शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • चक्रप्रसाद बाँस्तोला : जसले गिरिजा र कृष्णप्रसादलाई गोदावरीमा मिलाए

चक्रप्रसाद बाँस्तोला : जसले गिरिजा र कृष्णप्रसादलाई गोदावरीमा मिलाए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- मध्यम वर्गीय परिवारमा ७४ वर्षअघि जन्मिएका स्वर्गीय चक्रप्रसाद बाँस्तोलाको स्थायी घर झापाको बुधबारे हो। उनको राजनीतिमा प्रवेश उच्च शिक्षा आर्जनका क्रममा भारतको बनारस हिन्दु विश्वविद्यालयमा गएका बेला समाजवादी नेता बीपी कोइरालासँग भेटसँगै  भएको थियो। 

बीएचयूबाट राजनीति शास्त्रमा पोस्ट ग्राजुएट गरेका बाँस्तोला बीपीका प्रियपात्र बने। पछि उनै विश्वासपात्र बाँस्तोलालाई बीपीले भाञ्जीसँग विवाह गराइदिएका थिए। बाँस्तोलाकी जेठी पत्नी मधु स्वर्गीय शैलजा आचार्यकी बहिनी थिइन्। मधुमेह रोगका कारण भदौ ०४१ मा मधुको निधन भएको थियो।

त्यसपछि हालकी पत्नी कुसुमसँग विवाह बन्धनमा बाँधिएका थिए, बाँस्तोला। बाँस्तोलाका दुई छोरी छन्, सुम्निमा बाँस्तोला चौलागाईं र गरिमा बाँस्तोला रिजाल।

२०३९ सालसम्म बीपीको सान्निध्यमा रहेका बाँस्तोला प्रजातान्त्रिक आन्दोलनको क्रममा चर्चित जहाज अपहरण काण्डका योजनाकार र संलग्न नेता हुन्। ०४८ सालदेखि लगातार संसदीय निर्वाचन लड्दै आएका उनी ०५१ र ०५६ सालको निर्वाचनमा झापा क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए। ०४८ सालमा निर्वाचन हारेपछि उनी भारतका लागि नेपाली राजदूत नियुक्त भए।

२०५१, ०५४, ०५६ र ०५७ साल गरी पटक-पटक मन्त्री बनेका थिए। त्यसक्रममा विज्ञान तथा प्रविधि, कृषि, परराष्ट्र र गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। ०५६ मा कृषिमन्त्री भएका बाँस्तोलालाई राजिनामा गर्न तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले आग्रह गर्दा उनले इन्कार गरेका थिए। उनले आफूले प्रधानमन्त्री बनाउन भनी बाचा गरेको व्यक्ति प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई धोका दिएर राजिनामा दिन्नँ भन्ने अडान लिएका थिए। जबकि, त्यसबेला खुमबहादुर खड्का, नरेन्द्रविक्रम नेम्वाङसहित ११ जना मन्त्रीले राजिनामा दिएर प्रधानमन्त्रीलाई असहयोग गरेका थिए।

यस्तै, बाँस्तोलाले असार ०५७ मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाप्रति असहमति जनाउँदै तत्कालीन उपप्रधान तथा गृहमन्त्री रामचन्द्र पौडेलले राजिनामा दिएपछि करिब दुई साता गृह मन्त्रालयको कार्यभार सम्हालेका थिए।

किशुनजीलाई फालेर प्रधानमन्त्री भएका गिरिजाप्रसादलाई फेरि रामचन्द्र पौडेलसहितका केही मन्त्रीले राजिनामा दिएर असहयोग गरे। तर, उनको क्याबिनेटमा पनि मन्त्री बनेका बाँस्तोलाले गिरिजाबाबुलाई धोका दिएनन् र गृह मन्त्रालयको थप कार्यभार सम्हालिदिए।


राजनीतिमा सधैं भरोसापूर्ण र विश्वसनीय तथा नैतिकतामा आधारित राजनीति गर्न रुचाउने बाँस्तोलाले बीपीदेखि कृष्णप्रसाद र गिरिजाप्रसादसम्मको विश्वास आर्जन र उनीहलाई भरोसा दिएका थिए। ०२९ सालको पहिलो जहाज अपहरणको रणनीति उनै बाँस्तोला र दुर्गा सुवेदीले बनाएका थिए। ०३३ सालमा बीपीलाई मेलमिलापको नीति अंगिकार गर्न र गराउन सहयोग गरेका थिए। उनले ३० वर्षपछि ०४८ सालमा कांग्रेसको महाधिवेशन झापामा गराउनेदेखि पार्टी नेताबीचको वैमनस्य र विवाद समाधानमा पनि उल्लेख्य काम गरेका थिए।

चर्चित गोदावरी सम्झौताका सूत्राधार

राजनीतिमा चासो राख्ने र कांग्रेसको राजनीतिका जानकारहरूले  सम्झनलायक एउटा सम्झौता भएको छ, गोदावरी सम्झौता। कांग्रेसका दुई मुर्धन्य शीर्ष नेता तर एकअर्काको विपरित ध्रुवमा उभिएका बेला तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र वरिष्ठ नेता कृष्णप्रसाद भट्टराईबीचको प्रतिष्पर्धा, बेमेल र वैमनस्यता सतहमा थियो। तर, दुई नेताबीचको तिक्तता अन्त्य गर्न सक्ने खुबी र भरोसायोग्य पात्र थिए, बाँस्तोला।

गिरिजाप्रसाद कोइराला ०५५ सालमा प्रधानमन्त्री थिए तर संयुक्त सरकारको। कांग्रेस संसदमा दोस्रो ठूलो दल  भए पनि कहिले राप्रपालाई फुटाएर त कहिले एमालेलाई फुटाएर गिरिजाप्रसाद प्रधानमन्त्री भइरहन सफल भए पनि उनलाई पुनः बहुमतको सरकार नभई देश र प्रजातन्त्रको भलो हुँदैन भन्ने लाग्यो।

नाताले ज्वार्इं पर्ने भए पनि गिरिजाप्रसादले बाँस्तोलालाई चक्रजी भनेर सम्बोधन गर्थे। ०५५ मंसिर अन्तिम साताको कुरा हो। प्रधानमन्त्री कोइरालाले उनलाई भने, ‘चक्रजी, अब हुने इलेक्सन (२०५६ वैशाख) हामीले कुनै हालतमा जित्नैपर्छ। यो हंग पार्लियामेन्टबाट सरकार स्थिर भएन। केही उपाय छ भने लौन सोच्नूस् र सुझाव दिनूस्।’ कूटनीतिका बौद्धिक खेलाडी बाँस्तोलाले शर्त राखे। ‘मैले भनेको मान्ने हो गिरिजाबाबु?’ कोइरालाले सहमति दिए। बाँस्तोलाले भने ‘एउटै मात्र अचुक सूत्र छ, त्यो हो किशुनजीलाई खुशी तुल्याउनूस्।’

त्यसपछि गिरिजाप्रसाद र बाँस्तोलाबीच भएको सहमतिअनुसार किशुनजीलाई खुशी तुल्याउने भूमिका पनि बाँस्तोलाले नै खेल्नुपर्यो। दुवै नेताको सल्लाहअनुसार बाँस्तोला एक दिन किशुनजीलाई भेट्न भैंसेपाटी गए र सारा बृत्तान्त सुनाए। तर, किशुनजी टसको मस भएनन्। किशुनजीले भनेका थिए रे, ‘चक्रजी, तपार्इंसँग मैले सहमति गरौंला, त्यो कसले देख्छ र? गिरिजाबाबुलाई मैले जति कसले चिनेको छ र?’

अन्ततः बाँस्तोलाले किशुनजीको मन जित्ने प्रस्ताव गरेछन्। सहमति दुई नेताको साक्षी दुवैतिरका सीमित नेता बस्ने। सोही सहमतिअनुसार ३ पुस ०५५ मा प्रधानमन्त्री निवास बालुवाटार र भैंसेपाटीस्थित किशुनजी निवासका टेलिफोनहरू बन्द गरिए। एकाबिहानै प्रधानमन्त्री कोइराला कसैलाई थाहा नदिई बाँस्तोलासँग गोदावरी हान्निए। त्यहाँ पूर्णबहादुर खड्काले किशुनजीलाई पुर्याइसकेका थिए। कोइराला पुग्नुअघि रामचन्द्र पौडेल, तारानाथ रानाभाट, महेश आचार्य र वासु रिसाल पनि थिए।

बाँस्तोलाले आफ्ना सहपाठी श्रीधर जोशीको गोदावरी भिलेज रिसोर्टमा दुई नेताको भेटका लागि एउटा घाम लाग्ने कोठाको व्यवस्था गरेका थिए। त्यस कोठामा सहयोगी नेतासहित चिया कफी खाएपछि बाँस्तोलाले प्रस्ताव गरे, ‘अब हामी यहाँ कोही नबसौं, किशुनजी र गिरिजाबाबुलाई धित मर्ने गरी गफ गर्न दिऔं।’ बाँस्तोलाको प्रस्ताव सबैले स्वीकारे। दुई नेताबीच आधा घण्टासम्म गोप्य कुराकानी भयो। उनीहरूबीच के के मौखिक सहमति भयो, त्यो कसैलाई थाहा छैन। दुवैको निधन भइसकेकाले रहस्यकै गर्भमा रह्यो।

त्यहाँ दुई शीर्ष नेताबीच भएको सहमति १० दिनसम्म कसैलाई भनिएन। अन्ततः १३ पुस ०५५ मा नेता रामचन्द्र पौडेलले दाङमा आयोजित सभामा प्रस्ताव राखेझैं भाषण गरे, ‘अबको प्रधानमन्त्री किशुनजी।’ पौडेलको त्यो भाषणले सनसनी छायो। कतिले पत्याएनन्। कतिले आलोचना गरे। तर, अन्ततः थाहा भयो कि दुई शीर्ष नेताबीच भएको सहमति त बाँस्तोलाले गिरिजाबाबुलाई भनेझैं किशुनजीलाई खुशी पार्ने प्रस्ताव पो रहेछ।

भावी प्रधानमन्त्रीको रूपमा किशुनजीलाई कांग्रेसले पछि औपचारिक रूपमै घोषणा गर्यो। जीवनमा कहिल्यै संसदीय निर्वाचन नजितेका किशुनजीलाई प्रधानमन्त्री बनाउन सबैभन्दा सुरक्षित मानिएको पर्सा-१ बाट चुनाव लडाइयो र उनी प्रधानमन्त्री पनि भए। बहालवाला प्रधानमन्त्री गिरिजाप्रसादले तत्कालीन प्रहरी महानिरिक्षक अच्युतकृष्ण खरेल र गृह सचिव पदमप्रसाद पोखरेलको भरमा सेना परिचालन नगरी माओवादी हिंसात्मक गतिविधिका बावजुद चुनाव गराउन सफल भए।

किशुनलाई खुशी तुल्याउन सफल बाँस्तोला त्यसपछि बनेको मन्त्रिमण्डलमा कृषि मन्त्री भए। तर, किशुनजीसँग बाँस्तोलाको खुशी १० महिनाभन्दा बढी टिकेन। १० फागुन ०५६ मा किशुनजीको क्याबिनेटका ११ मन्त्रीले राजिनामा दिए। बाँस्तोलाले गिरिजाप्रसादलाई इशारा गर्दै भनेका थिए, ‘गोदावरी सम्झौताको मर्म र भावना विपरित बेइमानी गर्दिनँ।’ पछि किशुनजीविरुद्ध खुमबहादुर खड्का र कृष्णप्रसाद सिटौलासहित ६९ सांसदले अविश्वासको प्रस्ताव संसदीय दलमा पेश गरेका थिए। किशुनजीले राजिनामा दिएसँगै बाँस्तोला आफू पनि मन्त्रीबाट हटे।

किशुनजीलाई फालेर प्रधानमन्त्री भएका गिरिजाप्रसादलाई फेरि रामचन्द्र पौडेलसहितका केही मन्त्रीले राजिनामा दिएर असहयोग गरे। तर, उनको क्याबिनेटमा पनि मन्त्री बनेका बाँस्तोलाले गिरिजाबाबुलाई धोका दिएनन् र गृह मन्त्रालयको थप कार्यभार सम्हालिदिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।