बुधबार, कात्तिक २७, २०७६

समाचार

प्रदेश-२ मा १० महिनामा ३२८ को ज्यान गयो

प्रदेश-२ का नौ जिल्लामा पछिल्ला १० महिनामा भएका सवारी दुर्घटनामा परी तीन सय २८ जनाको ज्यान गएको छ ।  बारा पथलैयास्थित क्षेत्रीय ट्राफिक प्रहरीका अनुसार ...

प्रदेश-२ मा १० महिनामा ३२८ को ज्यान गयो
जनकपुरधाम- प्रदेश-२ का नौ जिल्लामा पछिल्ला १० महिनामा भएका सवारी दुर्घटनामा परी तीन सय २८ जनाको ज्यान गएको छ । 

बारा पथलैयास्थित क्षेत्रीय ट्राफिक प्रहरीका अनुसार त्यस अवधिमा नौ सय ४३ वटा सवारी दुर्घटनामा परेका थिए । त्यसमा परी १५ सय २० जना घाइते भएका छन् । 

प्रदेश-२ मा हरेक वर्ष सडक दुर्घटनामा परी दुई सयभन्दा बढीको ज्यान जाने गरेको छ । तीन महिनाको तथ्यांक केलाउँदा पनि दुर्घटनाको दर बढ्दो क्रममा रहेको देख्न सकिन्छ । 

गत आर्थिक वर्ष ०७३/७४ मा भएका दुर्घटनाहरूमा परी दुई सय ५८ जनाको मृत्यु भएको थियो भने ६ सय पाँच जना घाइते भएका थिए । आव ०७२/७३ मा दुई सय सात जनाको मृत्यु र आठ सय ३१ घाइते भएका थिए ।

 क्षेत्रीय ट्राफिककी एसपी किरण बज्राचार्यका अनुसार प्रदेश-२ मा सबैभन्दा बढी दुर्घटना हुने जिल्ला सप्तरी हो । त्यसपछि सिरहा र धनुषामा यो दर बढी छ । 

पछिल्ला १० महिनामा सप्तरीमा दुई सय ८२, सिरहामा दुई सय १३ र धनुषामा एक सय ५० वटा दुर्घटना भएको छ । मोटरसाइकल पाँच सय ९२, कार, जिप एक सय ७९, ट्रक एक सय ३५ र बस एक सय नौ वटा दुर्घटनामा परेका छन् । 

अधिकांश दुर्घटनाको कारण चालकको लापरवाही, मादकपदार्थ सेवन र तीव्र गति देखिएको एसपी बज्राचार्यले जानकारी दिइन् ।

 
प्रतिक्रिया दिनुहोस्