आइतबार, चैत २३, २०७६

समाचार समाज

अब रत्न मन्दिर सर्वसाधारणका लागि खुला

1576731036ratna-mandir.jpg

पाेखरा : सरकारले अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसर पारेर पोखरास्थित शाही राजाको दरबार रत्न मन्दिर सर्वसाधारणका लागि खुला गर्ने तयारी गरेको छ।

फेवाताल किनारमा अवस्थित पर्यटकका लागि आकर्षणको सम्भावना बोकेका रत्नमन्दिर र हिमागृह देशमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापनापछि समेत खुला भएका थिएनन्।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पुस १६ गते औपचारिक कार्यक्रमसहित रत्न मन्दिर खुला गर्ने तयारी सरकारको छ। पहिलो चरणमा रत्न मन्दिर र त्यसको केही महिनापछि हिमागृहसमेत खुलाउने योजना छ।

गणतन्त्र घोषणापछि रत्न र हिमागृह नेपाल ट्रस्ट मातहतमा आएको थियो।

रत्न मन्दिरलाई खुला गरेर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने आवाज यहाँका जनप्रतिनिधि तथा पर्यटन व्यवसायीले उठाउँदै आए पनि लामो समयपछि यसले सार्थकता पाउन लागेको हो।

रत्न मन्दिर खुला गर्ने पूर्वतयारी तथा अन्य व्यवस्थापकीय कार्यका लागि नेपाल ट्रस्टका सदस्य सचिव राजेश्वर ज्ञवाली तथा ट्रस्ट सञ्चालक समिति सदस्यको टोलीले चार दिनसम्म पोखरामा रहेर सरोकार भएकासँग छलफल गरेको छ।

टोलीले प्रदेश सरकार, पोखरा महानगर तथा पर्यटन व्यवसायीसँग यसबारेमा छलफल गरेको थियो।

सदस्य सचिव ज्ञवालीले दरबार खुला गर्ने निश्कर्षमा ट्रस्ट पुगे पनि अन्तिम निर्णय भइनसकेको बताए ।

राजधानी पुगेर ट्रस्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग थप छलफल गरेर निर्णय लिइने ज्ञवालीले बताए। दरबार खुला गर्नेबारेमा मन्त्री पोखरेलले नै अन्तिम निर्णय गर्ने बताइएको छ।

ट्रस्टको पोखरा कार्यालयमा कार्यरत ११ जना कर्मचारीबाट नै व्यवस्थापनको कार्य गर्ने तयारी गरिएको छ।

दरबार खुला गर्नका लागि निरन्तर आवाज उठाउँदै आएका सोही क्षेत्रका प्रदेशसभा सदस्य राजीव पहारीले अब खुला गर्ने विषयमा कुनै पनि अवरोध नरहेको बताए।

फेवाताल जलाधार क्षेत्र र रत्न मन्दिर संरक्षणका लागि प्रदेशसभा सदस्य पहारीले चालू वर्षमा पूर्वाधार विकास कार्यक्रमको रु दुई करोड बजेटमध्येबाट रु २५ लाख विनियोजन गरेको जानकारी दिए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले रत्न मन्दिर र हिमागृह खुला हुनुपर्दछ भनेर पर्यटन व्यवसायीले एक दशकअघिदेखि आवाज उठाउँदै आएको बताए।

यी दुई दरबारमा सर्वसाधारणको प्रवेश भएसँगै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाई आधा दिन लम्बाउन सकिने पर्यटन व्यवसायी बताउँछन्।

रत्नमन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो।

तत्कालीन राजा महेन्द्रले यहाँ आउँदा बस्न मिल्ने गरी आफ्नो कान्छी श्रीमती रत्नको नामबाट दरबार निर्माण गरेका थिए। २०१३ सालमा यो दरबारको निर्माण सुरु गरिएको थियो।

त्यसबेला पोखरामा होटल नहुँदा दरबारले विदेशी पाहुनासमेत यहीँ राख्ने गथ्र्यो भने तत्कालीन राजाले यहीँ विदेशी पाहुनासँग भेट गर्ने तथा विभिन्न देशका राजदूतहरूबाट चढाइने ओहोदाको प्रमाणपत्र ग्रहण गर्ने कार्यक्रम पनि यहीँ हुने गर्दथ्यो।

तत्कालीन राजा महेन्द्रका पालामा बनेको दरबारपछि राजा वीरेन्द्रको नाममा आएको थियो। १११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर ट्रस्टको स्वामित्वमा छ।

रत्न मन्दिरको मुख्य भवनमा ११ कोठा छन्। परिसरभित्र प्रशासनिक भवन, फेवातालसँगै तालघर, सैनिक बस्ने ३८ कोठे लामो भवन छ।

-रासस

प्रतिक्रिया दिनुहोस्