मंगलबार, कात्तिक २६, २०७६

समाचार

सुक्न थाल्यो पानीको स्रोत

तराई क्षेत्रमा पानीको मुख्य स्रोत चापाकल सुक्न थालेपछि स्थानीयहरु पानीको खोजीमा बाल्टी र बोतल लिई भौतारिएको दृष्य समान्य बनेको छ, अहिले । विगतमा धनुषाको उत्तरी भेगमा पानीको समस्या देखिए पनि जनकपुर नगर क्षेत्र तथा जिल्लाको पूर्वी र दक्षिणी भेगमा बिरलै यस्ता समस्या देखिन्थ्यो । तर, पछिल्लो तीन चार वर्षको अवधिमा जनकपुर नगर क्षेत्रमा पनि चापाकल सुक्ने समस्या उत्पन्न भएपछि ठुलो संख्यामा सर्वसाधारणहरु कठिनाईमा परेका छन् ।

सुक्न थाल्यो पानीको स्रोत
जनकपुरधाम- धनुषाको उत्तरी भेगमा खानेपानीको हाहाकार भएको छ । इनार र चापाकलजस्ता मुख्य स्रोत धमाधम सुक्न थालेपछि स्थानीय बासिन्दा सकसमा परेका हुन् ।

विगतमा असारको मध्यतिर मात्र इनार र चापाकल सुक्ने समस्या आउँथ्यो । यस वर्ष मध्य जेठमै सुकेको स्थानीय बासिन्दा बताउँछन् ।

तराई क्षेत्रमा पानीको मुख्य स्रोत चापाकल सुक्न थालेपछि स्थानीयहरु पानीको खोजीमा बाल्टी र बोतल लिई भौतारिएको दृष्य समान्य बनेको छ, अहिले । विगतमा धनुषाको उत्तरी भेगमा पानीको समस्या देखिए पनि जनकपुर नगर क्षेत्र तथा जिल्लाको पूर्वी र दक्षिणी भेगमा बिरलै यस्ता समस्या देखिन्थ्यो । तर, पछिल्लो तीन चार वर्षको अवधिमा जनकपुर नगर क्षेत्रमा पनि चापाकल सुक्ने समस्या उत्पन्न भएपछि ठुलो संख्यामा सर्वसाधारणहरु कठिनाईमा परेका छन् ।

१५/२० वर्ष अगाडी १ सय ५० फिटको गहिराईमा जडान गरिएका चापाकलहरुमा सहजै पानी आउने गर्दथ्यो तर अहिले ४ सय फिटको गहिराईमा पनि पानी आउन छोडेको छ जनकपुर उपमहानगरपालिका-४ का रामानन्दन महतोले बताए । चापाकल सुक्नुको साथै विद्युतीय मोटरले समेत पानी तान्न छोडेको उनको भनाई छ ।
 
मोटरले पनि तान्न छोडेपछि पानीको जोहो गर्न बाल्टी र बोतल बोकेर भौतारिनुपर्ने अवस्था आएको जनकपुर उपमहानगरपालिका वार्ड नम्बर ११ का विजय ठाकुरले बताए । ‘दिनको समयमा मोटरले पानी तान्न छोडेको छ, मध्यरातमा मोटर चलाउँछौँ । तर, छरछिमेकका सबैले मोटर चलाईदिँदा पानी नै आउँदैन,’ ठाकुरले भने,‘जनकपुरसहित यस क्षेत्रमा बढ्दै गएको समस्या समाधान गर्न सम्बन्धीत निकायले चासो देखाएको छैन् ।’

विगतमा जनकपुर सहरी क्षेत्रको उत्तरी भागमा यस्ता समस्या देखिएपनि पछिल्लो दुई तीन वर्षा यता प्रायः हरेक ठाउँमा पानी सुक्ने समस्या सुरु भएको छ । यसैगरी जिल्लाको उत्तरी भेगतर्फ वर्षौदेखि रहेको खानेपानी समस्या अझै हल हुन सकेको छैन् ।

राजमार्ग वरिपरी ढल्केबर, बटेश्वर, चित्रपुर, विजयपुर लगायतका दर्जनौ गाउँहरुमा खोनपानीको समस्या ज्यूँ को त्यूँ रहेको स्थानीयहरु बताउँछन् । त्यस क्षेत्रका ग्रामीण भेगमा खानेपानी संस्थानले खानेपानीको व्यवस्था गरेपनि विद्युत नहुँदा पानीको जोहोगर्न तीन/चार किलोमिटर हिँडनु पर्ने वाध्यता रहेको चित्रपुरका स्थानीय रोहित सिंहले बताए ।

जेठ सकिन लाग्दा पनि राम्रो वर्षा नभएकोले पानीका स्रोतहरु चाँडै सक्न थालेको बताइएको छ । वन जंगल मासिँदै गएर खण्डवृष्टि, अल्पवृष्टि र कुसमयको अतिवृष्टिका कारण पानीको मुहान सुक्दै गएको बुढापाखाहरुको भनाई छ ।

जनकपु नगर क्षेत्रभित्र खानेपानी संस्थानको धारा प्रयोग गर्नेको संख्या करिब चार हजार रहेको बताइएको छ । जिल्ला खानेपानी संस्थान कार्यालयका अनुसार यस बाहेक सबैले खानेपानीको मुख्य स्रोतका रुपमा चापाकल नै प्रयोग गर्ने गरेका छन् ।
 
करिब ३० वर्ष अघि र अहिले पानीको स्रोतमा खासै अन्तर नदेखिए पनि बढ्दो जनसंख्या, कृषि, सिचाईं जस्ता कार्यमा अत्याधिक प्रयोगको कारण अभाव देखिएको  छ ।

तर, खानेपानी संस्थानले समेत आफ्ना प्रयोगकर्ताहरुलाई सुलभ सेवा दिन नसकेको प्रयोगकर्ताहरुको गुनासो छ । तोकिएको समयमा धारा नआउने, आएपनि पर्याप्त पानी नआउँदा समस्या भएको एक प्रयोगकर्ताले बताए । यता, खानेपानी संस्थानका एक कर्मचारीका अनुसार जनकपुरमा चलिरहेको सडक निर्माणका कारण पानी आपूर्तिमा समस्या भएको हो । यस्ता समस्याहरु समाधान गर्न कार्यालय प्रयासरत रहेको उनले बताए ।

गर्मी मौसममा जनकपुरसहित जिल्लाको उत्तरी भेगमा खानेपानीको समस्या नौलो नभएर प्रायः हरेक वर्ष देखिनुको प्रमुख कारण पानीको सतह घट्नु हो सरसफाई तथा खानेपानी डिभिजन कार्यालयका इञ्जिनियर विजय यादवले बताए । खानेपानीको समस्याबाट बच्न पानी सिंचतीतर्फ ध्यान दिनुपर्नेमा उनको जोड छ ।

चुरे जंगलको फडानी, ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खनन जस्ता कार्यले पनि पानीको समस्या निम्त्याएको विज्ञहरुको भनाई छ । पानीको अत्याधिक माग रहेकोले त्यसलाई नियन्त्रण गर्ने अर्को विकल्पका रुपमा आकाशे पानीको संकलन भरपर्दो उपाय हुन सक्ने विज्ञहरु बताउँछन् ।

विश्व वन्यजन्तु कोष नेपालका निर्देशक सन्तोषमणि नेपाल पानीको विद्यमान समस्या अंत्यगर्न पानी रिचार्जमा जोड दिन्छन् । पानी संचित गर्न चुरे क्षेत्रमा रिजर्भवायहरु बनाउन सकिए खानेपानीको समस्या ठुलो हद सम्म समाधान गर्न सकिने नेपाल समयसँगको कुराकानीमा नेपालले भने,‘पानीको इनपुट घटेको छ, तर आउटपुट बढ्दै गएको छ । हामीले पानीको बजेटिङमा ध्यान दिनुपर्ने जरुरी छ ।’

चुरेमा मात्र विरुवा लगाएर पानीको समस्या समाधान गर्न नसकिने बताउँदै उनले भने,‘आम्दानी र खर्चको बजेटिङ गरे जस्तै पानीको पनि बजेटिङ गर्नु पर्ने छ । र, त्यसको लागि सिंचतीकरणतर्फ कदम अगाडी बढाउनु पर्दछ ।’

भारतले प्रयोग गरेको प्रविधिको उदाहरण दिँदै नेपालले सिल्टेशन प्रक्रिया दुरुस्त बनाउन जोड दिए । उनले भने,‘एक्वीफायरको सतह घटेर गएको छ । सिल्टेसन प्रक्रिया दुरुस्त बनाएर पानी रोक्दै-रोक्दै तल झर्ने व्यवस्था मिलाउनु प-यो । भारतले यस्तै गरेको छ ।’

जनसंख्या बढ्दै गइरहेको अनुपातमा पानीको आउटपुट बढाउन नसक्नु र बढदो शहरीकरणका कारणले समस्या देखिएको उनको भनाई छ । पानीको सतह घटनुमा चुरेको कुनै सम्बन्ध नरहेको बताउँदै जंगलकै कारण पानीको सतह माथि रहने भन्ने हुँदैन नेपालले बताए ।

भारतमा जमीनमुनिको पानी अत्याधिक दोहन भएको खण्डमा पनि समस्या देखिन सकिने बताउँदै उनले भने,‘भौगर्भिक सतहमा देशको सीमा छुट्टिदैन, त्यसैले हामीले आफ्नो आवश्यक्ता अनुसार सिद्धान्त निर्माण गर्नुपर्ने खाँचो छ ।’

पाखो डाँडो, भावर र तराई गरी चुरेमा तीन तह रहेको उल्लेख गर्दै नेपालले भने,‘छिद्रयुक्त चुरे हुँदै पानी तल छिर्छ । भावरको तलपट्टि हुँदै तराईसम्म पुग्छ । २० किलोमिटरमा भारतीय भूभागमा परे त्यहाँ पनि पुग्छ । भावरमा रिजर्भवायरहरु बनाउन सकिए पानी सञ्चित हुन्छ । चुरेको पृष्ठभागमा ठुला बाँध आवश्यक छन् ।’

ती बाँधले सिल्टेसन रोक्नुका साथै नदीको बहावबाट तराईको उर्बर भूमिमा सिल्टहरु पुग्न अवरोधकको भूमिका खेल्छ उनले बताए । रिजर्भवायर बनाउन सकिए भूमिगत रुपमा छिर्दै झर्ने पानी पुषमा खुख्खा हुने क्षेत्रमा चिस्यान कायम राख्न मदत गर्दछ निर्देशक नेपालले बताए ।

पानीको सतह घटि रहेको अवस्थामा चुरे फेदमा पूर्वदेखि पश्चिम सम्म रिजर्भवायर निर्माण गरेर पानी सञ्चित गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने उनको भनाई छ । सिल्ट ट्रयाप महत्वपूर्ण काम रहेको भन्दै यसो गर्न सकिए वर्षाको पानी संकलन गर्न कोशे ढुंगा सावित हुने र पानीको समस्या पनि अंत्य हुने उनले बताए ।

पानी समस्याको पहिचान भइसकेको अब उपचार मात्र जरुरी रहेको बताउँदै नेपालले अध्ययन अनुसन्धानलाई अगाडी बढाएर सरकारको ध्यान उपचारतर्फ केन्द्रित हुनुपर्ने उल्लेख गरे ।

तराईको कमला नदी पश्चिम र बागमती नदी पूर्वको भेगमा पानीको सतह पहिले देखि नै कम रहेकोले यसलाई नयाँ समस्याको रुपमा लिन नहुने उनको तर्क छ ।

करिब ३० वर्ष अघि र अहिले पानीको स्रोतमा खासै अन्तर नदेखिए पनि बढ्दो जनसंख्या, कृषि, सिचाईं जस्ता कार्यमा अत्याधिक प्रयोगको कारण अभाव देखिएको उनले बताए । पानीको खर्च बढेपनि स्रोत यथावत रहेकोले सञ्चितीकरण प्रक्रियालाई प्रभावकारी बनाउनु पर्नेमा उनको जोड छ ।
प्रतिक्रिया दिनुहोस्