काठमाडौं- नेपाल र भारतका प्रधानमन्त्रीले दक्षिण एसियाको पहिलो क्रस बोर्डरका रूपमा रहेको मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको मंगलबार संयुक्त रूपमा उद्घाटन गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित प्रधानमन्त्री कार्यालय र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित कार्यालयबाट स्वीच थिचेर पाइपलाइनको उद्घाटन गरेका हुन्।
भारतीय प्रधानमन्त्री मोदीले सेन्डिङ बटन र काठमाडौंमा प्रधानमन्त्री ओलीले रिसिभ बटन थिथेर पाइपलाइन उद्घाटन गरेका थिए।
पाइपलाइनमा डिजेल तयारी अवस्थामा राखिएको हुँदा बटन थिच्नासाथ डिजेल आउन सुरु गर्ने नेपाल आयल निगमले जनाएको छ ।
२०६१ सालमा नेपाल र भारतबीच भएको सम्झौताअनुसार पाइपलाइन निर्माण भएको हो ।
पाइपलाइन निर्माणमा भारत सरकारको चार अर्ब ४० करोडको आर्थिक सहयोग छ । पाइपलाइनको कूल लम्बाई ६९.२ किलोमिटर रहेको छ, जसमा भारततर्फ ३३.२ किलोमिटर तथा नेपालतर्फ ३६ किलोमिटर छ ।
पाइपलाइनबाट प्रतिघण्टा दुई सय ९४ किलोलिटर पेट्रोलियम पदार्थ आउनेछ। नेपाल आयल निगमको अमलेगञ्ज डिपोमा १६ हजार किलोलिटर भण्डारण गर्ने ट्यांकीसमेत निर्माण गरिएको छ।
अहिले पाइपलाइनबाट डिजेल मात्रै ल्याइनेछ। पेट्रोल र मट्टीतेलका लागि भण्डारणस्थल नबनेकाले पाइपलाइनबाट अहिले डिजेलमात्रै ल्याइने भएको हो।
पाइपलाइन सञ्चालन भएसँगै वार्षिक दुई अर्ब रूपैयाँ बचत हुने बताइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४