एजेन्सी- शुक्रबार राती भएको तनावपुर्ण बनेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले उरुग्वेलाई पराजित गरेको छ । लन्डनस्थित आर्सनलको घरेलु मैदान इमिरेट्समा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले उरुग्वेलाई १-० ले पराजित गरेको हो ।
तनावपुर्ण बनेको खेलमा रेफ्रीले दुवै टिमका खेलाडीलाई ८ पहेलो कार्ड देखाएका थिए । नेयमारलाई उरुग्वेका खेलाडीले पटक-पटक ट्याकल गर्दा रेफ्री क्रेग पसनले उरुग्वेका ६ खेलाडीलाई पहेंलो कार्ड देखाएका थिए ।
ब्राजिलले विवादास्पद पेनाल्टीबाट गोल गर्दै खेलमा अग्रता बनाएको थियो । ७५औं मिनेटमा ब्राजिलका डानिलोलाई उरुग्वेका डियागो लक्जाल्टले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । जसलाई नेयमार गोलमा परिणत गरे ।
नेयमारको यो ६०औं अन्तर्राष्ट्रिय गोल हो । त्यसअघि नेयमारले खेलको १० औं मिनेटमा गोल गरेपनि रेफ्रीले अफसाइड दिएका थिए । दुवै टोलीले आफ्नो बलियो सुरुवाती एघारलाई मैदानमा उतारेका थिए ।
उरुग्वेका लुइस सुआरेजले दुई पटक सुन्दर अवसर सिर्जना गरेपनि ब्राजिलियन गोलरक्षक एलिसन बाधक बने । उरुग्वेले पछिल्लो १० खेलमा ब्राजिललाई पराजित गर्न सकेको छैन । ब्राजिलले अब लन्डनमै हुने अर्को मैत्रीपूर्ण खेलमा क्यामरुनको सामना गर्नेछ ।
क्ल्यारेन्स सिडर्फ प्रशिक्षक रहेको टोलीसँग ब्राजिलले मंगलबार खेल्नेछ । उरुग्वेले भने पेरिसमा हुने खेलमा विश्वविजेता फ्रान्सको सामना गर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४