शुक्रबार, मंसिर २७, २०७६

समाचार कला - साहित्य

प्राध्यापक लुइटेललाई २५ सय डलरको पुरस्कार

प्राध्यापक लुइटेललाई २५ सय डलरको पुरस्कार

काठमाडौं- वरिष्ठ समालोचक प्रा. डा. खगेन्द्रप्रसाद लुइटेललाई अमेरिकी डलर २५ सय राशिको अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार प्रदान गरिएको छ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औं जन्मजयन्तीका अवसरमा अमेरिकाको वासिङ्टन डिसीमा आयोजित कार्यक्रममा लुइटेललाई नगदसहित सम्मानपत्र प्रदान गरिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले जनाएको छ।

समाजले हरेक दुई वर्षमा नेपाली भाषाका साहित्य स्रष्टाहरुलाई उक्त पुरस्कार प्रदा गर्दै आएको छ। पुरस्कार अमेरिकाका लागि नेपाली राजदूत डा। अर्जुनकुमार कार्की तथा बिओटी अध्यक्ष गीता खत्रीले संयुक्त रुपमा प्रदान गरेका थिए।

यस वर्ष नेपाली साहित्यका विभिन्न विधामा गरी आठ पुस्तकहरु पुरस्कृत भएका छन्। दुई हजार डलर राशिको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारबाट कथाकार नरेन्द्रराज पौडेल (रोबोटका आँखा-कथासंग्रह), एघार सय डलर राशिको अनेसास दिल-लीला सर्वोत्कृष्ट डायस्पोरा पुस्तक पुरस्कारबाट उपन्यासकार रमेश दियाली (छाप्रो नं.५५-उपन्यास) र एघार सय डलर राशिको अनेसास रोहिणी शर्मा-सीता शर्मा सर्वोत्कृष्ट काव्य पुरस्कार कुन्ता शर्मा (मेरो मान्छे-कवितासंग्रह)लाई प्रदान गरिएको छ।

हजार डलर राशिको अनेसास पदम विश्वकर्मा सर्वोत्कृष्ट कथा पुरस्कार कथाकार युवराज मैनालीलाई र हजार डलर राशिको अनेसास स्व। डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार उपन्यासकार तीर्थ गुरुङलाई प्रदान गरिएको छ।

पाँच सय डलर राशिको अनेसास श्याम कार्की-इन्दिरा कार्की सर्वोत्कृष्ट निबन्ध पुरस्कार यस वर्ष नियात्राकार घनश्याम राजकर्णिकारलाई प्रदान गरिएको छ।

पाँच सय डलर राशिको अनेसास गीता खत्री सर्वोत्कृष्ट गजल पुरस्कार नमिता बराल (आँगन-गजल संग्रह)ले पाएकी छन्। पाँच सय डलर राशिकै मस्टो संस्कृति सांस्कृतिक अनुसन्धानपरक कृतिका लागि संस्कृतिविद् तेजबहादुर कार्कीलाई प्रदान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्