वीरगंज – नेपालको प्रमुख प्रवेशद्वार वीरगञ्जको शंकराचार्यद्वारमा भगवान पशुपतिनाथ स्वरुपको पञ्चमुखी शिवलिङ्गको स्थापना गरिएको छ। वीरगन्ज महानगरपालिकाले शकंराचार्यद्वारको सौन्दरीकरण गर्ने योजनालाई मुर्तरुप दिन शंकराचार्यद्वारमा शिवलिङ्गको स्थापना गरिएको हो।
नगर प्रमुख विजय कुमार सरावगी र नेपाल भारत सहयोग मञ्चका राष्ट्रिय अध्यक्ष अशोक वैद्यले संयुक्त रुपमा शिवलिङ्गको अनावरण गरेका हुन्।
३ लाख २१ हजार रुपैयाँ मूल्य बराबरको पंचमुखी शिवलिङ्ग शालिमार होमस प्रालिद्वारा सहयोग स्वरुप प्रदान गरिएको महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. भिष्मकुमार भूसालले बताए।
प्रमुख प्रशासकिय अधिकृत डा भूसालले संरक्षणको अभावमा जिर्ण बन्दै गएको शंकराचार्यद्वारको सौन्दर्यीकरण गर्दे पर्यटकिय स्थल बनाउने महानगरपालिको योजना विभिन्न दाताहरुको सहयोगमा पुरा हुँदै गएको बताए।
भारतबाट प्रवेश गर्ने पर्यटकको स्वागत गर्दै नेपालको पहिचानलाई झलकाउने नेपाली झन्डा स्थापना गर्नुको साथै डिजिटल लाईट समेत जडान गरिएको छ। स्थापना गरिएको शिवलिङ्गमा फाउन्टेन लाइट तथा फोहराको जडान चाँडै गरिने महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४