मंगलबार, कात्तिक २६, २०७६

समाचार

गृहमन्त्रीको प्रतिरक्षा गर्दै पूर्वलडाकुले भने-‘डलरवादी’लाई कारवाही गर्छौं

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उनको सचिवालयको स्वेच्छाचारी कार्यशैलीप्रति आलोचना भइरहेका बेला माओवादीका पूर्वलडाकुहरू प्रतिरक्षामा उत्रेका छन् । गृहमन्त्रीको आलोचनाविरुद्ध प्रतिकार गर्ने चेतावनी उनीहरूले दिएका छन् । माओवादीकै पूर्वअयोग्य लडाकु लेनिन बिष्टलाई थाइल्यान्ड जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएपछि गृहमन्त्रीको सर्वाधिक आलोचना भइरहेको छ । बिष्टकै पूर्वसहकर्मीहरूको एक टोलीले भने आफूहरूको आग्रहमा उनलाई फर्काइएको दाबी गरेको छ ।

गृहमन्त्रीको प्रतिरक्षा गर्दै पूर्वलडाकुले भने-‘डलरवादी’लाई कारवाही गर्छौं
काठमाडौं- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उनको सचिवालयको स्वेच्छाचारी कार्यशैलीप्रति आलोचना भइरहेका बेला माओवादीका पूर्वलडाकुहरू प्रतिरक्षामा उत्रेका छन् ।

गृहमन्त्रीको आलोचनाविरुद्ध प्रतिकार गर्ने चेतावनी उनीहरूले दिएका छन् । माओवादीकै पूर्वअयोग्य लडाकु लेनिन बिष्टलाई थाइल्यान्ड जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएपछि गृहमन्त्रीको सर्वाधिक आलोचना भइरहेको छ । बिष्टकै पूर्वसहकर्मीहरूको एक टोलीले भने आफूहरूको आग्रहमा उनलाई फर्काइएको दाबी गरेको छ ।

‘बहिर्गमित जनमुक्ति सेना नेपाल’ले आइतबार पत्रकार सम्मेलनमार्फत् बिष्टलाई आफ्नो आग्रहमा विमानस्थलबाट फर्काइएको बताएको हो ।

उमेरलगायत कारण जनाउँदै तत्कालीन माओवादी लडाकुका शिविरबाट बाहिर निकालिएका पूर्वछापामारहरूको एउटा समूहको नेतृत्व बिष्टले गर्दै आएका छन् । आफूहरूलाई बाल सैनिकका रूपमा माओवादीले प्रयोग गरेको बताउँदै उनी नेतृत्वको समूहले तत्कालीन माओवादी नेताहरूको आलोचना गर्दै आएको छ ।

बिष्ट थाइल्यान्डमा आयोजित द्वन्द्व क्षेत्रका युवाको पाँचदिने कार्यशाला गोष्ठीमा भाग लिन जाँदै गर्दा ८ भदौमा विमानस्थलबाट फर्काइएका थिए । बिष्टले कार्यक्रममा वृत्तचित्र प्रदर्शन गर्ने थाहा पाएपछि गृह मन्त्रालयले विमानस्थलबाटै फिर्ता गरेको स्रोतको दाबी छ ।

पछिल्लो समय गृहमन्त्री बादल आलोचनाको केन्द्रमा छन् । २७ असारमा वीर अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर भोजराज अधिकारीलाई मेडिकल सिद्धान्तविपरित सशस्त्र द्वन्द्वका क्रममा अपांगता भएको सिफारिस गर्न दबाब दिने उद्देश्यले गृहमन्त्रीको सचिवालयले मन्त्रालय पुर्‍याएर केरकार गरेको थियो । यस्तै, नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता खड्ग विश्वकर्मा ‘प्रकाण्ड’लाई पक्राउ गरिएको प्रकरणमा पनि गृहमन्त्री आलोचनाको केन्द्रमा छन् । 

साढे ३३ किलो सुन तस्करी प्रकरण छानविनमा पनि प्रगति शून्य भएको बताउँदै मन्त्री बादलको आलोचना हुने गरेको छ । आफू मातहतका निकायलाई कमजोर बनाएर मन्त्री बादल नै हाबी हुने गरेको आरोप पनि लाग्दै आएको छ । निरन्तरको आलोचनाबाट बच्न मन्त्री बादलले पूर्वलडाकुहरूको सहारा लिएको दाबी पनि स्रोतको छ ।

पुनः हतियार उठाउने चेतावनी

आइतबारको पत्रकार सम्मेलनमा पूर्वछापामारहरूले पुनः हतियार उठाउने चेतावनी पनि दिए । ‘लेनिन बिष्टजस्ता पात्र खडा गरी नेतृत्वको आलोचना गर्ने तथा घटनालाई अन्यत्र मोड्न खोजिएको’ बताउँदै बहिर्गमित जनमुक्ति सेना नेपालले त्यसको प्रतिकार गर्न हतियार उठाउने चेतावनी दिएको हो ।

‘केही डलरवादी विद्वान र अधिकारकर्मीले बिष्टलाई अगाडि सारेर तत्कालीन माओवादी आन्दोलन, पूर्वछापामार र नेतृत्वलाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने तथा संगठन बदनाम गराउने काम गरिरहेका छन्,’ पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष अशिम लिम्बुले भने, ‘त्यस्तालाई हामी कारवाही गर्नेछौं ।’
प्रतिक्रिया दिनुहोस्