सोमबार, मंसिर ३०, २०७६

समाचार

पोखराकाे सुन्दरता नै अन्तर्राष्ट्रिय विमानस्थलको बाधक

जानकारहरूका अनुसार पाेखरामा अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण गर्ने कुरामा पाइलटहरू सहमत छैनन् । पोखरा काठमाडौंभन्दा साँघुरो अवस्थितिमा रहेकाले ठूला विमानका लागि अनुपयुक्त हुने उनीहरूको तर्क छ । 

पोखराकाे सुन्दरता नै अन्तर्राष्ट्रिय विमानस्थलको बाधक


काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २५ जेठमा विज्ञप्ति जारी गर्दै पोखरा विमानस्थलबारे विज्ञ टोलीको प्रतिवेदनको अपव्याख्या गरिएको बतायो । विज्ञ टोलीको प्रतिवेदनमा उक्त विमानस्थल ठूला विमानका लागि अयोग्य रहेको भन्ने समाचार आएपछि खण्डन गरेको थियो, मन्त्रालयले । 

मन्त्रालयको विज्ञप्ति आउनुको भित्री कारण भने पोखराका बासिन्दा र संघसंस्थाहरू समाचार आएलगत्तै विज्ञ टोलीमाथि खनिनु थियो । समाचार प्रकाशित भएलगत्तै भेला, विज्ञप्ति र सामाजिक सञ्जालमार्फत् पोखरावासी खनिएका थिए । उनीहरूलाई मत्थर पार्न विज्ञप्ति नै निकाल्नुपर्ने दबाबमा पर्‍यो, मन्त्रालय । 

यसबाटै स्पष्ट हुन्छ, पोखरा विमानस्थल स्थानीय 'सेन्टिमेन्ट'सँग जोडिएको छ । पोखरा र त्यस क्षेत्रका बासिन्दाका लागि त्यहाँ क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल वर्षौंदेखिको एक सपना हो । त्यसमा बाधा आउने सम्भावना देखिँदा उनीहरूको आक्रोस पोखिनु स्वाभाविकै हो । 

२५ जेठमा पोखरा उद्योग वाणिज्य संघले प्रदेश-४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई बुझाएको ज्ञापन पत्रबाट पनि स्थानीय बासिन्दाको आक्रोस प्रकट हुन्छ । 'निर्माणाधीन विमानस्थलबारे आएको टिप्पणी केन्द्रिकृत एवं असन्तुलित मगजको सोच भएको हाम्रो ठम्याइ छ,' ज्ञापन पत्रमा उल्लेख छ, 'सम्पूर्ण प्रदेश-४ का जनताको भावनामाथि चिसो पानी खन्याउने यो प्रतिवेदनको जति भत्र्सना गरे पनि कम हुन्छ ।'

तर, यसको प्राविधिक पक्षलाई पनि पोखराका बासिन्दाले ध्यान पुर्‍याउनु आवश्यक रहेको विज्ञहरू बताउँछन् । केही यस्ता प्राविधिक पक्ष छन्, जसका कारण उक्त विमानस्थलको सञ्चालन असम्भव देखिँदै आएको छ ।

यी हुन् प्राविधिक कारण

जानकारहरूका अनुसार त्यहाँ अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण गर्ने कुरामा पाइलटहरू सहमत छैनन् । पोखरा काठमाडौंभन्दा साँघुरो अवस्थितिमा रहेकाले ठूला विमानका लागि अनुपयुक्त हुने उनीहरूको तर्क छ । 

हाल सञ्चालनमा रहेको पोखरा विमानस्थल पूर्व-दक्षिण तन्केको छ । निर्माणाधीन विमानस्थल पूर्व-पश्चिमजस्तो रहन्छ । पूर्वबाट आएर अवतरण गर्नुपर्छ । केहीगरी अवतरण गर्न नसके 'ओभरसुट'का लागि अगाडिका डाँडाहरूले बाधा पुर्‍याउँछन् । 

'पोखरा कचौराजस्तै छ, ठूला विमानको आवाजले यो बस्नै नसक्ने शहर बन्नेछ,' पोखराकै लेखक महेश भण्डारी भन्छन्, 'निर्माणाधीन विमानस्थल पोखरा-लेखनाथ महानगरपालिकाको ठ्याक्कै बीच भागमा पर्छ । र, एयर ट्राफिक भयो भने पूरै शहरलाई डिस्टर्ब गर्नेछ ।'

एक पाइलटका अनुसार तत्काल 'ओभरसुट' गर्नु परे गति र दूरी व्यवस्थापन गर्न गाह्रो हुन्छ । 'किनभने नजिकै अग्ला डाडा छन् । ठूला विमानलाई घुमाउन र अवतरण गर्न मिल्दैन,' ती पाइलट भन्छन् । 

काठमाडौंमै त्यसरी ओभरसुट गर्दा दुई नटिकल माइलभन्दा पर जान मिल्दैन । त्यसभन्दा टाढा पुगे डाँडामा ठोक्किने जोखिम हुन्छ । दुई नटिकल माइल भनेको सीधा हावामा तीन दशमलव दुई किलोमिटर हो । ठूला विमानहरूका लागि त्यति दूरी नाघ्न २/३ सेकेन्ड मात्र लाग्छ । 

ती पाइलटका अनुसार दुई नटिकल माइल पुग्दा नपुग्दै पोखरामा विमानका पखेटाले पहाडमा छोइसक्छन् । 'निर्माणाधीन विमानस्थल र डाँडाको दूरी दुई नटिकल माइलभन्दा कम छ,' ती पाइलट भन्छन्, 'मौसम बिग्रियो भने घुमाउने ठाउँ छैन ।' 

गत २८ फागुनमा यूएस-बांग्ला एयरलाइन्सको बम्बार्डियर क्यू-४०० जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा पर्‍यो । जबकि, उक्त जहाजलाई काठमाडौंको आकाशमै सुरक्षित 'होल्ड' गराउन सकिने प्रशस्त सम्भावना थियो । 

पोखरामा भएको भए ? जानकारहरूका अनुसार थोरै सावधानी अपनाएको भए काठमाडौंमा उक्त जहाजलाई बचाउन सकिने थियो । पोखरामा त त्यो सम्भव नै थिएन । 

एयरबस-३१० विमानहरू पोखरामा उडान र अवतरण गर्नै नसक्ने जानकारहरूको भनाइ छ । उनीहरूका अनुसार हाल नेपाल वायु सेवा निगमसँग रहेका एयरबस-१२० जस्ता जहाजका लागि भने केही हदसम्म सहज हुन सक्छ । 

पोखरानजिकको लुम्ले नेपालमा सबैभन्दा बढी पानी पर्ने ठाउँ हो । उक्त स्थानलाई 'नेपालको चेरापुञ्जी' संज्ञा नै दिइने गरेको छ । पाइलटहरूका अनुसार पोखरामा मौसम सफा रहेको जानकारी पाएर काठमाडौंबाट उडेका जहाजहरूले आधा घण्टाको दूरीमा खराब अवस्था बेहोर्नुपर्छ । 

पोखरामा भीओआर र डीएमई मात्र उपयुक्त हुन्छन् । ती दुई सिस्टमले मात्र ठूला जहाजलाई पुग्दैन । पोखरा हुँदै भैरहवासम्म जर्मनीको जिप्सम कम्पनीले उडान रुट कोरिदिएको छ, जसलाई आइकाओले पनि स्वीकृति दिएको छ । 
 

विमानस्थल सञ्चालनमा देखिएका प्राविधिक जटिलतालाई पोखराका बासिन्दाले ध्यान दिनु आवश्यक रहेको जानकारहरूको सुझाव 


बन्ला त काठमाडौंको विकल्प ?

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नु भनेको काठमाडौंका लागि विकल्प तयार हुनु हो । काठमाडौंमा मौसम खराब हुँदा या प्राविधिक समस्या आउँदा ठूला विमान पोखरामा अवतरण गराउन सकिँदैन । 

अर्का पाइलटका अनुसार निजगढ र भैरहवा विमानस्थल मात्र काठमाडौंका लागि विकल्प बन्न सक्छन् । ती दुवै स्थानमा पहाडले छेक्ने जोखिम छैन । 

लामो समय नेपाली आकाशमा हेलिकोप्टर, साना जहाज र ठूला विमान उडाएका क्याप्टेन स्वर्गीय रतनबहादुर लामिछानेले आफ्नो पुस्तक 'आकाशको दुनियाँ'मा लेखेका छन्, 'काठमाडौंभन्दा साँघुरो पोखरा उपत्यकामा ठूला विमानको उडान/अवतरणको जोखिम उठाउनु भनेको मुर्खताबाहेक केही हुँदैन । नागरिक उड्डयनसँग मान्छेको ज्यान जोडिएको छ । त्यसैले विमान र विमानस्थलहरू ठट्टा गर्ने विषय होइनन् ।' 

पोखरा समुद्री सतहबाट दुई हजार फिटमा पर्छ । नजिकै तीन हजारदेखि पाँच हजार फिटका डाँडा छन् । 

ठूला विमानका लागि राम्रो मौसममै उडान र अवतरण गाह्रो हुने स्वर्गीय लामिछानेले उल्लेख गरेका छन् । पुगेर ठिक्क अवतरण मात्र गर्न ठूला विमानलाई उक्त विमानस्थल उपयुक्त हुने उनको ठम्याइ छ । विमानलाई आपतकालीन अवस्थाका लागि ठाउँ छ कि छैन भनेर अध्ययन नगरी विमानस्थल बनाउनु जोखिमपूर्ण हुने उनले सुझाएका छन् । 

राजनीतिक दलका नेताहरूले भोट बैंकको रूपमा पोखरा विमानस्थललाई अगाडि सार्नुको परिणाम त्यसले 'सेन्टिमेन्टल' रूप लिएको जानकारहरू बताउँछन् । 

यसरी भएको थियो उठान

२०३० सालतिर एक विदेशी संस्थाले पर्यटन प्रबद्र्धनका लागि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको औंल्याएको थियो । तत्कालीन गण्डकी अञ्चलाधीश शंकरराज पाठकले बस्ती उठाएर जग्गा अधिग्रहण गराउन पहल गरे । 

लामो समय यो विषय माग र छलफलमै सीमित बन्यो । स्थानीय बासिन्दाले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि माग गरिरहे । त्यसमा पनि लेकसाइडका होटेल, रेस्टुराँ र पर्यटन व्यवसायीको सपनामा सधैं रह्यो, अन्तर्राष्ट्रिय विमानस्थल ।

यो विषयलाई उठाउने नेताहरूमा वर्तमान पर्यटन मन्त्री रविन्द्र अधिकारी सधैं अग्रपंक्तिमा थिए । उनकै लयमा लय मिलाउँदै सबै पार्टीका नेताहरूले यस विषयलाई स्थानीयस्तरमा लोकप्रियता आर्जन गर्ने 'टुल्स' बनाइरहे । 

एकै पटक ०६५ सालमा आएर मात्र यो कार्यान्वयनको पाटोमा गयो । तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री भएपछि महत्व पायो, यस विषयले । उनको जन्मथलो कास्कीको ढिकुरपोखरी हो । र, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग उनी पनि 'सेन्टिमेन्टल' रूपमै गाँसिए । 

धेरैपछि प्रधानमन्त्री बनेका तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाले पनि प्रचण्डको पहलमा साथ दिए । ०७२ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका केपी ओलीले विमानस्थलको शिलान्यास नै गरे । र, प्रचण्डको दोस्रो प्रधानमन्त्रीत्व कालमा विमानस्थल निर्माणले गति पायो । 

आउलान् त सीधा पर्यटक ?

पोखरामा बढी संख्यामा आउने भारतीय पर्यटक हुन् । पछिल्लो समयमा चिनियाँ पर्यटकको संख्यामा पनि उल्लेख्य बढोत्तरी भएको छ । भारतका निजी विमान कम्पनीहरूका लागि पोखरा एक उत्कृष्ट गन्तव्य बन्न सक्छ । 

तर, त्यसमा अर्को पाटो पनि जोडिएको छ, भारतीय पर्यटकको पहिलो रोजाइ काठमाडौंस्थित पशुपतिनाथ मन्दिर हो । भारतीय पर्यटकका लागि अर्को गन्तव्य बनेको छ, मुस्ताङस्थित मुक्तिनाथ धाम । त्यहाँ पुग्न पोखराको ट्रान्जिट एक मात्र विकल्प हो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २८-२९ वैशाखको पछिल्लो नेपाल भ्रमणका क्रममा मुक्तिनाथ पुगेर आफ्ना नागरिकमाझ उक्त धार्मिक स्थलको महत्व बढाइदिएका छन् । मोदी भ्रमणलगत्तै मुक्तिनाथ दर्शनमा आउने भारतीय पर्यटक बढेका छन् । यस कोणबाट हेर्दा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने हो भने ठूलो संख्याका भारतीय पर्यटक भित्र्याउन सकिने प्रचुर सम्भावना छ । 

चिनियाँ पर्यटकको पहिलो रोजाइ भने पोखरा नभई लुम्बिनी हो । उनीहरू पोखरामा भन्दा बढी काठमाडौंमै रमाउँछन् । 

अन्नपूर्ण फेरो मार्न आउने युरोपेली पर्यटकका लागि भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त देखिँदैन । किनभने, युरोपबाट सीधा उडान गराउन वाइडबडी विमानबाट मात्र सम्भव छ, जुन पोखरामा उडान र अवतरण हुन सक्दैनन् । 

भुटानी पर्यटकको पनि पहिलो रोजाइ पोखरा होइन । लुम्बिनी, काठमाडौं र खोटाङको हलेसी दर्शनका लागि भुटानी पर्यटक आउने गरेका छन् । र, श्रीलंकाली पर्यटक पनि लुम्बिनी नै पुग्न आतुर देखिने गरेका छन् । 

'त्यसैले पोखरामा अहिलेको भन्दा ठूलो विमानस्थल बनाउनु भनेको फजुल खर्च मात्र हो,' क्याप्टेन स्वर्गीय लामिछानेले आफ्नो पुस्तकमा लेखेका छन् । 

भारतीय पर्यटक नै ओसार्दा पनि आउँदा र जाँदा पर्याप्त यात्री हुने ग्यारेन्टी छैन । नेपाल आइपुगेका भारतीय नागरिकहरू एक पटक पशुपतिनाथको दर्शन नगरी फर्किने कमै हुन्छन् । फेरि, काठमाडौं आएका यात्री पोखरा पुगेर नयाँदिल्ली, मुम्बईलगायत गन्तव्यमा उड्ने सम्भावना कमै रहन्छ । किनभने, पैसा खर्च गर्न सक्ने भारतीय नागरिकहरूले मात्र पोखरालाई गन्तव्य बनाउने गरेका छन् । 

उदाहरण हुन सक्छ हङकङ

हङकङको 'काई टाक' अन्तर्राष्ट्रिय विमानस्थल सन् १९२५ देखि अपरेसनमा थियो । संसारको अति व्यस्त विमानस्थलमध्येमा पथ्र्यो त्यो । गगनचुम्बी भवनहरू छल्दै उडान र अवतरण गराउनुपथ्र्यो ।

राति मौसम बिग्रिँदा या हावा चल्दा विमानहरू सीधै भवनमा ठक्कर खान्थे । उक्त विमानस्थलमा उडान/अवतरण गर्दा धेरै विमान दुर्घटनामा परे । 

एकतर्फी अप्रोच, हावा चल्ने र उपकरणको सहायताबाट हुने अवतरण (आईएलएस)ले पनि काम नगर्ने । 

केही समय ठूला-ठूला भवनको टुप्पोमा बिजुली जडान गरेर काम चलाइयो । तिनै संकेत चिन्ह हेर्दै पाइलटहरूले विमान अवतरण गराउँथे । आँखा झिमिक्क नगरी अवतरण गर्नुपथ्र्यो । ती संकेत बत्तीहरू नबलेको अवस्थामा आकाशमै घुमिरहनुको विकल्प थिएन । र, एकदमै खर्चिलो बनेको थियो अवतरण ।

अन्ततः सरकारले ३० किलोमिटर पश्चिमतर्फ 'चेक लाप कोक' विमानस्थल निर्माण गर्ने निर्णय लियो । र, सन् १९९८ देखि 'काई टाक' विमानस्थल सधैंका लागि बन्द भयो । 

पोखराका लेखक भण्डारीका अनुसार हङकङले शहरबाट टाढा विमानस्थल बनाएको छ, न्युजिल्यान्डमा बस्तीभन्दा धेरै टाढा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको छ। काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल नजिकका बस्तीभन्दा उचाइमा छ । पोखराको निर्माणाधीन विमानस्थल भने बस्तीभन्दा होचो ठाउँमा पर्छ । 

दुबईको विमानस्थलबाट पनि समुद्रपट्टिबाट मात्र उडान र अवतरण हुन्छ । पोखरा महानगरको मध्यभागमा विमानस्थल बनाइँदा ध्वनी र वायु प्रदुषण चर्को हुने र त्यसको असर नजिकका हिमालसम्म पर्ने भण्डारी बताउँछन् । 

निष्कर्ष निकाल्न सकिन्छ, निर्माणको चरणमै प्रवेश गरिसकेको पोखरा क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थलमा जोडिएको स्थानीय बासिन्दाको 'सेन्टिमेन्ट'लाई पनि नजरअन्दाज गर्न सकिँदैन । तर, अहिले नै त्यसका लागि सुरक्षाका मानकहरू तयार नपारिए सम्भावित जोखिम न्यूनीकरण हुन नसक्ने भने निश्चित छ । 
 
प्रतिक्रिया दिनुहोस्