शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ‘यौन छोडेर आदर्शवादी आडम्बरमा साहित्य लेखिनु हुन्‍न’

‘यौन छोडेर आदर्शवादी आडम्बरमा साहित्य लेखिनु हुन्‍न’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं। ‘सखी’ मदन पुरस्कार विजेता रामलाल जोशीको तेस्रो कृति हो। यसअघि उनका ‘हत्केलामा आकाश’ गजल सङ्ग्रह २०५७ र ‘मदन पुरस्कार’ विजेता कृति ‘ऐना’ कथा सङ्ग्रह २०७२ बजारमा आइसकेका छन्। बुक हिलले असोज २० मा बजारमा ल्याएको ‘सखी’ ले यतिवेला लेखक जोशीलाई निकै व्यस्त बनाएको छ। साहित्यिक बजारमा पाठकको मन जितिरहेको कृतिले पाएको चर्चासँगै लेखक जोशीको व्यस्तता बढेको हो। ‘सखी’ को लोकप्रियतासँगै पाठकले जोशीलाई विभिन्न स्थानमा बोलाइरहेका छन। उनलाई यतिबेला देशका विभिन्न कुना कन्दराका पाठकसँग भेटघाट गर्दै ‘सखी’ चर्चा गर्न भ्याईनभ्याई छ।

‘सखी’ ले एउटा थारु युवतीको कथा बोकेको छ। यो समाज र राज्यबाट शोषण, विभेद तथा उत्पीडनमा परेकी एक थारू युवतीको दर्दनाक कथा हो। ‘सखी’ले एउटा समुदायले युगौंदेखि भोग्दै आएको पीडालाई जस्ताको त्यस्तै प्रस्तुत गरेको छ। यो कृति कुनै कल्पनामा आधारित होइन। समाजको समुदायले युगौंदेखि भोग्नुपरेको उत्पीडनको कथा हो। हिजोका दिनमा थारु कमैया भए। उनका छोरी श्रीमतीहरू कम्लरी। हिजोको सामन्ती सोचले ‘सखी’ माथि गरेको विभेद् नै यस कृतिमा समावेश छ।

कृति विमोचन समारोहमा साहित्यकार सरुभक्तले यो नेपाली भाषाको सशक्त कृति भएको बताएका थिए। पश्चिम नेपाललाई उठाएर नलेखिएको विषयमा यो कृति आएको भन्दै तारिफ गरेका थिए उनले। यस्तै समीक्षक राम लोहनीले जोशीको भाषामा असाधारण पकड भएको भन्दै उनको लेखनीको खुलेरै तारिफ गरेका थिए। बुद्धिसागरले रामलाल जोशी समकालीन लेखक भएको र उनको लेखनी डाहा गर्नयोग्य भएको बताएका थिए। अर्चना थापाले ‘नारीवादी दृष्टिकोणले यो सशक्त उपन्यास हो’ भन्दै तारिफ गरेकी थिइन्।

‘सखी’ थारु समुदायको स्वाभिमानमय संघर्षको गाथा

यतिबेला जोशी त्यसै कृतिको प्रमोसनमा व्यस्त छन्। पश्चिम नेपालको कथावस्तु समावेश गरेर ‘ऐना’ आएपछि पाठकले अत्यधिक मन पराएको बताउँदै जोशीले आफूलाई त्यसले उत्साहित बनाएको बताए। ‘म पाठकको मायाले निकै उत्साहित भएँ। त्यसपछि फेरि पश्चिम नेपालको नलेखिएको कथा लेख्नुपर्छ भन्ने भयो’, उनले भने, ‘त्यसपछि थारु जीवनमाथि आधारित भएर थारु कम्लरीको कथा ‘सखी’ मा लेखेको हुँ।’ थारुको जीवन संघर्ष, उनीहरूको संस्कृति, उनीहरूले भोगेका पीडा, कमैया मुक्ति आन्दोलन र कमलरी केटीको संघर्षलाई लिएर ‘सखी’ लेखेको उनले बताए।

लेखक जोशी पनि थारु समुदायमा हुर्केका हुन्। थारु समुदायको संघर्षको आफ्नै गाथा छ। त्यही गाथालाई जोशीले शब्दहारमा गुथेका हुन्। नेपाली साहित्यको मूलधारमा नयाँ विषय हुने र एउटा समुदायको नलेखिएको कथा लेखेर थोरै उत्थान हुने लागेर जोशीले उक्त विषय रोजेका हुन्। पाठकहरूले जोशीलाई भाषा शैलीका हिसाबले ‘ऐना’ भन्दा पनि सशक्त भएको प्रतिक्रिया दिइरहेका छन्। यो कृति पहिलेको भन्दा परिस्कृत र माझिएको छ भन्ने पाठकको प्रतिक्रियाले जोशी पुलकित भएका छन्। ‘ऐना’ मा थुप्रै कथा भएकाले विविद स्वाद भएको बताउँदै जोशीले केही पाठकले त्यो स्वादमा केही कमी भएको प्रतिक्रिया दिएको पनि बताए।

नेपाल समयले तपाई पश्चिमको विषयवस्तुलाई नै बढी उठाउनुहुन्छ, किन? भन्ने प्रश्नमा जोशीले भने– ‘म त्यही माटोमा जन्मे, हुर्कें। त्यहाँको वस्तुस्थितिबारे मलाई मिहीन रूपमा थाहा छ। त्यहाँको कथावस्तु लेखें भने वास्तविकता बाहिर आउँछ भन्ने लाग्यो। मैले मेरो समाजको विषयवस्तु नलेखे कस्ले लेख्न? म पश्चिमको कथालाई राम्रोसँग बाहिर ल्याउन सक्छु। मेरो कथालाई पाठकले पनि मनपराउनुभयो र त्यसपछि पाठकहरूको पश्चिमप्रतिको हुटहुटी झन् बढेको छ। म अहिले पनि त्यहींको समाजमा बसेर साहित्यिक गतिविधि ग्रिरहेको छु।’ उनले नेपाली साहित्यमा धेरै कुरा लेखिएको भए पनि पश्चिमका धेरै लेख्नुपर्ने कुरा छुटेको र त्यसमा आफूले केही विषयवस्तु उठान गरेको बताए। उनले पछिल्लो समयमा पश्चिमबाट के आउला भन्ने पाठकको हुटहुटी बढेको समेत बताए। 

थारु समुदायले तुल्याएको अपनत्वले दिएको खुसी

‘मैले यसमा थारु समुदायले भोग्नुपरेको विवशता र अन्यायको कथा लेखेको हुँ। त्यो समुदायप्रति न्याय हुनुपर्छ भन्ने लेखकको ध्येय हुन्छ। यस्तो अवस्थामा कथावस्तुमा त्यो समुदायको ध्यान पुग्यो कि पुगेन। उनीहरूले अपनत्व गरे कि गरेनन् भन्ने महत्त्वपूर्ण हुन्छ’, उनले भने, ‘हाम्रो कथा आयो, हाम्रो कुराको उठान भयो भनेर उनीहरूले अपनत्व ग्रहण गरे भने त्यो लेखकको सफलता पनि हो। त्यो समुदायले पनि असन्तुष्टि जनायो भने त्यो लेखकका लागि पनि असन्तुष्टि हुन्छ जस्तो मलाई लाग्छ। तर, मैले जुन समुदायको कथा लेखेको छु त्यसमा उनीहरूले अपनत्व महसुस गरेका छन्।’ उनीहरूले कमैया बस्नुपर्दादेखि अहिलेको अवस्थासम्मका कथा आफूले लेखेकोमा थारु समुदायका नागरिक अगुवा, राजनीतिक अगुवाहरूले अपनत्व महसुस गरेको जोशीले बताए। विभिन्न सभासमारोहमा थारु अगुवाहरूले दिने गरेको प्रतिक्रियाले आफूलाई हर्षित तुल्याएको जोशीको भनाइ छ। जोशीले थारु समुदायले अपनत्व महसुस गर्दा आफ्नो लेखनीको उद्देश्य सफल भएको पनि महशुस गरेका छन्।

जोशीको लेखनीमा यौनरस

रामलाल जोशी आफ्नो साहित्यमा यौनका कुरालाई प्रथमिकता दिन्छन्। पाठकहरूले पनि उनलाई यौनवादी लेखक भनेर कहींकतै टिप्पणी गरेको सुनिन्छ। तपाईंको साहित्यमा यौनको कुरा अलि बढी किन भन्ने प्रश्नमा जोशी भन्छन्, ‘जीवनमा यौन हुन्छ। समाजमा यौन हुन्छ। यौन छोडेर साहित्य आदर्शवादी र खोक्रो आडम्बरमा लेख्नुपर्छ भन्ने मान्यता मेरो होइन। यौन आउनुपर्छ। तर, जसरी यौन जीवनमा प्रयोग हुन्छ, त्यसरी कलामा पनि प्रतिबिम्बित हुन्छ नै।’ उनले समाजका अरु पाटा छोडेर छाडा रूपमा यौनमा केन्द्रित हुनु भने गलत भएको धारणा व्यक्त गरे।

जोशीलाई केही व्यक्ति यौनका विषयमा पाखण्डपूर्ण व्यवहार गर्छन् जस्तो लाग्छ। ‘समाजमा जब बाध्यताका रूपमा, पीडाका रूपमा, विकृतिका रूपमा यौन आउँछ त्यसलाई मैले एउटा विडम्बनाका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको हुँ’, उनले भने, ‘त्यो कुरालाई हाम्रो समाजमा यौन आयो, अथवा अश्लीलता आयो। हाम्रो समाजका कुपाटा आए भनेर जुन वर्गले भन्छ त्यसमा उहाँहरूको अतिशयोक्तिपूर्ण बुझाइ हो कि भन्ने पनि मलाई लाग्छ।’ ‘देहव्यापारीको कुरा आउँदा यौन व्यवहार गरेर त देह व्यापार भयो। त्यो देहव्यापारीको कथामा यौन त स्वाभाविक आउँछ नै। जुन समुदायमा युगौँदेखि प्रयोग हुँदै आएका शब्द छन् ती प्रयोग गर्दा त यौनका कुरा आउँछन् नै’, उनले भने’, ‘जोशीलाई लेखकले त्यो वास्तविकता ढाकछोप गरेर आफ्नो भाषामा लेखे बनावटी रूपमा प्रस्तुत हुने र वास्तविकता बाहिर आउन नसक्ने लाग्छ। उनी भन्छन्, ‘लेखकले समाजलाई सही रूपमा ल्याइदिनुपर्छ। तर, समाजलाई दिगभ्रमित गर्ने, छाडा शब्दको अश्लील रूपमा प्रयोग गर्ने भन्ने मेरो उद्देश्य होइन।’

सुदूरको कला चिनाउन देश दर्शन

जोशीले सुदूरपश्चिममा बसेर कलासाहित्यको विकासमा ठूलो योग्दान पु¥याएका छन्। उनलाई काम गर्दै गर्दा सुदूरको भाषा, साहित्य, कला र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन केही गर्नुपर्छ भन्ने लाग्यो। साहित्यकार समाज परिवर्तनको अभियन्ता हो भन्ने बुझेका जोशीले सुदूरका पहिचान बोकेका कला, संस्कृतिको नेतृत्व गर्दै देशका प्रमुख सहर तथा नेपाली भाषी रहेको दार्जिलिङ, आसाम, सिक्किमसम्म पुगे। ‘नेपाली भाषा, साहित्य मात्र नभएर संस्कृतिको र जातीय सभ्यताको उद्गम थलो काली कर्णाली क्षेत्र हो। त्यसैले त्यो क्षेत्रका संस्कृति, भाषा, साहित्य, कलालाई बाहिर लैजानुपर्छ। हाम्रो सांस्कृतिक विरासतलाई बाहिर लैजानुपर्छ भन्ने लाग्यो’, उनले भने, ‘हाम्रो कलासंस्कृति हामीमा मात्र सीमित रह्यो भने त्यो सम्पन्नताको मापन हुँदैन। अरुका लागि पनि अनुकरणीय हुनुपर्छ भन्ने मान्यता हो। त्यसैले हामीले त्यहाँका देउडा, गमरा, हुँडकेली, छलियालगायतका विभिन्न सांस्कृतिक सम्पदालाई देशव्यापी रूपमा लगेका हौं।’

उनले अहिले दार्जिलिङ, आसाम र झापाबाट समाजको सांगीतिक टोलीको माग भएको बताए। सांगीतिक टोली कोही कतै कोही कतै भएकाले पठाउन नसकिए पनि सुदूरको संस्कृतिले यो अभियान पछि चर्चा पाएको र त्यसको फिडब्याकसमेत प्राप्त भइरहेको उनले बताए।

 यसको विकासमा प्रदेश सरकारले सहयोग गरोस् भन्ने उनको अपेक्षा छ। सरकारी स्तरबाट सहयोग भए यो अभियानले निरन्तरता पाउँछ जस्तो जोशीलाई लागेको छ। 

धनगढीमा विश्व नेपाली साहित्य महोत्सव

२०७६ साल फागुन ६–१२ गतेसम्म धनगढीमा समाजले विश्व नेपाली साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरेको छ। ‘पश्चिम नेपालबाट सुरु भएको नेपाली भाषा आज विश्वभर छरिएका नेपालीको साझा भाषा बन्यो। विश्वका विभिन्न कुनामा रहेर नेपालीले नेपाली भाषाको विकासमा काम गरिरहेका छन्। नेपाली भाषा अन्तर्राष्ट्रिय भाषाका रूपमा स्थापित हुँदैछ’, उनले भने, ‘नेपालबाहिर रहेका नेपालीहरूका प्रयासले नेपाली भाषाले विश्व भाषाको मान्यता पाएको हो। अब हामीले हाम्रो ठाउँबाट जन्मिएको र त्यसलाई विश्वव्यापी बनाउनेहरूलाई  सम्मानका लागि धनगढीमा कार्यक्रम गर्ने योजना छ।’ धनगढी पुगेर त्यहाँको कला, साहित्य, संस्कृति अवलोकन गर्न पाउने र झनै सुदूरको साहित्यले विश्वव्यापी चर्चा पाउने जोशीको विश्वास छ। धनगढीमा रहेर लेखिरहेका स्रष्टामा पनि यसले ऊर्जा थप्ने जोशी बताउँछन्।

पहमानसिंह स्वार नेपाली साहित्यका पहिलो दुःखान्त नाटककार हुन्। तर, अहिलेसम्म पनि पश्चिम नेपालमा थिएटर छैन। साहित्य समाजले यो अभावलाई महसुस गरेको छ। पहलमानसिंह स्वारको स्मृतिमा ‘पहलमानसिंह स्वार बहुउद्देश्यीय नाटक घर’ भनेर त्यसको शिलान्यास गरिएको जोशीले जानकारी दिए। एक वर्षभित्रै त्यसको निर्माण सम्पन्न गर्ने उनले बताए। यो साहित्य समाजकै जमिनमा निर्माण हुने उनको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।