आईतबार, असोज ११, २०७७

z

‘देउडा’ मा अब सबै दंग

हामी यसलाई न्याउल्या गीत भन्छौं । देउडा त पछि आएको हो। सञ्चारमाध्यमबाट डेउडा र देउडा प्रसारण भएपछि यही शब्दले प्रसिद्धि कमायो र जनजिब्रोमा झुन्डियो। यसको मौलिक नाम न्याउल्या नै हो । 

‘देउडा’ मा अब सबै दंग
केही समय पहिले देउडा गीतहरु सुदूरपश्चिमको सेरोफेरोमा मात्र सिमित थियो। अहिले देउडा अन्तर्राष्ट्रिय करण भएको छ। देउडा अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि आफ्नो प्रभाव जमाउन सफल भएको छ। देउडाको लोकप्रियता दिनानुदिन बढ्दो छ। लोकप्रियता बढेपनि यसको मौलिकता भने खस्किदै गएको छ। जुन चिन्ताको विषय हो। पहिलेका कलाकारहरुले गाउँमै गएर मौलिकता संकलन गरेर ल्याएर रेकर्डिङ गर्ने परम्परा थियो। अहिले दुःख गर्नु भन्दा पनि नयाँ जेनेरेसनले मौलिकतालाई बिर्सिएर, र्‍याप पपको नक्कल गरेर। त्यही प्रयोग देउडामा गर्दा मौलिकता खस्किएको छ।

पश्चिममा संकृतिको प्रभावले पनि यस्तो भएको हो। अब यसमा सुधार हुनुपर्छ। युवाहरु पनि मौलिकतातर्फ केन्द्रित हुनुपर्छ। युवाहरुलाई पुस्तान्तरण गर्न कतै हामी पनि चुक्यौ होला। तर मैले सँधै हाम्रो मौलिकतालाई मास्नु हुँदैन। हराउँन दिनु हुँदैन भन्ने गरेको छु। यसको मौकिता मास्यौ भने संस्कृति नै हराउँछ। युग अनुसारका गीत गाउँनु पर्छ। तर त्यसलाई देउडा भनेर परिभाषित गर्नु हुँदैन भन्ने मेरो ठहर हो। अब युवाहरुले आफ्नो मौलिकता बचाउन त्यस तर्फ आकर्षित हुनुपर्छं। हामी पाका स्रस्टाहरुले पनि त्यसको महत्व युवाहरुलाई बुझाउन सक्नु पर्दछ। देउडा भनेको हाम्रो मौलिक परम्परालाई धानेको गीत हो। 

हामी कहि देउडा भन्छौं, कही मारुनी भन्छौं, कही टप्पा भन्छौं। जे भनेपति लोकले आत्मसाथ गरेका विषय बस्तुलाई समेटेर गाइएका गीत लोक गीत हुन्। दुई लाइनको गीत जसले जहाँ प्रयोग गर्‍यो त्यसलाई देउडा भन्छन्। त्यो हुन सक्दैन। हाम्रो मौलिकतालाई त्यसले आत्मसाथ गर्न सकेको छकी छैन? भन्ने कुरा हेर्नुपर्छ। हाम्रो आफ्नो पन हुनुपर्‍यो, लय हुनुपर्‍यो। ढब हुनुपर्‍यो। तर रफ र पपका टुक्कामा सुदूरका केही शब्द गासेर देउडा भन्ने परम्परा गलत छ। मौलिकतालाई जस्ताको त्यस्तै बाच्न दिनुपर्छ। 

अर्को कुरा अहिले गीतहरुको बजार पनि खस्किएको छ। देउडाको त झनै सानो बजार छ। अहिले प्रविधिले गर्दा सहज हुनुपर्नेमा गाह्रो भएको छ। टाठाबाठाहरुले राम्रो कमाई गरेका छन्। हामी जस्ता पाका स्रस्टालाई गाह्रो छ। यस्तो समयमा पहिलाका जस्ता गीतहरु पनि आइरहेका छैनन्। त्यसले पनि युवाहरुलाई संस्कृति तर्फ आकर्षण गर्न नसकेको होला। 

अहिले देउडाको अन्तर्राष्ट्रिय करण पनि भएको छ। देउडामा सबै दंग छन्। यो हाम्रो लागि खुशीको कुरा हो। तर हिजो जस्तो समृद्धि आज देउडामा रहेको छैन। आजको जस्तै अवस्था भोली नरहला। अहिले नेपाली फिल्महरुमा डोटेली भाषा र देउडाको प्रयोग हुन थालेको छ त्यो राम्रो हो। अर्को पाटो त्यसमा ओर्जिनालिटी छैन। ठेट भाषाको प्रयोग हुनुपर्छ। भाषा वा शब्द विगारेर प्रयोग हुनुहुँदैन। पहिले हामी देउडा प्राय बेलुका–बेलुका नै खेल्थ्यौं। रमाइलो गथ्यौं। अहिले चाडपर्व नै कुर्नुपर्छ। अब यही पनि नरहलाकी भन्ने चिन्ता लाग्न थालेको छ। मैले गाएको राइझुमा अहिले पनि त्यत्तिकै लोकप्रिय छ। राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमै राइझुमा गाउँछन्। त्यसैले आफ्नो मोलिकता बोकेका गीतहरु पनि चल्छन्।
 

हामी यसलाई न्याउल्या गीत भन्छौं । देउडा त पछि आएको हो। सञ्चारमाध्यमबाट डेउडा र देउडा प्रसारण भएपछि यही शब्दले प्रसिद्धि कमायो र जनजिब्रोमा झुन्डियो। यसको मौलिक नाम न्याउल्या नै हो । 



युवाहरुले अहिले आफ्नो संस्कृतिप्रति अपनत्व जनायो, मिडियाले यसको महत्वबारे बास्तविक कुरा बझाउने भूमिका खेल्ने हो भने यसको मौलिकतामा टेवा पुग्न सक्छ। युवाहरुले हल्का रुपमा मेरो बिचारमा डेउडा यो हो भन्ने गरेको सुनिन्छ। मेरो बिचारमा यो हो भनेर देउडाको परिचय दिँइदैन। अध्ययन अनुसन्धान गरेर देउडाको बास्तविक परिचय दिनुपर्छ। कुनै संस्कृतिको मौकिता जोगाउन समाजको महत्वपूर्ण भूमिका हुन्छ। त्यसैले समाजले पनि महत्वपूर्ण भूमिका खेलिदिनुपर्छ। समाज जागरुप भएर संस्कृतिको संरक्षणमा लाग्नुपर्छ। अहिले प्रदेश सरकार बनेको छ। 

स्थानीय तह छ। हिजोका दिनमा हामी सरकारले केही गरेन भन्थ्यौ। केन्द्रको मुख ताक्नु पर्ने अवस्था थियो। अब त स्थानीय सरकार बनेको छ। अब आफ्नो संस्कृतिको जगेर्ना गर्न स्थानीय सरकारले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ। अब पनि हामीले राज्यले हेप्यो भनेर दुर्वलताका मागल गायौं भने हुँदैन। हामीले पनि जसरी यो क्षेत्रमा लागेका छौं यसको संरक्षणका लागि निरन्तरण दिनुपर्छ। यसरी अगाडि बढ्यौ भने हामी यसको मूल्य र मान्यतालाई बचाउन सक्छौं।

यस्तो छ देउडाको इतिहास्

संस्कृतिमा सम्पन्न छ, सुदूरपश्चिम। राज्यको नजरमा सधंै दूर रहे पनि हामी संस्कृतिमा सधैँ सम्पन्न छौं। नेपाली भाषाको उद्गम भूमिका रूपमा रहेको डोटी राज्यको आफ्नै इतिहास छ। सुदूरपश्चिममा गाइने न्याउल्या गीतको त झनै गौरवमय इतिहास छ। न्याउल्या भनेको अहिले भन्ने गरिएको देउडा हो। अहिले सुदूरपश्चिमका पहाडी जिल्लामा गाइने जति पनि भाका, लय, शब्द प्रयोग भएका गीतहरू छन् तिनलाई देउडा भन्ने गरिएको छ। यो एकदमै गलत हो। 

सुदूरपश्चिम पहाडी जिल्लामा गाइने सबै गीतलाई मिडियाबाट देउडा गीत भन्ने गरेको पाइन्छ। मैले कतै डोटेली भाषामा बोल्दा यो तपाईंको देउडा भाषा होइन भन्ने गरेका छन्। त्यो कुरा कदापि होइन। नेपाली भाषाको उद्गमस्थल सुदूर भूमि हो। अहिले कर्णाली प्रदेश भनिए तापनि उतिबेला खस साम्राज्य थियो। कत्युरी शासनमा पनि हाम्रो भाषाको प्रयोग भएको पाइन्छ। तर उनीहरूले राज्य भाषाको मान्यता दिएका थिएनन्। 

त्यसपछि खस साम्राज्यको उदय भयो। उनीहरूले जुम्लाको सिञ्जालाई राजधानी बनाएर शासन गरेका थिए। उता भारतको कुमाउ, अल्मुडा, गडवाल, उत्तराखण्ड क्षेत्र र यता चीनको खार क्षेत्र तथा नेपालको त्रिशूलीसम्म पनि खस साम्राज्य फैलिएको थियो। खस राजाले राजकीय भाषाको मान्यता दिएपछि यो भाषालाई खस भाषा भनेर पनि चिनिन थालियो। त्यहाँबाट सर्दैसर्दैै जब पूर्वतिर आयो त्यसले नेपाली भाषाको रूपमा परिस्कृत भएर सिंगो नेपाली भाषाका रूपमा मान्यता पायो। तर हामीकहाँ अझै पनि यो भाषा रहेको छ। 

पृथ्वीनारायण शाहले आफ्ना दिव्योपदेशमा ‘यो मुलुक मेरा साना तिना दुःखले आज्र्याको होइन, चार जात ३६ वर्णको साझा फूलबारी हो। सबैमा चेतना भया’,भन्नुभएको छ। उहाँकै भाषाको आया, गया, खाया, भया जस्ता शब्दको प्रयोग भएको छ। जुन भाषा हाम्रोतिर अहिले पनि जस्ताको त्यस्तै प्रयोग हुन्छ। हामी अझै पनि ‘काँ जादा भया, काँ बाटी आया, क्या हद्दा छौं’ जस्ता शब्दको प्रयोग गर्छौं। 

भानुभक्तले रामायण लेख्नुभयो। रामायणको पहिलो श्लोक ‘एक्दिन नारद सत्यलोक् पुगिगया लोकको गरौं हित भनी। ब्रह्मा ताहीं थिया पर्‍या चरणमा खुसी गराया पनि।’ मा उहाँले त्यही भाषा प्रयोग गर्नुभएको छ। परिस्कृत भएर अहिले नेपाली भाषा भयो। नेपाली भाषाको मुहान तत्कालीन डोटी राज्य हो। त्यो भाषासँगै न्याउल्या संस्कृतिले मौलाउने अवसर पाएको हो। न्याउल्या संस्कृतिको सुरुवात न्याउली चरीको सुमधुर स्वरबाट भएको हो। डोटेली इतिहास अध्ययन गर्दा न्याउल्या संस्कृति न्याउली चरीको गीतजस्तै सुमधुर रहेकाले सोहीअनुसार नामकरण गरिएको पाइन्छ। हामी त्यसलाई न्याउल्या गीत र न्याउले खेल भन्छौं। 

२०१५/१६ साल फागुनमा जनकविकेशरी धर्मराज थापा पश्चिम भ्रमणमा जानुभएको थियो। उहाँले त्यहाँको संस्कृति, गीतसंगीत अवलोकन गर्नुभयो। सोही क्रममा होरी खेलेको देख्नुभयो। त्यो खेललाई होरीका देउडा भनिन्छ। उहाँले काठमाडौं फर्किसकेपछि गोलाकार रूपमा खेलिने सबै देउडा हुन सोच्नुभयो सायद। उहाँ त्यसबेला रेडियो नेपालमा लोकमञ्जरी कार्यक्रम चलाउनुहुन्थ्यो। 

उहाँले त्यहाँ रेकर्ड गरेको कार्यक्रम जब देउडा भन्दै रेडियो नेपालबाट प्रसारण गर्नुभयो। रेडियो नेपालले तत्कालीन समयमा देउडा भनेर प्रसारण गर्दा जनमानसमा सबै कुरा देउडा रहेछ भन्ने पर्न गयो। जुन कुरा उहाँले व्यक्तिगत धारणाका आधारमा भन्नुभएको थियो। कस्तुरीले आफूसँग भएको विनाको सुगन्ध थाहा नपाएजस्तै भयो हाम्रा लागि त्यो। गहिरो किसिमको अध्ययन बिनै बोलियो। कसैलाई थाहा नभएको कुरा एकैचोटि रेडियो नेपालबाट देउडा भनेर बजाएपछि देउडा हुँदै सुदूरपश्चिमको सबै कुरा देउडा भयो।

देउडा शब्दको पहिलो प्रयोग दुःखान्त नाटककार पहलमानसिंह स्वाँरले  प्रयोग गर्नुभएको छ। उहाँले कोल घुमेजस्तै गरेर गोलाकार रूपमा खेलिने खेललाई देउडा भनिन्छ भन्नुभएको छ। मैले अध्ययन गरेको अर्को पाटो देउडा भनेको देवता हो । पहिला पहिला देवताका गाथा गाउने परम्परा थियो। दुई हरफ चौध अक्षरको पंक्तिमा पूरै देवस्तुति छ । दे भनेको देवता, उ भनेको उपासना र ता भनेको प्रशंसा अथवा देउडाको अर्थ डाक्ने, उपासना गर्ने र प्रशंसा गर्ने हो । 

देउडा निश्चित चाडपर्वमा गाइन्छ। भगवान् कृष्णका चरित्र गाथा, देवकी नन्दनका चरित्र गाथा, रामका चरित्र गाथा, शिवका चरित्र गाथा, स्थानीय देवदेवताको वर्णन, प्रकृति वर्णन होरीको देउडामा गाइन्छ। कृष्ण जन्माष्टमीमा कृष्ण्को गाथा गाइन्छ। ती देउडा भए। 

देउडा देउडी पारेर खेलिने खेल हो। हामी न्याउल्या खेल्दा  गोलाकार रूपमा खेल्छौं। झ्याउरेलगायतका गीत गाउँदा मादलको दालमा गाइन्छ। हामी खुट्टाको चालमा खेल्छौं। त्यसरी खुट्टा चाल्ने प्रक्रियालाई पैतोल भनिन्छ। त्यो पैतोल हान्दा हामी डेड स्टेप हान्छौं। एउटा स्टेप हान्दा हाम्रो खुट्टा पूरा जान्छ, अर्को हान्दा आधा। यहाँनिर डेडीको प्रमुखता भएकाले यसको नाम देउडा रहन गएको हो भन्ने पनि छ। अर्को गीत गाउँदा दुई पंक्तिमा एउटा पंक्तिको श्लोक पहिलो चोटि पूरा जान्छ। दोस्रोपटक आधा उच्चारण हुनछ। त्यसले गायनमा पनि डेडीको प्रमुखता र खेल्दा पनि डेडीको प्रमुखता भएकाले त्यसलाई देउडा भनिएको हो। त्यसैले देउडा भन्नाले मनोरञ्जनात्मक गीत बुझ्न सकिन्छ। 

२०११ सालमा योगी नरहरिनाथले लेखेको इतिहास प्रकाश भाग–३ मा कर्णाली क्षेत्रका न्याउल्या गीतबारे व्याख्या गरिएको छ। उहाँले गीतहरू संकलनसमेत गर्नुभएको छ। तीन वर्षअगाडि लोकवार्ता परिषद्ले दाङमा सम्मेलन गरेको थियो। सम्मेलनमा कुमाउ युनिभर्सिटीका प्रोफेसर देवराज पोखरियाले एउटा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले त्यसमा ‘कुमाउ गडवाल से महाकाली अञ्चल तकका न्याउल्या गीत’ भनेर लेख्नुभएको छ।
 

हामी यसलाई न्याउल्या गीत भन्छौं । देउडा त पछि आएको हो। सञ्चारमाध्यमबाट डेउडा र देउडा प्रसारण भएपछि यही शब्दले प्रसिद्धि कमायो र जनजिब्रोमा झुन्डियो। जनजिब्रोमा झुन्डिएको कुरालाई हामी थुत्न सक्दैनौं। सबैले त्यही तरिकाले बुझ्यो। हामीले पनि त्यही तरिकाले बुझ्नुपर्ने भयो।

म काठमाडौं आइसकेपछि यो न्याउल्या गीत हो देउडा होइन भन्ने थालेको हुँ । मैले गत वर्षको गोरखापत्रको संस्कृति विषेश अंकमा ‘अछाममा गाइन्या न्याउल्या गीतभित्रका अमूर्त लोकसंस्कृति’ भनेर लेख लेखेको छु। देउडा र यसको वास्तविक इतिहास यही हो। इतिहास हाम्रो धरोहर हो। हामी सबै आआफ्नो इतिहासबारे जानकार हुनुपर्छ। इतिहास मर्न दिनु हुँदैन र गलत ढंगले तोडमोड गरेर व्याख्या पनि गरिनु हुँदैन।

(डोटेली लोकसाहित्यका अध्येता संस्कृतिविद् एवम् वरिष्ठ लोक देउडा गायक प्राज्ञ यज्ञराज उपाध्यायसँग नेपाल समयकाागि यज्ञराज जोशीले गरेको कुराकानीमा आधारित)
प्रतिक्रिया दिनुहोस्