शुक्रबार, वैशाख १४, २०८१

घट्दैछ भारतीय क्लिंकरको आयात 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
वीरगंज – स्वदेशमै उत्पादित क्लिंकरको भाउ सस्तिएपछि भारतीय क्लिंकरको आयात परिमाण ओरालो लाग्न थालेको छ। ठूलो लगानीमा क्लिंकर उत्पादन सहितको सिमेन्ट उद्योग धमाधम खुल्न थालेपछि स्वदेशी बजारमै क्लिंकर सस्तिएको हो। 

कच्चा पदार्थ अन्यत्रबाट खरिद गरेर प्रशोधन गरी सिमेन्ट उत्पादन गर्ने ग्राइण्डिङ युनिट (पिंध्ने मिल) संचालकको लागी सस्तो मूल्यमा उपलब्ध हुँदा गत चालू आर्थिक वर्षको पुस मसान्तसम्म पनि भारतीय क्लिंकर नै उनीहरुको रोजाईमा पर्ने गरेको थियो। अहिले भन्सार महशुल र ढुवानी खर्च समेत जोड्दा भारतीय क्लिंकरको प्रति टन मूल्य १२ हजार ५ सय भन्दा महँगो पर्न जान्छ। सरकारले स्वदेशी सिमेन्ट उद्योगलाई संरक्षण प्रदान गर्न क्लिंकरको आयातमा प्रति मेट्रिक टन २ हजार ४ सय रुपैयाँ पैठारी महशुल कायम गरेको छ। 

स्वदेशी सिमेन्ट जम्मा ८ हजार ५ सयमै उपलब्ध हुन थालेपछि ग्राइण्डिङ युनिट संचालक खुशी छन्। होङ्सीले सस्तो मूल्यमा क्लिंकर बेच्नुपूर्व स्वदेशी बजारमा क्लिंकरको मूल्य ११ हजार रुपैयाँसम्म कायम रहेको थियो। त्यसमाथि पनि सिमेन्टको माग उच्च भएको बेला क्लिंकर उपलब्ध हुँदैन थियो।

गत वर्षदेखि संचालनमा आएको चिनियाँ संयुक्त लगानीको होङ्सी सिमेन्टले भारतीयभन्दा सस्तो मूल्यमा क्लिंकर उपलब्ध गराएपछि अहिले क्लिंकर उत्पादक स्वदेशी उद्योगबीच बजार हिस्सा जोगाउन र बिस्तार गर्नको लागी मूल्य प्रतिस्पर्धा चम्किएको छ।

‘स्वदेशी क्लिंकरको उत्पादन अझै बढ्नु पर्छ, अनि पर्याप्त उपलब्धतासँगै नियमित आपूर्ती संभव हुनेछ’, वीरगंजमा ग्राइण्डिङ उद्योग संचालन गरिरहेका एकजना उद्योगीले भने, ‘अन्यथा मुख्य सिजनमै क्लिंकर बेच्न बन्द गरेर आफैंले प्रयोग गर्न थाल्दा हामीलाई समस्या पार्नेछ।’ 

सिमेन्ट क्लिंकर आयात हुने मुख्य नाकामध्येको वीरगंज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पहिलो नौं महिनामा क्लिंकरको आयात ४६ प्रतिशले गिरावट आएको छ। गत आर्थिक वर्षको पहिलो नौं महिनामा १३ लाख १४ हजार २४७ मेट्रिक टन क्लिंकर आयात भएकोमा चालू आर्थिक वर्षको यो अवधीमा जम्मा ६ लाख ९० हजार ६६२ मेट्रिक टन क्लिंकर आयात गरिएको छ।

सिमेन्ट उद्योग संघका अनुसार आगामी वर्षदेखि क्लिंकरको आयात पूर्णरुपमा बन्द हुनेछ। स्वदेशी क्लिंकर उत्पादकको रुपमा मकवानपुरमा रिद्धि सिद्धि सिमेन्ट, सिराहामा सौर्य सिमेन्ट, पश्चिममा पाल्पा सिमेन्ट, सिजि सिमेन्टलगायतका सिमेन्ट उद्योगको क्लिंकर समेत बजारमा आउन थालेपछि आन्तरिक माग पुरा गर्न सहज हुने संघको भनाई छ। अहिले १८ वटा उद्योगले क्लिंकर उत्पादन गरिरहेका छन्। संघका अनुसार ६१ वटा उद्योग संचालनमा रहेकोमध्ये बाँकीले भारतीय वा स्थानीय बजारबाट क्लिंकर खरिद गरेर प्रशोधन गर्दै सिमेन्ट उत्पादन गरिरहेका छन्।

सिमेन्ट उत्पादनमा सहायक कच्चा पदार्थको रुपमा प्रयोग हुने ग्रेनुलेटेड स्ल्यागको आयातमा समेत करिब १६ प्रतिशतको ह्रास देखिएको छ। गत आवको चैत मसान्तसम्ममा ७ लाख २४ हजार ५४५ मेट्रिक टन स्ल्याग आयात भएकोमा यस वर्षको चैतसम्ममा ६ लाख ८ हजार ७९० मेट्रिक टन स्ल्याग आयात भएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्