मंगलबार, चैत १८, २०७६

विचार

‘यो लोकतन्त्रको आत्मा छैन, शरीर मात्र छ’ 

‘यो लोकतन्त्रको आत्मा छैन, शरीर मात्र छ’ 
तस्बिर साभार: नेपाली टाइम्स

नेपालमा प्रजातन्त्र आयो, लोकतन्त्र आयो, गणतन्त्र आयो, संघीयता पनि आयो । बेहोर्न सक्छौं–सक्दैनौं आफ्नो ठाउँमा छ । तर कताकता के हराए, के हराए जस्तो लाग्छ । लोकतन्त्र त छ तर, जीवन्त छैन ।

विश्वकै लोकतन्त्र अव्यवस्थित छ अहिले । सत्ताधारीहरुले लोकतन्त्रलाई आफूअनुकूल प्रयोग गरिरहेका छन् । भारतले सात दशक भयो लोकतन्त्रको अभ्यास गरेको । कतिपय कुरा हामीले पनि ग्रहण गरेका छौं भारतबाट । त्यो मुलुकको अवस्था अहिले हेरिनसक्नु भएको छ, लोकको दृष्टिबाट हेर्दा।

नेपालकै विगत हेरौं। अवधारणा र अभ्यास फरक छ। भारतमा जस्तो हामीले निरन्तर लोकतन्त्रको अभ्यास गर्न पाएनौं । २००७ सालमा प्रजातन्त्र आएको केही वर्षमै ०१७ साल आइहाल्यो । ०४६ सालमा बहुदल आयो, फेरि राजाले हत्याइहाले।

हामीकहाँ लोकतान्त्रिक भनिने पार्टीभित्र नै लोकतन्त्र छैन । लोकतान्त्रिक संस्कृति नै नबस्ने। पाएको म्यान्डेट पनि पूरा गर्न नसक्ने। पार्टीभत्र कलह, अन्तरपार्टी कलह। सधैं अस्थिरता।

यही अस्थिरताकै सेरोफेरोमा माओवादी युद्ध सुरु भयो। ०४६ सालमा चार महिनामा संविधान बनाइयो, म आफैं पनि सहभागी थिएँ। पञ्चायत अन्त्य भयो, बहुदल आयो, त्यतिलाई नै पर्याप्त ठान्यौं हामीले । त्यसपछि के भनेर विचार गरिएन।

बहुदल आयो सबैको भलो हुन्छ भन्ने ‘भेग’ सोच मात्र थियो । कमा, फुलस्टप पनि परिवर्तन गर्न हुँदैन भन्ने थेगो थियो नेताहरुको । संविधान संशोधन जटिल थियो । तत्कालीन मुद्दामात्र समेटियो । विविधताको सम्बोधन भएन । उपेक्षित समुदायले केही पाएनन् । अर्थतन्त्रबाट पनि राहत पाउने अवस्था थिएन । यही अवस्था माओवादीका लागि मलिलो माटो बन्यो । अस्थिरताका बीच राजाले पनि टाउको उठाउन पाए।

फेरि आन्दोलन भयो । राजा फालिए । संविधानसभा गठन भयो तर पनि अस्थिरता उस्तै । संविधान बन्न ८ वर्ष लाग्छ कहिँ? त्यो पनि जनताले सहे । संक्रमणकाल भनेर भागवण्डाको राजनीति चलिरह्यो ।

अहिले दुईतिहाइको सरकार बन्यो। स्थिरता खोजे जनताले। विकास होस् भन्ने चाहे। अवस्था के छ, हामीले भोगिरहेकै छौं ।

हेर्दा हृष्टपुष्ट छ लोकतन्त्र। सबै अंग पुगेको छ। संविसधानसभाबाट जनता आफैंले संविधान बनाएका छन् । सार्वभौम संसद छ। संसदप्रति उत्तरदायी निर्वाचित सरकार छ। स्वतन्त्र न्यायापालिका छ। संवैधानिक अंगहरु छन्। मोटो न मोटो संविधान छ। संविधानले सबै अधिकार प्रत्याभूत गरिदिएको छ। योभन्दा हृष्टपुष्ट लोकतन्त्र होला त कतै? तर यो लोकतन्त्रको आत्मा छैन, शरीरमात्र छ ।

विश्वमा पनि यस्तै अवस्था छ । ओल्टाइपल्टाइ त्यही कुराहरु गरिरहने हो। छिमेकमै हेरौं न । ७ दशक लामो लोकतन्त्रमा पनि जनता प्रताडित छन् । दमन भइरहेको छ । सत्ताको चरित्र त्यस्तै हुन्छ । लोकतन्त्र भनिए पनि लोक चाहिँ जहिले पनि पाखामा पर्छ।

कुनै पनि मुलुकले हामी लोकतान्त्रिक छैनौं भन्दैन । पञ्चायतलाई पनि प्रजातान्त्रिक नै दाबी गरिन्थ्यो ।

विश्व परिवेश हेर्दा एकातिर जनता आन्दोलित छन् । अर्कोतिर लोकतन्त्रलाई पुँजीवादको पर्याय ठानिँदैछ । यहाँसम्म त ठिकै थियो, यहाँ त बजारवाद आयो। पुँजीवादका त केही गुण छन्। बजारवादमा त जे पनि बिक्ने। पृथ्वी बिक्छ, पर्यावरण बिक्छ। राजनीति पनि बजार भएको छ। किनबेच हुन्छ राजनीति। मूल्यमान्यताको अर्थ के हुन्छ बजारमा? लोकतन्त्रको आदर्श कहाँ पुग्यो?

अमेरिकामा पनि २४० वर्षअगाडि ४ महिनाजतिमै बनाएको हो संविधान । संविधानसभाबाट पनि हैन । त्यो संविधान पनि लोकतान्त्रिक थिएन । पछिसम्म पनि अश्वेत जातिका मानिसले अधिकार पाएका थिएनन् । निरन्तरको बहस, छलफल र संशोधनपछि लोकतान्त्रिक बनेको हो अमेरिकी संविधान ।

नेपालका राजनीतिक नेताहरुलाई के लागेको छ भने दलीय व्यवस्था नै लोकतन्त्र हो । यसैलाई लोकतन्त्रको पर्याय मानियो। दल कसका लागि? नेताका लागि । जनताका लागि होइन ।

शीर्ष नेता पाँच–सात जना बस्छन्, लेनदेन गर्छन् । दलीय व्यवस्था यसरी नै चलिरहेको छ, लोकतन्त्र यसरी नै चलिरहेको छ ।

फेरि पनि कुरा आउँछ आदर्शकै । जटिल मानव समाजमा आदर्श लोकतन्त्र सम्भव छ भन्न खोजेको होइन । तर, प्रयास भने भइरहनुपर्छ । लोकतन्त्रको आदर्शलाई आत्ससात् गर्न नसकेर, नचाहेर, निष्ठा नभएर आदर्श लोकतन्त्र व्यवहारिक हुन नसकेको हो ।

लोकतन्त्र राज्य र राजनीतिको सन्दर्भमा मात्र हैन। यो आदर्शले समाजमा प्रभाव नपारेसम्म राज्य र राजनीतिमा लोकतान्त्रिक पद्धतिको विकास हुन सक्दैन ।

लोकतन्त्र जीवनपद्धति हो। समाजमा विभिन्न सन्दर्भमा हुने क्रिया–अन्तरक्रिया, अभ्यासमा यो आदर्श देखिनुपर्छ । दैनिक व्यवहारमा नै लोकतन्त्र झल्किनुपर्छ । हाम्रो दैनिक आनीबानी नै लोकतान्त्रिक हुनुपर्छ ।

उदाहरणका लागि हामीले सबैभन्दा बढी समय बिताउने घुलमिल गर्ने कहाँ हो ? परिवारमा । परिवारभित्र लोकतन्त्र चाहिन्छ कि चाहिँदैन ? हरेक परिवारको आफ्नै मूल्यमान्यता, पद्धति, संस्कार हुन्छ । सबै सदस्यको आ–आफ्नो स्थान हुन्छ । सबैले आफ्नो दायित्व र कर्तव्य निर्वाह गर्नुपर्छ ।

यही कुरा समाज, राज्यमा पनि लागू हुन्छ । लोकतन्त्र प्रत्येक पिँढीमा नवीकरण गर्दै जानुपर्छ । सात सालको क्रान्तिले अहिलेसम्म खाएर बस्न पाइँदैन ।

(मार्टिन चौतारीले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘नेपालमा लोकतन्त्रको प्राण–प्रतिष्ठा’ विषयक प्रवचन कार्यक्रममा डा. पाण्डेले व्यक्त गरेको विचारको सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस्