शुक्रबार, कात्तिक २९, २०७६

समाचार

विराटनगरबाट अन्तर्राष्ट्रिय उडानको योजनाले व्यवसायी उत्साहित

केन्द्र सरकारको बजेटमा विराटनगरबाट अन्तर्राष्ट्रिय उडान हुने विषय समेटिएकामा पूर्व क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । 

विराटनगरबाट अन्तर्राष्ट्रिय उडानको योजनाले  व्यवसायी उत्साहित
इटहरी- केन्द्र सरकारको बजेटमा विराटनगरबाट अन्तर्राष्ट्रिय उडान हुने विषय समेटिएकामा पूर्व क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । 

अर्थमन्त्री युवराज खतिवडाले उक्त विमानस्थललाई क्षेत्रीय स्तरको बनाइने उल्लेख गरेका छन् । हवाई क्षेत्रमा १९ अर्ब ३५ रुपैयाँ छुट्याएको सरकारले विराटनगरबाट छिमेकी मुलुकसँग उडान गर्ने उल्लेख गरेको छ । 

उक्त विषय स्वागतयोग्य भएको उद्योग वाणिज्य संघ प्रदेश–१ समितिका उपाध्यक्ष तथा प्रदेश सांसद लिलम बस्नेतले बताए । विराटनगरबाट भारत, भुटान र बंगलादेशसम्म उडान हुन सके धेरै फाइदा हुने उनको भनाइ छ । 

पर्यटनमा फड्को मार्न त्यसले सहयोग पुर्‍याउने इटहरीको होटेल प्रिमियर स्कुलका सीईओ सुनिल भुसालले बताए । कोलकाता, पटना, थिम्पू र ढाकासम्म यहाँबाट उडान हुन सके पर्यटकीय चहलपहल बढ्ने उनको भनाइ छ । 

धरानको सेछ ट्राभलिङका सञ्चालक वासुदेव बरालले विराटनगरबाट माउन्टेन फ्लाइट सञ्चालन गर्न पनि अन्तर्राष्ट्रिय उडान आवश्यक भएको बताए । 

‘विहार, पश्चिम बंगाल, भुटान र बंगलादेश नजिक भएर पनि पूर्वको हवाई सम्पर्कमा छैनन्’ उनले भने, ‘विराटनगरबाटै सगरमाथा, मकालु, कञ्चनजंघा आसपाससम्म माउन्टेन फ्लाइटको व्यापार र बजार व्यापक बढेर जान्छ ।’

६ असार ०२५ मा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले उद्घाटन गरेको विराटनगर विमानस्थलबाट त्यतिबेला विहारको पटनासम्म उडान हुने गर्थ्यो । निजी विमान सेवा कम्पनी नेकोन एयरले बहुदल आएपछि पनि विराटनगर–पटना उडान गरेको थियो । 

यहाँबाट अहिले पहाडी गन्तव्यमा १८ सिटे तथा काठमाडौंसम्म ७२ सिटे जहाजले उडान गर्दै आएका छन् । अहिलेकै संरचनामा पनि सय सिटे जहाजबाट उडान गर्न सकिने प्रशस्त सम्भावना छ । 
 
प्रतिक्रिया दिनुहोस्