शनिबार, कात्तिक ३०, २०७६

समाचार

न पार्टी चल्यो न सरकार : झलनाथ 

पार्टीमा लापरबाही बढेर गयो, यस्तो लापरबाहीले मुलुक हाँकिदैन, देश हाँकिदैन, पार्टी पनि हाँकिदैन, त्यसैले यस्ता विषयमा सच्चिनुपर्छ, सतर्कतापूर्वक अघि बढ्नुपर्छ भन्ने कुरालाई ध्यानमा राखेर हामी चारजनाले बैठक छोडेर हिँडेका हौं ।

न पार्टी चल्यो न सरकार : झलनाथ 

झलनाथ खनाल, नेपालको कम्युनिस्ट आन्दोलनका एउटा पाका अगुवा हुन् । वामपन्थी वृत्तमा उनको आफ्नै विशिष्ट पहिचान छ। शालीन स्वभाव, आकर्षक व्यक्तित्व र दार्शनिक प्रखरताले गर्दा पार्टीभित्र मात्र होइन, राष्ट्रिय राजनीतिमा उनको प्रभाव र स्थान बेग्लै छ। 

तत्कालीन नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल संकटका बेला नेतृत्व दिने नेताका रूपमा स्थापित व्यक्तित्व हुन् । २०६१ सालमा राजाले शासन हातमा लिँदा पार्टीका सबै नेता नजरबन्दमा थिए। तर खनाल भने भूमिगत भए। तत्कालीन महासचिव माधवकुमार नेपाललाई नजरबन्दमा राखिएपछि त्यसबेलाका पार्टी काम कुशल तरिकाले खनालले सञ्चालन गरेका थिए।

२०६४ सालमा भएको संविधानसभा निर्वाचनमा पार्टी पराजयको नैतिक जिम्मा लिँदै तत्कालीन महासचिव माधवकुमार नेपालले राजीनामा दिएपछि नेतृत्वको जिम्मा खनालको काँधमा आयो। त्यसपछि खनाल बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट अध्यक्ष चुनिए। पार्टीभित्र सन्तुलित र सम्पन्न नेताको स्थान  लिएका खनाल पछिल्लो चरणमा नेतृत्वसँग रुष्ट छन् । ‘म त धेरै तातें जस्तो लाग्यो’, बुधबार अन्तरवार्ता दिइसकेपछि उनले नेपाल समयसँग भने। 


प्रस्तुत छ, नेकपा नेता खनालसँग पार्टीभित्रको विद्यमान अवस्था, सरकारलाई हेर्ने दृष्टिकोणलगायतका बिषयमा नेपाल समयका लागि बालकुमार नेपाल र टंक खनालले गरेकाे कुराकानीको सम्पादित अंश :  

- नेकपाको राजनीतिक परिस्थिति हेर्दा आन्तरिक विवाद चुलिएको जस्तो देखिन थाल्यो । तपाईंहरूले सचिवालय बैठक नै बहिष्कार गर्नुभयो ।

० हाम्रो पार्टी एउटा गौरवशाली पार्टी हो । हामीले ७० वर्ष लगाएर नेपाल कम्युनिस्ट पार्टी बनाएका छौं । २००६ सालदेखि २०२२ सालसम्म हाम्रो पार्टी नेपाल कम्युनिस्ट नै थियो, अनि एकीकृत नै थियो । त्यसपछि यो पार्टीमा विभिन्न बिग्रह पैदा भए । टुटफुट पैदा भए । अनेकन् समूहहरू जन्मिए । तर ती समूहहरूलाई फेरि एकीकृत गर्ने प्रवाह हामीले सिर्जना गर्‍यौं । ३० को दशकबाट सुरु भएको प्रवाह अहिले ७० को दशकमा आइपुग्दा अत्यन्तै उचाइमा आइपुगेको छ । 

नेपालको कम्युनिस्ट आन्दोलनमा जन्मिएका दुई ठूला कम्युनिस्ट पार्टी अहिले एक भएका छन् । तर एकीकृत गर्ने विषयमा जुन खालको कार्यदिशा, नीति र सिद्धान्त लिएर अघि बढ्नुपर्ने थियो, त्यो विषयमा गम्भीर त्रुटि भएको छ । त्यो त्रुटि भएका कारणले अहिलेसम्म दुइटा पार्टी तल्लो तहसम्म एकीकृत हुन सकेका छैनन् । अझै पार्टीको अंगप्रत्यंगहरू एकताबद्ध भइसकेका छैनन् । जसले गर्दा पार्टीमा विभिन्न समस्या देखा परेका छन् । त्यही समस्या सचिवालयमा पनि देखा पर्‍यो । जसले गर्दा हामीले सचिवालयको बैठकबाट उठेर हिँड्नुपर्‍यो । 

-पार्टी मजबुद रूपमा तल्लो तहसम्म एकताबद्ध नहुनुको जड कारण के हो ?  
​​​​​​
० त्यसको जड कारण के हो भने हामीले एकता गर्दा यो ७० वर्षसम्मको अनुभवलाई बेवास्ता गर्‍यौं। हामीले आफैंले पाएका अनुभव राम्रोसँग उपयोग गर्न सकेनौं । हामीले पहिलोपटक यो एकता गरेका हैनौं, यो त ३५ औं, ३६ औं मध्येको एक हो । हामीले ३५ बढी समूहसँग एकता गरिसकेका छौं । एकताबद्ध बनाउने सिलसिलामा के अनुभव राख्न चाहन्छु भने पूर्व नेकपा माले र पूर्व नेकपा माक्र्सवादीबीच एकता हुँदा पनि माथि एकता हुँदा तल विघटन गर्नुपर्ने प्रस्ताव आएको थियो । हामीले विघटन हुन दिएनौं । कारण थियो, एकताको प्रक्रिया कति समय लाग्छ हामीलाई थाहा थिएन । त्यसो हुँदा तल विघटन गर्नु हुँदैन । माथि एकताबद्ध भयो । अब अरू कमिटी जति एकताबद्ध हुँदै जान्छन् आफैं विघटित हुँदै जान्छन् भन्यौं ।

साँच्चै पछि परिणाम कस्तो देखियो भने एकता टुंग्याउनका लागि साढे पाँच महिना लाग्यो। त्यतिबेलै माथि एकता हुँदा तल विघटन गरेको भए, एउटा नराम्रो स्थिति आउँथ्यो । अहिले पनि हामीले एकता गर्दा तलको विघटन गर्नै हुने थिएन, विघटन हुँदा पनि तीन महिनाभित्र एकताको ग्यारेन्टी गर्नुपर्ने थियो । एकताको ग्यारेन्टी भएको अवस्थामा मात्र विघटन गर्नुपथ्र्यो । यस्तो अवस्थामा दूरदर्शिता नअपनाउँदादेखि अहिलेको परिस्थिति सिर्जना भएको छ ।

-समस्या देखिएपछि तपाईंहरूले बैठक छोडेर हिँड्नुभयो । बसेर छलफल गरेको भए समस्या समाधान हुन्थ्यो होला नि हैन ?

० हामीले सचिवालय गठन भएको दिनदेखि छलफल गर्दै आएका छौं। अनेकन् विषयमा छलफल गर्दै आइरहेका छौं । अर्को कुरा सचिवालय बैठक दिउँसो तीन बजे बोलाइन्छ, समय बिस्तारै बित्दै जान्छ, साढे तीन हुन्छ, चार बज्छ, साढे चार, पाँच बज्छ तर, बैठक बस्ने कुनै सुरसार हुँदैन । चार बजे बोलाइएको बैठक ६ बजेसम्म पनि सुरु हुँदैन । त्यसपछि हामीले एउटा बैठकमा गम्भीर रूपमा छलफल गर्‍यौं । हाम्रोजस्तो रुलिङ र ऐतिहासिक पार्टीका बैठकहरूमा लापरबाही गर्नु हुँदैन । सचिवालय वा स्थायी कमिटी जे भए पनि जतिबेला बैठक गर्नुपर्ने हो त्यतिबेला बैठक बोलाइनुपर्दछ ।

बैठक बस्न समय नमिल्ने अवस्था छ भने बैठक बोलाइनु हुँदैन । बैठक बोलाएपछि तुरुन्त छलफल हुनुपर्छ भनिएपछि आइन्दा १५ मिनेटभन्दा ढिलो हुने छैन भनेर एउटा बैठकले निर्णय गर्‍यो। तर, अस्तिको बैठकमा निर्णय कार्यान्वयन भएन । मै पुगेको आधा घन्टा बितिसकेको थियो, अरू कमरेडहरू पनि विभिन्न बेलामा आउनुभयो, तर बैठक सुरु हुँदैन । बैठक ढिलाइ हुनुको कारण के हो कुनै सूचना पनि छैन। बैठकस्थलमा कोही व्यक्ति पनि छैन। त्यो अवस्था भएपछि पार्टीमा लापरबाही बढेर गयो, यस्तो लापरबाहीले मुलुक हाँकिदैन, देश हाँकिदैन, पार्टी पनि हाँकिदैन, त्यसैले यस्ता विषयमा सच्चिनुपर्छ, सतर्कतापूर्वक अघि बढ्नुपर्छ भन्ने कुरालाई ध्यानमा राखेर हामी चारजनाले बैठक छोडेर हिँडेका हौं ।
 

पार्टीमा लापरबाही बढेर गयो, यस्तो लापरबाहीले मुलुक हाँकिदैन, देश हाँकिदैन, पार्टी पनि हाँकिदैन, त्यसैले यस्ता विषयमा सच्चिनुपर्छ, सतर्कतापूर्वक अघि बढ्नुपर्छ भन्ने कुरालाई ध्यानमा राखेर हामी चारजनाले बैठक छोडेर हिँडेका हौं ।


- तपाईंहरू हिँडेको केही छिनमा बैठक बसेर २९ मंसिरमा स्थायी कमिटी बस्ने निर्णय गरेछ। यो बैठक छोड्नुको कारण समयमात्रै हो कि अरू पनि केही छन्?

० हामीले यो बैठक छोडेर हिँड्नुको कारण थियो, बैठकलाई विधिसम्मत, नीति सम्मत,  सिद्धान्तसम्मत ढंगले चलाऔं भन्ने हो । हामीले कम्युनिस्ट पार्टी सञ्चालन गरिरहेका छौं । यो पार्टी कहिल्यै पनि व्यक्तिगत नेतृत्वबाट चल्दैन । व्यक्ति एक, दुई वा तीन होस् व्यक्तिको पछि लाग्दैन, कमिटीमार्फत चल्छ । व्यक्ति त हुन्छन्, तर, कमिटीमा आबद्ध भएका व्यक्ति हुन्छन् । सामूहिक नेतृत्व कम्युनिस्ट पार्टीको आधारभूत चरित्र हो । 

हामीले जुन ढंगले मिटिङ, बैठकको माग गरिरहेका छौं, सचिवालयले मात्र भएन स्थायी कमिटी बैठकको माग गरेका थियौं । पार्टीको महत्त्वपूर्ण व्यक्तिहरू स्थायी कमिटीमा हुनुहुन्छ। सचिवालयले अहिलेसम्म तयार पारेका प्रस्तावलाई स्थायी कमिटीमा लगेर फटाफट टुंग्याऊँ भनेर पटकपटक माग गर्‍यौं । सबै सबालहरू त्यही लगेर छलफल गरौं भन्ने हाम्रो प्रस्ताव थियो। तर, कहिल्यै बैठकको तयारी पुगेन, समय आएको थिएन । जब हामी चार जनाले बैठक छोडेर हिँड्यौं, पाँचजना साथीहरू बसेर स्थायी कमिटी बैठक बोलाउनुभयो । 

यो बाध्यताले बोलाइएको बैठक हो । तर अहिलेको आवश्यकता थियो । कहिलेकाहीं बाध्यता र आवश्यकता एक ठाउँमा मिल्न पुग्छन् । यो सिंगो पार्टीको अहिलेको आवश्यकता हो। यो स्थायी कमिटीले पार्टीका अत्यन्तै महत्त्वपूर्ण विषयवस्तुहरू निर्णय गर्नुपर्ने आवश्यकता छ, जसले पार्टीलाई अग्रगतिमा लैजान सक्छ।

- तपाईंले महत्त्वपूर्ण भन्नुभएको स्थायी कमिटी बैठकका एजेन्डाहरू के के छन् त?

० धेरै एजेन्डा त सर्वविदितैजस्तै छन् । पहिलो : पार्टी एकताको कुरा, हाम्रो पार्टीको एकीकरण फेदसम्म टुंग्याउनुपर्‍यो। पार्टीको शिरमात्र एकताबद्ध भएर भएन पैतालासम्म एकताबद्ध हुनुपर्‍यो, अनिमात्र पार्टीले केही न केही भूमिका खेल्न सक्छ । 

दोस्रो : हामीसँग दुई दर्जन बढी ठूल्ठूला मास अर्गनाइजेसन छन् । ती मास अर्गनाइजेनमार्फत २० औं लाख मानिस संगठित छन् । ती वर्गीय संगठनलाई एकताबद्ध गर्नुपर्‍यो। पार्टीका कमिटी वा वर्गीय कमिटी एकताबद्ध गर्ने कुरा टाउको जोडेर एकता हुँदैन । एकताका लागि ठोस नीति, ठोस मापदण्ड, ठोस मार्गनिर्देशक सिद्धान्तको आवश्यकता पर्दछ । त्यसपछि आफैं एकता हुन्छ। कोही व्यक्ति पुगेर टाउको जोड्नुपर्ने अवस्था आउँदैन । कसैले कानेखुसी गर्नुपर्दैन। मापदण्डले सबैलाई एकताबद्ध गर्छ । मापदण्ड बनाएपछि कोही काखा कोही पाखा पनि पर्दैन । कोही भित्रबाहिर पनि महसुस गर्दैन । त्यसरी एकता प्रक्रिया अघि बढाउनुपर्छ । स्थायी कमिटीका लागि यी दुईटा महत्त्वपूर्ण एजेन्डा हुन् । 

त्यस्तै पार्टीका केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी तोकिनुपर्छ । अहिलेसम्म कार्य विभाजन छैन । कसले के गर्ने? जस्तो : मैले के गर्ने ? पार्टीले मलाई त कुनै जिम्मेवारी दिएको छैन । त्यसैले पार्टीले जिम्मेवार बनाउन सबैलाई काम दिनुपर्छ । यो काम दिने विषय अर्को एजेन्डा हो । पोलिटब्युरोे गठन भएको छैन । विधानमा पोलिटब्युरो राखेका छौं, कि विधानमै राख्नु हुने थिएन । पोलिटव्युरो गठन अर्को एजेन्डा बन्छ । 

पार्टीका विभाग गठन भएका छैनन् । पार्टीका केन्द्रीय निकायहरू गठन भएका छैनन् । सल्लाहकार समिति, अनुशासन आयोग, लेखा आयोगलगायतका निकाय गठन गर्नु आवश्यक छ । यिनीहरूको गठनमात्र होइन, एकीकृत गर्नुपर्ने अवस्था छ । यी विषय स्थायी कमिटीमा छलफल हुनुपर्छ, यसलाई स्थायी कमिटीले निर्णयार्थ पेस गर्नुपर्छ अनि चाँडोभन्दा चाडो केन्द्रीय कमिटी बैठक बसेर त्यसलाई अनुमोदन गर्नुपर्छ । अनिमात्र पार्टी सोचेजसरी अगाडि बढ्छ, अगाडि बढाउन सकिन्छ ।  

एकता गर्ने विषयमा हामीले अहिलेसम्म विचारमात्र अघि सारेका छौं। त्यसको दस्ताबेज खै? के आधारमा पार्टी एकता भयो? अहिलेसम्म दस्ताबेज प्रकाशित छैन । त्यो प्रकाशित गर्नुपर्‍यो । १५ दिनभित्रमा यो काम सकिनुपर्छ। अनिमात्र पार्टी एकताबद्ध भएर अघि बढ्न सक्छ । 



-पार्टीभित्र तल्लो तहदेखि शीर्ष तहसम्म कस्तो मनोविज्ञान पाउनुभएको छ ?

० अहिले पार्टीमा निराशा उत्पन्न भएको छ । पार्टी कार्यकर्ता हतासमा छन् । केन्द्रीय नेतृत्वप्रति असन्तुष्टि पोख्दै हिँड्नुपर्ने अवस्था छ । किन एकीकरण हुन सकेको छैन? किन हामीलाई नेताहरूले काम दिन सकिरहेका छैनन्? पार्टीको काम किन हामीले पाउन सकेका छैनौं? यो व्यग्रता, यो चिन्ता अहिले सम्पूर्ण कार्यकर्ताहरूमा छ । यो चिन्तालाई दूर गर्नुपर्ने अवस्था छ। हाम्रो पार्टीमा अहिले आठ लाखभन्दा बढी कार्यकर्ता छन् । यो सानो शक्ति होइन,  विराट शक्ति हो। यति ठूलो पार्टी नेपालमा कहिल्यै बनेको थिएन । तर, यसलाई गतिशील बनाउने विषयमा हामी जुन ढंगले अघि बढ्नुपर्ने थियो, त्यो हिसाबमा हामी अघि बढ्न सकेका छैनौं । जसका कारण अहिलेका यावत् समस्या आएका छन् ।

अबको स्थायी कमिटी बैठकले यिनै समस्यालाई मनन गर्दै पार्टीका कार्यकर्तालाई क्रियाशील बनाउने नीति लिएर अघि बढ्नुपर्छ । हाम्रा ३० औं लाख शुभचिन्तक, शुभेच्छुक, समर्थकहरूलाई क्रियाशील बनाउन आवश्यक छ । त्यो क्रियाशीलतापछि सम्पूर्ण शक्ति गोलबद्ध हुन्छ । सबै गतिशील हुन्छन् अनिमात्र मुलुक बेग्लै हलचलका साथ अघि बढ्छ । 

- भनेपछि पार्टी व्यक्तिगत नेतृत्वमा चलेर यो समस्या उत्पन्न भएको हो त? 

० अवश्य । जब पार्टीको बैठक हुँदैन, बैठकमा गम्भीर छलफल हुँदैन, त्यसो भयो भने कसरी पार्टी सामूहिक नेतृत्वमा चल्यो ? सबैभन्दा पहिलो आवश्यकताअनुसार मिटिङ आयोजना हुनुपर्‍यो । पार्टी हाँक्ने एजेन्डा ल्याउनुपर्‍यो । ती एजेन्डामा सबै कमिटीका व्यक्तिहरूले धारणा राख्ने वातावरण बनाउनुपर्‍यो । धेरैको विचार ल्याउनुपर्‍यो, त्यो विचारको विश्लेषण गर्नुपर्‍यो । त्यसमा उचित निष्कर्ष निकाल्नुपर्‍यो अनि पो सामूहिक नेतृत्व हुन्छ । सामूहिक नेतृत्व बोलेर मात्र हुँदैन । अभ्यासमा उतार्न सक्नुपर्छ । अभ्यासमा ल्याउन सके सुन्दर निष्कर्ष निस्कन्छन् । यसरी निस्केका निष्कर्ष वैज्ञानिक हुन्छन्, अनिमात्र पार्टीले अघि सारेका विषय प्रभावकारी हुन्छन् । 

- एकीकरणपछिको स्थायी कमिटीमा तपाईंहरू बाइकट पर्नुभएको छ र?

० लामो समयदेखि स्थायी कमिटी बैठक बसेको छैन । हामीले त्यही भएर बैठकको माग गरेका हौं । अब हामी स्थायी कमिटी बैठकमा राम्रो तयारीका साथ जान सक्नुपर्छ । पार्टीलाई निश्चित ‘ओरेन्टेसन’ दिनुपर्छ। पार्टीको वैचारिक कार्यदिशा के हो, राजनीतिक, सैद्धान्तिक, संगठनात्मक कार्यदिशा के हो ? 

हाम्रो पार्टी नेकपा सरकारमा पनि केन्द्र सरकार प्रदेश सरकारमा मजबुद रूपमा छ । स्थानीय सरकारमा ६० प्रतिशतभन्दा बढी स्थानमा नेकपाले नेतृत्व गरिरहेको छ । त्यो ठाउँलाई हामीले कसरी मार्गदर्शन गर्ने? त्यो मार्गदर्शन गर्ने कुरालाई निष्कर्ष निकाल्नुपर्छ । त्यो निष्र्कषबाट सिंगो पार्टीलाई रूपान्तरण गर्ने एउटा राष्ट्रव्यापी अभियान सञ्चालन गर्नुपर्छ । त्यस्तो अभियान चलाएरमात्रै हामी अगाडि बढ्न सक्छौं । 
 

सिंगो पार्टीका कार्यकर्ता हाम्रा पुँजी हुन्, सम्पत्ति हुन्, हाम्रा सर्वस्व हुन् भन्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नुपर्छ । तबमात्र पार्टी चल्छ । पार्टी चल्यो भनेमात्र सरकार चल्छ । अहिले पार्टी नचलेर सरकार नै चल्न सकेको छैन । सरकारले जुन गति लिनुपर्ने हो त्यो गति लिन सकेको छैन ।


- बाहिर त अध्यक्ष प्रचण्ड शक्तिशाली अध्यक्ष बन्न खोज्नुभएको, उहाँलाई तपाईंले सघाउन खोज्दा पार्टीभित्र हलचल सुरु भयो भन्ने विश्लेषण हुन थालेको छ ।

० हामी पार्टीभित्रका सम्पूर्ण नेताहरू आपसमा सहयोग गरेर अघि बढ्न चाहन्छौं । एकआपसमा मिलेर समझदारीपूर्वक काम गर्न चाहन्छौं। र, यो कुरा नेतृत्वमा रहेका नेताहरूले पनि बुझ्नुपर्छ ।
म कुनै व्यक्तिविशेषप्रति कुनै अनुराग पनि राख्दिनँ वैराग पनि राख्दिनँ । म सबै कमरेडहरूलाई समान ढंगले हेर्छु । तर, पार्टी ठीक ढंगले चल्नुपर्छ । पार्टी सञ्चालनको जिम्मा अध्यक्षले लिनुभएको छ । उहाँले पार्टी ठीकठीक ढंगले हाँक्नुपर्‍यो, सामूहिक ढंगले हाँक्नुपर्‍यो, सबैलाई समेट्ने गरी हाँक्नुपर्‍यो ।  आफ्ना एसम्यान र हनुमानलाई मात्र लिएर पार्टी हाँक्न सकिँदैन । सिंगो पार्टीका कार्यकर्ता हाम्रा पुँजी हुन्, सम्पत्ति हुन्, हाम्रा सर्वस्व हुन् भन्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नुपर्छ । तबमात्र पार्टी चल्छ । पार्टी चल्यो भनेमात्र सरकार चल्छ । अहिले पार्टी नचलेर सरकार नै चल्न सकेको छैन । सरकारले जुन गति लिनुपर्ने हो त्यो गति लिन सकेको छैन । 

- भनेपछि जनतासामु लिएर जानुभएको चुनावी घोषणापत्र कार्यान्वयनको दिशामा छैन ?
​​​​​​
० चुनावी घोषणापत्र त हामीले आमजनतालाई देखायौं, प्रचारप्रचार गर्‍यौं । हामीले जित्याैं भने यो योजनाअनुसार काम गछौं भन्यौं । त्यही विश्वासले जनताले हामीलाई भोट दिए । शक्तिशाली बनाए । यो घोषणापत्र कार्यान्वयन भयो भने देश समृद्धिको बाटोमा अघि बढ्छ भन्ने सबैको बुझाइ थियो । तर, त्यो घोषणापत्र कहाँ छ कहाँ छ ? त्यो घोषणापत्रका आधारमा नीति र कार्यक्रम पनि बनेनन् । बजेट पनि घोषणापत्रका आधारमा बनेन् । त्यसका कारण देश कता दौडिरहेको छ, अन्योल छाएको छ । 

- सामाजिक सञ्जाल, आफ्नै शुभचिन्तक, प्रतिपक्षी सबैको तारोका रूपमा सरकार छ । किन यस्तो भएको हो? 

० सरकारले राम्रो काम गर्‍यो भने सम्पूर्ण जनताले साथ दिन्छन्, पार्टीले साथ दिन्छ, पार्टीका नेताहरूले साथ दिन्छन्, बुद्धिजीवीहरूले साथ दिन्छन्, सिंगो देशले साथ दिन्छ । कर्मचारीले साथ दिन्छन्, कसले साथ दिँदैनन्? आर्मीले, पुलिसले साथ दिँदैनन्? साथ दिन्न भन्ने को छ ? नेपालमा कोही पनि छैन् । यो त दुई तिहाइ जनमतसहितको सरकार हो । सरकारले राम्रा काम लिएर अघि बढ्दा कसैले रोक्दैन । त्यसैले सम्पूर्ण जनताले गतिशील सरकार खोजिरहेका छन् । सरकारले योभन्दा राम्रो काम गरोस् भन्ने अपेक्षा राखेका छन् । सरकारले गरिरहेका काममा कसैले पनि चित्त बुझाएको अवस्था छैन । हाम्रो पनि त्यही हो । 

प्रतिपक्षले के कुरा गरिरहेको छ भन्ने प्रसंग त गौण छ । अहिले कमजोर प्रतिपक्ष छ । आफैं गुटबन्दीले ग्रस्त छ । खासै ठोस आलोचना पनि गर्न सकेको देखिन्न । तर पनि उनीहरूका जुन गुनासा छन् ती गुनासा हामीले सुन्दिनुपर्छ । सरकारले पनि सुन्नुपर्छ । अहिले आइरहेका जेजति गुनासा छन्, ती सबै गुनासाको सरकारले काममार्फत जबाफ दिनुपर्छ । ओठे जबाफबाट अब जनता र कोही पनि सन्तुष्ट हुँदैनन् । सबैले परिणाम खोज्छन् । सरकारले परिणामसहितको जबाफ दिनुपर्छ । कुनै मन्त्री वा नेता कसैको पनि ओठेजबाफ सुन्ने मनस्थितिमा कोही पनि छैन । सबैले परिणाममात्र विश्वास गर्छन्। त्यसैले देशव्यापी रूपमा उठेका सवालहरूलाई सरकारले एक्सनद्वारा, विचारद्वारा, आफ्ना क्रियाकलापद्वारा, व्यवहारद्वारा जबाफ दिएर अघि बढ्नुपर्छ अनिमात्र लोकतान्त्रिक व्यवस्थासहितको सरकार भनेर सबैले मान्छन् ।  



- २०५१ सालमा तत्कालीन नेकपा एमालेले चलाएको नौ महिने सरकारको अहिलेसम्म कम्युनिस्ट नेताहरूले ब्याज खाइरहेका छन् । तर, दुई तिहाइ मतसहितको यो सरकारले त नौ महिनामा सरकारको मूल्यांकन गर्ने समय नै हैन भन्छ । यी दुई सरकारबीच केही फरक छ ?

० यी दुई सरकारमा खासै तुलना हुन सक्ने अवस्था मैले देखिरहेको छैन । कमरेड मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको सरकार अल्पमतको थियो । त्यहाँ दुई तिहाइ मतको त परिकल्पना पनि थिएन । त्यो सरकार बनेका बेला अत्यन्त प्रतिकूल अवस्था थियो । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति दुवै जटिल थिए । हामी अस्थिरताको भुमरीमा गुज्रिरहेका थियौं । कुन दिन सरकार ढल्छ कसैले भन्न सक्ने स्थिति थिएन । त्यस्तो अवस्थाको सरकारले नीति, कार्यक्रम र बजेट बनाएर अघि बढेको तीन महिना पुग्दानपुग्दै देशमा उत्साह र उमंगको लहर पैदा भएको थियो ।

नौ महिना पुग्दा त देशभर एक किसिमको विकासको लहर अघि बढ्यो । त्यो सरकार ढल्दा मान्छेहरू रोए । धेरै ठाउँमा जुलुस निस्कियो । त्यसपछि हाम्रो राष्ट्रिय परिषद्को बैठक जनकपुरमामा बसेको थियो। त्यहाँ सम्भवत: देशकै सबैभन्दा ठूलो सभा भएको थियो । त्यतिबेला सबैभन्दा लोकप्रिय पार्टीका रूपमा नेकपा एमाले देखापरेको थियो । तर, अहिले त्यसको तुलना गर्नुहोस त । नौ महिना पूरा भइसकेन? यो अवस्थामा जुन प्रकारको गति आउनुपर्ने हो, जुन प्रकारको लोकप्रियता हासिल गर्नुपर्ने हो, जुन प्रकारले जनमानसमा प्रभाव पर्नुपर्ने हो त्यस्तो हुन सकेको छैन । किन? यो गम्भीर प्रश्न छ । यो यतिबेलाको यक्ष प्रश्न पनि हो।

हामी यही प्रश्नको जबाफ खोजिरहेका छौं । यही प्रश्नको जबाफका लागि पार्टी कमिटीका बैठक बसेर समीक्षा गरौं, छलफल गरौं, हाम्रो छाती छामौं, हाम्रो मुटु कसरी चल्दैछ? यो कुरा हेरौं भनेर हामी भन्दैछौं । त्यसैका लागि हो स्थायी कमिटीको बैठक, केन्द्रीय कमिटीको बैठक माग गरेको हो । केन्द्रीय कमिटीका २१ सदस्यले त लिखित रूपमै बैठक बोलाऔं भनेर माग गरिसके, नेतृत्वले सुन्न परेन? केन्द्रीय कमिटी कहिले, स्थायी कमिटी कहिले राख्ने, एजेन्डा के बनाउने, कार्यान्वयन रणनीति के हुने भन्ने विषयमा नेतृत्वले गम्भीर रूपमा सोचेर अघि आउनुपर्ने अवस्था छ । 

दुनियाँ पारदर्शी छ । खोपीमा बसेर हुँदैन । अन्धकार कोठाभित्र पसेर देश चल्दैन । देश चलाउन भिजन चाहिन्छ, नीति चाहिन्छ, कार्यक्रम चाहिन्छ, योजना चाहिन्छ, आँट चाहिन्छ अनि धेरै स्रोतसाधनहरूको समुचित परिचालन गर्ने खुबी चाहिन्छ । 

-शीर्ष नेताहरू विदेश सयरमै व्यस्त भन्ने समाचार धेरै प्रकाशित हुन थालेका छन् । एसिया प्यासिफिक समिटको विषयले गाउँगाउँसम्म चर्चा पायो । सरकार र पार्टीको विदेश नीति कस्तो छ?

० अहिले विदेश जाने कुरा भाँडभैलो ढंगले भइरहेको छ । विदेश किन जाने ? कार्यक्रम के ? उद्देश्य के हुने भन्ने विषयमा छलफल नै भएको छैन । उद्देश्यविहीन अवस्थामा विदेश जाने परिपाटी बढेको छ । हाम्रा केही स्थापित विधि, प्रक्रिया, इभेन्टहरू पनि हुने गर्छन् त्यस्तामा जानु बेगल कुरा हो । तर नेकपाका कमिटीभित्र विभिन्न विभाग बनाउने विषयले पूर्णता नपाउँदा पनि समस्या आएको छ । हाम्रो अन्तर्राष्ट्रिय विभाग अहिलेसम्म बनेको छैन । यो विभाग थियो भने कहाँबाट कसका लागि के निम्ता आइरहेको छ भनेर छलफल गर्दै छानबिनमार्फत को कहाँ जाने टुंग्याउन सकिन्थ्यो । त्यो नहुँदा अहिले जसले पायो उही हिँड्ने परिपाटी बन्दै गएको छ । कमिटीले निर्णय नगरेको हुँदा भताभुंग जस्तो देखिएको छ। 

केही समयअघि एसिया प्यासिफिक समिट भयो । युपिएफ भन्ने एउटा क्रिस्चियन संस्थाको सम्मेलन भयो। सम्मेलनमा पार्टीका शीर्षस्थ नेताहरूमध्ये कार्यक्रमको निमन्त्रणा समितिको अध्यक्ष बन्न पुग्नुभयो। सरकार र संसद्को लोगो प्रयोग गरियो । यस्ता अनेकांै कुराहरू अस्वाभाविक र लस्जास्पद भए । यस्ता कामहरू हुनु हुँदैनथ्यो। नेपालमा जुनसुकै एनजिओले सम्मेलन गर्न सक्छ । उनीहरूलाई कार्यक्रमकै हैसियतमा राखेर सम्मेलन गर्न दिनुपर्ने थियो । यस्तो अवस्थामा सरकार बढी संलग्न भयो, आफैं आयोजक जस्तो देखियो, योचाहिँ शोभनीय भएन ।


-‘समृद्ध नेपाल सुखी नेपाली’ यो नारा प्रधानमन्त्री, मन्त्री तथा नेकपाका शीर्ष नेता जहाँ बोले पनि नछुट्ने नारा हो। यसलाई सार्थक बनाउने योजना त देखिँदैन । दुई तिहाइ मतको यो सरकारले आफ्नै पालामा नारा सार्थक सिद्ध गराउन सक्ला? 

० समाजवादलाई लक्षित गरेर अघि बढ्नुपर्छ भन्ने युगमा हामी छौं । यो युगमा संविधान जारी गरेर सोही संविधानअनुसार निर्वाचनमा गयौं । निर्वाचनमा जाँदा हाम्रो पार्टीले तयार पारेको घोषणापत्रको नारा हो ‘समृद्ध नेपाल सुखी नेपाली’। यो नारा सरकार वा प्रधानमन्त्रीले बनाएका होइनन्, पार्टीले बनाएको हो । यसलाई सरकारले अंगीकार गर्नु जायज हो । तर, त्यो नारालाई अख्तियार गरिसकेपछि जुन नीति, कार्यक्रम र योजना बनाएर कार्यान्वयनमा लैजाने लक्ष्य लिएर अघि बढ्नुपर्ने थियो ती काम हुन सकेका छैनन् भन्ने विषयमा मात्रै आमजनताको असन्तुष्टि हो । 

यो अहिलेको ऐतिहासिक नारा हो। नेकपाले अघि सारेको नारा हो। एकीकरणपूर्वका दुई पार्टीले वाम गठबन्धनको घोषणापत्र बनाउँदा अघि सारेको नारा, आम नेपालीको नारा हो । त्यसैले यसलाई कान्र्यान्वयन गर्न सक्ने क्षमता हामीले अहिले देखाउन सक्नुपर्छ । पार्टी र सरकारसँग त्यो क्षमता चाहिन्छ ।  राष्ट्रले पनि त्यो क्षमता देखाउन सक्नुपर्छ । तबमात्र हामी संविधानले भनेजस्तो समाजवादको लक्ष्यतर्फ अघि बढ्न सक्छौं। 

प्रतिक्रिया दिनुहोस्