मंगलबार, कात्तिक २६, २०७६

समाचार

सरकार र चिकित्सकबीच आज वार्ता हुने : ओपीडी सेवा खुल्यो

आन्दोलनरत चिकित्सक र सरकारबीच आज वार्ता हुने भएको छ  । बिहान साढे ११ बजे स्वास्थ्य मन्त्रालयमा दुईपक्षबीच वार्ता हुन लागोको हो । स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले ...

सरकार र चिकित्सकबीच आज वार्ता हुने : ओपीडी सेवा खुल्यो
काठमाडौं- आन्दोलनरत चिकित्सक र सरकारबीच आज वार्ता हुने भएको छ  । बिहान साढे ११ बजे स्वास्थ्य मन्त्रालयमा दुईपक्षबीच वार्ता हुन लागोको हो । 

स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले आइतबार बेलुका चिकित्सकहरुलाई वार्तामा आउन आह्वान गरेका थिए । उनकै आह्वानमा आज वार्ता हुन लागेको हो । वार्तामा नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर मुक्ती श्रेष्ठ, महासचिव डाक्टर लोचन कार्कीसहितका पदाधिकारी सहभागि हुने भएका छन् । 

मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरुले आइतबारदेखि आन्दोलन चर्काएका छन् । उनीहरुले सरकारले संसोधनको आश्वासन दिए पनि प्रक्रिया अघि नबढाएको भन्दै देशभरका अस्पतालहरुको ओपीडि सेवा समेत ठप्प पारेर सडकमा उत्रिएका छन् ।

मुलुकी अपराध संहितामा बिरामी हेर्दा डाक्टरलाई अपराधी बनाउने व्यबस्था रहेको भन्दै उनीहरुले चर्को विरोध गरिरहेका छन् । 

विरोधस्वरुप आइतबार देशभरका अस्पतालहरुको ओपीडि सेवा बन्द गरेका डाक्टरहरुले सोमबारबाट भने ओपीडि सेवा खोलेका छन् । उनीहरुले सोमबार बिरामी जाच्ने काम सुरु गरेका छन् ।

चिकित्सक संघका महासचिव कार्कीले नेपाल समयसंग भने- 'हामी बिहानैदेखि बिरामी हेरिरहेका छौ, ओपीडि बन्द छ भन्ने भ्रममा कोही पनि नपर्नु होला । आज अस्पताल खुल्ला छ ।' उनले प्रशासनिक काम भने ठप्प पारेका जानकारी दिए । 

सरकारले आफूहरुको माग सम्बोधन नगरे मंगलबार इमरजेन्सी बाहेकमा भर्ना रोक्ने, बुधबार इमरजेन्सी बाहेकका बिरामी नहेर्ने र बिहीबार एक्सरे, भिडियो एक्सरेलगायतका सेवा समेत बन्द गर्ने चिकित्सकहरुको तयारी छ । 
प्रतिक्रिया दिनुहोस्