बुधबार, कात्तिक २७, २०७६

समाचार

इराक घटना: ‘कसरी बिर्सनु बज्रपात परेको त्यो कालो दिन’

हरेक वर्षको १६ भदौ नजिकिँदै गर्दा धनुषास्थित क्षिरेश्वर नगरपालिका महेन्द्रनगरका रामनारायण ठाकुर झस्किँदै भक्कानिने गर्छन्। १४ वर्षअघि १६ भदौ ०६० मा इराकमा १२ जना नेपाली युवाको हत्या भएको खबर आगोझैं फैलियो । 

इराक घटना: ‘कसरी बिर्सनु बज्रपात परेको त्यो कालो दिन’

जनकपुरधाम- हरेक वर्षको १६ भदौ नजिकिँदै गर्दा धनुषास्थित क्षिरेश्वर नगरपालिका महेन्द्रनगरका रामनारायण ठाकुर झस्किँदै भक्कानिने गर्छन्। १४ वर्षअघि १६ भदौ ०६० मा इराकमा १२ जना नेपाली युवाको हत्या भएको खबर आगोझैं फैलियो । 


उनका २१ वर्षीय छोरा मनोज पनि परेका थिए, त्यस घटनामा। लाउँला र खाउँला भन्ने उमेरका छोराको हत्याका कारण उनको अन्तर-आत्मा अझै बेचैन छ। आयआर्जनका लागि वैदेशिक रोजगारीमा गएको आफ्नो जवान छोराको हत्या भएको घटनालाई अझै बिर्सन सकेका छैनन्, रामनारायणले।

‘धेरैलाई लाग्दो होला १४ वर्ष बितिसक्यो हामीले बिर्सियौं होला भन्ने,’ उनी भन्छन्, ‘तर, कसरी बिर्सनु त्यो दिन।’ छोरालाई बन्धक बनाएर हत्या गरिएको दिन उनको परिवारमा बज्रपात भएको थियो ।

शुरुमा अपहरण गरिएका १२ नेपाली युवामा मनोज पनि परेको खबर रामनारायणलाई एक छिमेकीले सुनाएका थिए । ‘त्यतिबेला टेलिभिजन पनि धेरै थिएनन्, हामी छिमेकीको घरमा आक्कल झुक्कल समाचार हेर्न पुग्थ्यौं,’ रामनारायणले छिमेकतिर औंल्याउँदै भने, ‘ऊ त्यही घरको मानिस रुँदै आएर हामीलाई भनेका थिए, मनोज त अपहरणमा पर्‍यो । र, अपहरणकारीहरूले ज्यान मार्ने धम्की दिएका छन् ।’

शुरुमा उनीहरूलाई पत्यार लागेन। र, आफैं छिमेकीको घर पुगेर टेलिभजनमा छोरालाई बन्धक बनाइएको देखेपछि रुवावासी शुरु भयो। छोरालाई बन्धक बनाइएको खबर १२ भदौमा थाहा पाएका थिए। र, अपहरणमा पर्नेहरूमा महेन्द्रनगरकै मनोजका साथीहरू ललन सिंह र बुधनकुमार साह पनि थिए। धनुषाकै मानसिंहपट्टीका सञ्जय ठाकुरलाई पनि बन्धक बनाइएको थियो ।



अपहरणमा परेका परिवारका सदस्यहरू तत्काल काठमाडौंतर्फ लागेको रामनारायणलाई अझै सम्झना छ। उनी भन्छन्, ‘मनोजको दाइ विजयसहित ४-५ जना काठमाडौं पुगे। उनीहरूले उद्धारका लागि सम्बन्धित निकायमा सक्दो प्रयास गरे। तर, केही जोर चलेन।’
 

कुपण्डोलको मुनलाइट म्यानपावरबाट विदेशिएका १२ नेपाली युवालाई जोर्डन भनेर झुक्याएर इराक पुर्‍याइएको थियो। र, ‘आर्मी अफ अन्सर अल सुन्न’ नामक आतंककारी समूहले केही दिन बन्धक बनाएर हत्या गरेको थियो।


‘उनीहरू काठमाडौंमा छँदा सबैको हत्या गरिएको भिडियो टेलिभिजनबाट सार्वजनिक भयो,’ आँखाबाट आँशु झार्दै रामनारायणले भने। उनीहरूको उद्धारका लागि सरकारका तर्फबाट आवश्यक पहल नभएको उनको गुनासो छ। बिहे भएको एक वर्षपछि मनोजले विदेश जाने जिद्दी कसेका थिए। छोराको जिद्दीसामु निरीह बनेका रामनारायणले साढे तीन लाख ऋण काढेर मनोजलाई विदेश पठाएका थिए।

यस्तै पीडा छ, ललनका ६० वर्षीय बाबु विन्देश्वर सिंहको पनि। आफ्नै गाउँठाउँमा बसेर छोरो रोजगारी गरोस् भन्ने विन्देश्वरको इच्छा थिय। तर, एकपटक एसएलसी फेल भएका छोरा ललनले विदेश पुगेर धेरै पैसा कमाउने जिद्दी कसे। स्थानीय एजेन्ट र साथीहरूको लहैलहैमा लागेर ललनलाई विदेश जाने रहल पलाएको विन्देश्वर बताउँछन्। भन्छन्, ‘हामीले त नेपालमै बसेर काम गर्न हातखुट्टा जोडेका थियौं। तर, उसले मानेन।’ विदेश उडेको करिब २७ दिनपछि उनको हत्या भएको थियो । 

जोर्डनको एक होटेलमा कुकको काम गर्ने भिसा उनीहरूले पाएका थिए। तर, म्यानपावर र स्थानीय एजेन्टको बदमाशीले उनीहरूलाई गैरकानूनी तरिकाबाट इराक लगियो। र, उनीहरू अपहरणमा परे। उनीहरूलाई इराक नलगिएको भए त्यस्तो घटना शायदै हुन्थ्यो। 

देवर गुमाएकी ललनकी भाउजू अमृताको अलग्गै पीडा छ। देवरको विदेशमा हत्या गरिए पनि घर बनाएको बताउँदै छिमेकीहरूले गिज्याउने गरेको पीडा अमृताले पोखिन्। उनले भनिन्, ‘हामीले आफैं मिहिनेत र व्यवसायबाट आर्जन गरेको पैसाले घर बनाएका छौं। तर, छिमेकीहरूले ललनको हत्यापछि पाएको राहत रकमबाट घर बनाएको भन्दै मजाक उडाउने गरेका छन्।’

बुधनका दाइ सत्यनारायणलाई अपहरणकारीले हत्या नै गर्लान् भन्ने कल्पनासमेत गरेका थिएनन् । सयकडा तीन रुपैयाँका दरले ऋण काढेर बुधनलाई विदेश पठाएको थियो, परिवारले। ‘स्थानीय एजेन्टले मासिक साढे सात सय अमेरिकी डलर तलब पाउने भनेको थियो । र, त्यही प्रलोभनमा परी सिनेमा हलमा पाएको जागिर छाडेर ऊ विदेश गयो,’ सत्यनारायणले भने।



आफूहरूको पीडा बुझेर वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङले इराक पुर्‍याउने अमेरिकी कम्पनीविरुद्ध मुद्दा लड्न मद्दत गरेको सत्यनारायण बताउँछन्। उनी भन्छन्, ‘गुरुङ सरले हामीलाई धेरै सहयोग गर्नुभयो । हामीलाई अमेरिका लगेर मुद्दा गर्न लगाउनुभयो । र, त्यो कम्पनी अमेरिकाको उपराष्ट्रपतिको थियो।’

डा. गुरुङ राष्ट्रिय योजना आयोगका पूर्वसदस्य पनि हुन्। १२ जनाको रोजगारदाता केबीआर कम्पनी तत्कालीन अमेरिकी उपराष्ट्रपति डिक चेनीको थियो। विपक्षी वकिलको सुझबुझले मुद्दाको फैसला पीडितको पक्षमा आयो। र, न्याय पाए पीडितले । हरेक परिवारले एक करोड रुपैयाँभन्दा बढी पाउने भए। धनुषाका बुधन र धनकुटाका मंगल लिम्बुको परिवारले भने केही पाएनन्। किनभने, उनीहरूको विवाह भएको थिएन र आमाबाबुको पनि मृत्यु भइसकेको थियो। अमेरिकी कानूनले दाजुभाइलाई चिन्दैनथ्यो। तथापि, मनोज र ललनको परिवारले नेपाल सरकारले उपलब्ध गराएको १० लाख रुपैयाँबाहेक अन्य कुनै सहयोग पाएनन्।

वैदेशिक रोजगारको इतिहासमा १६ भदौलाई कालो दिनका रूपमा सम्झिने गरिन्छ। १२ नेपालीको नृशंस हत्या गरिएको घटनाले सारा विश्व नै स्तब्ध भएको थियो। अपहरणपछि हत्या गरिएको दृश्य तथा भिडियो अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आउन थाले, सयौं म्यानपावर कार्यालयमा तोडफोड भए, हजारौं राहदानी जलाइ ।

कुपण्डोलस्थित मुनलाइट म्यानपावरबाट विदेशिएका १२ जना नेपालीले जोर्डनको होटलमा काम पाएका थिए। तर, उनीहरूलाई झुक्याएर इराक पुर्‍याइएको थियो । उनीहरूलाई ‘आर्मी अफ अन्सर अल सुन्न’ नामक आतंककारी समूहले केही दिन बन्धक बनाएपछि हत्या गरेको थियो। 

यो पनि पढ्नुस्, 
मंगललार्इ सम्झँदा अझै विदेश जान डराउँछन परिवारका सदस्य
 
प्रतिक्रिया दिनुहोस्