सोमबार, असार २९, २०७७

विचार

‘पत्रकारिता होइन, स्टेनोग्राफी चलिरहेछ’

1575547499sainath.jpg

पी साइनाथ रेमन म्यागसेसे लगायत थुप्रै पुरस्कारबाट सम्मानित भारतीय पत्रकार हुन्। सामाजिक समस्या, ग्रामीण विपन्न र किसानका मुद्दामा केन्द्रित भई कलम चलाउने साइनाथलाई नोबेल पुरस्कार विजेता अर्थशास्त्री अमर्त्य सेनले भोकमरीको विश्वका महान् विशेषज्ञमध्ये एक भनेका छन्। उनै साइनाथले बनारसमा २९ नोभेम्बरमा ‘पत्रकारमाथि आक्रमणविरुद्ध समिति’ द्वारा आयोजित कार्यक्रममा दिएको न्युज लन्ड्रीमा प्रकाशित व्याख्यान अंशकाे भावानुवाद।

राष्ट्रिय अखबारमा ग्रामीण खबरहरु कति छापिन्छन् ? कुनै पत्रिकाको पहिलो पृष्ठ हेर्नुहोस्। दिल्लीमा एउटा संस्था छ, सेन्टर फर मिडिया स्टडिज (सिएमएस)। एन भास्कर रावको। उनी तीस वर्षदेखि मिडियाका लागि अनुसन्धान गरिरहेका छन्। अहिले उनको काम घटेको छ किनभने मिडियालाई अब अनुसन्धानमा रुचि छैन। उनीहरु ‘मार्केट रिसर्च’ मा केन्द्रित छन्।

सिएमएसले ग्रामीण खबरमाथि एउटा अनुसन्धान गरेको थियो। अनुसन्धान राष्ट्रिय दैनिकका पाँच वर्षको तथ्यांकमा आधारित छ। राष्ट्रिय दैनिकको मतलब त्यो अखबार हो, जसको एउटा संस्करण दिल्लीबाट दैनिक प्रकाशन हुन्छ। हुन सक्छ दिल्लीबाट मात्रै प्रकाशन होओस्। बाँकी सबै अराष्ट्रिय दैनिक होलान्। पाँच वर्षमा यी राष्ट्रिय दैनिकमा औसत ०.६७ प्रतिशतमात्र ग्रामीण समाचार प्रकाशित भएका छन्।

सन् २०११ को जनगणनाअनुसार भारतमा ग्रामीण क्षेत्रको जनसंख्या ६९ प्रतिशत छ।  यति ठूलो जनसंख्याका लागि राष्ट्रिय दैनिकले ०.६७ प्रतिशत स्थान दिइरहेका छन्। बाँकी समाचारमध्ये ६७ प्रतिशत स्थान दिल्लीले नै पाउँछ। यो पाँच वर्षको अवधिमा एक वर्ष आमचुनाव थियो। आमचुनावका बेलाका समाचार छाड्ने हो भने ग्रामीण समाचारले पाउने स्थान ०.२० प्रतिशत मात्र छ।

एउटा पत्रकार जसले पत्रकारिता गर्छ उसले बिना कुनै प्रोत्साहन काम गरिरहेको हुन्छ। गाउँका समाचार लेख्नेको पदोन्नति हुँदैन। सम्मान पनि पाइँदैन। मैले जब ‘एभ्रिवन लभ्स अ गुड ड्रट’ पुस्तक लेखें त्यसबेला जमाना बदलिँदै थियो। मैले थोरै सम्मान पाएँ। यो किताबको नाम एउटा सामान्य किसानले जुराइदिएका थिए।

उनी मसँग पालाम, डालटनगन्ज गएका थिए। हामी एक दिन लातेहार पुग्यौं। किसानको नाम थियो रामलखन। सर्किल अफिसमा हामी सँगै थियौँ। सरकारी कार्यालयमा कुनै कर्मचारी थिएनन्। सर्किल अफिसर पनि थिएनन्।

मैले सोधें– रामलखन यिनीहरु कहाँ गए यार ? उनले जवाफ दिए, ‘‘तेस्रो बाली उठाउन गएका होलान्।’’ मैले थाहा पाएसम्म करिब डेढ सय वर्षअघि रबी, खरिफलाई तेस्रो बाली भनिन्थ्यो। अहिले फेरि तेस्रो बाली ?

रामलखनले भने– ‘‘यो तेस्रो बाली भनेको ड्रट रिलिफ (सुखा राहत) हो। यहाँका ठूलाठालूलाई तेस्रो बाली निकै मन पर्छ। उनीहरु अनिकाल मन पराउँछन्। त्यसैबाट मेरो किताबको नाम जुरेको हो।’’

अहिले जो समकालीन पत्रकार छन्। पछिल्लो २० वर्षमा उनीहरुले कुन विषयमा किताब लेखेका छन्? तीन दर्जन किताब छन्, बजार अर्थतन्त्रका विषयमा, ग्रामीण भारतका बारेमा कति किताब लेखिए आखिर?

म एउटा नाम लिन सक्छु– जयदीप हार्डिकरको ‘चेज्ड बाइ डेभलपेन्ट’। यसकारण ग्रामीण भारतका बारेमा लेखिनु जरुरी छ। ‘कति स्वतन्त्र छ ग्रामीण पत्रकारको कलम,’ यो आजको विषय हो। यसमाथि पछिल्ला दिनमा तीन–चारवटा प्रतिवेदन आएका छन्।

कमिटी टु प्रोटेक्ट जर्नलिस्ट्स (सिपिजे) को एउटा रिपोर्ट आयो जसको परिचय मैले लेखेको हुँ। बेग्लाबेग्लै मापदण्ड हुन्छ रिपोर्टरको। कोही संवाददाता, कोही स्ट्रिंगर, कोही पत्रकार। प्रत्येक रिपोर्टमा एउटा साझा विषय देख्न सकिन्छ, जति पनि पत्रकार मारिएका छन्, तीमध्ये शतप्रतिशत साना बजारका र ग्रामीण पत्रकार छन्।

तीन वर्षअघिसम्मको रिपोर्टमा एउटा पनि  सहरको एलिट पत्रकार मारिएको छैन। यी ग्रामीण पत्रकारमाथि आक्रमण वा अरू केही भइहाल्यो भने दिल्लीका मालिकले यिनलाई महत्त्व दिँदैनन्।

पत्रकारिता र मिडियामा पछिल्ला २० वर्षमा ठूलो परिवर्तन आएको छ। एउटा त धेरैले भारतीय पत्रकारिताको परम्परा विर्सिदिएका छन्।

आगामी तीन वर्षमा भारतीय पत्रिकाको इतिहास २०० वर्ष पुग्नेछ। राजा राममोहन रायको मिरातुल अखबार पहिलो थियो। सुरुमा फारसी भाषामा प्रकाशित यो पत्रिकादेखि १७० वर्षसम्म मानवीय पत्रकारिताको परम्परा थियो।

मिरातुलले सती प्रथा, विधवा विवाह, कन्या भ्रूण हत्या र बालिका शिक्षा जस्ता मुद्दा आदि उठाएको थियो। संसारमा कति पत्रकार होलान् जसका संग्रहित कामका एक सय अंक प्रकाशित छन्?

एउटा थिए– गान्धी र अर्का अम्बेडकर। उनीहरु पत्रकार थिए भन्ने हामी बिर्सिदिन्छौं।

पछिल्लो वर्ष म पञ्जाब गएका बेला निकै निराश भएँ। त्यहाँ सबैलाई भगत सिंह सहिद हुन्, उनी राजनीतिक अभियन्ता थिए भन्ने थाहा छ। तर उनीहरुले भगत सिंह पेसेवर पत्रकार थिए भन्ने बिर्सिसकेका छन्। उनले १२ भन्दा धेरै पत्रिकामा लेखे। चारवटामा नियमित लेखे र चार भाषामा लेखे– पञ्जाबी, उर्दू, हिन्दी र अंग्रेजी।

एउटा भर्खरको युवकले चारवटा भाषामा सयौँ लेख लेखे। २३ वर्षको उमेरमा उनलाई फाँसी दिइएको थियो। म बारम्बार सोच्छु– मैले त २३ वर्षको भएपछि मात्रै पत्रकारिता सुरु गरेको हुँ। यस्तो थियो हाम्रो पत्रकारिताको परम्परा।

पछिल्लो तीस वर्षमा के परिवर्तन भयो? पत्रिकाको स्वामित्व पारिवारिक, निजी, ट्रस्टका मालिकदेखि कर्पाेरेट मालिकमा पुग्यो। सबैभन्दा ठूला मिडिया मालिक हुन् मुकेश अम्बानी। सबैभन्दा धनी मानिस पनि उनै हुन्।

तपाईं जब इटिभी हेर्नुहुन्छ, त्यसमा तेलुगुलाई छोडेर बाँकी १९ वटा च्यानल मुकेश अम्बानीको सम्पत्ति हो। यी सबै च्यानल एउटा ट्रस्ट बनाएर खरिद गरिएको छ। रोचक त के छ भने यो ट्रस्टको नाम हो– इन्डिपिन्डेन्ट मिडिया ट्रस्ट।

मिडियामा कर्पाेरेटाइजेसन १९८५ देखि सुरु भयो। अनि ग्रामीण पत्रकारितामा समस्या सुरु भयो। सन् १९८५ मा दुई ठूला गतिविधि भए। पहिलो थियो कर्पाेरेटाइजेसनका लागि युनियन हटाउने र संगठन समाप्त पार्ने। यसको सुरुवात समीर जैनले टाइम्स अफ इन्डियाबाट सुरु गरे। फेरि सबैले उनैलाई पछ्याए।

संगठन सिध्याउने पहिलो मास्टरस्ट्रोक थियो रोजगारबाट ठेक्कामा पत्रकार ल्याउने। तपाईं ११ महिनाको ठेक्कामा हुनुहुन्छ। म तपाईंको सम्पादक हुँ। तपाईंले शरद पवारको प्रशंसा गर्ने कि उनलाई गाली गर्ने त्यो मैले भन्छु र तपाईं त्यसैअनुसार लेख्नुहुन्छ। किनकि तपाईंलाई आफ्नो करार नवीकरण गराउनु छ।

मैले अशोक चौहानको ‘पेड न्युज’ को ‘स्टोरी ब्रेक’ गरेको थिएँ। जुन दिन मेरो ‘स्टोरी’ आयो, एक सिनियर पत्रकारले मलाई फोन गरे।

उनले भने, ‘‘उनको अखबारमा एउटा वरिष्ठ क्याबिनेट मन्त्रीका बारेमा फ्रन्ट पेजमा समाचार आउँदै छ र त्यो उनकै नामबाट आउँदै छ।’’ अर्थात् ‘पेड न्युज’ उनको नामबाट छापिँदै थियो।

उनले भने, “हेर् भाइ ! तीस वर्षअघि जब हामी सबै क्रियाशील पत्रकार ऐनअन्तर्गत थियौँ। तिमी आज पनि (दि हिन्दूमा) त्यही ऐनअन्तर्गत छौ।

तर मेरो अखबारमा ११ महिनाको करार छ। हिजो सम्पादकले मलाई आफ्नो क्याबिनमा बोलाएका थिए। ब्रान्ड म्यानेज, सीएफओ र सीईओ पनि थिए।

उनीहरुले मलाई क्याबिनेट मन्त्रीको ठूलो समाचार आइपुगेको र त्यसका लागि ठूलो पत्रकारको नाम चाहिने बताए। मैले यस्तो समाचार कहाँबाट आयो भनेपछि सम्पादकले भने पीआर एजेन्सीबाट आएको हो, तपाईले त्यसमा केही सुधार गरेर आफ्नो नामबाट छाप्नुपर्यो।”

११ महिना करारमा काम सुरु गरेका उनको चार महिनामात्र बाँकी थियो। छोरा रोजगारको खोजीमा थियो। उनकी आमा अस्पतालको आइसियूमा थिइन्। दुईवटा छोरालाई कलेज भर्ना गराउनुपर्ने थियो। किस्ताबन्दीमा किनेको घरको ऋण तिर्नु थियो। मैले उनलाई ‘हिरो’ बन भन्न सकिनँ।

कहिलेकाहीँ मानिस यस्ता सबै सुविधा एकातिर पन्छाएर हिरो बन्छ र त्यसपछि घरमै बसेर बेरोजगारीका दिन गन्न थाल्छ।

त्यसैले कर्पाेरेटाइजेसनले मिडियामा पूरै परिवर्तन ल्याएको छ।

पत्रकारिताको बुझाइ, यसको दर्शन र कर्पाेरेट दर्शन एकदमै फरक छ। पत्रकारले हेर्छ, समाचार के हो ? त्यसको प्रमाण के छ? यो पत्रकारको मानसिकता हो।  कर्पाेरेटका लागि रेभेन्यू र मुनाफा मात्रै असली समाचार हो।

पत्रकारले राम्रो स्टोरी गरेकोमा उनीहरुलाई कुनै मतलब हुँदैन, त्यो समाचारबाट रेभेन्यू बढ्यो कि बढेन त्यसमा कर्पाेरेटको रुचि हुन्छ। कर्पाेरेटले कुनै पनि स्टोरीबाट पैसा आउँछ कि आउँदैन त्यो हेर्छ।

उक्त क्याबिनेट मन्त्रीसँग एक करोड रुपैयाँको डिल भएको थियो। तीनदेखि चार हजार शब्दका लागि, त्यो पनि चुनावका बेला।

कर्पाेरेट र पत्रकारको मानसिकता बेग्लाबेग्लै हुन्छ।

सन् १९९० देखि मिडिया र पत्रकारिता दुई बेग्ला बेग्लै विधा बनेका छन्। पत्रकारिता हामी गर्छौं। मिडिया कारोबार गर्छ। मडियाको मूल उद्देश्य मुनाफा कमाउनु हो।  

समीर जैनले मलाई भनेका थिए– ‘साइनाथजी, पत्रकारिता कुनै पनि अरु धन्दा जस्तै एउटा धन्दा हो।’ म यो कुरा मान्दिनँ। पत्रकारिता अन्य उत्पादन जस्तो होइन।

तपाईं आज बनाएको टुथपेस्ट ६ महिनासम्म बेच्न सक्नुहुन्छ। तर, हिजोको अखबार आज बेच्न सक्नुहुन्छ?

मिडिया एउटा कारोबार हो भन्न सक्नुहोला। तर, पत्रकारिताचाहिँ एक प्रकारको आह्वान हो, पुकार हो। पत्रकारिता हामी आफ्नै मनले गर्छौं।

अब पत्रकारमाथि आक्रमणको कुरा गरौं। पत्रकारमाथि जति पनि आक्रमण भए ती सबै साना सहरका ग्रामीण पत्रकार थिए। ठूला आक्रमणमा पर्ने एक जना पनि अंग्रेजीमा लेख्ने पत्रकार छैनन्। सबै आक्रमण भारतीय भाषामा लेख्ने पत्रकारमाथि भएका छन्।

यो पनि एउटा वर्गीय विभेद हो। बितेका १५ वर्षमा कुल २७ मृत्यु। सीपीजेको यो रिपोर्ट लेख्दै गर्दा मैले एकएक सूची पढेको थिएँ, अहिलेसम्म आक्रमणमा परेकामध्ये एकजना मात्र अंग्रेजी र हिन्दी दुवै भाषामा लेख्ने डीडी श्रीनगरका रिपोर्टर थिए।

किन बढ्दै छन् यस्ता आक्रमण ? यो देशमा कर्पाेरेट जगत्को शक्ति हो माइनिङ, सेज (एसई जेड), भूमि अधिग्रहण। यो सबैबारे कसले लेख्छ ? ग्रामीण पत्रकारले।

जब पास्कोमा कुनै ठूलो विस्फोट हुन्छ, सहरी पत्रकार दौडँदै आउँछन्। फोटो खिच्छन्, कोट लिन्छन् र दौडिँदै फर्किन्छन्। यसैगरी कभर भयो पास्को।

आजसम्म पास्कोका ती दुई गाउँको स्टोरी कुनै ठूलो भनिएको अखबारमा आएको छैन जसले प्रतिरोध गरे। संघर्षमा जितेरै छाडे। उनीहरूले पास्कोलाई उडिसाबाट बाहिरिन बाध्य बनाए।

अहिले त्यहाँ जिन्दल पुगेको छ। जिन्दल पनि पास्को वा एनरन जस्तै ठूलो विज्ञापनदाता हो। उसको विरोधमा कसले लेख्ने? त्यसैले भन्छु, कर्पाेरेटाइजेसनमा समाचार रेभेन्युको माध्यम बनेको छ।

दोस्रो ठूलो परिवर्तन २०१३ मा भयो जब सहरी र एलिट पत्रकार पनि आक्रमणको चपेटमा आए। पहिलो थिए, नरेन्द्र दाभोलकर। पाँच वर्षपछि पनि यो अपराधको मुद्दाको छिनोफानो भइसकेको छैन।

सबैलाई थाहा छ दाभोलकर अन्धविश्वासी एक्टिभिस्ट थिएनन्। २५ वर्षसम्म उनले एक पत्रिका चलाए। प्रहरीले उनको मुद्दा कमजोर पारिदियो किनभने त्यस समय संघ परिवारको सरकार आइसकेको थियो।

एक जवान प्रहरी अधिकारीले अनुसन्धानमा राम्रो काम गरिरहेका थिए। उनलाई हटाइयो। परिवारले लगातार अनुसन्धानका लागि उनै अधिकारीलाई राख्न माग गरे पनि सुनुवाइ भएन।

अर्का गोविन्द पानसारे। उनी सीपीआईका ट्रेड युनियन नेता थिए।  इतिहासकार र स्तम्भकार पनि थिए। तीस वर्षदेखि पत्रिकामा स्तम्भ लेखिरहेका उनले ‘को थिए शिवाजी?’ नामको किताब पनि लेखेका थिए। यो रेसनल अप्रोचबाट लेखिएको थियो।

पानसारेले २००५ देखि कट्टरपन्थीविरुद्ध लेखिरहेका थिए। उनलाई उनकै घरअगाडि मारियो।

एमएम कलबुर्गी पत्रकार थिए, विद्वान् थिए। उनी पनि मारिए। उनीहरु सबैमा एउटा साझा कुरा थियो। त्यो हो तार्किक विचार।

चौथो हत्या थियो गौरी लंकेशको।

यी चारै जनाले भारतीय भाषामा लेख्थे। भारतीय भाषामा लेख्ने पत्रकारहरुको बर्ग बेग्लै हुन्छ। उनीहरुको एलिट स्टेटस हुँदैन।

पछिल्लो तीन वर्ष यताका ठूला घटना हुन्– नोटबन्दी र जिएसटी।

यसको सबैभन्दा ठूलो असर ग्रामीण भारतमा परेको छ।  तर कर्पाेरेट मिडियामा नोटबन्दीको प्रभाव बारे कति लेखियो त? 

अहिले तपाईं ताली बजाइरहनुभएको छ। अब तपाईंको तनाव बढ्नेछ, आक्रमण बढ्नेछन्। यसबारे पनि छलफल गरौं।

सबैलाई थाहा छ प्रत्येक दुई–तीन गाउँमा पशु हाट लाग्छ। भारतीय प्रशासनिक सेवाको तालिममा सिकाइन्छ, जब कुनै गाउँको क्याटल मार्केटको दाम ३० प्रतिशत कम हुन्छ, तब त्यो ठाउँमा कृषि संकट रहेको बुझ्नुपर्छ। नोटबन्दीपछि पशुको दाम ३० प्रतिशत होइन ८० प्रतिशतसम्म कम भयो।

म ग्रामीण क्षेत्रमा काम गर्छु, सहरमा बस्छु। त्यसैले दुवैतिरबाट गाईमाथि मेरो ध्यान हुन्छ।

गौहत्या बन्द गराएपछि मुसलमानलाई अप्ठ्यारो हुन्छ भनेर जुन महासयले गौहत्या बन्द गराउने अभियान चलाए, उनलाई यसले ग्रामीण अर्थतन्त्रमा ठूलो नकारात्मक असर पुग्छ भन्ने थाहै छैन।

पशुको दाम ८० प्रतिशत झरेपछि त्यसले कुरैसी र कसाईहरुलाई नोक्सान त भयो। पशु बजारको दलाल ओबीसीको कारोबार पनि चौपट भयो। अब तपाई‌ न पशु बेच्न सक्नुहुन्छ न किन्न। किन्न पैसा छैन, बेच्ने हिम्मत छैन।

महाराष्ट्रमा सय वर्षदेखि एउटा मेक इन इन्डिया ब्रान्ड थियो– कोल्हापुरी चप्पल। अहिले त्यो चप्पल बनाउने दलितहरु टाट पल्टेका छन्।

मुसलमानलाई दण्डित गर्न गौहत्या बन्द गराउने अभियान चलाउँदा सबै किसान दण्डित भए। टाइम्स अफ इन्डियामा एउटा रिपोर्ट आएको थियो– एउटा मराठा किसानसँग १० वटा गाईगोरु छन्।

अनिकाल लागेको छ, किसानलाई। आफ्नै छाक टार्न धौ धौ भएका बेला गाईगोरुलाई खुवाउने केही छैन। अहिले ऊ ती गाई बेच्न सक्ने अवस्थामा छैन। बजार लैजाँदा बाटोमा बजरंग दल र बिएचपीका मानिस भेटिन्छन् जसले गाई बेच्न लगेको भन्ने थाहा पाएपछि उसलाई नै मारिदिन्छन्।

रिपोर्टरसँग ती किसानले भनेका छन्, मेरा गाईहरु आँखैअगाडि मरेको हेर्नु मेरो बाध्यता हो। 

उता उत्तराखण्डमा किसानले आफ्ना पशु जंगलमा लगेर छोडिरहेका छन्।

गाउँमा जे नोक्सान भइरहेको छ, त्यो प्राकृतिक होइन, हाम्रो आर्थिक नीतिका कारण भएको हो। जानीबुझी गराइएको यो नोक्सानले देशमा असमानता बढाएको छ।

असमानता धेरै गाउँमा छ। म तपाईंलाई दुईवटा तथ्यांक दिन्छु– सन् १९९१ मा नयाँ आर्थिक नीति ल्याउनुअघि भारतमा एउटा पनि डलर अर्बपति थिएन।

फोब्र्स म्याग्जिन– जो ग्लोबल पुँजीवादको पुजारी हो– उसको सन् २००० को अंकमा भारतका ८ जना डलर अर्बपतिको सूचीमा सामेल गरिए। २०१२ मा ५३ र २०१८ सम्म आइपुग्दा भारतमा १२१ जना डलर अर्बपति भएका छन्।

१ अर्ब ३० करोडभन्दा बढी जनसंख्या भएको देशमा यी १२१ जनाको सम्पत्तिको मूल्य भारतको जिडिपीको २२ प्रतिशत छ। संसारको कुनै पनि समाज यस्तो असमानतामा टिकिराख्न सक्दैन।

सन् १९९१ र २०११ को जनगणनाको तुलना गर्दा थाहा हुन्छ देशमा किसानको संख्या १ करोड ५० लाख कम भएको छ। कहाँ गए किसान?उनीहरु सबै मजदुर बने।

भारतमा मजदुरको संख्या बढिरहेको छ। यसको रिपोर्टिङ कसले गर्यो ? तिनै ग्रामीण पत्रकारहरुले जो मसँगै घुम्छन्। देशमा के भइरहेको छ, उनीहरुले नै देखाउन सक्छन् र उनीहरु नै मारिन्छन्।

हाम्रा सांसदको कुरा गरौं। उनीहरुले सम्पत्ति विवरण बुझाउँछन्। उनीहरुले जे बुझाए त्यसैले ठिक मानिदिनु पर्ने अवस्था छ।

यही सम्पत्ति विवरणअनुसार सन् २००४ को लोकसभामा निर्वाचित सांसदमध्ये ३२ प्रतिशत करोडपति थिए। सन् २००९ मा यो संख्या बढेर ५३ प्रतिशत पुग्यो।

२०१४ मा ८२ प्रतिशत करोडपति लोकसभामा पुगे। त्यसबेला लागेको थियो सन् २०१९ मा यो संख्याले एक सय प्रतिशत नाघ्नेछ। तर हाम्रा नेताहरुको उदारता हेर्नुहोस्– यो आँकडा ८८ प्रतिशत मात्रै पुग्यो। अहिले लोकसभामा स्वघोषित करोडपति मात्रै ८८ प्रतिशत छन्।

एकातिर करोडपति सांसद छन्, अर्कोतिर अर्बपति बढ्दैछन्। हाम्रा गाउँको अवस्था हेर्नुहोस्। मानिस अकालमै मरिरहेका छन्, चौपाया जंगलमा छोडिरहेका छन्।

सबैभन्दा धनी अर्बपति हुन् मुकेश अम्बानी। जसको सम्पत्ति सन् २०१७ मा १६.९ अर्ब डलर थियो।

एउटा ग्रामीण मजदुरलाई यति कमाउन १ लाख ८७ हजार वर्ष लाग्छ। अर्थात् अम्बानीको जत्ति सम्पत्ति कमाउन १८७ लाख मजदुरलाई एक वर्ष लाग्छ।

गाउँमा संकट बढ्दै जाँदा धन दिल्ली र मुम्बईमा केन्द्रित छ। देशको सबैभन्दा धनी सहर मुम्बई भन्दा ९० किलोमिटर टाढा ठाणेमा भोकमरीबाट प्रत्येक वर्ष १७ हजार आदिवासीको मृत्यु हुन्छ। यो कुपोषणसँग जोडिएको मृत्यु हो।

यसको रिपोर्टिङ चुनौतीपूर्ण छ जसलाई ग्रामीण पत्रकारले नै पूरा गर्न सक्छन्। यस्ता रिपोर्ट छाप्ने प्लेटफर्म पाउनचाहिँ मस्किल छ अब त। आक्रमणको त्रास त छँदै छ।

ठूल्ठूला गिरोह छन् यहाँ। फसल बिमा योजनामा राफेल घोटालाभन्दा ठूलो हो।

ठूला बुद्धिजीवीहरु कर्पाेरेटका लागि लेख्छन्। तपाईंहरुले मलाई पब्लिक इन्टेलेक्चुअल भन्नुभयो। तत्कालै मलाई लाग्यो अरु सबै प्राइभेट इन्टेलेक्चुअल भइसके कि क्या हो ?

पत्रकारितामा अचेल दुई थरी स्कुल छन्– एउटा पत्रकारिता, अर्को स्टेनोग्राफी। अधिकांश अखबार र च्यानलमा स्टनोग्राफी चलिरहेको छ। अर्थात् जे मालिकले भन्छ, हुबहु उतार्ने।

मैले पिपुल्स अर्काइभ अफ रुरल इन्डिया (परी) नामको बेभसाइट १३ भाषामा चलाइरहेको छु। ठूला ठूला पत्रकारले हामीलाई छद्म नामले लेख र भिडियो दिइरहेका छन्। किनभने उनीहरुले जे लेखेका छन् त्यो उनीहरुको मिडियामा प्रकाशन–प्रसारण हुँदैन।

उनीहरु पनि एक जमानामा पत्रकारितामा राम्रो काम गर्नका लागि आएका थिए। समाज सुधारका लागि आएका थिए। गान्धी, अम्बेडकर, भगत सिंह सबै आदर्शवाद र समाज सुधारका लागि पत्रकारितामा आएका थिए।

जसलाई हामी कृषि संकट भन्छौं, त्यो समाजको संकट हो। स–साना परम्परागत पेसा सिद्धिएका छन्। यो समाजको संकट होइन, सभ्यताको संकट हो।

हाम्रो सभ्यता साना किसान र साना मजदुरमा आधारित छ। कृषि क्षेत्रमा जुन आगो लागेको छ, त्यो मध्यवर्गसम्म पुगिसकेको छ। तर पनि हामी आवाज उठाउँदैनौं। तीन लाख २० हजार किसानले आत्महत्या गरिसक्दा पनि हामी मौन छौं। त्यसैले म भन्छु, यो हाम्रो मानवीयताको संकट हो।

यस्तो संकटका बीच ग्रामीण पत्रकारले कसरी काम गर्ने ? म के सल्लाह दिऊँ ? तपाईंहरु आफैं अनुभव गरिरहनुभएको छ। यो संकट तपाईंको हो। तर, छलफल भइरहेको छैन।

यो जलवायु परिवर्तनको मुद्दा हो। तर, अखबारमा रिपोर्टिङका नाममा कुल मिलाएर अमेजन या अस्ट्रेलियाको जंगलमा लागेको आगो अथवा अन्टार्कटिकाको हिउँ पग्लिएको खबर मात्रै छ।

परीमा हामीले जलवायु परिवर्तनको रिपोर्टिङ आम मानिसको अनुभवका आधारमा गरिरहेका छौं। एक्सपर्ट र आम मानिसको अनुभव एउटै छ, भाषा मात्रै फरक हो।

माझीलाई तापमान, मौसम र जलवायुबीचको अन्तर राम्रोसँग थाहा हुन्छ। उनीहरुले व्याख्या गर्ने भाषाशैली फरक हुन सक्छ। दक्षिण एसियामा मौसमको महासंकट आउँदैछ। सहरी पत्रकारले त गाई, गोरु र भैंसीबीचको फरक बडो मुस्किलसँग छुट्याउँछ।

मेरा लागि ग्रामीण पत्रकार निकै महत्त्वपूर्ण छन्। त्यसैले म सम्पादक छोडेर ग्रामीण पत्रकारितामा आएँ। यो काम गर्न थालेकै २६ वर्ष भइसक्यो।

अब एउटा कथा सुनाएर म आफ्नो भनाइ टुंग्याउँछु– कसरी एउटा सानो बजारको पत्रकारले मलाई खोजको पाठ सिकाएको थियो ?

त्यसबेला म यूएनआईमा संलग्न भएको थिइनँ। बागपतमा एउटा बलात्कारको घटना भयो। त्यसको सानो समाचार पे्रस ट्रस्ट अफ इन्डिया (पिटिआई) मा आयो। हाम्रा सम्पादक पिटिआईमा स्टोरी आयो तर हाम्रोमा आएन भनेर रुन थाले।

मैले बागपत, मेरठको एउटा स्ट्रिन्जरलाई फोन गरेँ। उसले भन्यो– ‘चिन्ता नलिनुस्, म १० मिनटमा स्टोरी दिन्छु।’ १० मिनेटभित्रै स्टोरी आइपुग्यो पनि।

यता दिल्ली अफिसमा यो स्टोरी वास्तविक हो कि होइन भन्ने छलफल चल्दै थियो– कसैले पनि १० मिनटमा यत्रो ठूलो स्टोरी बनाउन सक्दैन।

स्टोरी ठिक थियो। त्यसको २० वर्षसम्म मैले त्यो स्ट्रिन्जरलाई यति ठूलो स्टोरी १० मिनटमै कसरी तयार भयो भनेर सोधिरहेँ।

२० वर्षपछि उसले मलाई भन्यो– उसको एउटा साथी रहेछ जसको अफिस प्रहरी चौकीको नजिकै थियो।

साथीको अफिसबाट उसले चौकीको प्रमुखलाई फोन गरेर भनेछ, ‘म वेस्टर्न रेन्जको डिआइजी बोलिरहेको छु। तपाईंको ज्यान एक मिनेटका लागि बचेको छ। त्यस अवधिमा के के भएको थियो सबै कुरा भन्नुस्।’

उसले सबै कुरा साँचो सुनाइदिएछ।

यति कुरा २० वर्षसम्म किन नभनेको त ? उसले भन्यो– ‘अरे यार, यो त मेरठ हो, बागपत हो। त्यसबेला मेरा नाम खुलेको भए एउटा अर्को बलात्कारको घटना हुन सक्थ्यो।’

 

प्रतिक्रिया दिनुहोस्