शुक्रबार, वैशाख १४, २०८१

लुम्बिनीमा धमाधम तारे होटल, अर्बौंको लगानी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भैरहवा - २०७२ चैत २६ गते मन्त्रिपरिषद् निर्णयअनुसार प्रकाशित नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना (२०१६ –२०२५) मा नेपालको कुल गार्हस्थ उत्पादनमा होटल तथा रेस्टुरेन्ट क्षेत्रको ८० प्रतिशत योगदान रहेको उल्लेख छ।
 
२०७० सम्म नेपालमा पाँचतारे होटल १० वटा, चारतारे होटल २ वटा, ३ तारे होटल २७, २ तारे ३५ र एकतारे ३१ र पर्यटक स्तरको होटल ६ सय २५ वटा थिए । पछिल्लो समय होटलहरुले स्तर वृद्धि मात्रै गरेका छ्रैनन् स्वदेशी तथा विदेशी अर्बौं लगानी भित्र्याइरहेका छन् । केही हप्ता अगाडि काठमाडौंमा सम्पन्न लगानी सम्मेलनले पनि होटलमा लगानीको दर बढ्ने संकेत गरेको छ।
 
संस्कृति  पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको योजना पुस्तकमा सन् २०१९ मा ११ लाख ४० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने प्रक्षेपण गरिएको छ । पर्यटकको औसत बसाइ २.७ प्रतिशतले वृद्धि भई १३ प्रतिशत पुग्ने अपेक्षा पनि गरिएको छ । यो संख्या सन् २०२५ मा २५ लाख २२ हजार पुग्ने अनुमान छ। 

यसरी बर्सेनि नेपालमा बढ्दो संख्यामा भित्रिने पर्यटकलाई सुविधासहितको गासबासको व्यवस्था गर्ने गरी पर्यटन उद्योगअन्तर्गतको होटलमा लगानी पनि दिनप्रतिदिन बढिरहेको छ । देशका विभिन्न ठाउँमा भन्दा बढी संख्यामा विश्व पर्यटनको केन्द्र लुम्बिनीमा यतिबेला तारे होटल धमाधम खुलिरहेका छन् । पछिल्लो एक दशकयता लुम्बिनी क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीको ओइरो लागेको छ । कयौं विदेशी लगानीकर्ता स्थानीय साझेदार राखेर अर्बौं रकमको परियोजना सञ्चालन गरिहेका छन् त कतिपयले गर्ने तयारीमा छन्।
 
प्रदेश सरकारले यतिबेला लुम्बिनी भ्रमण वर्ष २०७६ को समेत घोषणा गरेर लुम्बिनीमा अझै पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । वार्षिक १३  लाखभन्दा बढी पर्यटक आउने गरेको लुम्बिनीमा डेढ लाखभन्दा बढी विदेशी र त्यत्तिकै संख्यामा भारतीयले लुम्बिनी भ्रमण गर्ने गरेको लुम्बिनी विकास कोषको तथ्यांकले देखाउँछ । लुम्बिनी भ्रमण वर्षमा प्रदेश सरकारले गर्ने गतिविधिले यो संख्यामा बढोत्तरी हुने अपेक्षा छ।
 
लुम्बिनी क्षेत्रमा यतिबेला पाँचतारे होटलदेखि पर्यटकीय होटलहरु सञ्चालनमा छन् । दर्जनौं होटलहरु धमाधम निर्माण हुने क्रम जारी छ । लुम्बिनी क्षेत्रमा होटलमा लगानीको आकर्षण हुनुमा बुद्ध जन्मस्थल लुम्बिनी, स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका, करिब एक वर्षपछि नियमित सञ्चालनमा आउने अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थल, राष्ट्रिय रुपमा स्थापित कर्पोरेट हाउस मुख्य कारण भएको सिद्धार्थ उद्योग वाणिज्य संघ पर्यटन समिति संयोजक प्रमुख सञ्जय बजिमयले बताए।
 
भैरहवादेखि ७ किलोमिटर उत्तर चिल्हियामा बाउन्नकोटी सामुदायिक वन नजिकै ५ अर्बभन्दा बढी लगानीमा सिल्भर हेरिटेज ग्रुपको टाइगर प्यालेस पाँचतारे होटल सञ्चालनमा छ। भैरहवा लुम्बिनी सडकखण्डमा व्यवसायी पवन हलुवाईसहितको ३ अर्ब लगानीमा अर्को पाँचतारे पवन प्यालेस इन्टरनेसनल होटल सञ्चालनमा छ। यसैगरी डेढ अर्बभन्दा बढी लगानीमा पाँचतारे स्तरको लुम्बिनीमै बुद्धमाया गार्डेन सञ्चालनमा छ। जापानी नागरिक नोर्बु कासाईको करिब डेढ अर्ब बढी लगानीमा अर्को पाँचतारे होटल कासाई सञ्चालनमा छ। त्यसैगरी लुम्बिनीमै एक अर्बभन्दा बढी लगानी रहेको होटल होक्के, लुम्बिनी गार्डेन र न्यु क्रिस्टल होटल पनि सञ्चालनमा छन्। भैरहवा परासी सडकखण्डमा वसन्तपुरमा पिक ग्रुपको व्यवस्थापनमा रहेको बोधी रेडसन होटलमा पनि एक अर्बभन्दा बढी लगानी रहेको छ। मणिग्राममा एक अर्बभन्दा बढी लगानीमा ड्रिम ल्यान्ड गोल्ड रिर्सोट सञ्चालनमा छ।
 
यसैगरी लुम्बिनीमै होटल जाम्बला, बुद्धमाया प्यालेस, बैम्बो रिसोर्टजस्ता ५० करोडभन्दा बढी लगानीका सुविधासम्पन्न होटल सञ्चालनमा छन्।  लुम्बिनीमै आनन्द ईन, लिटल बुद्ध, पिस ल्यान्ड, लुम्बिनी गेस्ट हाउस, मायादेवी गेस्ट हाउस, सिद्धार्थ गेस्ट हाउस, होटल आलोकाइन, आकाश इन्टरनेसनल, स्तूप, शाक्य गेस्ट हाउस, होली बर्थ, मिराजइन, आदर्शइन, हाम्रो गेस्ट हाउस, लुम्बिनी ग्रिन भ्यु, सेभेनस्टप गेस्ट हाउस, बेबिलोन, सुरम्मा, बुद्ध इन्टरनेसनल, बुद्ध प्यालेस, सनफ्लवार, बुद्ध रेजेन्सी, जयबुद्धजस्ता ५ करोडभन्दा बढी लगानी भएका ७० वटाभन्दा बढी पर्यटकीय होटल सञ्चालनमा छन्।

लुम्बिनीमा मात्रै एक रातमा ८ हजार पर्यटकलाई सजिलै बसाल्न सकिने सिद्धार्थ होटल एसोसिएसन लुम्बिनीका शाखा अध्यक्ष मिथुनमान श्रेष्ठले दाबी गरेका छन्।  ५० करोडभन्दा बढी लगानीको भैरहवाको होटल नान्स, त्यसैगरी ५० करोड हाराहारी लगानीमा होटल निर्वाणा भैरहवा, बुटवलमा ४० करोड बढी लगानीका क्लब डेनोभो, होटल एभिन्यु, डारसिस, टुलिप, महाराजा होटल सञ्चालनमा छ।

भैरहवामा पाँच करोडभन्दा माथि लगानी गरिएका होटल यती, अशोका, पौवा, क्यासल, ह्वाइट लोटस, सिटी म्याक्स, सिटी सेन्टर, लाकौल इन, होटल लाकौल, एसआर, प्रकाश एन्ड प्रकाश, पटवा बैंकक्वेट, जोशी, सिटी सेन्टर, माउन्ट एभरेस्ट, मानसरोवर, ममता, कोटिहवाको यती पर्टी प्यालेस, पवन इन्टरनेसनल छन्।

बुटवलमा ५ करोडभन्दा बढी लगानीका आरम्भ रिसोर्ट, सिद्धार्थ कटेज, लक्ष्मी होटल, दरबार होटल, न्यु इरा, सिन्दूर, एसियन, आम्रपाली कटेज, दियालो, मिराज, बृन्दाबन छन् ।  छपियामा एक जना कृषकले २० करोडको लागतमा फिस रिसोर्ट सञ्चालन गरेका छन्।  सियारी ४ छपिया शिवपुरका ४८ वर्षीय गौरव गौतमले  छपिया फिस भिलेजका नाममा उक्त रिसोर्ट सञ्चालन गरेका हुन् । त्यसैगरी भारतमा मासिक सात लाख ८० हजार तलब खाँदै आएका जागिर छाडेर टेकनाथ बस्यालले डाइभरटोलमा ८५ फिट अग्लो १५ करोडको लागतमा निर्माण भएको शंकर टावरमा होटल एसआर सञ्चालन गरिरहेका छन् । हुँदाखादाको राम्रो जागिर छाडेर अजय चौधरीले कानपारामा करोडौं लगानीमा एग्रो रिसोर्ट सञ्चालन गरिरहेका छन्।
 
लगानीका दृष्टिले रुपन्देहीमा मात्रै करिब ३० अर्बभन्दा बढी लगानी गरेर पर्यटकको सेवा गर्न सबा सयभन्दा बढी होटल तयारी अवस्थामा छन् भने कयौं स्तरीय होटल पनि निर्माण भइरहेको सिद्धार्थ होटल एसोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताउँछन्। सरकारी तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ मा तारे होटलको संख्या एक सय ३६ पुगेको छ। त्यसमध्ये करिब दर्जन होटल रुपन्देहीमा मात्रै खुलेका छन्।

अस्ट्रेलियाको सबैभन्दा ठूलो होटल म्यानेजमेन्ट कम्पनी अर्गाइली होटल ग्रुपको सहयोगमा स्थानीय अम्रिक चौधरीको एकल लगानीमा लुम्बिनीमै अर्कोे पाँचतारे होटल भिलाजियो निर्माण गरिरहेका छन्। यो होटलमा एक अर्ब ५९ करोड १० लाख रुपैयाँ लगानी गरिँदैछ। व्यवसायी बालकृण भुसालले पनि अर्बभन्दा बढी लगानीमा बेलहियामा तारे होटल निर्माण गर्दैछन्। काठमाडौं सिद्धिसिद्धि समूहले एयरपोर्ट नजिक चारतारे होटल बनाउदैंछ। भैरहवाकै कृष्ण घिमिरेको नेतृत्वमा बुद्धचोकमा पनि घिमिरे समूहको अर्बौं लगानीमा पाँच तारे होटल निर्माण हुने भएको छ। भैरहवाको अञ्चलपुरमा सिद्धार्थ गु्रपले पनि होटल निर्माणका लागि जग्गा खरिद गरिसकेको छ। देवकोटाचोकमा व्यवसायी रामबहादुर कोइरीले १० करोड बढी लगानी गरेर कोइरी इन्टरनेसनल होटल निर्माण गरिरहेका छन्। अन्तर्राष्ट्रिय मेरियट समूहले पनि भैरहवामै होटल निर्माण गर्दैछ।
 
यसरी लुम्बिनी क्षेत्र होटलका लागि नेपालकै समृद्ध क्षेत्र बन्दैछ ।  होटल पर्याप्त भए तापनि अझै पर्यटक भुल्ने फन पार्क, वाटर पार्क, रात्रिक्लबहरु पनि जरुरी रहेको  लुम्बिनी विकास कोषका निमित्त सदस्यसचिव सरोज भट्टराईले बताए। 

लुम्बिनी, भैरहवा र बुटवल क्षेत्रका होटलसँग आवश्यक सहकार्य गरेर पर्यटक आकर्षण बढाउन निजी क्षेत्रले अन्य पर्यटकीय क्षेत्रमा पनि लगानी गर्नुपर्ने नेपाल एसोसिएसन अफ  ट्राभल्स  एन्ड टुर एजेन्ट (नाट्टा) प्रदेश नं ५ का उपाध्यक्ष सागर अधिकारीले बताए। राज्यले नीतिगत रुपमा सहज बनाउनुपर्ने उनको भनाइ छ। उनले भने, ‘ सकेसम्म फ्री भिसा नदिने दिनै परे दुई रात बस्नैपर्ने अनिवार्य अवस्था सिर्जना गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छौं। हामीलाई विश्वास छ, सरकारले त्यो नीति लियो भने पर्यटन क्षेत्रमा ठूलो आर्थिक उपलब्धि हासिल गर्न सहयोग पुर्‍याउँछ।’

यतिबेला विश्वका सफल होटल व्यवसायीहरुको समूह लुम्बिनी क्षेत्रमा होटल सञ्चालन गर्न सक्रिय देखिएका छन्। अन्तर्राष्ट्रिय होटल चैन समूह सिल्भर हेरिटेज, अर्गाइली ग्रुप, सिग्नेट इन, कन्ट्री इन, मेरियट, गार्गी ग्रुपले पनि स्थानीय साझेदारसहित यहाँका विभिन्न होटलसँग सहकार्य गरिरहेको देखिएको छ। घोषित रुपमा टाइगर प्यालेस र पवन प्यालेस इन्टरनेसनल पाँचतारे होटल हुन्। 

यस क्षेत्रमा थप ५ वटा पाँचतारे होटल बन्ने क्रममा छन्। रेडसन, बेलहियाको नान्स, बुद्धचोकमा निर्माणाधीन पाँचतारे होटल,  खुनगाईमा निर्माणाधीन पाँचतारे होटल, बुटवलको महाराजा प्यालेस र मेरियट ग्रुप, सिद्धिसिद्धि ग्रुपले निर्माण गर्ने होटल पनि पाँचतारे होटलका रुपमा रहनेछन्। लुम्बिनी, भैरहवा, बुटवलमा रहेका पाँचतारेदेखि पर्यटकस्तरीय होटलमा गरी एकै रातमा दैनिक २० हजार पर्यटक बास बस्न सक्न गरी होटलहरु व्यवस्थित भइसकेको सिद्धार्थ होटल एसोसिएसनका महासचिव रवीन्द्र शर्मा घिमिरेले बताए। 



समस्या

होटलमा लगानीको ओइरो लागिरहँदा व्यवसायी भने बैंकले मनपरी ढंगले वृद्धि गर्ने ब्याजदरका कारण बारम्बार समस्यामा पर्ने गरेको दुखः व्यक्त गर्दछन्। पाँचतारे होटल पवन प्यालेसका सञ्चालक पवन हलुवाई भन्छन्, ‘पहिलो बैंकिक समस्या छ। बैंकले ८ प्रतिशतमा ब्याज दिने सम्झौता गरेको आफूखुसी बढाएर एकैचोटि १२ प्रतिशत पुर्‍याउँदा मर्का परेको छ। राज्यले बैंकिक ब्याजको स्थिरता कायम गरिदिए मात्रै पनि धेरै राम्रो हुन्छ।  दोस्रो राज्यले होटललाई अन्य उद्योगसरह विद्युत् महसुल लिने गर्नुपर्दछ।’

पाँचतारे होटल टाइगर प्यालेसका सेल्स तथा मार्केटिङ डाइरेक्टर प्रभाकर खड्का भन्छन्, ‘पर्यटन पूर्वाधारको पूर्णता नहुनु, दक्ष म्यानपावर नपाउनु, बैंकिक ब्याजदरमा आफूखुसी वृद्धि गरिनु होटल क्षेत्रका समस्या हुन्।’ 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।