आईतबार, मंसिर १, २०७६

स्वास्थ्य/जीवनशैली

नेपालमा मधुमेह रोगीको संख्या बढ्दो, खानपानमा ध्यान दिन सुझाव

मानिसहरुको दैनिकीमा आएको परिवर्तनले पछिल्ला दिनहरुमा नेपालमा मधुमेह (डायविटिज) रोगीको संख्या बढ्ने कारण रहेको स्वास्थ्य विज्ञहरुले औंल्याएका छन्।  शुक्रबार राजधानीमा डायबिटिज एण्ड र इण्डोक्राइनोलोजी एशोसियसन अफ नेपाल र सिनर्जी कर्पोरेशनद्धारा संयुक्तरुपमा मधुमेह र यसमा प्रयोग हुने औषधिको बारेमा आयोजित छलफलमा विज्ञहरुले मधुमेह रोग नेपाल जस्तो कम आय भएको मुलुकहरुका लागि झन जटिल बन्दै गएको बताएका छन्।

नेपालमा मधुमेह रोगीको संख्या बढ्दो, खानपानमा ध्यान दिन सुझाव
काठमाडौं- मानिसहरुको दैनिकीमा आएको परिवर्तनले पछिल्ला दिनहरुमा नेपालमा मधुमेह (डायविटिज) रोगीको संख्या बढ्ने कारण रहेको स्वास्थ्य विज्ञहरुले औंल्याएका छन्। 

शुक्रबार राजधानीमा डायबिटिज एण्ड र इण्डोक्राइनोलोजी एशोसियसन अफ नेपाल र सिनर्जी कर्पोरेशनद्धारा संयुक्तरुपमा मधुमेह र यसमा प्रयोग हुने औषधिको बारेमा आयोजित छलफलमा विज्ञहरुले मधुमेह रोग नेपाल जस्तो कम आय भएको मुलुकहरुका लागि झन जटिल बन्दै गएको बताएका छन्।

कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष डा ज्योति भट्टराईले शहरी क्षेत्रका मानिसहरुमा मधुमेह रोग बढ्दो क्रममा देखिएको भन्दै त्यसले मानिसको जिवन नै खतरामा पारेको बताइन्। उनले उचित खानपान र दैनिकी नमिल्दा मधुमेहका विरोमीहरुको संख्या बढिरहेको र त्यससँग सम्बन्धि औषधिहरु नियमितरुपमा प्रयोग गर्नुपर्ने अवस्थामा वृद्धि भएको बताइन्। उनले मधुमेह नियन्त्रणका लागि प्रयोग हुने औषधिहरुले मानिसहरुमा मोटोपना देखिने, मुटुको समस्या आउनसक्ने तर्फ सचेत हुनुपर्ने बताइन्।

त्यसैगरि डाक्टर डायबिटिज एण्ड र इण्डोक्राइनोलोजी एशोसियसन अफ नेपालकी अध्यक्ष डा। दिना श्रेष्ठले मधुमेहको रोग नियन्त्रणका लागि हाल नेपालमा विभिन्न किसिमका औषधिहरु उपलब्ध भएको भएपनि त्यसको नियमित प्रयोग र डाक्टरको नियमित सल्लाहलाई रोगीहरुले पालना गर्नुपर्ने बताइन्। उनले मधुमेह रोग उपचारका लागि अत्याधुनिक औषधिहरु नेपालमा नै उपलब्ध भएको भएपनि त्यसको प्रयोग गर्दा समेत उचित परामर्श र सल्लाहमा मात्र प्रयोग गर्नुपर्ने सुझाव दिइन् ।

मधुमेह रोग नै नलाग्न दिनका लागि मानिसहरुले उचित आहारबिहारमा ध्यान दिने र दैनिक व्यायाम गर्नुपर्ने स्पष्ट पारिन्। डा. श्रेष्ठले अधिक चिल्लोपना भएका खाना नखाने र नियमित एक्सरसाइज गरेर नियमित डाक्टरसँग परामर्श गरेमा यो रोग नै लाग्न नदिने सजिलो उपाय भएको बताइन्। 

त्यसैगरि डा। अमित शाक्यले मधुमेह रोग संसारभर महामारीको रुपमा फैलिएको र नेपाल जस्तै विकासोन्मुक मुलुकहरुमा यो अझ भयावहरुपमा देखापरेको बताए। उनले मधुमेहको उपचारका लागि पछिल्लो दिन आएको अत्याधुनिक औषधिहरुमध्ये एक रहेको एम्पाग्लिफ्लोजिन बिरामीहरुको सुगर नियन्त्रणका लागि लाभदायक साबित भएको बताए । उनले यो अत्याधुनिक औषधिले मोटोपनालाई कम गर्ने, मुटु तथा मुटुसँग सम्बन्धित समस्याहरुलाई कम गर्ने र उच्च रक्तचापलाई समेत नियन्त्रण गर्ने बताए।

सो कार्यक्रममा सहभागी अन्य डाक्टर तथा विज्ञहरुले समेत नयाँ नयाँ रोगीहरु बढिरहेको सन्दर्भमा उचित खानपान र दैनिकीमा ध्यान दिनु नै सबैभन्दा उत्तम भएको बताए । उनीहरुले मधुमेह रोग लागीहालेमा पनि नडराउन भन्दै यसको उपचार नेपालमा नै गर्न सकिने र आवश्यक औषधिहरु नेपालमा नै उपलब्ध रहेको स्पष्ट पारे।

सो छलफलमा मधुमेहको उपचारका लागि नेपालमा उपलब्ध रहेको अत्याधुनिक औषधि एम्पाग्लिफ्लोजिनको प्रयोग, यसको प्रभाव र रोग नियन्त्रणको प्रभावकारीताको बारेमा पनि छलफल भएको थियो। जसमा सो औषधिले मधुमेह भएका बिरामीहरुको शरीरमा भएको अत्यधिक सुगरेको मात्रालाई मृगौलाको माध्यमबाट पिसाबसँगै बाहिर फ्याँक्ने काम गर्ने जानकारी दिईयो। 

यो औषधि प्रयोग गर्ने रोगीले नियमितरुपमा प्रसस्त पानी र झोल पदार्थ पिउनुपर्ने सुझाव दिईएको थियो। एम्पाग्लिफ्लोजिन औषधि नेपालमा सिनर्जी कर्पोरेशनले जर्मन कम्पनी बोएरिंगर इन्गेल्हमबाट आयात गरेर नेपालमा सूपथ मूल्यमा उपलब्ध गराएको छ । बोएरिगर इन्गेल्हमले आफैंले अनुसन्धान गरेर उत्पादन गरेको यो औषधिको प्रभावकारिता निकै उत्कृष्ट भएको डाक्टरहरुले बताए।
 
प्रतिक्रिया दिनुहोस्