बुधबार, कात्तिक २७, २०७६

समाचार

संसदमा वामदेव भित्र्याउने कि सुरासुन्दरी काण्ड ?

अहिले नेकपामा वामदेव गौतमलाई सांसद बनाउने कुराले ठूलो बहसको रूप लिएको छ। यसको पक्ष-विपक्षमा पार्टीभित्र जनमत तयार हुदैछ।  पार्टीका अधिकांश नेता/कार्यकर्ता यसको पक्षमा छैनन्। पार्टीका शीर्ष नेताहरूको भित्री मनसायसमेत त्यसमा देखिँदैन। शीर्ष नेताहरू आफूनिकट कार्यकर्तासँग आफूहरूको इच्छा त्यस्तो नभए पनि पार्टीको भावी महाधिवेशनलाई ख्याल गरेर गौतमको इच्छा पूरा गरिदिनुको विकल्प नभएको बताउन थालेका छन्।

संसदमा वामदेव भित्र्याउने कि सुरासुन्दरी काण्ड ?
काठमाडौं-अहिले नेकपामा वामदेव गौतमलाई सांसद बनाउने कुराले ठूलो बहसको रूप लिएको छ। यसको पक्ष-विपक्षमा पार्टीभित्र जनमत तयार हुदैछ। 

पार्टीका अधिकांश नेता/कार्यकर्ता यसको पक्षमा छैनन्। पार्टीका शीर्ष नेताहरूको भित्री मनसायसमेत त्यसमा देखिँदैन। शीर्ष नेताहरू आफूनिकट कार्यकर्तासँग आफूहरूको इच्छा त्यस्तो नभए पनि पार्टीको भावी महाधिवेशनलाई ख्याल गरेर गौतमको इच्छा पूरा गरिदिनुको विकल्प नभएको बताउन थालेका छन्।

बर्दियाबाट गौतम पहिलोपल्ट हारेका होइनन्। ०७० सालको माओवादी र एमालेको मत गन्दा कांग्रेसभन्दा २९ हजारले नेकपाको मत अगाडि देखिन्छ । तर, गौतमले हारे।

पार्टीको आठौं महाधिवेशनमा केपी ओली र झलनाथ खनाल एमालेको अध्यक्षमा उठेका थिए। गौतमले खनाललाई पक्षमा लागेर जिताए। नवौं महाधिवेशनमा माधव नेपाल र केपी ओलीबीच चुनाव हुँदा ओलीको पक्षमा लागेर उनलाई पनि जिताए। यी सबै घटनाले के पुष्टि गर्छन् भने गौतम आफैं जित्न सक्ने नेता होइनन्। तर, हराउन उनको जुक्तिले काम गर्छ।

गौतमले सचिवालयको बैठकमा भन्ने गरेका छन्, ‘अब म चुनाव लडेर संसदमा आउनु पर्छ।’ सुन्ने नेताहरूलाई यो कुरा मन परेको हुँदैन। भित्रभित्रै मुर्मुरिन्छन् । 

तर, हिन्दी फिल्मको फिरौतीजस्तो दुनियाँ उनीहरूसँग छ, महाधिवेशन। महाधिवेशनमा गौतमलाई साथ लिएर पार्टीको सत्ता कब्जा गर्नुछ। त्यसकारण उनीहरू ‘ल ल तयार छौं’ भनेर गौतमको प्रस्तावप्रति मुस्कुराइदिन्छन्। त्यसपछि गौतम उत्साहित भएर उफ्रिन्छन्।

सत्तामा पुग्ने भर्‍याङ तयार पार्न गौतम जुनसुकै गुट पनि परिवर्तन गर्छन्।  ओलीलाई अध्यक्ष बनाउन उनले आन्तरिक समझदारी कायम गरेका थिए। ओलीले त्यसलाई पूरा गरेनन्। त्यसपछि गौतमको हिमचिम नेपाल समूहतर्फ बढेको थियो। त्यसका लागि उनको नेपाल समूहसँग चरणबद्ध छलफल भएको थियो।

जब दुई पार्टी एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्यो, नेपाल-गौतम साउती पनि हावामा उड्यो । कुन गुट कसको भन्ने अहिले यकिन छैन। पार्टी नै एकीकरण नभइसकेपछि गुट कसरी देखिन्थ्यो र!

अहिले गौतमलाई किन सांसद बनाउने भन्नेमा चाहीं देशभरि प्रश्न उठेको छ। नेताहरूको स्वार्थमा यो कुरा होला तर नेपालको राजनीतिमा यो अर्को सुरा सुन्दरी काण्ड नहोला भन्न सकिन्न। इतिहासमा नेतृत्वले गर्ने एउटा महाभुल दर्ता भएर रहनेछ। यदि गौतमलाई अहिले सिट खाली गराएर चुनाव लडाइयो भने ओली, नेपाल र प्रचण्डको निधारमा नमेटिने कालो धब्बा लाग्ने निश्चित छ।

यदि उनलाई संसदमै ल्याउने हो भने राष्ट्रियसभामा मनोनितलाई राजिनामा गराउन सकिन्थ्यो। त्यो सुरक्षित र कतै पनि जवाफ दिनुनपर्ने विषय बन्थ्यो। तर, त्यसो गर्न गौतमले अस्वीकार गरेका छन्। उनले अस्वीकार गर्नुको पछाडि पनि नेपालको संविधान नै कारक छ। संविधानले राष्ट्रियसभाको सदस्यलाई प्रधानमन्त्री हुन दिँदैन। उनको सपनाभित्र प्रधानमन्त्री पद लुकेको छ। त्यसैकारण उनी सांसद हुन चाहन्छन्।

नेकपामा प्रधानमन्त्रीका लागि ओलीलाई छाडेर अरू दुई नेता प्रतिनिधिसभाका सदस्य छन्। प्रधानमन्त्रीको खडेरी पनि परेको छैन। पार्टी एकीकरण हुँदा ओली र प्रचण्डबीच सरकारको नेतृत्व आधा-आधा समय गर्ने लिखित सहमति छ । यस्तो अवस्थामा गौतमलाई संसदमा ल्याएर किन कवाफमा हड्डी बनाउन बाध्य छन्, उनीहरू?

 
गौतमले अब डोल्पामा सिट खाली गराएर चुनाव लड्दा यसको अनेक  नकारात्मक सन्देश जाने निश्चित छ।


पार्टीका शीर्ष नेताहरू गौतमलाई ‘युज एन्ड थ्रो’ गर्न चाहन्छन्। यस्तो अवस्थामा गौतमको दाबीलाई ठाडै अस्वीकार गर्दैनन्, उनीहरू। तर, यो निर्णयले पार्टीमा अनेक प्रश्न उठ्ने निश्चित छ। नेकपाको सचिवालयमा सांसद नभएका एक मात्र नेता छन्, नारायणकाजी श्रेष्ठ। उनलाई किन सांसद नबनाउने? अनि, यो रोग फेरि स्थायी समितिमा सल्केला। स्थायी समितिमा सांसद नभएकालाई सांसद बनाउन कति सिटबाट राजिनामा गराउनुपर्ने हो? यस्ता प्रश्नले पार्टीभित्र ठूलो भूकम्प जाने निश्चित छ।

फेरि नेपाली राजनीतिमा ठूलो योगदान गरेको गौतमको त्यस्तो राम्रो रेकर्डसमेत छैन। पार्टीभित्रको निष्ठाको राजनीतिमा गौतमको राम्रो अंक छैन। जुन बेला माधव नेपाल नेतृत्वको सरकारविरुद्ध माओवादी सडकमा थियो, त्यसबेला गौतमसहित ५६ जनाले नेपालको राजिनामा माग्दै आन्दोलनकारीलाई खुशी पारेका थिए। 

२०५४ सालमा पार्टी फुटाएर उनले माले गठन गरेको हिसाबकिताब पनि पार्टीभित्र सम्झिइने विषय हो। अनि, लोकेन्द्रबहादुर चन्दको सरकार टिकाउन उनले गरेको सुरा सुन्दरी काण्ड पनि नेपाली राजनीतिमा नभुल्ने विषय हो। ललितपुरको समिट होटेलमा सरकार बचाउन थुनिएका सांसदहरूलाई चाहिने सबै चिज उपलब्ध गराउने शीर्षकमा सुन्दरीसमेत गाडीमा ओसारेर सांसदहरूलाई सेवा पुर्‍याएको हिसाबकिताब गौतमको खातामा चढेको छ।

गौतमले अब डोल्पामा सिट खाली गराएर चुनाव लड्दा यसको अनेक  नकारात्मक सन्देश जाने निश्चित छ। डोल्पाका जनताले १० महिनाको बीचमा फेरि किन मतदान गर्नुपर्ने भन्ने प्रश्न उत्तर दिन नमिल्ने गरी उठ्नेछ। जनताले धनबहादुर बुढालाई भोट दिए। र, बुढाले जसलाई भन्यो, उसैलाई भोट दिन जनता तयार होलान्? के डोल्पाका जनता भेडाबाख्रा हुन् अनि धनबहादुर बुढाचाहीं तिनको गोठालो?

२०७० सालको चुनावमा कृष्णगोपाल श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर २ बाट उपचुनाव लडे। माधवकुमार नेपालले नौ हजार मतान्तरले जितेको यस क्षेत्रमा श्रेष्ठले ६ हजार मतान्तरले उपचुनाव हारे। तर, नेपालले ०७४ सालको प्रतिनिधिसभा चुनावमा पहिलेजस्तै गरी जिते। त्यसकारण यही उदाहरण काफी छ, मलाई भोट देऊ भन्नु र मैले भनेको उम्मेदवारलाई जिताऊ भन्नुमा कति अन्तर पर्दो रहेछ भन्ने।
प्रतिक्रिया दिनुहोस्