बुधबार, कात्तिक २७, २०७६

विचार
हचुवामा अंग्रेजी माध्यम

अधिकांश निजी विद्यालयले पहिलेदेखि नै अंग्रेजीमा पढाउँदै आए पनि पछिल्लो समय सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यममा पढाउन थालेका छन्। अभिभावक पनि आफ्ना छोराछोरीले खरर अंग्रेजी बोल्न सकुन भन्ने चाहना राख्छन्।

शिक्षा ऐनमा पनि विद्यालय शिक्षाको माध्यम नेपाली, अंग्रेजी भाषा वा दवै हुने उल्लेख छ।

अंग्रेजी अन्तर्राष्ट्रिय भाषा भएकाले यसप्रतिको मोह बढ्नु स्वाभाविक हो। तर, विद्यालयले विद्यार्थीको भावना र शिक्षक जनशक्ति तयार नै नगरी अंग्रेजी माध्यमबाट पढाउँदा त्यसले विद्यार्थी, शिक्षक र विद्यालयलाई नै असर गर्छ।

अर्को कुरा, सामाजिक, जनसंख्या जस्ता विषय अंग्रेजीमा पढाउनु गलत हो।

हामी भाषा र संस्कृतिमा धनी छौँ। भाषा र संस्कृति आफ्नै भाषा र शैलीमा पढाउनुपर्छ। संस्कृति र परम्परालाई आफ्नै भाषामा जसरी अर्काे भाषामा व्याख्या गर्न गाह्रो हुन्छ ।

उदाहरणका लागि दसैं, छठ पर्वको महत्त्वलाई नेपाली भाषामा पढाउँदा जति मिठास आउँछ त्यो अंग्रेजीले दिँदैन। त्यस्तै नेपालको इतिहास नेपाली भाषामा पढाउँदा जति बुझिन्छ, अंग्रेजीमा पढाउँदा बुझ्न कठिन हुन्छ।

सामाजिक, जनसंख्या, नेपालको इतिहास अंग्रेजीमा पढाउनु विद्यालयको बदमासी हो।

अंग्रेजीलाई विषयका रूरुपमा पढाउने कि माध्यमका रूपमा पढाउने वा अंग्रेजीमात्र पढाउने भन्ने स्पष्ट छैन। अधिकांश सामुदायिक विद्यालयले प्राथमिक तहदेखि नै हचुवाका भरमा अंग्रेजीलाई शिक्षाको माध्यम बनाउने प्रयास गरेका छन्।

अंग्रेजी माध्यमबाट पढाउने हो भने नेपाली र अंग्रेजी भाषाको सम्बन्ध कति नजिक छ भन्ने स्पष्ट हुनुपर्छ।

भाषाको आधाररूप व्याकरण हो। अंग्रेजी र नेपाली भाषाका व्याकरण कति नजिक छन् भनेर विद्यार्थीले थाहा पाउनुपर्छ।

नेपालीमा प्रयोग हुने निपात अंग्रेजीमा छँदै छैन। त्यसलाई कसरी पढाउने? विभक्तिको सन्दर्भ पनि त्यस्तै हो । त्यसैले अंग्रेजी भाषालाई माध्यम बनाउन सजिलो छैन।

अंग्रेजी माध्यममा जबरजस्ती पढाउनु अभिभावक–विद्यार्थीको चासो र रुचि भन्दा पनि शिक्षा क्षेत्रमा अधिकारीहरूकै स्वार्थले हो।

बहुभाषामा ज्ञान हुनु बालबालिकाको अधिकार हो। हाम्रै देशमा जातीय भाषा भएका विद्यार्थीले आफ्नै मातृभाषा बोलेकै छन्। नेपाली भाषा पनि सिकेका छन् र अंग्रेजी भाषा पनि जानेकै छन्। यो सकारात्मक पक्ष हो।

तर हाम्रा विज्ञहरुमा भ्रम छ। एउटा भाषामा सबल भएपछि मात्र अर्काे भाषामा लाग्नुपर्छ भन्ने मान्यता छ । हामी त्यो भ्रमबाट उठ्न सक्नुपर्छ ।

अंग्रेजी भाषालाई विषयका रुपमा पढाउने विज्ञहरु हामीसँग छैनन्। सरकारी विद्यालयमा राम्रा अंग्रेजी शिक्षक भएको भए १० वर्षसम्म पढ्दा केही उपलब्धि गर्न नसक्ने विद्यार्थीले केही महिना इन्स्टिच्युट गएर पढ्दा किन जान्ने भए ?

हाम्रो सिकाइ कार्यकलापमा कमजोरी छ । ए फर एप्पलबाट सुरु गरेर त्यसैमा मात्र अल्झिरहेका छौँ । त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा सिकाएनौँ । त्यही हो अंग्रेजी भाषा सिकाइको कमजोरी ।

केटाकेटीलाई जे सिकाइयो, त्यही सिक्ने हुन्, जसरी सिकायो त्यसरी नै सिक्ने हुन्। अहिले अंग्रेजी सुन्ने केटाकेटीहरुले जसरी सजिलै बुझ्न सक्छन्। हामीले त्यसरी बुझ्न सक्दैनौँ। त्यसैले न हामी पूर्ण रुपमा अंग्रेजी सिक्न सकेका छौँ न अंग्रेजी भाषाबाट टाढा जान सकेका छौँ।

हचुवाका भरमा अंग्रेजी भाषालाई शिक्षाको माध्यम बनाउने प्रयास गरेको देखिन्छ। निजी विद्यालयप्रतिको आकर्षणले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थीको पहुँच वृद्धि गर्न थुप्रै प्रयास गर्नुपर्नेछ । अंग्रेजी भाषामा लेखिएका पाठ्यपुस्तक पढाउँदैमा सिकाइ उपलब्धि वृद्धि हुन्छ भन्ने गलत मानसिकताबाट मुक्त हुन जरुरी छ।

(शिक्षाविद् कोइरालासँगको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप