जनकपुरधाम – लामो समयदेखि जीर्ण अवस्थामा रहेका जनकपुरका सडक निर्माण भएका छन्। एकीकृत सहरी विकास आयोजनाअन्तर्गत एसियाली विकास बैंकले सहयोग गरेपछि खाल्टाखुल्टीले भरिएका ती सडक अहिले चिल्ला देखिएका छन्।
सडकमुनि नै ढल निर्माण भएपछि यसअघि रहेका खुला नालासमेत छोपिएका छन् अहिले। सडक पहिलेभन्दा चौडा पनि भएको छ। मुख्य चोकहरुमा सडकमा ‘डिभाइडर’ को व्यवस्था गरिएको छ भने सवारीसाधनको आवतजावत सहज बनाउन सेतो रङले लेनसमेत कोरिएको छ यहाँका सडकमा।
पैदल हिँडडुल गर्नेका लागि सडकको दुवै छेउमा तीन मिटर चौडा पेटी निर्माण भएको छ भने बाटो काट्न ठाउँठाउँमा जेबरा क्रसिङ पनि बनाइएको छ।
तर पछिल्लोपटक यहाँका सडकहरु आधुनिक तरिकाले बनाइए पनि प्रयोग भेन पुरानै तरिकाले भइरहेको छ। जेबरा क्रसिङमा ई–रिक्सा, टेम्पोहरु पार्किङ गरेर राखिएको हुन्छ भने सडकका पेटीहरु पैदल आवतजावत गर्नेहरुको बाटो कुरेर बसिरहेका हुन्छन्।
पुराना जीर्ण सडकमा हिँडडुल गरेका कतिपयका लागि अहिले निर्माण भएका जनकपुरका सडक नौलो लाग्ने गरेको छ। विशेष गरेर ग्रामीण भेगबाट जनकपुर आएकाहरु सडक नियम प्रयोगबारे अनभिज्ञ छन्। सडकमा सेता धर्काहरु किन कोरिएका होलान्, सडकको दुईतर्फ कालो पिच नबनाएर रंगीचंगी सिमेन्टका इँटा किन जडान गरिएको बारे कतिपय जानकार छैनन्।
जनकपुर प्रदेश २ को अस्थायी राजधानी घोषणा भइसकेपछि सवारीसाधनको चाप बढेर गएको छ। अत्यधिक सवारीसाधन सञ्चालनका कारण हुन सक्ने दुर्घटनाबारे जानकारी धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल बिहीबार आफंै सडकमा उत्रिए।
कणेल ‘जेबरा क्रसिङ’ हुँदाहुँदै अन्य स्थानबाट बाटो काटिरहेकाहरुलाई बोलाएर ‘जेबरा क्रसिङ’ को महत्त्व सम्झाइरहेका थिए। अन्य स्थानबाट बाटो काट्दा दुर्घटना हुनसक्ने भएकाले ‘जेबरा क्रसिङ’ बाटमात्र सडक पार गर्न उनी सम्झाउने प्रयत्न गरिरहेका थिए।
यसैगरी पैदल यात्रीहरुलाई सडक नभएर पेटी प्रयोग गर्न कणेलले सिकाएका थिए। पैदल यात्रीकै सुविधाका लागि पेटी निर्माण गरिएको भन्दै उनले दुर्घटनाबाट जोगिन पनि सडक पेटी प्रयोग गर्न सर्वसाधारणलाई बुझाउने कोसिस गरिरहेका थिए।
हालैमात्र निर्माण भएका सडकमा प्रयोग गरिएका ट्राफिक संकेतको उपयुक्त प्रयोग नभएपछि सडक प्रयोगकर्तालाई जानकारी दिने उद्देश्यले यस्तो गर्नुपरेको कणेलले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...