रजातिका बिरुवा पाइन्छन्। 

घोडाघोडी ताल

पूर्वपश्चिम राजमार्गसँगै जोडिएको विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी ताल पनि कैलालीको महत्त्वपूर्ण पर्यटकीय स्थल हो। जिल्लाको मध्यवर्ती क्षेत्रमा अवस्थित यो ताल दुई हजार पाँच सय ६३ हेक्टर क्षेत्रफलमा हातको पञ्जा आकारमा फैलिएको छ । यो तालका १९ वटा उपताल छन् । यहाँ दुई सय ४५ प्रजातिका चराचुरुङ्गी, गोही, पानीहाँस, जंगली धान पाइन्छ । 

भादा होमस्टे 
धनगढी उपमहानगरपालिका–१६ को भादगाउँ थारू जीवनशैली र संस्कृतिका लागि प्रख्यात छ। थारू समुदायको जनजीवनलगायत विशेष खानेकुराका परिकारहरुले भादागाउँ होमस्टेले पर्यटकको मन लोभ्याउँछ। धनगढीबाट भादागाउँ १७ किलोमिटर टाढा पर्छ । पूर्वपश्चिम राजमार्गको चौमाला खण्डको राजीपुरबाट सात किलोमिटर दुरीमा रहेको यो गाउँ धनगढी बजारदेखि २० किलोमिटर पूर्वमा पर्छ । 

खानीडाँडा
चुरे नगरपालिकाको खानीडाँडा प्राकृतिक रुपमा मनोरम स्थल हो। चिसो मौसममा गर्मी र गर्मी मौसममा चिसो अनुभव गर्न पाइने खानीडाँडाबाट पहाडका रमणीय दृश्य देखिन्छ । कैलालीको गोदावरीबाट २२ किलोमिटरमाथि अवस्थित खानीडाँडा प्रायः गर्मी मौसममा गर्मी छल्न आन्तरिक पर्यटक आउँछन्।  चुरे शृंखलाको सबैभन्दा उच्च भागमा रहेको खानीडाँडाबाट सैपाल हिमाल देखिन्छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

कञ्चनपुरमा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रमुख पर्यटकीय स्थल हो। यहाँ बाह्रसिङेको बथानले धेरैको मन लोभ्याउँछ । निकुञ्जभित्र जिप ड्राइभ, हात्ती सफारी र जंगलवाक गर्न मिल्छ । यहाँ बाघलगायत अन्य जीव–जन्तु पनि प्रशस्त पाइन्छन्। दिउँसो तीन बजेभित्र आरक्ष प्रवेश गरेर घाम नडुब्दै बाहिरिनुपर्ने नियम छ। निकुञ्जभित्र साना–ठूला धेरै फाँटा छन्। हीरापुर फाँटमा कृष्णसार संरक्षण गरिएको छ। आरक्षमा हात्ती सफारी गर्न पाइन्छ । निकुञ्जमा ताराताल, रानीताल, बठनिया ताल, बाउन्नेताल, सिकारीताल, सलगौडी ताल र बाबा ताल छन्। 

लिंगा 
बेतकोट नगरपालिकामा अवस्थित लिंगा पछिल्लो समय कञ्चनपुरको पर्यटकीय स्थल बनेको छ। दैजीबाट ५ किलोमिटर उत्तरमा पर्ने शिवलिंगको स्वरुप जस्तै पहाडका डाँडा भएकाले यसलाई लिंगा भनिएको हो। मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ पर्यटक यहाँ जाने गरेका छन्। 

झोलुंगे पुल
नेपालकै सबैभन्दा लामो दोधाराचाँदनी झोलुंगे पुल कञ्चनपुरमै पर्छ। महाकालीपारिका दोधारा र चाँदनीलाई जोडेको पुल हेर्न र घुम्न धेरै पर्यटक पुग्छन्। कैलाली र कञ्चनपुरका जुनसुकै स्थानबाट पनि बिहान गएर दिनभर अवलोकन गरी बेलुकी घर फर्किन सकिन्छ। 

डडेल्धुरा

डडेल्धुरा प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्व बोकेका सम्पदाहरुको धनी जिल्ला हो। उग्रताराको मन्दिर र घटाल बाबाको मन्दिर, भागेश्वर, जोगबुडा उपत्यकामा रहेको परशुरामको मन्दिर यहाँका प्रमुख धार्मिक स्थल हुन्। डडेल्धुरा पुग्नेहरुको पहिलो रोजाइ उग्रतारा मन्दिर हुन्छ। यो सुदूरपश्चिमकै ठूलो शक्तिपीठ हो। 

अमरगढी किल्ला 
अमरगढी ऐतिहासिक किल्ला हो। ऐतिहासिक दृष्टिले यो किल्ला महत्त्वपूर्ण मानिन्छ। किल्ला अवलोकन गर्न पनि पर्यटकको घुइँचो लाग्छ।

अजयमेरुकोट 
अजयमेरु गाउँपालिकामा रहेको अजयमेरुकोट दरबार छुट्टै इतिहास बोकेको स्थल हो। यहाँ पुराना कला र शैलीमा निर्माण गरिएका नौला, देवलको भौतिक र प्राचीन धरोहर अवलोकन गर्न सकिन्छ। रहनसहन तथा परम्परा, चिसो वातावरण यहाँका मुख्य आकर्षण हुन्। 

डोटी
डोटीमा प्रसिद्ध तीर्थस्थलहरू शैलेश्वरी, ध्रुवेश्वर, योगेश्वर, कालभैरव, ठूला केदार र पाँचवटा गुफा घुम्न लायक ठाउँ हुन्। 

शैलेश्वरी मन्दिर
शैलेश्वरी मन्दिर सुदूरपश्चिमै प्रमुख धार्मिक स्थलको हो। यहाँ प्राचीन कालदेखि हरेक वर्ष जेठ र कात्तिक पूर्णिमामा लक्ष हवन महायज्ञ हुँदै आएको छ। जिल्लाका विभिन्न ठाउँबाट दसैँको बिदामा सदरमुकाम आउने र शैलेश्वरी माताको दर्शन गर्नेहरु अत्यधिक हुन्छन्। 

बैतडी
बैतडी धार्मिकस्थलको निकै धनी जिल्ला हो। त्रिपुरासुन्दरी, निंगलासैनी, मेलौली र डिलासैनी, भगवती मन्दिर, जगन्नाथ प्रसिद्ध मन्दिर हुन्। भूमेश्वर महादेव गुफा, पाटनको ठाकुर उदयदेव मन्दिर, कृष्ण मन्दिर, शिवनाथ पर्यटकका लागि आकर्षक स्थल हुन्। 
तल्लो स्वराडअन्तर्गत पर्ने महाकाली नदी र सुर्नया नदीको बीचमा दीपाकारजस्तै बनेको मेलौली मन्दिर धेरै पर्यटकको रोजाइ बनेको छ। मेलौली तल्लो स्वराडको मध्य क्षेत्रमा बैतडी सदरमुकामबाट १२ कोस टाढा अर्थात् एक दिन पैदल दूरीमा पर्दछ । समुद्री सतहबाट १७ सय मिटर उचाइमा रहेको यहाँको हावापानी बाह्रै महिना समशीतोष्ण रहन्छ ।।


तपोवन
प्राचीन समयमा ऋषिमुनिले कष्टसाध्य तपस्या गरेर लोकहितका अनेक क्रियाकलापका लागि शिव–पार्वतीलाई खुसी तुल्याएको क्षेत्र मानिन्छ तपोवन । यो सँगै राष्ट्रकै सातौं धामको मान्यता पाएको मालिकार्जुनको बासस्थान हो भने शैल्यशिखर व्रतालुकका लागि तपोभूमिका रुपमा वर्णित छ ।
निंगलासैनी 
देहीमाडौंमा अवस्थित निंगलासैनी मन्दिर सुदूरपश्चिम प्रदेशको अर्को प्रमुख मन्दिर हो। मन्दिरमा बडादसैँ र चैते दसैँमा राँगा र बोकाको बलि दिने चलन छ। यस मन्दिरमा टाढाटाढाबाट भक्तजन र पर्यटक आउने गर्छन्। पाताल भूमेश्वर जस्ता धार्मिक पर्यटकीय स्थल पनि बैतडीमै छन्।

अछाम
अछामको प्रमुख पर्यटकीय क्षेत्र हो रामारोशन। ‘बाह्र बण्ड, अठार खण्ड’ का नामले चिनिने यस क्षेत्रका बाह्रवटा ताल र अठारवटा मैदानले पर्यटकको मन लोभ्याउँछ। उच्च पहाडी भूभागमा ठूलठूला समथर मैदान र ताल भएको प्राकृतिक दृष्टिकोणले अत्यन्तै रमणीय यस ठाउँमा १२ प्रकारका गुराँस र राष्ट्रिय चरा डाँफे पाइन्छ।
रामारोशनमा गुफा र झरना छन् । यहाँको मुख्य मैदान किनिमिनी, रामे र रोशन हुन्। असोजदेखि मंसिर र फागुनदेखि जेठसम्म घुम्नका लागि उपयुक्त समय मानिन्छ। दसैंको बेला घर आउनेहरु रामारोशन घुमेर मात्र फर्किन्छन्। बान्नीगढी, वैद्यनाथ, त्रिचे, तितौडा लगायत पनि पर्यटकको रोजाइमा छन्। 

बाजुरा
प्रसिद्ध धार्मिक स्थल बडीमालिका रहेको बाजुरामा बूढीनन्दा र छेडेदह पनि घुम्नलायक ठाउँ हुन्। भूस्वर्गको उपमा पाएको बडीमालिका नेपालकै उत्कृष्ट गन्तव्य हो। भगवान् शिवले लामो समय बसोबास गरेको मानिने बडीमालिका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्वपूर्ण छ। 

दार्चुला,अपी बेस क्याम्प
सात हजार १ सय ३२ मिटर उचाइको अपी हिमालको आधार शिविरसम्म पदयात्रा गर्न सकिन्छ। अपी र नम्पा हिमालसँगै रिङदेपानी, कायाकोर, कालीढुंगा र बबईलगायतका हिउँचुली लहरै छन्। चमेलिया जलविद्युत् परियोजना पनि पर्यटकका लागि आकर्षक स्थल मानिन्छ। 

उँकु दरबार 
पश्चिममा डोटी राज्यको दबदबा रहेका बेला दार्चुलाको महाकाली किनारमास्थित सुरम्य फाँटबाट महाकालीपारिको कुमाउँ र गढवालमा शासन गर्ने पालवंशी राजाहरुको दरबार आन्तरिक पर्यटकका लागि उपयुक्त स्थल हो। 

गोकुलेश्वर
दार्चुला र बैतडीको सीमा छुट्याएर बग्ने चौलानी नदीको किनारमा अवस्थित सुन्दर नगर गोकुलेश्वर अर्को पर्यटकीय स्थल हो। 

खप्तड
बझाङ, बाजुरा, डोटी र अछामको संगमस्थलमा रहेको खप्तड घुम्ने उयुक्त समय पनि यही हो। चारवटै जिल्लाका आन्तरिक पर्यटकबाहेक बाहिरबाट पनि दसैं र तिहारका समयमा खप्तड घुम्न आउनेको संख्या धेरै हुन्छ। त्रिवेणी मन्दिर र त्यस वरपर २२ वटा पाटन निकै रमणीय छन्। 
खप्तड राष्ट्रिय निकुञ्ज विश्वमै अति दुर्लभ दलदले घाँसेमैदान हो। चारैतिर धुपीसल्लाको घारीबीचमा रहेको पाटन, रङ्गिविरङ्गी फूलहरू, दह, त्रिवेणी, नागढुङ्गा, खप्तडबाबाको आश्रम सुन्दर घनघोर जंगल खप्तडको विशेषता हो। खप्तड बाबाको तपस्या स्थल भएकाले पनि खप्तडको महत्व झन बढेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।