बुधबार, कात्तिक २७, २०७६

समाचार

 गर्मीले विद्यालय जानै छोडे

जनकपुरसहित मध्य तराईमा अत्यधिक गर्मीको मार सबैभन्दा बढी विद्यालय जाने बालबालिकामा परेको छ । पछिल्लो एकसाता यता तापक्रम निरन्तर बढ्दै गएपछि बालबालिकाहरुलाई विद्यालय जान निकै समस्या भोग्नु परेको छ ।

 गर्मीले विद्यालय जानै छोडे
जनकपुरधाम- जनकपुरसहित मध्य तराईमा अत्यधिक गर्मीको मार सबैभन्दा बढी विद्यालय जाने बालबालिकामा परेको छ । पछिल्लो एकसाता यता तापक्रम निरन्तर बढ्दै गएपछि बालबालिकाहरुलाई विद्यालय जान निकै समस्या भोग्नु परेको छ ।

अत्यधिक गर्मीका कारण कतिपय बालबालिका बाटोमै बेहोस हुन थालेका छन् भने कतिपय बिरामी भएका छन् । तराईका जिल्लाहरुमा १५ अषाढ पछि वर्षे विदा दिने व्यवस्था छ । तर, अत्याधिक गर्मी भएकोले यस वर्ष त्यस अघि नै विदा दिनुपर्ने माग अभिभावकहरुले गर्न थालेका छन् ।

अभिभावकहरुले विद्यालयमा विदा दिन आवाज उठाएपनि त्यसतर्फ सरोकारवालाहरुले चासो नदेखाएको स्थानीय सुधिर पाण्डेयले बताए । तापक्रम बढेपछि विद्यालय पुग्न साना बालबालिकाहरुलाई समस्या परेको भन्दै केहिदिनको लागि भएपनि विदा दिन पाण्डेयले सरोकारवालाहरुलाई ध्यानाकर्षण गराए ।

नीजि विद्यालयहरुले केहि हद सम्म भौतिक पूर्वाधार तयार गरेपनि सामुदायीक विद्यालयहरुमा बढी समस्या देखिएको स्थानीय रामबहादुर साहले बताए । नीजि विद्यालयहरुले कक्षा कोठामा पंखा र जनेरेटर जस्ता पूर्वाधारको व्यवस्था गरेपनि सामुदायीक विद्यालयहरुमा अभाव देखिएको उनको भनाई छ । चर्को गर्मीका कारण बालबालिकाहरुलाई विद्यालय पुग्न सकस भइरहेपनि सम्बन्धीत निकायले चासो नदेखाउनु दुखद रहेको उनको भनाई छ ।

लामो समयदेखि यस क्षेत्रमा वर्षा नभएपछि तापक्रम बढेर गएको हो । मनसुन सुरु भइसकेको बताइएपनि जनकपुर क्षेत्रमा वर्षा भएको छैन् । वर्षा नभए सम्म तापक्रम घट्ने संभावना नरहेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय जनकपुरका प्रमुख राजीव कुमार झाले बताए ।

झाका अनुसार आइतबार बिहान ११ः३० मा ३८.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ भने २३ अषाढमा यस सिजनकै सबै भन्दा बढी ३९.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । चर्को गर्मीका कारण बजार सुनसान छ, सडकमा हिँडडुल गर्ने पनि खासै देखिदैनन् ।

चर्को गर्मीका कारण बालबालिकाहरुलाई विद्यालय पुग्न तथा पठनपाठनमा समस्याभइरहेको एनप्यावसन धनुषाका अध्यक्ष चन्द्रनारायण मण्डल स्वीकर्छन। गर्मी बढेसँगै अभिभावकहरुले पनि विदा दिन सुझाव दिएको बताउँदै भने, ‘विद्यालय विदा दिन बारे हामी छलफलमा छौँ, छिट्टै यस विषयमा निर्णय हुन्छ ।’ एनप्यावसनसहित प्यावसन र मधेश प्यावसनसँग छलफल गरेर सामूहिक निर्णय गर्ने सोंचमा रहेको उनले बताए ।

जनकपुरसहित ग्रामीण क्षेत्रका अधिकांश विद्यालयका छानामा जस्तापाता तथा एलबेस्टर लगाइएको छ । यस्ता विद्यालयहरुमा बालबालिकाहरु थप समस्या भोग्न बाध्य छन् ।

धनुषाको तीन दिन बन्द

जनकपुरधाम– अत्यधिक गर्मीका कारण धनुषास्थित निजी विद्यालयहरु तीन दिन बन्द हुने भएको छन् ।

चर्को गर्मीले बालबालिकाहरुलाई विद्यालय जान समस्या आउन थालेपछि तत्काल तीन दिनको लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको एनप्याबसनका अध्यक्ष चन्द्रनारायण मण्डलले जानकारी दिए ।

चर्को गर्मीका कारण विद्यालय बन्द गर्न अभिभावकहरुले दिएको सुझाव अनुसार यसो गरिएको उनको भनाई छ । आइतबार एनप्याबसन र प्याबसनका पदाधिकारीहरुको संयुक्त बैठकले गर्मीका कारण सोमबार देखि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

मनसुन पनि सुरु भइसकेको अवस्थामा वर्षा भएपछि मौसममा सुधार आउने भन्दै तत्काल तीन दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको मण्डलले बताए ।
 
प्रतिक्रिया दिनुहोस्