बुधबार, कात्तिक २७, २०७६

समाचार

पहिचान जोगाउन संघर्ष गर्दै जनकपुर

कुनै समय जनकपुर ५२ कुटी (मठ मन्दिर) र ७२ कुण्डको नामले समेत चिनिन्थ्यो । तर, अहिले अवस्था फरक छ । पोखरी र मठमन्दिरको शहरका रूपमा चिनिने जनकपुर अहिले आफ्नो पुरानो पहिचान स्थापित गर्न संघर्षरत छ । कारण, यहाँका पोखरी र मठमन्दिरका जग्गा निरन्तर अतिक्रमण भइरहेका छन् ।

पहिचान जोगाउन संघर्ष गर्दै जनकपुर
जनकपुरधाम- कुनै समय जनकपुर ५२ कुटी (मठ मन्दिर) र ७२ कुण्डको नामले समेत चिनिन्थ्यो । तर, अहिले अवस्था फरक छ । पोखरी र मठमन्दिरको शहरका रूपमा चिनिने जनकपुर अहिले आफ्नो पुरानो पहिचान स्थापित गर्न संघर्षरत छ । कारण, यहाँका पोखरी र मठमन्दिरका जग्गा निरन्तर अतिक्रमण भइरहेका छन् ।

धार्मिक तथा सांस्कृतिक महत्वको ठाउँ हो, जनकपुर । त्रेतायुगमा भगवान राम र सीताको विवाह जनकपुरमै सम्पन्न भएको पौराणिक मान्यता छ । यहाँको धार्मिक तथा सांस्कृतिक महत्वलाई नेपाल र भारत मात्र नभई विश्वले नै स्वीकारिसकेको छ । 

गुठी संस्थान र विभिन्न मठमन्दिरका जग्गा अतिक्रमण गरी यहाँको सांस्कृतिक र धार्मिक पहिचान समाप्त पार्ने काम भइरहे पनि नियामक निकाय मौन छन् । धार्मिक तथा सांस्कृतिक इतिहास बोकेका जनकपुरका मठमन्दिरको अर्बौं मूल्यका जग्गा अतिक्रमणमा परेका छन् । 

कतिपय पोखरी त इतिहासमा सीमित बनेका छन् । धार्मिक महत्वका ती पोखरी मिचेर भवन ठड्याइएको छ ।
 

 धार्मिक महत्वका जग्गा र पोखरीको अस्तित्व मेट्दै भवन र सडक निर्माण तीव्र गतिमा, सरोकारवाला निकायहरू मौन ।


गुठी संस्थानको कार्यालय अघिल्तिर नै अतिक्रमण जारी रहँदा मुकदर्शक बनेको आरोप स्थानीय बासिन्दाको छ । 

गुठी ऐनअनुसार राज, छुट र अमानत गरी गुठीलाई गरी तीन खण्डमा छुट्याइएको छ । छुटअन्तर्गत् पर्ने जग्गा संरक्षण गर्ने अधिकार मन्दिरका महन्थ तथा अमानत र राजगुठीअन्तर्गत्का जमिनको संरक्षक गुठी संस्थान हो । 

तर, कुनै पनि निकायले धार्मिक महत्वका ती जग्गा संरक्षणमा ध्यान नदिएको जनगुनासो छ । जग्गा संरक्षण गर्नुभन्दा ती निकायकै कर्मचारीको मिलेमतोमा अतिक्रमण र बेचविखन हुँदै आएको छ । 

मठमन्दिरको जग्गा अतिक्रमणमा सर्वसाधारण मात्र होइन, राजनीतिक दलका नेता÷कार्यकर्ता र उच्चपदस्थ अधिकारीहरू समेत सामेल ।


मठमन्दिरको जग्गा अतिक्रमणमा सर्वसाधारण मात्र होइन, राजनीतिक दलका नेता÷कार्यकर्ता र उच्चपदस्थ सरकारी अधिकारीहरू समेत सामेल छन् । केही वर्षअघि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष भोजराज घिमिरेको प्रतिवेदनमा मन्दिरका महन्थको मिलेमतोमा नेता, सरकारी अधिकारी र सर्वसाधारणले मठमन्दिरको जग्गा अतिक्रमण गरेको स्पष्ट उल्लेख छ । प्रतिवेदन सार्वजनिक भएको वर्षौं बितिसक्दा पनि ती जग्गा अतिक्रमणमुक्त बनाउन कुनै प्रयास थालिएको छैन ।

उपमहानगरबाटै अतिक्रमण

पछिल्लो समय जनकपुर उपमहानगरपालिकाबाटै धार्मिक महत्वका जग्गा अतिक्रमण गरिएको खुलासा भएको छ । जनकपुर–११ स्थित लक्ष्मण अखाडाको जग्गा मिचेर वडा कार्यालयको भवन निर्माण गरिँदैछ । 

लक्ष्मण अखाडाको जग्गा रामायण सर्किटअन्तर्गत् समेटिएको छ । लक्ष्मण सागरमा स्नान गरी त्यहाँ रहेको लक्ष्मणको गदामा पानी सेचन गर्दा पाप नष्ट हुने धार्मिक मान्यता छ । 

गुठीको जग्गामा अनधिकृत मन्दिर

जनकपुर–४ स्वर्गद्वारी नजिकको गुठी संस्थानको जग्गा अतिक्रमण गरी अनाधिकृत रूपमा मन्दिर निर्माण थालिएको छ । कार्यालयभन्दा तीन सय मिटरको दूरीमा भइरहेको निर्माण संस्थानले रोक्न सकेको छैन । 

संस्थानका जनकपुर प्रमुख मनोज शर्माले पनि मन्दिर अनधिकृत रूपमा निर्माण भइरहेको स्वीकारे । काम रोक्न आफूले निर्देशन दिएको उनी बताउँछन् । शर्माका अनुसार केही व्यक्तिले मन्दिर निर्माण गर्न गुठी संस्थान केन्द्रीय कार्यालयमा अनुमतिका लागि निवेदन दिए पनि स्वीकृत भएको छैन ।

सडकका लागि निशानामा पोखरी

जनकपुर–१२ मा पर्छ, भुतही पोखरी । यो पनि धार्मिक महत्वकै पोखरी हो । तर, अहिले सडक निर्माणको बहानामा पोखरी पुर्ने काम भइरहेको छ । अतिक्रमण रोक्न आफूले प्रदेश सरकार, उपमहानगर, निर्माण व्यवसायीसमेतलाई पत्राचार गरेको गुठी संस्थान प्रमुख शर्मा दाबी छ । पत्राचारपछि पोखरी पुर्ने काम बन्द भएको उनको भनाइ छ ।

गुठी संस्थानको तथ्यांकअनुसार जनकपुर नगर क्षेत्रसहित धनुषाको ४० विघाभन्दा बढी जग्गा अतिक्रमणमा परेको छ । हरि बखती संयोजक रहेको गुठी जमिन छानविनसम्बन्धी आयोगको पछिल्लो तथ्यांकअनुसार गुठी अधिनस्थ तीन सय ५१ विघा नौ कठ्ठामध्ये सरकारी कार्यालयहरूले एक सय ५१ विघा १८ कठ्ठा जग्गा मिचेका छन् । 

गुठी संस्थान अधिनस्थ जग्गा राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्मले अतिक्रमण गरेको बखती आयोगको प्रतिवदेनमा उल्लेख छ ।

गुठीको एक्लो प्रयासबाट अतिक्रमण रोक्न नसकिने शर्मा बताउँछन् । भन्छन्, ‘वर्षौंदेखि जग्गा र पोखरी अतिक्रमण हुँदै आएका छन् । यसलाई रोक्न सबै सरोकारवाला निकायको सहयोग चाहिएको छ ।’
 
प्रतिक्रिया दिनुहोस्