बिहीबार, वैशाख २०, २०८१

शितल निवासमा 'सामन्ती टिका' अनि 'बडामहारानीको झल्को'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- कहिलेकाँही सानो घट्नाले पनि भयानक प्रतिक्रिया अनि परिणाम निम्त्याउँछ। संभवत: राष्ट्रपति कार्यलय शितलनिवासका कुनै पनि अधिकारी मात्र होइन, स्वयम राष्ट्रपतिले समेत यति सानो विषय यसरी  'भाइरल' होला भनेर सोचेका थिएनन्। त्यही नसोचेको अप्रिय प्रतिक्रिया र परिणाम यतिबेला शितलनिवासले सामना गर्नुपरिरहेको छ।

राष्ट्रपति विद्या भण्डारीले दशैंमा घुँडा टेकाएर टिका लगाइदिएका तस्बिरले यतिबेला सामाजिक संजाल तरंगित भएको छ। शितल निवासमा कोही कुर्सीमा बसेर त कोही भुइँमा घुँडा टेकेर टिका थापेका दृश्यहरु अहिले सामाजिक संजालमा 'हटकेक' भएका छन्। 

दशैंका दिन राष्ट्रप्रमुखकहाँ गएर टिका थाप्‍नु चाकडी मात्र होइन, यो एउटा चलन र संस्कार पनि हो। टिका थाप्‍न सर्वसाधरणदेखि अति विशिष्ट व्यक्तित्वसम्म जान्छन्। त्यसको पूर्वअनुमान र व्यवस्थापन गर्नु राष्ट्रपति कार्यलयको सामान्य दायित्व हो । कुनै आकस्मिक तथा अनपेक्षित कार्यक्रम होइन।  यो हरेक वर्षको दशैंमा हुने नियमित कार्यक्रम नै हो।

शितलनिवासमा टिका थाप्‍न जाने कसैका लागि कुर्सी राखिएको छ भने कसैलाई भुइँमा घुँडा टेक्न लगाएर टिका लगाइदिएको देखिन्छ। त्यसमा कुनै मापदण्ड वा मर्यादा पालना गरिएको देखिएन। शितलनिवासमा कुर्सीमा बसेर टिका लगाउन पाउने भाग्यमानीमा  प्रधानमन्‍त्री, केही मन्‍त्रीहरु अनि छोरीज्वाँइलगायतका आफन्त  मात्र होइनन्, अरु केही दलीय नेताले पनि यो अवसर पाएका छन्। उपप्रधानमन्‍त्री इश्‍वर पोखरेल, सभामुख कृष्णबहादुर महरा,कानुनमन्‍त्री भानुभक्त ढकालदेखि ओलीसँग निकट मानिने पूर्वमन्‍त्री महेश बस्‍नेत र सोमनाथ पाण्डेलगायतले पनि कुर्सीमै बसेर टिका लगाएका छन्।बीचमा एकाएक त्यहाँ सुरक्षाकर्मीले कुर्सी हटाएका छन्।

यसलाई राष्ट्रपति कार्यलयले सेनाको परम्पराका कारण यस्तो हुन गएको भन्दै चोखिने प्रयास गरेको छ।  सेनाको परमाधिपति राष्ट्रपति हुने भएकोले समान आशनमा बसेर टिका नलगाउने चलनका कारण प्रधानसेनापति आउँदा कुर्सी हटाइएको र त्यसपछि कुर्सी राख्‍न सुरक्षाकर्मीले नदिएको स्पष्टीकरण राष्ट्रपति कार्यलयले दिएको छ। राष्टपति कार्यलय शितल निवासको सचिवालयले आफ्‍नो कमजोरी र लापरवाही छोप्‍नका लागि सुरक्षाकर्मीलाई दोष दिने जुन प्रयास गरेको छ, त्यो झन् लाजमर्दो छ। टिका थाप्‍नका लागि कुर्सी राख्‍न आदेश दिन नसक्‍ने परमाधिपतिको सचिवालयको व्यवसायिक क्षमता र प्रशासनिक लगाममाथि नागरिक स्तरबाटै प्रश्‍न उठाइएको छ।

राष्ट्रपति भण्डारीलाई दोस्रो कार्यकालका लागि  सपथ खुवाएका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री र ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलगायत थुप्रै विशिष्टहरुले कुर्सीमा बसेकी राष्ट्रपति भण्डारीसँग घुँडा टेकेर टिका ग्रहण गरेका छन्। कुर्सी नहुँदा र उभिन पनि नमिल्दा निकै सकसका साथ उनीहरुले टिका ग्रहण गरेको दृश्यमा देख्‍न सकिन्छ।

यसपटक शितलनिवासमा दशैंको टिका लगाइदिने क्रममा जुन जात्रा देखाइयो, त्यसले दुनियाँलाई हँसाएको छ। यसले राष्ट्रपतिजस्तो सम्मानित ओहदाको गरिमा पनि गिराएको छ।राष्ट्रप्रमुखप्रति आम आस्था र छविमा समेत धक्का लागेको छ। यसलाई राष्ट्रपति कार्यलयको व्यवस्थाकीय कमजोरी मात्र भन्‍न मिल्दैन, यो चरम लापरवाही नै हो। यति सानो विषयमा ध्यान नपुर्‍याउँदा शितलनिवासप्रतिको आमधारणा समेत यतिबेला निकै नकारात्मक भएको छ। राष्ट्रपति स्वयम नै आम आलोचना र आक्रोशको सिकार भएकी छिन्। आम नागरिकले नै गणतन्‍त्रलाई गिज्‍जाउन थालेका छन्। राजतन्‍त्र ढलेर गणतन्‍त्र आए पनि 'लोकतन्‍त्रका  अगुवा पात्रहरु' सामन्ती संस्कार र 'राजसी भ्रम'बाट मुक्त हुन नसकेको टिप्पणी नागरिक स्तरबाट भएको छ। दृश्यहरु हेर्दा त्यस्तो देखिन्छ पनि।
 
सेनापति वा अन्य जर्नेलहरुले टिका लगाउँदा त्यो सेटिङ भए पनि त्यसलाई परिवर्तन गर्ने हिम्मत गणतान्‍त्रिक राष्ट्रपतिका सल्लाहकार समूह र सचिवलायले किन गर्न सकेन ? साढे दुई सय वर्ष लामो राजतन्‍त्र हटेर गणतन्‍त्र स्थापित भइसकेको अवस्थामा पनि सेनाको त्यो सामान्य दरबारकालीन परम्परा हटाउन शिलतनिवासले किन पहल गरेन ?  यस्तो जात्रा भइरहँदा राष्ट्रपति स्वयम किन रमिते बनिन् ? नागरिक स्तरबाट अहिले यस्ता धेरै प्रश्‍नहरु उठेका छन् ।यसले के पुष्टि गर्छ भने सैन्य छायासामुन्‍ने शितल निवासको नागरिक संयन्‍त्र अहिले पनि निरीह र लाचार छ। जसले कुर्सी राख्‍ने र हटाउने अादेश दिने साहससमेत गर्न सक्दैन। 

यसलाई सामान्य घट्ना ठानेर ढाकछोप गरियो भने यसको परिणाम अझ् गम्भीर हुनेछ। यसबारेमा छानबिन आवश्यक छ र आगामी दिनमा यस्तो जात्रा नदोहोरिने गरी एउटा सिस्टम बसाउनुपर्छ।  मिडियामा र सामाजिक संजालमा यति व्यापक चर्चा र बहस हुँदा पनि शितलनिवासले यसमा केही बोलेको छैन। शायद बोल्नका लागि अप्ठ्यारो पनि छ होला। तर राष्ट्रप्रमुखजस्तो सर्वोच्च संस्थासँग जोडिएको विषय बजारमा यसरी भाइरल हुँदा सरकारले बेलामै स्पस्ट पार्नुपर्दछ। यसमा पनि शितल निवास र सरकार दुवै चुकेको छन्। नागरिक स्तरबाट ‌ओइरिएको प्रतिक्रयालाई कम आँकलन गर्नु फेरि अर्को भूल हुनेछ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।