शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • कश्मीर पीडित भन्छन् : अचेत हुँदा पनि बिजुलीको झट्का लगाएर पिटे

कश्मीर पीडित भन्छन् : अचेत हुँदा पनि बिजुलीको झट्का लगाएर पिटे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भारत - भारत-प्रशासित कश्मीर क्षेत्रको विशेषाधिकार खारेज गर्ने सरकारको निर्णयपछि गाउँलेहरूलाई यातना दिइएको आरोप भारतीय सेनामाथि लागेको छ। कश्मीरका केही गाउँलेहरूले उनीहरूलाई सुरक्षाकर्मीले विद्युतीय झट्का दिने अनि लौरो र तारले हान्ने गरेको बीबीसीलाई बताए।

बीबीसीलाई केही गाउँलेहरूले जीउमा लागेको चोट देखाएका छन्।

भारतीय सेनाले भने आफूमाथि लागेको आरोपलाई आधारहीन र बिनाप्रमाणको भएको बताएको छ। अगस्ट ५ तारिखमा कश्मीरको विशेषाधिकार खारेज गर्ने गरी संविधानको धारा ३७० निष्क्रिय पारेयता उक्त क्षेत्र बन्द छ।

दशौँ हजार सैनिकलाई अहिले उक्त क्षेत्रमा परिचालन गरिएको छ।

नेता, व्यापारी र अभियानकर्मीसहित झन्डै तीन हजार मानिसलाई थुनामा राखिएको बताइएको छ। धेरैलाई कश्मीरबाहिरका जेलहरूमा सारिएको छ।

अधिकारीहरूले मुस्लिम बाहुल्य भएको उक्त क्षेत्रमा शान्ति कायम गर्न आफ्ना कदमहरू रणनीतिक भएको बताएका छन्। भारतीय सेना पृथक्तावादी विद्रोहीसँग तीन दशकभन्दा बढी समयदेखि यो क्षेत्रमा लडिरहेको छ।

बीबीसीका संवाददाता समिर हास्मीले आफू दक्षिणी जिल्लाका कम्तीमा आधा दर्जन गाउँहरू पुगेको र ती गाउँका कैयौँ मानिसहरूबाट उस्तै कथा सुनेको बताए। उनीहरुले रातिराति गरिने फौंजका कारबाही, कुटपिट र यातनाका कुराहरु संवाददाता हास्मीलाई बताएका थिए। 

दुई दाजुभाइले आफूहरूलाई सेनाले निद्राबाट उठाएको र बाहिर अन्य एक दर्जनजति गाउँका पुरुषलाई राखिएको ठाउँमा लगिएको बताए। अरूजस्तै उनीहरूले पनि प्रतिशोधको काम हुन सक्ने भन्दै आफ्नो पहिचान खुलाउन चाहेनन्।

चिकित्सक तथा स्वास्थ्य अधिकारीहरू आफ्ना बिरामीहरूबारे पत्रकारसँग बोल्न अनिच्छुक पाइन्छन्। गाउँलेहरूले बताएअनुसार कश्मीरको हैसियत खोस्नेगरी दिल्लीले विवादास्पद निर्णय घोषणा गरेको केही घण्टामै सेना घरघरै पसेको थियो।

"उनीहरूले हामीलाई पिटे। हामीले के गरेका छौँ भनेर सोध्यौँ। नपत्याए तपाईं अरू गाउँलेलाई पनि सोध्न सक्नुहुन्छ भनेर पनि भन्यौँ। तर उनीहरूले हाम्रा कुनै कुरा सुन्न चाहेनन्। केवल पिटिरहे," एक जनाले भने।

"उनीहरूले मेरो शरीरको सबै भागमा पिटे। लात्ता हाने, लट्ठीले हाने, बिजुलीको झट्का लगाए र तारले पिटे। खुट्टाको पछाडिको भागमा प्रहार गरे। अचेत भएपछि बिजुलीको झट्का लगाएर ब्युँझाए। जब लट्ठीको प्रहार सहन नसकेर हामी चिच्याउँथ्यौँ, हाम्रो आवाज थुन्न उनीहरूले हाम्रो मुखमा माटो कोचे।", एक पीडितले भने।

"हामी निर्दोष छौँ भनेर भन्यौँ। किन यसो गरेको भनेर सोध्यौँ। तर हाम्रो कुरा उनीहरूले सुनेनन्। मैल त 'पिट्नुको साटो बरु मारिदेऊ' भनेँ। यातना सहन नसकेर मैले ईश्वरलाई मलाई लैजान पनि भनिरहेँ।", पीडितले भने।

अर्का गाउँलेले सुरक्षा फौजले आफूलाई 'ढुङ्गा हान्नेहरूको नाम बताउन' भनेको बताए। उनले फौजलाई आफूले त्यस्ता कसैलाई नचिनेको बताएपछि उनलाई चस्मा, लुगा र जुत्ता खोल्न लगाइयो।

"मैले लुगा फुकालेपछि तब उनीहरूले निर्दयी तरिकाले दुई घण्टासम्म लट्ठी र छडले प्रहार गरे। अचेत हुनासाथ बिजुलीको झट्का लगाएर ब्युँझाए। अब फेरि उनीहरूले त्यसो गरे भने म जे पनि गर्न सक्छु। बन्दुक बोक्छु। सधैँ यो सहन सक्दिनँ," उनले भने।

ती युवाले आफूलाई सुरक्षा फौजले उनीहरूविरुद्ध प्रदर्शनमा भाग लिए यस्तै परिणाम बेहोर्नुपर्ने चेतावनी सबै गाउँलेलाई सुनाइदिन भनेको बताए। बीबीसीले कुरा गरेका गाउँका सबै पुरुषले सुरक्षा फौजले सम्पूर्ण गाउँलेलाई त्रसित बनाउन र प्रदर्शन गर्नबाट रोक्न यसो गरेको उनीहरूको विश्वास रहेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।