सोमबार, मंसिर २३, २०७६

समाचार

महोत्तरीमा लाखौंको लुटपाट, प्रहरी निरीह

महोत्तरीमा डाका समूहले गोली प्रहार गरी लाखौं मूल्य बराबरको धनमाल लुटपाट गरेको छ । महोत्तरीको भंगहा नगरपालिका-६ जमुनियामा गएराति करिब १२ बजे डाका समूहले गोली प्रहार गरी लुटपाट गरेको हो । डाँकाहरुको समूहले घेरा हाली स्थानीय अर्जुन भुजेलको एक घरमा २० मिनेटसम्म लुटपाट गरेको थियो ।

महोत्तरीमा लाखौंको लुटपाट, प्रहरी निरीह
महोत्तरी-महोत्तरीमा डाका समूहले गोली प्रहार गरी लाखौं मूल्य बराबरको धनमाल लुटपाट गरेको छ । महोत्तरीको भंगहा नगरपालिका-६ जमुनियामा गएराति करिब १२ बजे डाका समूहले गोली प्रहार गरी लुटपाट गरेको हो ।

डाँकाहरुको समूहले घेरा हाली स्थानीय अर्जुन भुजेलको एक घरमा २० मिनेटसम्म लुटपाट गरेको थियो ।

एक दर्जनको संख्यामा आएका अज्ञात हतियारधारी समूहले प्रहार गरेको गोलीको छर्रा लागेर अर्जुन भुजेल, उनकी श्रीमती ४२ वर्षीया अन्जु भुजेल, छोराहरु २५ वर्षीय अमित र १८ वर्षीय दीपेन्द तथा आफन्त सुमन बुढाथोकी घाइते भएका छन् । घाइतेहरुको बर्दिवासमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

डाँका समूहले सुन, चाँदीका गरगहना तथा २० हजार नगदसहित करिब ८ लाख मूल्यबराबरको समान लुटेको पीडित परिवारको भनाइ छ । भुजेल परिवारको घरमा लुटपाट भइरहँदा नजिकैको सशस्त्र र नेपाल प्रहरीको टोलीसँग सहयोग माग्दा प्रहरी जान डराएको स्थानीयको भनाइ छ ।

यता महोत्तरीका प्रहरी प्रमुख एसपी इश्वर कार्कीले घटनासम्बन्धी जानकारी पाएको १०/१५ मिनेट भित्र प्रहरी टोली घटनास्थल पुगेर उद्धारमा जुटेको दाबी गरे।
 
प्रहरी चौकी घटनास्थलभन्दा ५/६ किलोमिटरको दुरीमा रहेपनि जानकारी पाउनसाथ प्रहरी टोली तत्काल पुगेको नेपाल समयसँग कुराकानी गर्दै कार्कीले बताए।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको एसपी कार्कीले जनाएका छन् । घटनास्थलबाट सुतली बम र तीन थान गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस क्षेत्रमा यसअघि पनि लुटपाटका घटनाहरु हुँदै आएको स्थानीयको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्