शनिबार, वैशाख १५, २०८१

ज्यानै लिने पब्जी !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडाैं- केही समयअघि भारत कुर्लाका १८ वर्षीय नदिम कुरैसीले आत्महत्या गरे । आत्महत्याको कारण थियो पब्जी गेम । नदिमले अभिभावकलाई ठूलो स्क्रिनको मोबाइल किनिदिन आग्रह गरेका थिए । तर अभिभावकले माग पूरा सकेनन् ।
 
यस्तै भारत गुजरातमा २५ वर्षका युवकले आमाबुबालाई कुटपिट गरेका थिए । गेम खेलिरहेको अवस्थामा आमाबुबाले मोबाइल खोस्दा रिसाएका ती युवक अभिभावकमाथि जाइलागेका थिए ।नेपालकै फुर्बा ग्याल्जेन शेर्पाका ६ वर्षका छोरा पब्जी खेल्दाखेल्दै बेहोस भए । बिहान खाटमा बस्दै पब्जी खेलिरहेका छोरालाई ४५ मिनेटपछि खाना खान बोलाउन जाँदा अचेत भेटिए । उनलाई तत्कालै अस्पताल लगियो । आधा घन्टापछि बालकको होस खुल्यो । होस खुलेपछि थाहा भयो उनी पब्जी प्लेनमा निकै माथि उडिरहेका थिए रे । प्लेनबाट हामफाल्दा ह्यान्डल गर्ने नसकेका ती बालकलाई मस्तिष्कमा असर परेको थियो ।

पब्जीको लतका यी केही उदाहरण हुन् । केही पब्जी खेल्नका लागि राम्रो र महँगो मोबाइल नपाएकोमा केहीले आत्महत्या गरेका छन् । यस्तै जागिर नभएर पब्जीमा फसेका देखि जागिर छाडेर पब्जी खेलमा व्यस्त भएका र परीक्षा दिन जान भुलेका घटना धेरे छन् ।  

पब्जी

प्लेयर अननोन्स ब्याटल ग्राउन्ड (पब्जी) सन् २०१७ मा आएको गेम हो । साहित्यका विभिन्न विधाजस्तै गेमका पनि विभिन्न जर्नरा हुन्छन् । पब्जी 'ब्यालट रोयल' विधाको गेम हो । ब्यालट रोयलमा यस्ता अन्य धेरै खेल हुन्छन् । पब्जी एकजनाले धेरैले एकसाथ खेल्न सकिन्छ । यस गेममा एउटा ग्रुपमा सय जना हुन्छन् । एक ग्रुपमा सय जना भएपछि अर्को नयाँ 'स्क्याड' ग्रुप बन्छ । साथीबीच ग्रुप बनाउन र खेल्न पनि सकिन्छ । संवाद गर्दै पनि खेल्न पाइने हुनाले यो गेमको क्रेज बढ्दो छ । 

'कुनै पनि गेम मार्केटमा आउँदा नयाँ 'टेस्ट' र नयाँ 'आइडिया' छ भने त्यसमा सक्रियता हुै हुन्छ नै, त्यहीभित्र पर्छ, पब्जी', स्रोत कोर्ड गेम्सका (स्रोत कोर्ड नेपाली गेम बनाउने कम्पनी हो) सहसंस्थापक तथा गेम डिभलपर उत्तम अधिकारीले भने । 

खेल्दै नखेलेकाहरू पनि 'माउथ पब्लिसिटीका' कारण खेल्ने गर्छन् । एकपटक खेल्न थालेपछि छुटाउन कठिन हुन्छ । आइटी इन्जिनियरदेखि सामान्य मान्छेले पनि खेल्न सक्ने सजिलो र 'सेन्स अफ एचिभमेन्ट' को कारण पब्जीको क्रेज बढेको हो। 

पब्जी गेमले मानिसलाई बिगारेको भन्न नमिल्ने तर्क उत्तम अधिकारीको छ ।  कुनै पनि गेम मनोरञ्जनात्मक हुन्छ । कोही चलचित्र, कोही किताब र कोही अन्य क्षेत्रबाट मनोरञ्जन लिन्छन् । पब्जीलाई पनि मनोरञ्जनका रुपमा लिनुपर्ने उत्तमले बताए। पब्जीअघि 'क्ल्यास अफ क्ल्यान', 'एङ्ग्री बर्ड', 'क्यान्डी क्रस' लोकप्रिय थिए ।

पब्जी क्याप्टिभ (ध्यान आकर्षित गर्ने) गेम हो । यो गेम हरेक पटक खेल्दा नयाँ अनुभव  हुन्छ । यसलाई मन पराउनु र यसमा संलग्न भइरहनु व्यक्तिगत रुचिको विषय हो ।

'कुनै पनि खेलको नकारात्मक पक्ष हुँदैन, नकारात्मक त हामीले बनाउने हो', अधिकारी भन्छन् । राम्रो किताब हात लाग्यो भने हामी नपढी छाड्दैनौं । त्यस्तै दिनभर सिरियल हेरेर बस्दा केही हुँदैन । त्यसैले गेम खेल्नु पनि नराम्रो होइन । समय कसरी व्यवस्थापन गर्ने भन्ने पक्ष महत्त्वपूर्ण हो । पब्जी इन्टरटेन्टमेन्ट प्रोडेक्ट हो ।  विदेशमा धेरै व्यक्तिले यही गेम युट्युबमा लाइभ स्ट्रिमिङ पैसा कमाइरहेका छन् । गेम डिभलपर भएर पनि रोजगारी सिर्जना गर्ने सम्भावना रहन्छ ।
 
अचेल समाजिक कार्यका लागि पब्जी खेल्न पनि थालिएको छ । गत माघमा पब्जी प्रतियोगिता गरेर उठेको रकम नागार्जुनस्थित आमा नेपाल समूहले त्यहाँको बालगृहलाई हस्तान्तरण गरेको थियो ।
  
लामो समय भिडियो गेम खेल्ने बच्चामा समस्या आउन थालेका छन् । लामो समय खेल्दा दृष्टिमा असर हुने, आँखा अल्छी हुने, चस्माको पावर छिटो बढ्ने, आँखामा सुख्खापन हुने बाल रोग विशेषज्ञ डा. संगिता श्रेष्ठले बताइन् । यस्ता समस्या वयस्कमा पनि देखिन सक्छन् ।
 
मनोविद् गोपाल ढकालका अनुसार यस्ता गेमले मानिसमा करुणा, दया जस्ता विषय हराउँदै गएका छन् । मानिसलाई बढी हिंसात्मक र एकल बनाउने उनको भनाइ छ । यस्ता गेमले निद्रामा पनि असर गर्छ । जसका कारण सुताइमा समस्या हुन सक्ने मनोविद् ढकाल बताउँछन् । 

व्यवसाय बन्दै पब्जी 

समिर थापा पब्जीका पारखी हुन् । उनका लागि पब्जी गेम नभई बिजनेस बनेको छ । चितवन प्रेमबस्तीका समिरले ७–८ महिनाअघि पब्जी खेल्न थालेका थिए । २२ वर्षका समिरले कक्षा ८ देखि काठमाडौंमा सानोतिनो व्यवसाय थालेका थिए । व्यवसायी सोच समिरलाई पब्जी गेममात्र नभई व्यवसायमा परिणत गर्ने सोच आयो ।

व्यवस्थापनमा 'प्लस टु' सकेका उनले 'पब्जी' लाई आफ्नो करिअरको एउटा आधार बनाएका छन् । उनले गृहजिल्ला चितवनमा सञ्चालन गरेको पब्जी रेस्टुरेन्टमा ग्राहक बढ्दो क्रममा  छ । उनले भने, 'जुन विषयले जनमानसमा यति प्रभाव छ, त्यसलाई मैले व्यवसायमा परिणत गरें', उनले भने। 

उनले रेस्टुरेन्ट पब्जीको आर्ट पोस्टर, नक्कली 'गन' हरूले पब्जी फ्यानहरूलाई अझ आकर्षित गरेका छन् । रेस्टुरेन्टमा बेलाबेलामा पब्जी टुर्नामेन्ट पनि सञ्चालन हँुदै आएको छ । त्यहाँ ग्राहक खानाभन्दा पनि फोटो खिच्न जान्छन् । 

उठ्यो बन्द गराउने आवाज 

भिडियो गेम प्लेयर अन्नोन ब्याटल ग्राउन्ड (पब्जी) मै मात्र छोराछोरीले ध्यान दिन थालेपछि राजधानीका केही अभिभावकले यसलाई बन्द गर्न प्रहरीसँग गुहार मागेका  छन् । पब्जीकै कारण राति सुत्दा बच्चा बर्बराउने समस्या देखिएपछि यसलाई  बन्द गराउन माग गर्दै अभिभावकले उजुरी दिएका हुन्।

महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी धीरजप्रताप सिंहले पब्जी बन्द गराउन धेरै अभिभावकले गुनासो जानकारी दिए । उनले प्रहरीले यसलाई बन्द गराउन प्रक्रिया थालेको बताए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।