शनिबार, वैशाख १५, २०८१

झर्रोवादी आन्दोलनका अगुवाको अवसान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
इटहरी - आज बिहान साढे १ बजे निधन भए विराटनगर निवासी भाषाशास्त्री तथा साहित्यकार बालकृष्ण पोखरेल। नेपालकै प्रख्यात भाषाशास्त्री पोखरेल लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए। विराटनगरको परोपकार घाटमा भएको अन्त्येष्टिमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरे। 

विराटनगरका मेयर भीम पराजुलीले पोखरेलको सम्मानमा मंगलबार विराटनगरमा सार्वजनिक बिदा दिने बताएका छन्। विराटनगरको तीनटोलिया स्थायी घर भएका पोखरेलका दुई छोरी र एक छोरा छन्। 

८६ वर्षीय पोखरेलको निधनसँगै नेपाली भाषा, साहित्य र कला क्षेत्रमा सन्नाटा छाएको छ। भाषाशास्त्री एवम् कोशकार प्राध्यापक बद्रीविशाल भट्टराई बालकृष्ण पोखरेल नेपालका पहिलो भाषाशास्त्री भएको बताउँछन्। नेपाली भाषालाई वैज्ञानिक रूपमा चिनाउने विशिष्ट योगदान गर्ने पहिलो भाषाशास्त्री पोखरेल नै भएको भट्टराईको भनाइ छ। 

एक सय १५ वटा विभिन्न पुस्तक लेखेका पोखरेललाई ‘नेपालीभाषा र साहित्य’ पुस्तकका लागि मदन पुरस्कारसमेत प्रदान गरिएको थियो। नेपाली बृहत् शब्दकोश लेखन पोखरेलकै अगुवाइमा भएको हो। 



नेपालीभाषा ‘पहाडी हिन्दी’ हैन भन्ने देखाउन झर्रोवादी आन्दोलन

नेपाली भाषाको फैलावटसँगै मौलिक  प्रयोग गर्न पोखरेलको योगदान गरेको बताउँछन् पोखरेलसँग ४३ वर्ष लामो संगत गरेका पूर्वका चर्चित भाषाशास्त्री प्राध्यापक डा. टंक न्यौपाने। न्यौपानेका अनुसार पोखरेलले नेपाली भाषाको मौलिकता जोगाउन र देखाउन पत्रिका सञ्चालनदेखि साहित्यिक आन्दोलनसम्म हाँके।

२०१३ सालमा प्रधान सम्पादक भएर ‘नौलो पाइलो’ नामक पत्रिकामा सक्रिय भए पोखरेल। बनारसबाट छापिने यो पत्रिकाको कन्सेप्ट भने संखुवासभाको चैनपुरको जनसांस्कृतिक सभाबाट भएको न्यौपाने बताउँछन्। बालकृष्ण तेजिला र नेतृत्वदायी व्यक्तित्व भएकाले झर्रोवादी आन्दोलन उदयसँगै चूडामणि रेग्मीले प्रधान सम्पादन छाडेर नेतृत्व लिन पोखरेललाई आग्रह गरेको न्यौपाने बताउँछन्। 

झर्रोवादी आन्दोलनका अगुवाहरू थिए कोशराज रेग्मी, चूडामणि रेग्मी, तानासर्मा, वल्लभमणि दाहाल र बालकृष्ण पोखरेल।  झर्रोवादी आन्दोलनको अगुवाइको मुख्य दुई कारण रहेको न्यौपाने बताउँछन्। ‘बनारसमा संस्कृत साहित्य पढेर आएकाहरूले नेपाली साहित्यमा संस्कृत बढी मिसाउँथे र अंग्र्रेजी र हिन्दी पढेकाहरूले तिनै भाषाका शब्द मिसाउँथे’, स्वर्गीय पोखरेलसँगको झर्रोवादी आन्दोलनको कुरा भएको प्रसंग कोट्याउँदै न्यौपाने भन्छन्, ‘भारतीय विद्ववान्हरुले न नेपाली भाषा फरक नभएर पहाडी हिन्द ीभएको भन्ने गलत धारणा थियो।’ यी दुवै समस्या चिर्न र नेपाली मौलिक भाषा हो पहाडिया हिन्दी हैन भन्ने बुझाउन आन्दोलन सक्रिय र सफल भएको न्यौपाने बताउँछन्। भन्छन्, ‘नेपाली शब्दकोश निर्माणमा नेतृत्व, नेपाली भाषाका अनेकौँ कृति प्रकाशन र साहित्यिक आन्दोलन एकैसाथ लगेर नेपालीभाषा स्थापित गर्न पोखरेलको धेरै योगदान छ।’

मगर भाषाका प्रथम प्रकाशित कवि पोखरेल

स्वर्गीय माता छाया देवी पोखरेल तथा पिता शरदप्रसाद पोखरेलका पुत्र बालकृष्ण पोखरेलको जन्म ८६ वर्षअगाडि मकवानपुरको चिसापानीगढीमा भएको हो। तत्कालीन समयमा जिल्ला न्यायाधीश पदमा रहेका आफ्ना पिताको सरुवाअनुसार प्युठान, पोखरा, पाल्पा, काठमाडौं, चौतारा, विराटनगर आदि सहरमा बसाइँ सरिरहे पोखरेल।  

‘खस जातिको इतिहास’, ‘बृहत् नेपाली शब्दकोश’, ‘राष्ट्रभाषा’, ‘पाँच सय वर्ष’ नामक बहुचर्चित अनुसन्धान कृतिहरू प्रकाशन गरेका पोखरेलका दर्जनौँ उपन्यास, कथा, नाटक र समालोचनाका कृतिहरू प्रकाशित छन्। नेपाली, मगर, अंग्र्रेजी, हिन्दीलगायतका भाषाका जानकार पोखरेलले मगर भाषामा भने विशेष खोज नै गरेका थिए।  प्राध्यापक डाक्टर न्यौपानेका अनुसार पोखरेल नै मगर भाषामा कविता लेखेर प्रकाशन गर्ने प्रथम कवि। नेपालीमा ‘हाम्रो बाटो’ अर्थ लाग्ने ‘कनुङ लाम’ शीर्षक मगर भाषामा कविता नै लेखेका थिए पोखरेलले। 

मगर भाषाका प्रथम प्रकाशित कवि पोखरेलले मगर तथा राई लिम्बु भाषाहरू भोट–चिनियाँ भाषा समुदायका नभई मौलिक भाषाहरू भएको बलियो तर्क सारेका न्यौपाने बताउँछन्। न्यौपानेका अनुसार यसको पुष्टि गर्न विभिन्न बलिया तर्कहरू  सारेर ‘राष्ट्रभाषा’ नामक पुस्तक नै प्रकाशन गरेका थिई पोखरेलले। 

चिनियाँ र तिब्बती भाषाहरू एकाक्षरी हुने तर राई र लिम्बु भाषाहरू नहुने, चिनियाँ  र तिब्बती भाषामा प्रकृति प्रत्ययन हुने तर राई र लिम्बु भाषामा हुने,  चिनियाँ र तिब्बती भाषामा इन्क्युसिबनेस (समावेशी) र एक्स्सक्लुसिबनेस (असमावेशी) नहुने तर राई र लिम्बु भाषामा हुने जस्ता विभिन्न वैज्ञानिक तर्कहरू सारेका थिए पोखरेलले।  

पोखरेलको उच्चा भाषिक दक्षताकै कारण आफूले आठपहरिया राई भाषामा पिएचडी गर्न थुप्रै सल्लाह बालकृष्ण पोखरासँग लिएको न्यौपानेले बताए। ‘बालकृष्ण पोखरेल नै जीवित नेपाली भाषाशास्त्रीहरूमा सबैभन्दा जानकार भाषाशास्त्री हुनुहुन्थ्यो’, न्यौपानेले भने, ‘अब उहाँ रहनु भएन। नेपालीभाषा र साहित्यलाई ठूलो नोक्सान भएको छ।’ उनी रूपावासी, वसन्त, वत्सल, र्इसावापुर, लक्ष्मीविलास पाध्या, केकेमनुक्च्यो पोखरेल, गढतिरे साहिलो, हिमालपाने बराल आदि उपनामबाट पनि नेपाली साहित्यका क्षेत्रमा चिनिन्छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।