शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बाढीले तराईको यातायात अस्तव्यस्त, अझै खुल्न सकेनन् यी सडक 

बाढीले तराईको यातायात अस्तव्यस्त, अझै खुल्न सकेनन् यी सडक 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – अषाढको अन्तिम साता भारी वर्षासँगै आएको बाढीले धनुषा र महोत्तरी जिल्लाका सडकहरुलाई अस्तव्यस्त बनाएको छ। वर्षा बन्द भई मौसम सफा भएपनि बाढीका कारण अवरुद्ध भएका सडक मर्मतसम्भार नहुँदा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ।

अबिरल वर्षापछि आएको बाढीपछि धनुषा र महोत्तरीको दुई दर्जनभन्दा बढी सडक अवरुद्ध भएको छ। प्रमुख सडकका साथै अन्य सडकहरु अवरुद्ध हुँदा छिमेकी भारतबाट आयात बन्द भएको छ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित नेपाल आयल निगमको डिपोमा भारतको बरौनीबाट महोत्तरीको जलेश्वर नाका हुँदै ट्यांकर भित्रिने गर्दछ। तर जनकपुर–जलेश्वर सडक खण्डको पिपरा र खैरबा भत्रे स्थानमा बाढीले बाटो बगाएपछि सवारी साधन सञ्चालन हुन सकेको छैन्। 

जनकपुर–जलेश्वर सडक खण्ड बन्द भएपछि भारतबाट आयात हुने दैनिक उपभोग्य सामग्रीसहित इन्धनसमेत आउन बन्द भएपछि अभाव देखिन थालिएको छ। 

बाढीपछि झण्डै एक सातादेखि बाटो अवरुद्ध भएपछि भारतबाट पेट्रोलियम पदार्थको आपूर्ति हुन नसकेको जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरी बताउँछन्। सवारी साधन सञ्चालन गर्न बाटो नभएपछि भारतको बरौनीबाट आएका ट्यांकरहरु जलेश्वर नाकामा थन्किएर बसेको उनले बताए।

भारी वर्षापछि गाउँमा पानी छिरेपछि स्थानीयवासीले नवनिर्मित जनकपुर–जलेश्वर सडक महोत्तरीको पिपरा नजिक आफैले तोडेका थिए। गाउँलाई बाढीबाट जोगाउन त्यहाँका स्थानीयले प्रायः हरेक वर्ष बाटो काट्ने गरेका छन्। तर सम्बन्धीत निकायले ठोस उपाय खोज्न नसकेको बस व्यवसायी संघका अध्यक्ष चौधरीको गुनासो छ। हरेक वर्ष वर्षायाममा आउने यस्तो समस्यालाई समाधान गर्न स्थायी पुलको निर्माण हुनुपर्ने उनको भनाइ छ।

यता जनकपुरलाई भारतको पिपरौनसँग जोड्ने जनकपुर–जटही सडक खण्डको जटहीमा पुल भत्किदा बाटो अवरुद्ध छ। भारतीय सीमा नजिकै रहेको जमुनी नदीको पुल बाढीले भत्काएपछि सडक अवरुद्ध भएको हो। जनकपुरबाट जटहीसम्म पुग्न समस्या नरहेपनि त्यहाँबाट भारत पुग्न गाडी सञ्चालन हुने अवस्था नरहेको अध्यक्ष चौधरीले बताए।

यसैगरी पूर्वपश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवासस्थित भव्सी खोलाको पुल बाढीले बगाएपछि अहिले बेली ब्रिज लगाउने कार्य भइरहेको छ। बेलीब्रिज निर्माण भइरहेपनि डाइभर्सन तयार पारेर त्यहाँ बाटो सञ्चालनमा ल्याइएको छ।

प्रमुख सडकबाहेक बाढीका कारण दर्जनौं सडकहरु अवरुद्ध भएपछि सदरमुकामसँग सम्पर्क विच्छेद भएको छ। बाढीका कारण बाटोहरु अवरुद्ध हुँदा सर्वसाधारणलाई आवतजावत गर्न समस्या भइरहेपनि सरोकारवाला निकायले मर्मतसम्भारतर्फ हालसम्म चासो देखाएको छैन।

अबिरल वर्षापछि आएको बाढीका कारण धनुषामा मात्रै साना ठुला गरी झण्डै दुई दर्जन सडक अवरुद्ध भएको छ। बस व्यवसायी संघका अध्यक्ष चौधरीका अनुसार जनकपुर–जटहीबाहेक जनकपुरबाट धनुषाको अन्य कुनै स्थानमा सवारीसाधन सञ्चालन हुन सकेको छैन।

उनका अनुसार जनकपुर–खजुरी–सघारा, जनकपुर–यदुकुहा, जनकपुर–सबैला,जनकपुर–भ्रमरपुरालगायतका दर्जनौं सडकहरु हालसम्म अवरुद्ध छ। यसैगरी महोत्तरीको जलेश्वर–सम्सी, जलेश्वर–भ्रमरपुरा हुँदै जनकपुर जोड्ने सडक, जलेश्वर–मठिहानी, जलेश्वर–रौजालगायतका सडकहरु बाढीपछि सञ्चालनमा आउन सकेको छैन्।

वर्षा सकेर मौसम सफा भइसक्दासमेत बाटो मर्मतसम्भार गर्नतर्फ सरकारले चासो नदेखाउँदा आवतजावत गर्न आफूहरुलाई समस्या भोग्नु परेको स्थानीयहरु बताउँछन्। सरकारले राहतका साथै सहज आवतजावतको लागि सडक मर्मततर्फ समेत चासो दिनुपर्ने उनीहरुको भनाइ छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले बाढीपछि बाटो अवरुद्ध हुँदा सर्वसाधारणले समस्या भोग्नु परेको बताए। ‘धनुषामा मात्रै दुई दर्जनभन्दा बढी बाटो अवरुद्ध भएको छ,’ उनले भने, ‘मर्मतसम्भारका साथै कतिपय स्थानमा डाइभर्सन निर्माण गर्ने कार्य सुरु भएको छ।’

अवरुद्ध भएका बाटो मर्मतसम्भारका लागि सहयोग गर्न नेपाली सेना र सशस्त्र प्रहरीलाई समेत आग्रह गरिएको कँणेलले जानकारी दिए। कतिपय स्थानमा स्थानीय तहहरुलाई समेत बाटो सञ्चालनमा सहयोग गर्न आग्रह गरिएको उनको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।