शुक्रबार, वैशाख १४, २०८१

नारायण वाग्लेको नयाँ पुस्तक ‘कोरियाना’ आउँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – पत्रकार नारायण वाग्लेको तेस्रो साहित्यिक कृति ‘कोरियाना कफीगफ’ बजारमा आउने भएको छ। समाचार कक्षबाटै सुरुगरेको चर्चित स्तम्भ ‘कफीगफ’ लाई नै निरन्तरता दिँदै उनी यसपटक नयाँ पुस्तक ‘कोरियाना कफीगफ’ लिएर पाठक माझ आउन थालेका हुन्।

गैरआख्यानलाई लेखक र सत्यको बीचमा बग्ने वायुसहित उभ्याउन सक्नु नै ‘कफीगफ’ले विकास गरेको स्वाद हो। त्यसैले वाग्लेको अघिल्ला दुर्इ उपन्यास भन्दा बेग्लै यो ‘सिर्जनशील गैरआख्यान’ पुस्तक हुनेछ। तैपनि आफूले पाएको स्वादअनुसार यसको विधा वर्गीकरण गर्ने जिम्मा भने पाठककै रहने वाग्ले बताउँछन्।
 
अढार्इ दसकभन्दा लामो समय पत्रकारिताको ब्यस्त घेरामा बिताएका वाग्लेले यसबीच नेपाली समाजका भोगाइहरुको सुक्ष्म अवलोकन र विश्लेषण गर्दैआएका छन्। समाचारको खोजीमा डुलिहिँड्ने संवाददाता रहँदै उनले आफूभित्रको साहित्यिक व्यक्तित्वलाई कान्तिपुर दैनिकको कोसेलीमा नियमित ‘कफीगफ’ मार्फत् प्रकट गर्नथालेका थिए। त्यसले नेपाली लेखनको एउटा फरक धारालाई विशिष्ट शैलीमा अघि बढाएको थियो। एउटा तन्नेरीले उतिबेला पहिल्याएको त्यो नवीनताले बेग्लै पाठक घेरा पनि बढाउँदै लग्यो।
 
वाग्लेले उभ्याएको त्यही जगमाथि सन् २००५ मा पहिलोपटक उनको उपन्यास ‘पल्पसा क्याफे’को जन्म भएको थियो। समकालीन नेपाली साहित्यको पाठक घेरालाई फराकिलो बनाउनु त्यो पुस्तकको महत्वपूर्ण उपलब्धि बन्नपुग्यो। ‘पल्पसा क्याफे’को ३० पटक पुनःमुद्रण भइसकेको छ। पाठ्यक्रम भित्र नसमेटिएरै पनि यति धेरै पाठक पाएको संभवत यो पहिलो नेपाली साहित्यिक कृति हो।
 
‘आज डेढ दसक पछि पनि यो पुस्तक वर्षेनी तीन हजार प्रति बिक्री भइरहेकै छ,’ पब्लिकेशन्स नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘हाम्रो प्रकाशन इतिहासमै यो आज सम्मकै उल्लेखनीय उपलब्धि हो।’
 
युवा पुस्ताका लेखक र साहित्यकारहरुलाई प्रेरणा प्रदान गर्नसक्नु त्यस पुस्तकको अर्को महत्वपूर्ण उपलब्धि थियो । नेपाली साहित्यमा आजका चर्चित हस्ताक्षरहरुले सार्वजनिक रुपमै ‘पल्पसा क्याफे नभइदिए मेरो कृति आउने थिएन’ भनेर आफुलाई अभिव्यक्त गरिसकेका छन्।
 
वाग्लेको पल्पसा क्याफे मदन पुरस्कार बिजेता कृति हो। त्यसपछि वाग्ले दोश्रो उपन्यास ‘मयुर टाइम्स’ लिएर उपस्थित भए। ‘पल्पसा क्याफे’मा जसरी नेपालमा चलेको दसवर्षे द्वन्द्वमा बाँचेका युवा पुस्ताको ढुकढुकी बगेको थियो त्यसैगरि ‘मयुर टाइम्स’ मार्फत् वाग्लेले मधेस विद्रोहको बाछिटालाई झल्काउन खोजेका थिए।
 
अब भने वाग्ले उनी स्वयंले विकास गरेको आफ्नै ‘कफीगफ’लाई निरन्तरता दिँदै तेश्रो कृतिमा प्रकट हुन खोजेका छन्।
 
‘नारायणको लेखन तीन शैलीमा वर्गीकृत छन्,’ लामो समय देखिका मित्र समेत रहेका प्रकाशक किरण भन्छन्, ‘उनी एकातिर समाचार, लेख र सम्पादकीय लेख्ने पत्रकार हुन्। अर्कोतिर मनपराइएका उपन्यासकार हुन्। त्यसैगरि तेश्रो विशेषता भनेको उनी कफीगफ लेख्छन्।’
 
 यसपटक गैरआख्यान लिएर आउनुको कारणबारे सोध्दा वाग्ले आख्यान वा गैर आख्यान जेसुकै भएता पनि यो साहित्यिक सिर्जना नै रहेको बताए। ‘अबको साहित्य संसारमा लेखनलाई गरिने वर्गीकरण पनि फेरिँदै गएको छ,’ उनी भन्छन्, ‘आख्यानात्मक जीवनी मात्र होइन, हिजोआज हामी गैरआख्यान उपन्यास समेत पढ्न थालिसकेका छौं।’ यस्तो अवस्थामा पाठकले ‘कोरियाना’ पढ्दा उपन्यासकै स्वाद पनि पाउन सक्ने वाग्ले बताउँछन्। ‘म यो पुस्तकको पहिचानलाई खुला राखिदिन चाहन्छु,’ वाग्ले भन्छन्, ‘पाठकहरुले आफ्नो स्वाद अनुसारै यसको मजा लिउन् र यसलाई वर्गीकृत गरिदिउन्।’

पुस्तकलाई पब्लिकेशन्स नेपालयले नियमित विक्री वितरण प्रणाली मार्फतै मुलुकभर फिँजाउने योजना तय गरेको छ। यो पुस्तक सार्वजनिक हुनु अगावै पनि बुकिंग गरेर आफ्नो प्रति सुरक्षित पार्न सकिन्छ। त्यसका निम्ति पब्लिकेशन्सले  www.thuprai.com,www.kitabyatra.com र www.sastobook.com जस्ता पोर्टलहरू प्रयोग गरेको छ।
 
फेब्रुअरीको दोश्रो साता सार्वजनिक गरिने तयारीमा रहेको पुस्तकको मूल्य चार सय ९५ रुपैयाँ तय गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।