११ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि २०६६ मा हेटौंडामा भएको छनोट प्रतियोगिताबाट राष्ट्रिय टोलीमा छनोट भएपछि कराँते खेलाडी मन्डेकाजी श्रेष्ठ दुई महिना नेपालमै बन्द प्रशिक्षणमा रहे। प्रशिक्षणबाट छनोटमा परेका १५ खेलाडीलाई थप वैदेशिक प्रशिक्षणका लागि नेपाल कराँते महासंघले थाइल्यान्ड पठायो। त्यतिबेला उनी अन्तिम टोलीमा छनोट हुन सकेनन्। सागमा पदक जित्ने मन्डेको सपना १० औं सागको बन्द प्रशिक्षणमा तुहियो।
१० औं दक्षिण एसियाली खेलकुद (साग) मा खेल्न नपाएको उनलाई पीडा ११ औं सागमा भुलाउनु थियो। एघारौं सागका लागि मन्डेकाजी टोलीमा छनोट मात्र भएनन्, थप प्रशिक्षणका लागि थाइल्यान्ड पुगे। थाइल्यान्डमा एकमहिने प्रशिक्षण अन्त्य हुन लाग्दा बंगलादेशमा ११औं साग सुरु भइसकेको थियो।
मन्डेकाजीले सागमा मेडल जित्ने सपना देखेका थिए। बंगलादेश जान मात्र दुई दिन बाँकी थियो। उनी थाइल्यान्डमा रहेको १५ जनाको टोलीसँगै नेपाल त फर्किए। तर, नेपालबाट बंगलादेश पुग्न भने सकेनन्।
पदाधिकारीले नबुझ्दा गुमेको अवसर‘सागको बोर्ड बैठकमा सहभागी पदाधिकारीले कुरै बुझेनछन्’, मन्डेकाजीले भने, ‘हामीले प्रतियोगितामा समावेश १५ वटै इभेन्ट खेल्न पाउने थियौं। तर, त्यसका लागि १० जना खेलाडीले मात्र सहभागी जनाउनुपर्ने रहेछ। जुन विषय पदाधिकारीले बुझेनन्।’
मन्डेकाजीका अनुसार पदाधिकारीले १५ इभेन्टका लागि १५ जनाले नै भाग लिन पाउने बुझेर आएपछि त्यहीअनुसार छनोट भयो। उनले भने, ‘अन्तिम समयमा हामीले पर्किनुपर्यो।’
सहभागी १० खेलाडीले नै काता र फाइटमा प्रतिस्पर्धा गर्नुपर्ने भयो। प्रशिक्षणमा रहेका थप पाँच खेलाडी बंगलादेश जानै पाएनन्। मन्डेकाजीसहित फर्केका पाँच खेलाडी कातामा थिए। सागमा चार देशले मात्र काताका लागि सहभागिता जनाएका थिए। काताको मात्र प्रशिक्षण लिएका मन्डेकाजी भएको भए पदक पाउने आस हुन्थ्यो।
त्यसपछि उनले कराँते नखेल्ने सोचाइ बनाए। उनले भने, ‘त्यतिबेला आफैंलाई पछुतो लागिरहेको थियो। फाइट छोडेर काता रोजेको थिएँ। फाइटमा भएको भए मैले साग खेल्न पाउने थिएँ।’
मन्डेकाजीलाई उनका बुवाले धेरै सम्झाए। बुबाको आशालाई जीवित राख्न उनी पुनः खेलमा फर्किए। मन्डेकाजीले भने, ‘बुबाको भरोसा र परिवारको साथले गर्दा पुनः खेलमा फर्किएँ। अनि मलाई इख लाग्यो अब केही गरेर देखाउनुपर्छ।’
‘फर्किएका सबै खेलाडी रुँदै थियौं। किनकि अन्तिम अवस्थानमा आएर खेल गुमाउनुपरेको थियो’, भावुक हुँदै मन्डेकाजीले भने, ‘राष्ट्रलाई स्वर्ण पदक दिलाउने तयारी थियो हाम्रो। अन्तिम अवस्थानमा फर्किनुपर्दाको पीडा भुलेको छैन।’
मन्त्रीको झूटो आश्वासनसाग लगत्तै नोभम्बर १२ देखी २७ सम्म चिनको गोन्जाओमा एसियन गेम थियो। वैदेशिक प्रशिक्षणमा रहेर पनि ११ औं सागमा सहभागिता जनाउन नपाएका खेलाडीका लागि तत्कालीन खेलकुदमन्त्री गणेश नेपालीसँग छलफल भयो। अनि मन्त्री नेपाली र राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव हरिबाबु चौधरीले पत्रकार सम्मेलन गरे। मन्त्रीले हचुवाका भरमा एसियन गेममा सहभागिता गराउने घोषणा गरे।
थाल्यान्डबाट थप दुई खेलका लागि सात खेलाडी फर्केर आएका थिए। फर्कनेमा बक्सिङका एक मात्र पदकधारी दीपक महर्जन पनि थिए। मन्डेकाजीले भने, ‘मन्त्रीले त्यसबेला आश्वासन त दिए। तर, त्यो लिखित रूपमा थिएन। हामीले धेरै पटक लिखित रूपमा माग्दा मन्त्रीले पठाउने प्रतिबद्धता गर्दै ढुक्क हुन भने। तर त्यो कुरा बोलीमै सीमित भयो।’
अभागी खेलाडीमन्डेकाजी आफू अभागी खेलाडी भएको बताउँछन्। थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदै मेडल प्राप्त गरे पनि उनले ठूला प्रतियोगितामा सहभागिता जनाउन पाएका छैनन्। उनी असक्षम भएर प्रतियोगितामा सहभागिता जनाउन नपाएका भने हैनन्। १० औं सागमा बन्द प्रशिक्षणबाट अन्तिम टोलीमा नपरेका उनी ११ औं सागका लागि वैदेशिक प्रशिक्षणसमेत लिए। तर, नेपाली खेल क्षेत्रकै कमजोरीका कारण उनले सहभागिता जनाउन पाएनन्। ११ औं सागको पीडा भुलाउन उनले १२ औं सागलाई आफ्नो लक्ष्य बनाए। तर, यसमा पनि उनी असफल भए। नेपालमा भएका कराँतेका दुई संघबीच विवाद भइरहेका बेला आयोजक भारतमा पनि दुई कराँते संघबीच विवाद सिर्जना भएपिछ १२ औं सागमा कुनै पिन देशका कराँते खेलाडी सहभागीता जनाउन पाएनन्।
मन्डेकाजीले भने, ‘१२ औं सागमा कराँतेलाई समावेश गरिएन। त्यसपछि झनै हरेस खाएँ। खेल खेलेर मात्र नहुँदो रहेछ। जति प्रशिक्षण गरे पनि प्रतियोगितामा सहभागिता नै नहुँदो रहेछ। अनि मनमा अनेकन् सोचहरु आउन थाले।’ तर उनले खेललाई निरन्तरता दिइरहे र घरेलु मैदानमा आयोजना हुने १३ औं सागलाई आफ्नो अन्तिम लक्ष्य बनाएका। बन्द प्रशिक्षणबाट अन्तिम टोलीको टुङ्गो लाग्ने समय नजिकिँदै गर्दा मेन्डेकाजी बिरामी परे। ‘बिरामी भएर मनमा अलि चिन्ता बढेको छ। किनकि टोलीको अन्तिम छनोट नजिकिँदै छ,’ मन्डेले भने, ‘म आफूलाई अभागी खेलाडी भन्न रुचाउँछु।’ मन्डेकाजी अहिले राष्ट्रिय कराँते टोलीका कप्तान छन्।
बाल्यकालको त्यो कौतूहलमन्डेकाजीले २०५१ सालदेखि कराँते खेल्न सुरु गरेका थिए। सानोमा उनी घर नजिकैको कराँते डोजोमा प्रशिक्षण भइरहँदा लुकेर हेर्थे। ‘त्यतिबेला डोजोमा ढोका बन्द गरेर प्रशिक्षण गरिरहेका हुन्थे। अनी म लुकेर हेर्थें। मैले लुकेर हेरेको बुबाले देख्नु भएछ। एक साँझ बुबाले सोध्नुभयो– कराँते खेल्छस् रु मैले हुन्छ भनें। अनि मेरो खेलयात्रा सुरु भयो।’ उनलाई बुवाले नै उनलाई हात समाउँदै घर नजिकैको कराँते प्रशिक्षण केन्द्रमा पुर्याएका थिए।
रमाइलोका लागि खेल्दाखेल्दै बिस्तारै उनले मेहनत गर्न थाले। २०६३ सालमा उनी नेपाल पुलिस क्लबमा आबद्ध भए। पुलिस क्लबमा आबद्ध भएपछि पनि उनले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका छन्।
उनले पाँचौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जिते। छैटौं राष्ट्रिय खेलकुदमा मन्डेकाजीले टिम कातामा स्वर्ण पदका जितेका थिए। यस्तै आठौं राष्ट्रिय खेलकुदमा इन्डिभिजुयल कातामा स्वर्ण जितेका थिए। २०६९ मा भुटानको थिम्पुमा भएको दक्षिण एसियाली कराते च्याम्पियनसिपको तीन फरक विधामा तीनवटै स्वर्ण पदक जितेका थिए।
मन्डेकाजी भक्तपुरबाट २०७० मा सर्वोत्कृष्ट खेलाडी घोषित भए। हालै थाइल्यान्डमा सम्पन्न थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपका उनले रजत पदक जितेका छन्। नेपालका लागि त्यो पदक हालसम्मकै पहिलो हो।