शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • झलनाथले नयाँ पार्टीमा सनाखत गर्न नपाउने, सर्वोच्चले मगायो कुलमान नियुक्तिको फाइल [२०७८-५-८]

झलनाथले नयाँ पार्टीमा सनाखत गर्न नपाउने, सर्वोच्चले मगायो कुलमान नियुक्तिको फाइल [२०७८-५-८]

प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा ढोका बन्द गरिदिएपछि बाध्य भएर नयाँ पार्टी खोल्नु परेको बताएका छन्।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

काठमाडौं- प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा ढोका बन्द गरिदिएपछि बाध्य भएर नयाँ पार्टी खोल्नु परेको बताएका छन्। 

triton college

अध्यक्ष नेपालले मंगलवार चन्द्रागिरीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा(एमाले)का अध्यक्ष ओलीले एकलौटी रुपमा पार्टी कब्जा गरेको र आफुहरुलाई पार्टीबाट निष्काशन गरेका कारण बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताएका हुन्। आफु लगायतका १४ सांसदलाई पार्टीबाट निष्काशन गरेपछि आफुहरु सँग नयाँ पार्टी दर्ता गर्नुको विकल्प नरहेको उनले बताए। 

अध्यक्ष नेपालले आफुहरुसँग एमाले विभाजनका लागि आवश्यक २० प्रतिशत संख्या भन्दाबढी केन्द्रीय कमिटी र संसद दुवैतिर पुग्ने दाबी पनि गरे। केपी ओली र आफुहरुको कित्ता छुट्टीएको उल्लेख गर्दै उनले आगामी दिनमा अन्य वामपन्थी पार्टीहरुसँग चुनावी तालमेल गर्न तयार रहेको बताए। उनले आफुहरुलाई पार्टी गठन गर्न नदिएर घर न घाटको बनाउने षडयन्त्र भएको भन्दै षडयन्त्रलाई चिरेर पार्टी निर्माण गर्ने पनि बताए।

अध्यक्ष नेपालले बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफुसँग सल्लाह गरेर नै मुख्यमन्त्री बनेको पनि बताए। आफ्नो सल्लाहमा मुख्यमन्त्री बनेको भएपनि नयाँ पार्टी गठन पछाडी प्रदेश र स्थानीय तहको जनप्रतिनिधिले २१ दिनभित्र राजनीतिक पार्टी रोज्न पाउने कुरा उल्लेख गर्दै शाक्यले कुन पार्टी रोज्नुहुन्छ सोही आधारमा बागमती प्रदेश सरकारलाई आफुहरुले कसरी हेर्ने भन्ने तय हुने बताए। 

यता नेपालकै पूर्वपार्टी नेकपा एमालेले भने पार्टी केन्द्रीय कमिटी र संसद् सदस्यबाट पदमुक्त गरेका १४ जनाको सनाखतलाई दल विभाजनमा मान्यता नदिन निर्वाचन आयोगसँग माग गरेको छ। 

corrent noodles
Metro Mart

एमाले निर्वाचन विभाग प्रमुख अग्नि खरेलसहितको टोलीले नयाँ पार्टी दर्तालाई आधिकारिकता दिदा पार्टीले कारबाही गरेका १४ सांसदको सनाखत नलिन माग गरेको हो। एमालेले माधव नेपालसहित १४ जनालाई भदौ १ गते नै निष्कासन गरेको विवरण आयोगमा बुझाइसकेको भन्दै उनीहरूको हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेको खरेलले बताए। सभामुखले एमालेको कारवाहीलाई अघि बढाएनन् भन्दैमा निर्वाचन आयोगले कानुनविपरीत जान नमिल्ने उनको भनाइ छ। 

सभामुख अग्नि सापकोटाले पार्टीले कारबाही गरेका सांसदहरुलाई पदमुक्त गर्न अनाकानी गरेपछि एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको खरेलले बताए। आयोगले भोलि बुधबार एमालेबाट विभाजित माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य र सांसदहरुलाई सनाखतका लागि सशरीर उपस्थित हुन भनेको छ। 

आयोगले यसका लागि बुधबार ११ देखि २ बजेको समय तोकेको छ। निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निवेदनमा दर्ता भएका नामका व्यक्तिहरुलाई स्वयं उपस्थित भएर सनाखत गर्नुपर्ने जानकारी दिए। 

नेपालले भदौ २ गते नेकपा एमाले विभाजनका लागि नयाँ दल दर्ताको निवेदन दिएका छन्। एमालेका ५८ केन्द्रीय सदस्यले दल विभाजनमा समर्थन गरेको भनेर नेपाल पक्षले  निवेदन पेश गरेको थियो।

प्रस्तावित एकीकृत समाजवादीकै अर्को प्रसंगमा नेता झलनाथ खनालले एमाले विभाजन गरेर नयाँ पार्टी गठन गर्ने निर्णयको पक्षमा सनाखत गर्न नपाउने भएको छन्। 

निर्वाचन आयोगले सशरीर उपस्थित नहुनेको मात्रै सनाखत लिने निर्णय गरेसँग उनले एमाले विभाजन गरेर गठन भएको नयाँ पार्टीको पक्षमा सनाखत गर्न नपाउने भएका हुन्। राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीले आयोगमै सशरीर उपस्थित भएर सनाखत गराउने व्यवस्था गरेकाले उपस्थित नहुनेको सनाखत नगराउने आयोगले निर्णय गरेको हो। 

नेता खनाल भारतको दिल्लीमा उपचार गराइरहेका छन्। उनले भारतस्थित नेपाली दूतावासमार्फत नयाँ पार्टी दर्ताको लागि सनाखत गराउने व्यवस्था मिलाइदिन आयोगसँग आग्रह गरेका थिए। उनको आग्रह आयोगले अस्विकार गरेको छ। आयोगले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्नलाई भोलि बुधबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म केन्द्रीय सदस्य सांसद्हरुलाई उपस्थित हुन भनेको छ।

000

सर्वोच्च अदालतले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्तिको सक्कल फाइल मगाउने आदेश गरेको छ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासले हितेन्द्रदेव र कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गर्ने मन्त्रिपरिषदको निर्णयको सक्कल फाइल मगाएको हो। निर्देशक बनाएपछि शाक्य र  प्राधिकरणबीच भएको पर्फमेन्स एग्रीमेन्ट फर म्यानेजिङ डाइरेक्टर र शाक्यलाई उर्जा आयोगको विशेषज्ञ बनाउने मन्त्रिपरिषदको निर्णयको सक्कल फाइल समेत अदालतले मागेको छ। 

पूर्व प्रमुख हितेन्द्रदेव शाक्यले आफू पदमा रहँदा रहँदै कुलमानलाई गरिएको नियुक्ति कानूनविपरीत भएको भन्दै उनलाई काम गर्नबाट रोक लगाउने अन्तरिम आदेश माग गरेका थिए। तर अदालतले भने अन्तरिम आदेश दिने वा नदिने बारे आदेशमा केही बोलेको छैन। साउन २५ गते बसेको मन्त्रिपरिषद बैठकले आफूलाई ऊर्जा आयोगको विज्ञको रूपमा नियक्ति गरेकोमा पनि उनले असन्तुष्टि जनाएका छन्। आफूले उक्त पद स्वीकार नगर्दै आफूलाई विस्थापित गर्न कुलमानलाई नियुक्ति गरिएको शाक्यको जिकिर छ।

000

सत्तारुढ दल नेपाली कांग्रेसका क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टी नेतृत्वलाई दिवाव दिन सुरु गरेका छन्।

मंगलबार बिहानै सानेपास्थित पार्टी केन्द्रिय कार्यालय पुगेका उनीहरुले क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै धर्ना दिन सुरु गरेका हुन। १४ औं महाधिवेशनको तयारीमा जुटेका आफूहरुलाई महाधिवेशनको तयारीका लागि पनि क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न पार्टी नेतृत्वलाई दवाव दिन धर्ना कार्यक्रम सुरु गर्नु परेको नेपाली काँग्रेसका रामेछाप जिल्ला कार्य समितिका सभापति लबश्री न्यौपानेले जानकारी दिए। उनले महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न पनि आफूहरुले पार्टी नेतृत्वलाई दवाव दिएको स्पष्ट पारे।

धर्ना कार्यक्रममा पुगेर नेपाली काँग्रेसका नेताहरु शेखर कोइराला, अर्जुन नरसिंह केसी र गगन थापाले पनि अभिलम्ब क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन। नेता कोइरालाले क्रियाशील सदस्यता वितरणमा देखिएको त्रुटि सच्याउन पनि पार्टी नेतृत्वले क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे। उनले जिल्ला सभापतिहरुको माग सम्बोधन गर्न पार्टी नेतृत्वलाई दवाव समेत दिए। 

युवा नेता गगन थापाले अभिलम्ब क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न पार्टी नेतृत्वको गम्भिर ध्यानाकर्षण गराए। क्रियाशील सदस्यता वितरणमा त्रुटि भए सच्याउने अधिकार पार्टीको सिंगो पंक्तिलाई रहेकाले पनि काँग्रेस नेतृत्वले त्यसको सार्वजनिक गर्न ढिलाई गर्न नहुने उनको तर्क थियो।

नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले महाधिवेशन समयमै हुने गरी तयारी गर्न पनि पार्टी नेतृत्वलाई दवाव दिने काम गरिरहेका छन। 

000

संसदीय समितिले कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो भौतिक रुपमा नै लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार सिंहदरवारमा बसेको बैठकले विद्यार्थीहरुलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो। कोभिडविरुद्धको खोपलगायतका स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना हुने गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न सरकारलाई निर्देश गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन्।

समितिले कोभिड खोपको अभावमा परीक्षामा सामेल हुन नसक्ने अवस्था विद्यार्थीहरुमा आउन नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सचेत समेत गराएको छ। बैठकमा समितिका सदस्यहरुले कोभिडविरुद्धको खोपका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आवश्यक समन्वय गरेर छिटो कक्षा १२ को परीक्षा संचालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भिर ध्यानाकर्षण गराएका थिए। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरि लम्सालले समितिले दिएको निर्देशन अनुसार कक्षा १२ को परीक्षाको आवश्यक व्यवस्था मिलाउन ढिलाई नगर्ने प्रतिवद्धता व्यक्त गरे। 

इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले अनलाईन फि मात्रै तिरेर आफूहरुले परीक्षा दिन पाउने व्यवस्था गर्न सरकारसँग माग गरिरहेका छन।

000

नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिएका छन्। उनले मंगलबार अर्थमन्त्रीलाई राजीनामा बुझाएका हुन्।

मंगलबार पत्रकार सम्मेलन गरी उनले आफ्नो कार्यकाल केही समय बाँकी छदै राजीनामा दिन बाध्य भएको बताए। आफ्नी श्रीमतिको नाममा सर्वोत्तम सिमेन्टको सेयर किनेपछि उनी विवादित भएका थिए। 

मन्त्रालयले उनलाई इन्साइडर ट्रेडिङ गरेको भन्दै निलम्वन गर्ने तयारी गरेको थियो। अर्थमन्त्रालले मंगलबार निलम्वन गर्ने तयारीका साथै अन्तिम स्पष्टीकरण सोधेपछि साउदले राजीनामा दिएका हुन्। उनले पत्रकार सम्मेलनमा आफ्नो कार्यकालमा गरेको कामको फेहरिस्त समेत प्रस विज्ञप्ति मार्फत सार्वजनिक गरेका छन्।

000

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ।

गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न अस्पतालमा उपचाररत ३५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ। 

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार मंगलबार १४ हजार ८१० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। त्यस्तै, २ हजार ८६ जना कोरोना संक्रमण मुक्त भएका छन्।

गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा जारी निषेध आदेश भदौ १६ गतेसम्मलाई थपिएको छ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेध आदेश थप एक साता लम्ब्याउने निर्णय गरेको हो। यसअघि लगाइएको निषेधाज्ञा मंगलबार राति सकिँदै थियो। पुरानै मोडालिटीलाई निरन्तरता दिँदै निषेध आदेश थप भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए। तर, राति ८ बजेपछि निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा लगाइएको प्रतिबन्ध भने हटेको उनले बताए।  स्वास्थ्य सचेतना अपनाएर सवारी चलाउन दिइने निर्णय प्रशासनले गरेको हो।  

यस्तै अत्यावश्यकबाहेकका पसलहरु साँझ ७ बजेसम्म मात्रै खोल्न पाइनेछ। स्थानीय ढुवानी विहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म संचालन गर्न नपाउने काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए।

अब अन्तर्राष्ट्रिय समाचार

कोभिड–१९ महामारीका कारण एसियामा झन्डै ८० लाख मानिस गरिबीको चपेटामा धकेलिएका छन्। 

एसियाली विकास बैंकले मंगलबार दिउँसो एक प्रतिवेदन सार्वजनिक गर्दै एसियामा झन्डै ८० लाख मानिस गरिबीको चपेटामा धकेलिएको जानकारी दिएको हो। ‘कि इन्डिकेटर फर एसिया एन्ड प्यासिफिक २०२१’ नाम दिइएको सो प्रतिवेदनमा महामारी एसिया र प्रशान्त क्षेत्रको प्रगतिमा बाधक भएको जनाइएको छ। 

कोभिडले एसियाली देशको दीगो विकास लक्ष्यलाइसमेत असर गरेको बताइएको छ। एसियाली देशमा महामारीको उत्तारचढाव प्रष्ट देखिएको र कोभिडले ती क्षेत्रका देशको स्वास्थ्य र शिक्षाको प्रगतिमा बाधा ल्याएको अध्ययनमा उल्लेख छ। अध्ययनमा एसियाली देशको वित्तिय, आर्थिक, सामाजिक र वातावरणीय विषयको विश्लेषण गरिएको छ।

भिडियो

प्रकाशित: Aug 24, 2021| 21:07 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।