२७ वर्षीया विभूति न्यौपाने मह बेच्छिन् । मकवानपुरका भीरपाखामा उत्पादित मह प्याकेजिङ र ब्राण्डिङ गरेर काठमाडौंमा बेचिरहेकी विभूतिले सामाजिक उद्यमशीलताको यो व्यवसाय ८ महिनाअघि मात्रै शुरु गरेकी हुन् । एस इन्स्ट्च्यिूट अफ म्यानेजमेन्टबाट एमबीए गरेकी यि आधुनिक युवतीको मह बेच्ने सोच कसरी आयो त ? कथा रोचक छ ।
विद्यालय शिक्षा पूरा गरेदेखि नै विभूतिमा केही नयाँ गर्ने जोश थियो । एमबीए अध्ययन सकिएपछि केही समय उनले उद्यमशीलता विकासका क्षेत्रमा काम गर्ने निजी संस्थाहरुमा काम गरिन् ।
गएको मंसीरमा उनी यूनिभर्सिर्टी अफ टेक्सस, अमेरिकाको कार्यक्रम 'साउथ एशिया कनेक्ट- नेक्सस स्टार्टअप हब' ले नयाँ दिल्लीमा आयोजना गरेको सम्मेलनमा सहभागी भएकी थिइन् । नेपाल, भारत, भुटान, बांग्लादेश र श्रीलंकाका स्टार्टअप लगानीकर्तामाझ सञ्जाल बनाउने, संवाद र सहयोग गर्ने उक्त कार्यक्रममा सामाजिक उद्यमशीलताका विभिन्न योजना बारे चर्चा भए।
त्यसै बेला कार्यक्रमका अर्का सहभागी निमेष कर्माचार्यले मकवानपुरको सिलिङ्गे गाउँमा प्रशस्तै अर्गानिक मह उत्पादन हुने र त्यसलाई ब्राण्डिङ गरेर बेच्न सकिने योजना सुनाए । यो योजना विभूतिलाई जँच्यो ।
दिल्लीबाट फर्किए लगत्तै २०७५ पुसमा विभुति र निमेष सिलिङ्गे पुगे । स्वच्छ वातावरण, विषादी प्रयोग नहुने मकवानपुरको चेपाङ वस्ती सिलिङ्गेको मह अर्गानिक रहेकोमा विभूति ढुक्क भइन् ।
व्यवसायको संभावना बुझ्न गएकी उनी यती उत्साहित भइन् कि त्यहीबेला किसानहरुसँग सम्झौता गरिन्- उनीहरुबाट शुद्ध मह संकलन गर्ने र त्यसलाई प्योकजिङ, ब्राण्डिङ गरेर शहरमा बेच्ने । यसकै परिणाम हो नागीको हनी ।
नागीको सुरूवातचेपाङ भाषाको शब्द 'नागी'को अर्थ हो, 'हाम्रो' । यो शब्दार्थ थाहा पाएपछि विभूति र निमेषले सिलिङ्गेको महलाई 'नागीको हनी' नाममा ब्राण्डिङ गर्ने योजना बनाए । स्वच्छ, उच्च पहाडी क्षेत्रमा चिउरी फूलको परागबाट माहुरीले बनाएको मह हो, नागीको हनी ।
नागीको हनीकै कारण दुर्गमका किसानहरुको थोरै भए पनि आम्दानी बढेको छ । स्वच्छ व्यवसाय गर्ने र सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने विभूतिको चाहनाले पनि साकार रुप लिंदै छ ।
विभूति भन्छिन, “शुरुमा हेरौं, कस्तो रहेछ भनेर गएका थियौं, त्यहाँ पुगेपछि त कम्पनी नै दर्ता गरायौं, काम शुरु भइहाल्यो ।”
नागीको हनीले उत्पादन शुरु गरेको ६ महिनामै करिब तीन हजार किलोग्राम मह बजारमा पठाइसकेको छ ।
उत्पादन र मागबाट उत्साहित विभूति भन्छिन, “अहिले प्रति किलोग्राम रु.११०० मा बिक्री गरिरहेका छौं, किसानहरु पनि सन्तुष्ट छन् हामी उत्साहित छौं ।”
नेपाली मह बजारको अधिकांश हिस्सा डाबर र पतन्जली जस्ता ठूलो कम्पनीहरुले ओगटेका छन् । यि ठूला र करोडौं लगानीका कम्पनीहरुले ओगटेको बजारमै विभूतिको रु. ७ लाख लगानीको स्टार्टअपले प्रतिस्पर्धा गर्नुपर्ने छ ।
विभूति भन्छिन, “अहिले नेपालमै यसलाई परिचित बनाउनुछ, दीर्घकालीन योजना त यसलाई अन्तर्राष्ट्रिय ब्राण्ड बनाउने नै हो ।” आफ्नो लक्ष व्यवसाय मात्र नभई सिलिङ्गेको चेपाङ वस्तीको विकास र त्यहाँको अर्गानिक उत्पादनलाई देश-विदेश पुर्याउने रहेको बताउने विभूति नागीको हनीप्रति ढुक्क छन् ।
यो मह उत्पादनमा सिलिङ्गेको ६५ घरधुरीका करिब ३५० सदस्य प्रत्यक्ष-परोक्ष रुपमा संलग्न छन् । शुद्धतामा विशेष ध्यान दिई उत्पादन भइरहेको महलाई बिना कुनै मिसावट विभिन्न साइजका भाँडामा प्याकेजिङ गरेर बजार पठाइन्छ । “त्यसैले हाम्रो गुणस्तर त राम्रो हुने नै भयो, प्याकेजिङ पनि आकर्षक भएपछि ब्राण्डिङमा समस्या होला जस्तो छैन,” विभूति भन्छिन् ।
गुणस्तरमा प्रतिवद्धता 'हाइभ टु टेबल' अर्थात घारबाट सोझै भान्छामा 'नागीको मह'को नारा हो । विभूति भन्छिन, “हाम्रो उद्देश्य नै महलाई घारबाट सोझै भान्छासम्म पुर्याउने हो । अर्थात यसमा कुनै मिसावट वा विचौलियाको भूमिका रहँदैन । न त उत्पादन र प्याकेजिङका क्रममा वातावरण प्रदुषित बनाउने काम हुन्छ ।
बजारमा पाइने अरु मह नजम्ने तर, 'नागीको हनी' जम्ने गरेको भन्ने केही उपभोक्ताको गुनासोबारे विभूति भन्छिन, “शुद्ध छ, अर्गानिक हो । त्यसैले त जम्छ ।”
महको यो व्यवसायमा सिलिङ्गेका किसान र विभूति बाहेक निमेष कर्माचार्य, एक जना प्याकेजिङ्ग गर्ने कर्मचारी, एक जना कोआर्डिनेटर र अन्य दुई कर्मचारी गरी ६ जनाको समूह कार्यरत छ । नागीको हनी अहिले औसतमा मासिक ५०० किलोग्राम ब्रिकी भइरहेको छ । जाडो महिना शुरु भएसँगै यसको माग दोब्बर हुनेमा विभूति निश्चिन्त छन् ।
महले दिएको खुशीसिलिङ्गेको गरीब वस्तीका किसानलाई मासिक रुपमा रकम भुक्तानी गर्न सकेकोमा विभूतिलाई खुशी लाग्छ । त्यतीमात्र होइन कोही नपुग्ने दुर्गम वस्तीमा नागीको हनीले कारखाना खोलेपछि गाउँलेको उनीहरुप्रति विश्वास र भरोसा बढेको छ । यही विश्वास र भरोसालाई टिकाइराख्ने चुनौती पनि छ विभूतिलाई ।
महले राम्रो भाउ पाउन थालेपछि वरपरका किसानहरु पनि विभूति र निमेषको सम्पर्कमा आउन थालेका छन् । योसँगै विभूति कारोबार विस्तार गर्ने योजना सुनाउँछिन् ।
नेपालमा केही हुँदैन, विदेश गइहाल्नुपर्छ भन्ने युवाहरुको जमात ठूलो भएको बेला विभूति र निमेष त्यस्तो उदाहरण बनेका छन् जसले नेपालमै नयाँ केही गर्न खोज्ने युवाको प्रतिनिधित्व गर्छ ।
परम्परागत परिवारकी विभूतिलाई ब्यांक वा अन्य संस्थामा जोखिमरहित जागिर खाएर घरजम गर्ने दबाब नआएको पनि होइन । बहुराष्ट्रिय कम्पनीबाट कामका प्रस्ताव पनि आए । उनी भन्छिन, “कहाँ गाउँ गाउँ घुमेर व्यवसाय गर्ने, शहरमै जागिर गर्नुपर्छ भन्ने पारिवारिक सुझाव÷दबाब थियो । तर, म आफैं केही गर्न चाहन्थें ।”
यो सबैका बीच काठमाडौंमा शुद्ध र अर्गानिक भनिने महप्रति ढुक्क हुन नसकेका परिवार र आफन्तलाई अर्गानिक मह चखाएर स्याबासी पाउँदा विभूतिको मन चंगा बन्छ ।