बिहिबार, मंसिर ५, २०७६

समाचार

भारतसँग ७१ ठाउँमा सीमा विवादः ६० हजार हेक्टर कब्जा

भारतसँग ७१ ठाउँमा सीमा विवादः ६० हजार हेक्टर कब्जा

काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले भारतले लिपुलेक आफ्नो भूभागमा समेट्दै जारी गरेको नयाँ नक्साको विरोधमा भएका प्रदर्शन र सरकारले निकालेको वक्तब्यलाई मुख्य समाचार बनाएका छन् ।

नेपाली भुभाग लिम्पियाधुरादेखि लिपुलेकसम्मको क्षेत्रलाई आफ्नो बनाएर भारतले तीन दिनअघि सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साका कारण नेपालमा ठूलो खैलाबैला मच्चिएको छ ।

जसको विरोधमा सर्वसाधरण सडकमा उत्रिएका छन् भने राजनीतिक दलहरुले पनि भारतीय हस्तक्षेप भन्दै विरोध गरेका छन् । सरकारले पनि उक्त क्षेत्र नेपाल कै भएको भनेर विज्ञप्ती जारी गरेको छ ।

यसै विषयलाई मुख्य समाचार बनाउँदै आजका नागरिक दैनिकले कालापानीमा भारतीय अतिक्रमणः सर्वसाधरण आक्रोशित शीर्षकमा मुख्य समाचार छापेको छ। कान्तिपुर दैनिकले भारतले नयाँ नक्सालाई लिएर तीव्र विरोध भएपछि नेपालको प्रष्टिकरणः कालापानी नेपालकै भूभाग हो शीर्षकमा खबर लेखेको छ ।

नयाँ पत्रिकाले नेपाल बोल्यो– कालापानी हाम्रो हो शीर्षकमा खबर छापेको छ भने अन्नपूर्ण पोस्ट्ले कालापानीका विषयमा सरकारले निकालेको विज्ञप्तीसँगै २३ जिल्लाका ७१ ठाउँमा भारतसँग सीमा विवाद रहेको विषयलाई मुख्य समाचार बनाएको छ ।

भारतले अहिलेसम्म सीमा जोडिएका नेपालका २६ मध्ये २३ जिल्लाका ७१ ठाउँमा गरि ६० हजार ६ सय २७ हेक्टर जमिन हडपेको पाइएको छ ।

यो विषय बाहेक आजको नागरिक दैनिकले निर्मला पन्तको हत्या अनुसन्धानका लागि गठित प्राविधिक विज्ञ समितिले डिएनएलाई प्रमाण मान्न नमिल्ने भनि निष्कर्ष निकालेको विषयलाई प्राथमिकताका साथ छापेको छ।

कान्तिपुर दैनिकले उपनिर्वाचनका लागि प्रमुख दल नेकपा र कांग्रेसले उम्मेदवारको टुंगो लगाएको विषयलाई प्राथमिकताका साथ छापेको छ। अन्नपूर्णले विदेशमा नक्कली नेपाली पासपोर्ट बन्ने गरेको भेटिएको विषयलाई महत्वका साथ छापेको छ ।

२३ जिल्लाका ७१ ठाउँमा सीमा विवाद

अन्नपूर्ण पोस्ट्मा प्रकाशित समाचारअनुसार कालापानी र लिपुलेकसहित नेपाल–भारत सीमाका ७१ स्थानमा विवाद छ।

भारतसँग जोडिएका २६ मध्ये २३ जिल्लामा सीमा समस्या छ। डँडेल्धुरा, बैतडी र धनुषामा मात्र सीमा अतिक्रमणका घटना देखिएका छैनन्। दार्चुलादेखि ताप्लेजुङसम्म गरी भारतले ६० हजार ६ सय २७ हेक्टर मिचेको छ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठको पुस्तक ‘सीमा संग्राम’ का अनुसार नेपाल र भारतबीच १ हजार ८ सय ५० किलोमिटर सीमा जोडिएको छ। त्यसमध्ये ६ सय ६ किलोमिटर विवादित छ।

नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओलीका अनुसार सन् १८५६ पछि भारतले सीमा मिच्न थालेको हो। सुगौली सन्धिअनुसार काली नदी सीमा हो। भारतले ३० किलोमिटरपूर्व कृत्रिम नदी बनाई त्यसलाई ‘काली’ भन्न थाल्यो। खास कालीलाई कुटियन्ती नामकरण गर्‍यो।

त्यसबाट नेपालको सामरिक क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा उता परेको देखाइयो। कालापानी र लिपुलेकको स्वामित्व नेपालले दाबी गर्दै आए पनि लिम्पियाधुरालाई चुपचाप त्यागिदिएको थियो। भारतले पनि ती भूभागलाई आफ्नो नक्सामा राख्दै आएको छ। भारतले कुटियन्ती भन्दै आएको नदीलाई नयाँ नक्सामा काली लेखेको छ।

कालापानी, लिपुलेकको ६२ वर्गकिलोमिटर क्षेत्रफल छ। ३१० वर्गकिलोमिटर लिम्पयाधुरा क्षेत्रको कब्जा गरेको छ। कालापानीपछि सुस्ता क्षेत्र बढी समस्याग्रस्त छ। भारतले त्यहाँको १४ हजारभन्दा बढी हेक्टर जमिन मिचेको छ।

कञ्चनपुरको ब्रह्मदेवमण्डी–पूर्णागिरी, टनकपुर जलाशय क्षेत्र, टनकपुर ब्यारेज, बनबासा–गड्डाचौकी क्षेत्र, शारदा ब्यारेज, शुल्काफाँटा, परासन–खुड्काककडमा पनि सीमा विवाद छ।

कैलालीको सतिविरानाला, बर्दियाका मनाउ, टपरा, खैरी, मुर्तिया, मानपुर–भीमापुर क्षेत्र भारतीय अतिक्रमणमा पर्दै आएका छन्। बाँकेका सन्तलिया, होलिया, नरैनापुर, लक्ष्मणपुर बाँध विवाद सुल्झिएको छैन।

दाङको कोइलाबास, कपिलवस्तुका कृष्णनगर, ठण्डा नदी किनारमा सीमा समस्या छ। यस्तै दानव नदी (रसियावाल खुर्दलोटन बाँध), सुनौली नाका, सुस्ता नर्साही, वाल्मीकि आ श्रम, दारानाला–दारीचुरे सिमा क्षेत्र विवादमा छन्। पर्साका ठोरी, सिमरिया, लक्ष्मीपुर–पिपरा, वीरगन्ज–सिर्सिया गौर–जमुना गाउँ सीमा क्षेत्र भारतले अतिक्रमण गरेको छ।

त्रिभुवननगर, संग्रामपुर–हथिऔल, माडर–चन्द्रगन्ज, ठाँडी, सुर्वापट्टीमा विवाद छ। सप्तरीका तिलाठी, सखडा–छिन्नमस्ता, कुनौली र भारदहमा अतिक्रमण भएको छ। विष्णुपुर–शिवनगर, लालपट्टटी–गोविन्दपुर, तिलजा, मोहनिया, सरवाह, गोवरगाढामा पनि सीमा समस्या छ। सुनसरीका कटैया–भण्टाबारी, हरिनगरिया–शिवगन्ज साहेबगन्ज, पकरिया–झुमवा, भीमनगर मौजामा समस्या छ।

त्यस्तै मोरङका बुद्धनगर–जोगबनी, रंगेली–चोप्राहा, रानी, बक्राहा (लुना) नदी–चुनिमाडीमा विवाद छ। झापाका पाठामारी, मेचीगाउँ, महेशपुर, मेचीपुल, भद्रपुर–गलगलिया, काँकरभिट्टा, बारिसजोत, मदनजोत, नकलबन्दा, बाहुनडाँगी तथा इलामका चित्रेडाँडा, पशुपतिनगर, झिझिया भन्ज्याङ, मानेभन्ज्याङबाट सन्दकपुर जाने बाटो, मानेभन्ज्याङ, सन्दकपुर, जौबारी डाँडा अतिक्रमणमा परेका छन्।

कालपाखरी, च्याङथापु, फालेलुङ, ताप्लेजुङ सीमा क्षेत्रका डाँडो चिवाभन्ज्याङ, टिम्बापोखरी, मेगना तुम्लीङ सीमामा विवाद छ। भारतले दसगजा अतिक्रमण, सीमा स्तम्भ गायब पार्ने काम समेत गर्दै आएको छ।

निर्मला पन्त प्रकरण : डिएनएलाई प्रमाण मान्न नमिल्ने, हत्या अभियोगमा अनुसन्धान गर्न बाटो खुला

नागरिक दैनिकमा प्रकाशित समाचारअनुसार कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका लागि गठित प्राविधिक विज्ञ समितिले डिएनएलाई प्रमाणका रुपमा लिन नमिल्ने ठहर गरेको छ।

निर्मलाको भेजिनल स्वाबमा भेटिएको बिर्य पुरुषको हो या होइन भन्ने पुष्टि नभएको भन्दै त्यसलाई प्रमाण मान्न नसकिने समितिको प्रतिवेदनमा उल्लेख छ।

गत भदौ २६ गते गृहमन्त्रीस्तरीय निर्णय अनुसार गठन भएको प्राविधिक अनुसन्धान समितिले केही दिनअघि बुझाएको प्रतिवेदनमा प्रयोगशालामा भेटिएको बिर्य ‘भेरिफाई’ नै गर्न नसकिएको उल्लेख छ।

निर्मलाको भेजिनल स्वाबमा भेटिएको बिर्य संकलन र त्यसको परीक्षण विधिबारे अनुसन्धान गर्न राष्ट्रियविधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक जीवन रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको थियो।

समितिमा डिएनए विज्ञ एवं विधिविज्ञान प्रयोगशालाका निर्देशक डा. जीवनकुमार झा र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक डा. तुलसी कँडेल सदस्य थिए।

गत वर्षको साउन साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मलाको शव उखुबारीमा भेटिएको थियो। निर्मलाको भेजिनल स्वाब र डिएनए परीक्षणमा प्रहरीको विधि विज्ञान प्रयोगशालाको प्रतिवेदनमाथि राष्ट्रिय मानव अधिकार आयोगले प्रश्न उठाएपछि त्यसलाई निरुपण गर्न प्राविधिक अनुसन्धान समिति गठन गरिएको मन्त्रालय जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्