शनिबार, वैशाख १५, २०८१

गौहत्या विरोधमा प्रदर्शन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा गौहत्या गर्नेलाई कारवाहीको माग राख्दै प्रदर्शन गरिएको छ । इलेक्ट्रोकोनिक्स बस्तुगत समिति, सुर्खेतले गौहत्याको विरोधमा प्रर्दशन गरेको हो । 
मंंगलगढी चोकबाट निकालिएको र्याली वीरेन्द्रचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । 

कोणसभामा समिति अध्यक्ष भुवन ज्ञवालीले घटना छानविन हुनुपर्ने माग गरे । उनले ठूलाे संख्यामा सुर्खेत हुँदै दैलेख लैजानुको कारण सार्वजनिक गर्न माग गरे । 

नेपालगञ्जबाट दैलेखको श्रीस्थानका लागि लगिएका २४ गाई-गोरु सुर्खेतमा मृत अवस्थामा फेला परेका थिए । नेपालगञ्ज उपमहानगरपालिका– ११, बेतहनीमा काञ्जि हाउसबाट ल्याइएका ३ सय ७० गाई ल्याइएका थिए । दैलेखको श्रीस्थान लैजाने भन्दै सुर्खेतको कटकुवा ल्याइएका १२ गाई तथा ४ गोरु र सुब्बाकुना नजिकै ३ गोरु तथा ५ गाई गरी २४ गाई-गोरु मृत अवस्थामा भेटिएका थिए, जसमध्ये २३ वटामा ट्याग लगाइएकाे छ । 

जिल्ला प्रशासन कार्यालय, बाँकेले ३ सय ७० गाईलाई पास दिनु भनी बर्दिया राष्ट्रिय निकुञ्जलाई पत्र लेखेको भेटिएको छ । तर, सुर्खेत आइपुग्दा भने २ सय ९१ वटा मात्रै सुब्बाकुना चेकपोस्टमा इन्ट्री गराइएको छ । भेरीनजिक ८ गाई–गोरु मृत अवस्थामा भेटिनु र पत्रमा लेखिएभन्दा गाईको संख्या थोरै हुनुले घटना थप रहस्यमय देखिएको छ ।

गाई–गोरु खसाइएको स्थान र घाइते गाईको अवस्था हेर्दा गाडीमा आफै मरेका हुन् वा मारिएका भन्ने पुष्टि भने भएको छैन । यसबारे गाईबस्तुको शव परीक्षण प्रतिवेदन आएपछि मात्रै जानकारी हुने प्रहरीले जनाएको छ । 

यसैबीच, कटकुवामा मृत अवस्थामा भेटिएका १६ गाई-गोरु शुक्रबार साँझ गाडिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगरपालिका र वडा नं.७ का स्थानीय नागरिकको समन्वयमा मृत गाई–गोरु खाल्डोमा गाडिएका हुन् । 

पाँच ट्रकसहित आठ प्रक्राउ

यसैबीच घटनामा संलग्न रहेको आरोपमा पाँच वटा ट्रकका चालक र सहचालक पक्राउ परेका छन् । प्रक्राउ पर्ने चालकहरूमा शत्रुधन चौधरी, दामोदर केसी, सागर बिक, विवेक कुँवर, हिमबहादुर जिसी रहेका छन् । यस्तै, सहचालकहरूमा सरोज विश्वकर्मा, कमलप्रसाद नेपाल र अमृत चौधरी पनि पक्राउ परेका छन् । उनीहरूलाई कटकुवामा गाई छोडेर फर्कदै गरेको अवस्थामा बबईमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यस्तै, पाँच ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय, छिन्चुका इन्सपेक्टर निरज चौलागाईका अनुसार नेपालगन्ज फिर्ता हुँदै गरेका ना५ख ६६७४, ना६ख ४९४९, ना६ख ९१७७, ना६ख ९९०५ र ना६ख १०१५ नम्बरका ट्रकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो चानचुने घटना होइन : मन्त्री केसी

कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीले घटनालाई सामान्य रूपमा लिन नहुने बताएकी छन् । ‘यो चानचुने घटना होइन, दोषीलाई हदैसम्मको कारबाही हुनुपर्छ,’ मन्त्री केसीले भनिन्, ‘यस्ता अपराधिक घटना दोहोरिन नदिन र अपराधीलाई कानुनी दायरामा ल्याउन सबैको सहयोग आवश्यक छ ।’ उनले घटनाबारे प्रहरी, प्रदेश र स्थानीय सरकारले छानबिन गरिरहेको बताउँदै दोषीलाई कुनै पनि हालतमा उम्किन नपाउने जिकिर गरिन् । ‘गाई हाम्रो राष्ट्रिय जनावर हो, यसको हत्या होइन, संरक्षण गरिनुपर्छ,’ उनले थपिन्, ‘घटनामा संलग्न जो भए पनि कानुनको भाग्यदारी हुनेछ ।’

दुई दिनपछि शव परीक्षण प्रतिवेदन आउने

यसैबीच घटनाको सत्यतथ्य जानविनका लागि मरेका गाईको शव परीक्षण गरिएको छ । घटनास्थल पुगेर पशु चिकित्सकको टोलीले गाईको नमुना लिएको छ । वीरेन्द्रनगर नगरपालिकाको पशु शाखाले शव परीक्षणका लागि नमुना लिएको हो । शव परीक्षण प्रतिवेदन आएपछि गाई मारिएका वा मरेका हुन् भन्ने यकिन हुनेछ । तर, शव परीक्षण प्रतिवेदन आउन अझै दुई दिन लाग्ने चिकित्सकले जानकारी दिएका छन् । वीरेन्द्रनगर नगरपालिकाको पशु शाखाका प्रमुख नारायण न्यौपानेले भने, ‘हामीले शव परीक्षणका लागि नमुना संकलन गरेका छौं, विषादी प्रयोगबाट मरेको भए रिपोर्टले बताउनेछ ।’ घाइते गाईको अवस्था पनि दयनीय देखिएको छ ।

तीन वर्ष जेल, ५० हजार जरिवाना

गाईको हत्यामा संलग्नलाई तीन वर्ष जेल र ५० हजार जरिवाना हुने कानुनी व्यवस्था छ । नेपाल कानुन आयोगको पशुपंक्षीसम्बन्धी कसूरको दफा १ मा भनिएको छ– गाई वा गोरु मर्ने, मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्नु वा गराउनु हुँदैन । परिच्छेद २७ को दफा २ उपदफा १ बमोजिमको कामबाट कुनै गाई वा गोरु मर्न गएमा त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुनेछ । त्यस्तै, दफा ३ मा कसैले गाई वा गोरुलाई कुटेर अंगभंग पारेमा निजलाई ६ महिनासम्म कैद वा अन्य चोट पुर्याएमा ५० हजार रूपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।

गृहमन्त्रालयद्वारा छानविन समिति गठन

गौहत्याबारे सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले आज छानविन समिति गठन गरिएको छ । मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरिएको हो । समितिले १५ दिनभित्र सत्यतथ्य छानविन प्रतिवेदन बुझाउने मन्त्रालयका प्रवत्ता राककृष्ण सुवेदीले जानकारी दिए । नेपालगञ्जबाट दैलेखको श्रीस्थान लैजाने भन्दै सुर्खेत ल्याइएका २ सय ९१ गाईमध्ये २४ गाईगोरु मृत भेटिएका थिए ।

यता, श्रीस्थान मन्दिर व्यवस्थापन समितिले भने गाईगोरु आफूले नझिकाएको जनाएको छ । मन्दिर व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष केशवराज थापाले प्रेस विज्ञप्ति जारी गर्दै भैरवी गाउँपालिका र मन्दिर व्यवस्थापन समितिलाई कुनै जानकारी नभएको जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।