शुक्रबार, वैशाख १४, २०८१

स्ट्रिट फुड : सस्तो खाना, सबैको स्वाद

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
मःम, सेकुवा, ससेज, चाउमिन, स्टिक फुड, पानीपुरी, चटपटे, लाफिङजस्ता खानेकुरा धेरैलाई मन पर्छ। महँगो र ‘सर्भिस चार्ज’ पनि लिने भएकाले सामान्य आर्थिक अवस्था भएका व्यक्तिहरु रेस्टुरेन्ट जान रुचाउँदैनन्। त्यसैले सहरका चोक, गल्ली र सपिङ मल परिसरमा विभिन्न प्रकारका स्ट्रिट फुडको व्यापार बढेको छ।

ललितपुर मल परिसरमा टपरीमा मम, स्याफली, आलु र ससेज खाँदै गरेकी पाटन कलेजमा अध्ययरत उर्मिला श्रेष्ठले भनिन्, ‘कलेजमा खाजा खानुपर्‍यो र कलेजपछि पनि भोक लाग्छ। अनि राम्रो रेस्टुरेन्ट गएर खाँदा त यहाँ पाँच दिन खाजा खान पुग्ने पैसा एकै दिन सकिन्छ।’ उनी आफ्ना साथीहरुको टोलीसँगै त्यहाँ पुथेकी थिइन्। 

सहरका चोकचोकमा कैयौं रेस्टुरेन्ट र क्याफे खुलेका छन्।  तर पनि खानाका पारखीहरु स्ट्रिट फुड वरिपरि झुम्मिएको देखिन्छ। श्रेष्ठले भनिन्, ‘साथीभाइको जमघट प्रायः यतै हुन्छ। हामीलाई यहीं रमाइलो लाग्छ।’ हाँस्न, बोल्न पनि यतै सजिलो महसुस हुने उर्मिलासँगै रहेका दीपक पौडेलले बताए। 

स्ट्रिट फुड स्कुल र कलेज विद्यार्थीका लागि उपयोगी खाजा घरसमेत बनेको छ। किनकि विद्यार्थीसँग सीमित खर्च हुन्छ। उनीहरूसँग रेस्टुरेन्टमा गएर खानेकुरा खाने समय पनि हुँदैन।



पछिल्लो समयमा स्ट्रिट फुड सफल र लोकप्रिय व्यवसायका रूपमा विकसित हुँदै गएको पाइन्छ। कम लगानीमा पर्याप्त नाफा र सहज व्यवसाय भएकाले यो व्यवसायतर्फ आकर्षित भएको बताउँछन् ग्वार्कोमा विगत दुई वर्षदेखि ‘स्ट्रिट फुड’ सञ्चालन गर्दै आएका विनोद चौधरी। 

उनी साँझ ६:३० देखि रातको १० बजेसम्म गाडामा खानेकुरा बेच्छन्। कहिलेकाहीं भने ग्राहकको आवश्यकताअनुसार ११ बजेसम्म पनि चोकमै अल्मिलने गरेको उनले बताए। उनको पसलमा कार्यालयबाट फर्केका कर्मचारी, ट्याक्सीचालक र साँझका बेला टहलिन निस्किएका व्यक्तिहरू बढी आउँछन्। यस्ता पसलमा ससेज, चिकेन विङ्स, पाङ्ग्रा, सेकुवा र मःम जस्ता परिकार बढी बिक्री हुन्छ। जाडो याममा मःम तथा गर्मीमा चटपटे, आइसक्रिम, बरफजस्ता खानेकुरा धेरैले रुचाउने भएकाले व्यवसायीहरु सोहीअनुसारका परिकार तयार पार्छन्। 

सस्तो र स्वादिलो

जस्तोसुकै ठूलो रेस्टुरेन्ट भए पनि सफा भएन भने खानेकुरा खान मन लाग्दैन। त्यसैले खानेकुरा खानयोग्य छ कि छैन भन्ने विषय रेस्टुरेन्टभन्दा पनि त्यहाँका मानिसको सरसफाइमा भरपर्ने बताउँछन् रूपक बिष्ट। डिएभी स्कुलमा कक्षा ११ मा अध्ययनरत रूपक स्ट्रिट फुडमा पानीपुरी र चटपटे खान मन पराउँछन्। उनी भन्छन्, ‘कम पैसा र छोटो समयमा खान सजिलो भनेकै पानीपुरी र चटपटे हो।’ उनले अन्यत्रभन्दा स्ट्रिट फुडका खानेकुरा सस्तो हुने बताए। अधिकांश व्यवसायीले पानीपुरी प्रतिप्लेट २५ रुपैयाँमा पाइन्छ। यस्तै चटपटे ३०, पापरी चाट ६०, दहीपुरी ६०, आलु निम्की ५०, आलुचाट ५० र आलु कुरकुरे ६० रुपैयाँमा बैच्दै आएको पाइयो।

मासिक ३० हजार कमाइ

हरेक ग्राहकको ध्यान ठेला गाडामा लेखिएको मूल्यसूचीमा जान्छ। कुमारीपाटीमा विगत २४ वर्षदेखि पानीपुरी पसल सञ्चालन गर्दै आएका अमर महतो भन्छन्, ‘विशेषगरी बिहानको ११, १२ र १ बजेको बीचमा कलेज पढ्ने विद्यार्थी पानीपुरी र चटपटे खान आउँछन्। तीमध्ये थोरैले मात्र दहीचाट, पापरीचाट मन पराउँछन्।’ उनका अनुसार साँझको समयमा धेरै व्यस्त हुनुपर्छ। उनी भन्छन्, ‘आफू एकजनाले मात्र भ्याउन धेरै गाह्रो हुन्छ।’  दिनको २५० प्लेटसम्म पानीपुरीको व्यापार हुने उनी बताउँछन्। पानीपुरी आफैं बनाउँछन्।  ग्राहकको स्वास्थ्यमा असर नहोस् भनेर उनी पानीपुरीका लागि जारको पानी प्रयोग गर्छन्। यसबाट मासिक आम्दानी बीसदेखि ३० हजारसम्म हुने उनको भनाइ छ।

सोही पसलमा पानीपुरी खाइरहेकी रश्मी खड्का भन्छिन्, ‘खानाको रियल टेस्ट भनेकै स्ट्रिट फुडमा हुन्छ।’ पिरो र चट्ट परेको जिब्रो पड्काउने खानेकुराको स्वाद पिरो चटपटे र पानीपुरी बाहेक अरूमा नभएको उनले बताए। साँझको समयमा चिसो हावासँगै पानीपुरी, चटपटे र पुरी चाटमा रमाउँदा उनी मनमा शान्ति र खुसी मिल्ने बताउँछिन्। 

कान्तिपुर इन्जिजियरिङ कलेजमा अध्ययनरत छात्रा नेहा नापितका अनुसार स्ट्रिट फुडमा ग्राहक आकर्षित हुनुको प्रमुख कारण सस्तो भएर हो। उनी भन्छिन्, ‘ठूला र नाम चलेको रेस्टुरेन्टमा महँगो हुन्छ। सर्भिस चार्जका नाममा अझै एक्स्ट्रा पैसा पनि लिने गर्छन्। यहाँका खानेकुरा सस्तो र मिठो हुन्छ।’ 

स्ट्रिट फुडमा सबैभन्दा बढी युवा पुस्ता आकर्षित हुन्छन्। युवाहरू खुला आकाशमुनि हाँस्दै रमाउँदै खाँदा रमाइलो मान्छन्। त्यसैले नेपालमा यस्तो व्यवसाय फस्टाउँदै गएको छ। केही समयअघि सम्म सहरका सडकपेटीमा पानीपुरी र चटपटेका ठेला मात्र भेटिन्थे। तर अहिले यो व्यवसाय केही व्यवस्थित हुँदै गएको छ। 

चिनियाँ र भारतीय परिकार खान पाएर मात्र स्ट्रिट फुडमा रमाइलो हुन्छ भन्ने होइन। ‘आफ्नै अगाडि पाकिरहेको मिठो परिकार खान एकछिन कुर्नु पो मज्जा हो त’, सिमरन अधिकारी भन्छिन्। कुनै बार तथा रेस्टुरेन्टमा खाना वा खाजाका लागि पर्खिनुपर्दा असहज हुन्छ उनलाई। उनले भने, ‘कार्यालयको काम सकेर साँझको समय प्रेमिकासँग मिठो गफ गर्दै स्ट्रिट फुड खाँदा निकै रमाइलो हुन्छ।’ 

बिज लिक्वर सपका सञ्चालक राजेन्द्र ताम्राकार पनि स्ट्रिट फुडका सौखिन हुन्। उनी भन्छन्, ‘सस्तो, मिठो र धेरै परिकार एकै ठाउँमा पाइन्छ भने धेरै पैसा खर्च गरेर ठूला रेस्टुरेन्टमा किन जानु ?’ 

धेरै समयदेखि असन क्षेत्रमा अण्डा बेच्दै आएकी रिमा सुनारको व्यवसाय पनि फस्टाइरहेको छ। दिउँसोको समयमा घर र अफिसको सरसफाइमा व्यस्त रहने उनी बेलुका सात बजेपछि अण्डा उसिनेर बेच्न बस्छिन्। उनले भनिन्, ‘व्यापार ठिकै छ। मासिक पन्ध्र हजारसम्म कमाइ हुन्छ।’ 

इन्द्रचोकका स्थानीय बासिन्दा, वरिपरिका व्यापारी र बटुवा उनका ग्राहक हुन्। उसिनेको एउटा अण्डाको २० रुपैयाँ पर्छ। उनी भन्छिन्, ‘एकजना व्यक्तिले तीनदेखि चारवटासम्म अण्डा खान्छन्। जाडो मौसममा अझै धेरै खान्छन्।’ 

ग्राहकको स्वास्थसँग खेलवाड नगर्ने व्यवसायी बताउँछन्। यो व्यवसायमा धेरै व्यक्तिले रोजगारी पाएका छन्। कम लगानी र थोरै समयमा धेरै नाफा आर्जन गर्न सकिने भएकाले यसलाई सरकारी निकायबाट व्यस्थित गर्नुपर्ने सुझाव व्यवसायीको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।