मंगलबार, कात्तिक २६, २०७६

विचार

सिंहदरबारमा उत्सव छ

भारतीय कवि गोरख पाण्डेको एउटा कविताले भन्छ, ‘राजा बोला रात है। रानी बोली रात है। मन्त्री बोला रात है। सन्तरी बोला रात है। ये सुबह सुबहकी बात है।’ बेजोड कविता। शासकहरूका लागि गहिरो व्यंग्य। सत्ताले सिर्जना गर्ने भ्रममाथि शक्तिशाली प्रहार। निश्चय नै कविले आफ्नै सन्दर्भमा यो कविता लेखे होलान्। तर यो कविता हाम्रो सन्दर्भमा पनि मिल्छ सरकारको एक वर्षको सन्दर्भमा। सरकारको गोयबल्स प्रचार शैलीको सन्दर्भमा।

सिंहदरबारमा उत्सव छ
भारतीय कवि गोरख पाण्डेको एउटा कविताले भन्छ, ‘राजा बोला रात है। रानी बोली रात है। मन्त्री बोला रात है। सन्तरी बोला रात है। ये सुबह सुबहकी बात है।’ बेजोड कविता। शासकहरूका लागि गहिरो व्यंग्य। सत्ताले सिर्जना गर्ने भ्रममाथि शक्तिशाली प्रहार। निश्चय नै कविले आफ्नै सन्दर्भमा यो कविता लेखे होलान्। तर यो कविता हाम्रो सन्दर्भमा पनि मिल्छ सरकारको एक वर्षको सन्दर्भमा। सरकारको गोयबल्स प्रचार शैलीको सन्दर्भमा।

सरकारको एक वर्ष कस्तो भयो? स्वयं सरकार भन्छ, गजब भयो। सरकार दाबी गर्छ, सर्वत्र उज्यालो छ।  यहाँ प्रयोग गरिएको उज्यालो एक बिम्ब हो। सरकार पटकपटक भन्छ, चराचर झलमल्ल छ। लेखेर भन्छ, उज्यालो छ। छापेर भन्छ, उज्यालो छ। भाषणमा भन्छ, उज्यालो छ। तर जनता सोध्दैछन्, खै कता छ उज्यालो ? यथार्थमा सर्वत्र अँध्यारो छ। निश्चय नै सिंहदरबारमा उज्यालो होला। आसेपासेहरुको घरमा उज्यालो होला। सरकारी मान्छेहरुमा हर्ष बढाइँ होला। सरकारी कमरेडहरुका लागि मनमोज होला। निश्चय नै सिंहदरबारमा उत्सव होला। तर भुइँमा के छ? 

सरकारको एक वर्षबारे टिप्पणी गर्दै मेरा एक मित्र भन्छन् ‘सरकार आकाशतिर हेर्छ। सरकार सिंहदरबारको पुतली बगैंचामा हेर्छ। जनता भुइँमा छन् र भुइँ भोकमा छ’। सायद आकाश र पातालमा जति फरक छ, सिंहदरबार र गाउँमा त्यति नै फरक छ। जस्तो कि कुनै गाउँमा समृद्धिको महोत्सव छ। कुनै जमानाको विवाहभोज जस्तै। सबै गन्यमान्य जम्मा भएका छन्। यज्ञ, होम र सामूहिक वैदिक मन्त्रोचारण हुँदैछ। यता सडक शिलान्यास हुँदैछ। उता पानीजहाजको कार्यालय खुल्दैछ। कान्ला मुन्तिर बडेमानको पानीजहाज अडिएको छ। जहाजको गजुरमा नेपाली झन्डा फहराउँदैछ। माथि केरुङ र तल रक्सोलबाट सुलसुले रेलहरु आउँदैछन्। सुकिला मान्छेहरुको हाँसो, ठट्टा र रसरंग तीव्र छ। जयजयकार छ प्रभुको। एकैछिनपछि उत्सव महाभोजमा परिणत हुन्छ। सबैले चौरासी व्यञ्जन ग्रहण गर्दछन्। भोज सकिन्छ र सबै बाटो लाग्छन्। बस त्यसपछि के हुन्छ?
निश्चय नै सडकको कुरा होस् तर पैदल यात्रुहरुको जीवनरक्षाको पनि कुरा होस्। बाटोमा खाल्डाहरु नहोऊन् र स्कुले बच्चाहरुले सजिलै सडक पार गर्न पाऊन्। यस्तो होस् कि भारतसँग रेलको मात्र कुरा नहोस् बरु रोजगारीका लागि भारत पसेका बहादुरहरुको जीवन बिमा र तलबको कुरा होस्। 

उत्सव आयोजना स्थल नजिकै केही नांगाभुतुंगा मान्छे छन्। भोका, सपनाहीन, रोगी र मैला मान्छेहरु। जस्तो कि उसबेलाको विवाहभोजमा गाउँका दलित, गरिब र अपहेलितहरु उभिन्थे। यो केको उत्सव हो? अकिंचन आँखामा प्रश्नहरु त छन् तर जबाफ छैनन्। उनीहरु भाँडाकँुडा हेर्छन्, सबै रित्ता छन्। उनीहरु मिठाईका बट्टाहरु टकटक्याउछन् सबै रित्ता छन्। उनीहरु पक्वान्न र पुलाउ हेर्दछन् भुइँमा छरपष्ट छन्। बस मालिकको महाभोज हेरेर थाकेका निर्धा गरिबहरु चिसो चुलो नजिकै भोकै निदाउँछन्। 

प्रश्न आउँछ उल्लिखित शब्दचित्रको त्यो गाउँ, त्यो भन्सा, ती भान्से र ती सहभागीहरु को हुन् ? छेउमा उभिएर मुख मिठ्याउनेहरु को हुन्? खपाखप खाने र गाडी चडेर सुइँकुच्चा ठोक्नेहरु को हुन्? रित्ता भाँडाकुँडाहरु टकटक्याउने को हुन् ? यी दुई वर्ग, यी फरक दुई पेटहरुका लागि यो एक वर्ष निश्चय नै फरक थियो। कसैका लागि सधैं महाभोज। उज्यालो। मस्ती। उसका लागि स्वभावतः यो एक वर्ष सफल भयो। तर जो अभागी भुइँमा वा डिलमा थियो उसका लागि यो एक वर्ष पनि उस्तै भयो जस्तो इतिहासमा थियो। 

एक वर्षमा सरकारले के गर्‍यो? भ्रष्टाचार घट्यो ? तथ्यहरुले बताउँछन्, घटेन अझ बड्यो। सुशासन आयो? अहँ। सेवा प्रवाहमा कुनै सुधार देखिएन। कर्मचारी, शिक्षक, प्राध्यापकले राजनीति गरिनै रहे। युनियनहरुको दबदबा उस्तै रह्यो। किसानले अनुदानमा मल, बिउ पाए? सिँचाइ सुविधा विस्तार भयो? खै यसमा कुनै सुधार देखिँदैन। स्कुल र अस्पतालमा केही सुधार छ? त्यो अनुभूत गरिएन। गरिबका लागि केही नयाँ कार्यक्रम आए? सुनिएको छैन। रोजगारी बढ्यो? अहँ। भूमिसुधारको बाचा पूरा भयो ? त्यस्तो लाग्दैन। बरु शान्तिसुरक्षा कमजोर भयो। बलात्कार बढ्यो। निर्मलालाई न्याय मिलेन। सहरमा पानी छैन। धुवाँधुलो उस्तै छ। सरकारले अनेक ‘फन्डाहरु’ गर्‍यो। सरकारले नागरिक आवाजको पटकपटक अवमूल्यन गर्‍यो। दुनियाँलाई गिज्यायो र आफू आफ्नै भाषणमा मखलेल हुँदै मस्त हाँस्यो। 

तथ्यहरुले कहिलेकाहीं निकै अप्ठ्यारा तर्कहरु बनाउँछन्। जस्तो गत वर्ष यो अवधिमा ४ प्रतिशत मूल्यवृद्धि थियो। यो वर्ष ४.६ पुग्यो। राष्ट्र बैंक स्वयंले सार्वजनिक गरेको तथ्यांकले भन्छ, गत वर्ष यो अवधिमा ६.६६ अर्ब शोधानान्तर घाटा थियो। यो वर्ष अहिले ६३.६८ अर्ब पुग्यो। गत वर्षको यही अवधिभन्दा झन्डै १० अर्ब विदेशी लगानी घट्यो। गत वर्षको यो अवधिभन्दा २ अर्ब व्यापार घाटा बढ्यो। विकास बजेट आशातीत रुपमा खर्च हुन सकेन। के भन्छन् यस्ता तथ्यतथ्यांकहरू? तर सरकारी खर्च ? जनप्रतिनिधिको खर्च ? त्यो आकाश छुँदो छ। 

हजारौं मान्छेहरु राज्यकोष दोहनमा लागेका छन्। यही मेसोमा सयौं गाडीहरु आउँदैछन्। प्राडो, पजेरो, स्कोरपियो। विदेश यात्रा। आसेपासेहरुको समेत आर्थिक हैसियत फेरिँदैछ। तर तराईका मुसर, चमार, खत्वेहरु कता छन्? राजी, किसान, चेपाङहरु कता छन्? किन बोक्सीको आरोपमा महिला कुटिँदैछन्? हलिया, हरुवा, चरुवाहरुको अवस्था के भयो ? नेताहरु उपचारका लागि बैंकक जान्छन् गाउँमा स्वास्थ्य चौकी के भयो? रेलको कुरा गर्नेहरुलाई रेल पनि ठिकै होला, तर सिटामोलको कुरा के भयो? सायद सरकारको एक वर्षलाई गिज्याउन यी तथ्य काफी छन्। 

उसबेला नारायणहिटीको मूल ढोकामा उभिएर माहाराजाहरु भन्थे, ‘अब विकासको मूल फुट्छ।’ तर कसको विकास ? कसैले यो प्रश्न गरेन। भयो के ? उनै मान्छेहरूको विकास भयो जो दरबारको गजुरलाई स्वस्ति गर्थे र तलका मान्छेहरुमाथि कोर्रा बर्साउँथे। अर्को एक दशकपछि महाराजाले फेरि कवितात्मक शैलीमा भने– ‘अब एसियाली मापदण्ड छुनुपर्छ।’ आखिर को पुगे एसियाली मापदण्डमा ? उनै साहु, महाजन, आसेपासे र हजुरियाहरु। अनि शान्ति क्षेत्र आयो र हरायो। अनि प्रजातन्त्र आयो र हरायो। अनि आए जनवाद, समाजवादका नायकहरु। ती पनि बिस्तारै आसेपासेले घेरिए। परिणाम यो एक वर्षमा के भयो ? बुढा माक्र्सले भनेको समाजवाद आसेपासे समाजवादमा फेरियो। प्रधानमन्त्री पत्रिकामा आफ्नै स्यावासीका ज्याकेट देखेर मख्ख परे र रमाए।   

सरकार भन्छ, नकारात्मक नबन। प्रधानमन्त्री स्वयं विपक्षी र आलोचकहरुसँग सबैभन्दा धेरै नकारात्मक हुन्छन् त जनताको के कुरा ? यद्यपि आलोचना गाली हैन। स्वस्थ आलोचनाले सरकारलाई नै बलियो बनाउँछ। यही स्वस्थ आलोचनाको रङमा आफ्ना शब्दहरु राखेर भन्छु, ‘ओली सरकारको एक वर्ष समाजवादी सरकारको असफलताको एक वर्ष हो’। 

तर नेकपाका साथीहरुले भन्लान्– सरकारले एक वर्ष बितायो, यो उपलब्धि हैन ? यो नै उत्सव मनाउन काफी छैन ? प्रधानमन्त्रीको फोटो टाँसेर नेपाल स्काउटले बधाई दियो। के यो उपलब्धि हैन? सरकार निर्धक्क बोल्न सक्छ। सडकलाई गाली गर्न सक्छ। विपक्षीहरुलाई धम्क्याउन सक्छ। बुद्धिजीवीहरुको छाला काड्न सक्छ। सरकारलाई पाँच वर्ष कसैले हल्लाउन सक्दैन। के यो उपलब्धि हैन? तर नेकपाका इमानदार मित्रहरुलाई भनौं, साथीहरु सरकारले भुइँमा आशाहरु सिर्जना गर्न सकेन है। यो सरकारको सबैभन्दा ठूलो कमजोरी हो। 

एक वर्षको परिणाम पुस्तिकामा सरकार भन्छ– देश स्वर्ग हुँदैछ। सरकारको कुरा सुनेर गाउँको किसान भन्छ कसको स्वर्ग ? जसले भख्खरमात्र तरकारी नबिकेर सडकमा फ्यालेको थियो। स्वयं बागी माक्र्सवादीहरु भन्छन्– ‘समाजवादको यति तीव्र पतन योभन्दा अगाडि कहिल्यै देखिएन। सर्वाहारावादको यतिसारो उछित्तो पुँजीवादीहरुले पनि काडेका थिएनन्।’ 

मुख्यतः गाउँ र सिंहदरबारको कुरा मिलेको देखिँदैन। सरकार पानीजहाजको कार्यालय उद्घाटन गर्छ। किसानहरु मल र बिउको संकटमा छन्। खेतमा हाड घोट्नेहरू भन्छन् ‘कति पानीजहाजको कुरा गर्छौं। चामल, नुन र तेलको पनि कुरा गर न।’ निश्चय नै सडकको कुरा होस् तर पैदल यात्रुहरुको जीवनरक्षाको पनि कुरा होस्। बाटोमा खाल्डाहरु नहोऊन् र स्कुले बच्चाहरुले सजिलै सडक पार गर्न पाऊन्। यस्तो होस् कि भारतसँग रेलको मात्र कुरा नहोस् बरु रोजगारीका लागि भारत पसेका बहादुरहरुको जीवन बिमा र तलबको कुरा होस्। 

आशा गरौं, काठमाडौंमा मनोरेल त आउला, तर बागमती किनारका झुप्राहरुमा के होला ? यता सहरमा चौकाचँद्वा हुँदा उता दुरदराजका रोग र भोक कसरी निदान होलान् ? समृद्धिको कुरा गर्दा मधेसको कुरा होस्। जनजातिको कुरा होस्। नाना, खाना र छानाको कुरा होस्। तर एकलकाँटे समृद्धिले कतै विभेदलाई बढाउँदै त छैन? गरिबहरु अझ मारमा त छैनन् ? आफैंले बाचा गरेका जीविकाका मुद्दाहरुमा सरकार परपर सर्दैछ। यसर्थ भन्न कुनै अप्ठ्यारो छैन, ‘सरकारको एक वर्ष मालिकहरुको मात्र सफलताको एक वर्ष हो’।  

त्यसो त सरकारलाई थाहै हुनुपर्ने, कुरा मात्र गरेर कतै पुगिँदैन। परिणामविनाको गफ महत्वहीन हुन्छ। जस्तो कि हिजो नारायणहिटी दरबारले भनेको विकासको मूल कहिल्यै फुटेन। आखिर त्यो शब्द नै ओजहीन बन्यो। हामी न त एसियाली मापदण्डमा पुग्यौं न त नयाँ नेपालको एक दशकले कुनै नवीन आशा जगायो। आशंका गरौं कि समृद्धिृको पछिल्लो सपना पनि त्यसरी नै मर्‍यो भने के होला ? सरकार बनेको एक वर्षसम्म पनि अलमलमा छ। सिंहदरबारमा आसेपासेहरुको रामराज्य छ। सुशासन छैन। केही कमरेडहरुलाई लागेको छ कि ‘सत्ता आयो। अब मस्ती गरिन्छ’। बस, सत्ताको एक वर्ष जनताको एक वर्ष बनेन। 

प्रधानमन्त्रीज्यू, भन्नलाई तपाईं कम्युनिस्ट भन्नुहुन्छ। तर तपाईंका साथीहरु को हुन्? तपाईंका सहयात्री को हुन्? तपाईंका कर्मचारी को हुन्? तपाईंका चन्दादाता को हुन्? तपाईंका आसोपासे को हुन्? निश्चय नै यो एक वर्ष उनीहरूका लागि उत्सव भयो। तर तपाईंले नै भनेका सर्वाहारा, गाउँका गरिब र किसान? उनीहरुका  लागि तपाईंको सरकार कतै देखिँदैन। बस, यो एक वर्ष गरिबहरुका लागि निरासाको अर्को एक वर्ष बन्यो। आगामी वर्ष यस्तो नहोस। शुभकामना!
प्रतिक्रिया दिनुहोस्