मंगलबार, कात्तिक २६, २०७६

संवाद

'संविधान फेरेर कम्युनिजम ल्याउने डिजाइन'

हिजो कहाँ गएको थिइस् हुस्सु भनेर प्रजातन्त्र सक्किइसकेपछि हामीले रुँदा वा कराउँदा केही हुनेवाला छैन। दुई पार्टी मिलेर बहुमत ल्याएका छन् । 'कम्युनिजम' ल्याउँछौं र संविधान परिवर्तन गर्छाैंं भनेका छन्। अहिलेको काम हेर्दा उहाँहरू नयाँ वर्ग जन्माउने बाटोतर्फ जान खोजेको देखिन्छ ।

'संविधान फेरेर कम्युनिजम ल्याउने डिजाइन'
राजनीतिमा रामचन्द्र पौडेलको आफ्नै पहिचान र छवि छ । प्रजातान्त्रिक आन्दोलनमा पाँच दशकदेखि निरन्तर क्रियाशील रहँदै आएका पौडेल राष्ट्रिय राजनीतिकै एउटा शालिन पात्र हुन् । समाजवादी सोच र सरल स्वभावका पौडेल राजनीतिको 'रकमी खेल' मा त्यति सफल हुन नसके पनि अडान र आदर्शको राजनीतिमा सधैं स्थापित र सम्मानित छन् । चुनावी अंकगणितमा पटक-पटक हार भोगेका पौडेलले आम कार्यकर्ताको भरोसा र भावना भने निरन्तर जित्दै आएका छन् । उनका समकालीन शेरबहादुर देउवा पटक-पटक प्रधानमन्त्री भएर पार्टी सभापति भइसके पनि पौडेलले अझै त्यो अवसर पाएका छैनन् । अर्थात्, त्यो खेलमा उनलाई पछाडि पारिएको छ ।

कांग्रेसको दार्शनिक पक्ष र नीतिगत मामिलाका प्रखर व्याख्यातासमेत रहेका पौडेल राजनीति प्रदुषित हुँदै गएकाका निकै चिन्तित छन्। पौडेलकै शब्दमा विवेक र विचारको राजनीति ओझेलमा पर्दै गएको छ भने शक्ति र पैसाको राजनीति हाबी भएको छ। त्यसको शिकार कांग्रेस पनि भएको छ।

कांग्रेसलाई पुनर्संरचना र पुनर्जागृत गरेर पुरानै हैसियतमा फर्काउने अभियानको अगुवाइ गर्न तयार वरिष्ठ नेता पौडेलसँग कांग्रेसको सुधार, सरकारको कार्यशैलीलगायत विषयमा नेपाल समयका लागि विष्णु सुवेदी र लीलाराज खनालले गरेको कुराकानी ।


मुलुकको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको पुनर्जीवनको डिस्कोर्स कसरी अगाडि बढ्छ ?

पार्टीको प्रस्तुतीकरण र आफ्ना कुरा अभिव्यक्त गर्ने तरिका उपयुक्त छैन। आफूले गरेका कुरालाई जनतासम्म पुर्‍याउन सजगता र सचेतता शुरुदेखि नै हामीमा नभएकै हो। गलत फहमीको शिकार भएको छ, पार्टी। गाउँमा जाने, गाउँको विकास गर्ने र जनताकै काम गरेर सन्देश दिन सकिन्छ। गाउँ-गाउँ गएर देश र जनतालाई बुझाउनुपर्छ । जनतालाई कांग्रेसको बोध गराउँदै जानुपर्छ भन्ने मेरो भनाइ थियो । तर, पार्टी नेतृत्वले वास्ता गरेन। कांग्रेसले गरेको काम जनतालाई बुझाउन सकेनौं । कांग्रेसले गरेको राम्रो कामको जस लिन सकेको छैन। 

कांग्रेसभित्र दृष्टिकोणमा पनि केही फरक आवाज आइरहेका छन्। यो प्रजातान्त्रिक पार्टी भएकाले अलग-अलग विचार राख्ने साथीहरू पनि छन्। एउटै विचारले चल्ने 'रेजिमेन्टेड' पार्टी यो होइन। कांग्रेसले विविधतामा विश्वास गरेको हो। नेतृत्वमा जाने साथीहरूले यसको प्रयोग फरक-फरक ढंगले गरेको पाइन्छ। 

मूलतः कांग्रेस प्रजातान्त्रिक समाजवादमा विश्वास गर्ने पार्टी हो। कांग्रेस संघर्षमै हुर्कियो र बढ्यो। यसले लोकतन्त्र मात्र भनेन, सामाजिक एकतालाई पनि प्रयोग गर्‍यो। त्यही नै कांग्रेसको भविष्यको मार्ग पनि हो ।



किन कांग्रेसले आफूलाई काठमाडौंमै अल्झायो, जनतालाई उत्प्रेरित गर्ने काम गरेन? 

कांग्रेस नेतामुखी हुँदै गएको छ। नेताले सही या गल्ती गरे पनि उनीहरूकै पक्षपोषण र वकालत गर्ने समूह र झुण्ड देखिएका छन्। पार्टी पनि त्यस्तैको चंगुलमा परेको छ। जसले गर्दा निष्पक्ष रूपमा विश्लेषण पनि हुन सकेन। पार्टीले तीन वटै तहका चुनाव हार्दै गर्दासमेत हारेको हो भनेर स्वीकार्न नसक्ने नेतृत्वको मानसिकता देखियो।

३३ प्रतिशत पुर्‍याएर झन् भोट बढायौं भनेर गुड्डी हाँक्ने हाम्रो पार्टीका नेताहरू, नेतृत्व र त्यस वरिपरिका व्यक्तिहरू छन्। खासमा भन्ने हो भने कम्युनिस्ट र कांग्रेस पार्टीमा मत बाँडिएको थियो। उनीहरूले ५२ प्रतिशत पुर्‍याइसके, हामीले भने २९/३० बाट ३३ प्रतिशत पुर्‍यायौं भनेर गर्व गर्न मिल्छ ? पार्टीभित्र आत्मभञ्जना एकदमै देखिन थालेको छ। एकदमै खुलस्त र प्रष्ट कुरा राख्न र विश्लेषण गर्न तयार भएन कांग्रेस। 

पछिल्लो पुस्ताको राजनीति हेर्ने हो भने कम्युनिस्ट पार्टीमा गल्ती गर्दै जाने अनि आत्मालोचना गर्दै जाने र बारम्बार गल्ती दोहोर्‍याउँदै जाने प्रवृत्ति देखियो। कांग्रेस पनि गल्ती गर्ने अनि त्यसलाई ढाकछोप गर्ने अनि गल्ती दोहोर्‍याउँदै जाने प्रवृत्तिको शिकार भयो। 

यो चुनावमा हामी किन हार्‍यौं भनेर खोजी गरौं र कमजोरीलाई सुधारौं भन्नेतर्फ लाग्नुको साटो शक्तिको खेलजस्तो देखियो पार्टीमा। कसले कसलाई कमजोर बनाउने भन्नेतर्फ लागेको पाइयो। स्वतन्त्र र स्वच्छ ढंगले छलफल भएन। जसले गर्दा चुनावको हारपछि पनि सुधारको कुरालाई अगाडि ल्याउन सकिएन। 

पहिले त हार महशुस गर्नुपर्‍यो। हार नस्वीकार्ने अनि सुधार कहाँबाट आउँछ? तेह्रौं महाधिवेशनपछि शेरबहादुरजीको हातमा पार्टीको पूरै सत्ता गयो। हाल उहाँकै वरपर पार्टीको राजनीति घुमिरहेको छ। त्यसकारण, पार्टीको जस र अपजस, आरोप, आलोचना सबै उहाँकै क्रियाकर्ममा भर परेको छ। त्यही कारण पार्टीले ठूलो कष्ट बेहोर्नुपर्‍यो र अहिलेसम्म पार्टीभित्र सुधार हुन नसकेको हो। 
 

तेह्रौं महाधिवेशनलाई नै ‘करेक्सन’ गर्नुपर्छ। त्यसको म्यान्डेट गलत थियो भन्ने कुरा सिद्ध भइसकेको छ । भुईंफुट्टा वर्ग पार्टीमा कसरी हाबी भयो भन्ने खोज्नुपर्छ।

 

मुलुक संघीय संरचना गएको तीन वर्ष हुन लाग्यो तर कांग्रेसको संगठनात्मक संरचना पुरानै छ। यसले पनि निर्वाचनलाई असर गर्‍यो भनिन्छ नि ?


यो पार्टी र नेतृत्वको अकर्मण्यता हो। जहाँसुकै पनि नेतृत्व नै हो। नेतृत्वको सोच, दिमाग र मस्तिष्कमा सक्रियता जबसम्म हुँदैन नि, तबसम्म काममा जटिलता, गतिहीनता, निष्कृयता  र गतिहीनता रहिरहँदो रहेछ। 

पार्टीलाई तत्कालीन समयसँगै परिवर्तन गर्नुपथ्र्याे, त्यसो गरेको पाइँदैन। मुलुक संघीयतामा गएको छ तर हाम्रो पार्टीले त्यसअनुसार संगठन निर्माण गर्न सकेन। 

हामीले पहिले नै अब देश संघीय संरचनामा जान्छ भनेर विधानमा प्रदेश समिति निर्माण गर्ने प्रष्ट भनेका छौं। प्रदेशभित्रका महाधिवेशन प्रतिनिधिहरूले नै प्रदेश समिति निर्माण गर्छन् भनेर स्पष्ट भनिएको छ। संघीयता आउनुअघि नै संघीय समितिको कल्पना गरेर विधान निर्माण गर्ने पार्टी कांग्रेस हो तर त्यसलाई प्रयोग नगर्दा गल्ती भएको छ। 

कांग्रेसले निर्वाचनको समीक्षा अझै गरिसकेको छैन। कहिले टुंगिन्छ छलफल ?

निर्वाचनको परिणाम स्वीकार्नुपर्ने नेतृत्वले हो। अरूलाई चित्त बुझ्दैन, आफूलाई खसखस लागिहाल्छ अनि यहाँ गल्ती भएकै हो, यसलाई किन स्वीकार नगरेको? पार्टी सुधार्नुपर्छ भनेर नेतृत्वलाई बारम्बार भनिरहनुपर्ने? सुधार चाहने साथीहरूलाई अनेकौं चुनौती आइरहेका छन्।
अहिलेको नेतृत्व असान्दर्भिक र असफल भइरहेको छ भन्ने निष्कर्ष हो भने सुधारका उपायहरू के के हुन्?

कांग्रेस प्रकृया र विधि-विधानबाट चलिरहेको पार्टी हो। यसमा अरूले जस्तो 'कु' गरेर स्वाट्टै निकाल्ने परम्परा छैन। हाम्रा विधान र प्रकृयाहरू छन्। महासमिति र महाधिवेशन छन्, त्यसका लागि एउटा जनमत निर्माण गर्ने हो। पार्टीभित्र परिवर्तन र सुधार चाहनेहरूले यसको प्रतीक्षा गर्नुको विकल्प छैन। त्यसले गर्दा हामी प्रकृयाकै प्रतीक्षामा छौं। 

पार्टीका विभाग र प्रदेश समितिहरूको गठन गर्न त्यसमा बस्ने केन्द्रीय सदस्यको नाम तपाईंले नदिएका कारण ढिलाइ भयो भनेर आलोना गरिन्छ नि?

विधान मस्यौदा समितिमा बस्ने साथीहरूको नाम पहिले नै मैले दिइसकेको हो। हाम्रा केही साथीमा पख्नूस् अहिले, प्याकेजमै सहमति गर्नुपर्छ भन्ने धारणा पनि थियो। मैले उहाँहरूलाई 'कन्भिन्स' गर्ने कोशिस गरें र भनें, विधान संशोधन समिति बनाइहालौं र महासमिति समयमै बोलाऊँ । 

तर, डेढ साता भइसक्यो समिति बनिसकेको छैन। सभापतिले के गर्दै हुनुहुन्छ, उहाँलाई नै थाहा होला। चाँडै महासमिति बैठक बोलाउनुपर्छ र विधान मस्यौदा समिति तत्काल गठन गरिहाल्नुपर्छ भन्ने मेरो भनाइ हो। क्रियाशील सदस्यता नवीकरण गरिसक्नुपर्छ। अनि, वडा र बुथ एकाइको अधिवेशन तत्काल गर्नुपर्छ। 

जनताको विश्वास जित्न उनीहरू समक्ष हामी कहिले जाने भन्ने महत्वपूर्ण हो । हामीलाई समय चाहिन्छ। त्यसैले आन्तरिक समस्या पहिले टुंग्याउनुपर्छ। आन्तरिक कुरामै अल्झिएर बस्यौं भने जनतामाझ गएर जनताको विश्वास कहिले लिने? 

पार्टीभित्रको छिनोफानो गर्नुपर्छ भन्नुभयो, केलाई संकेत गर्नुभएको हो?

महासमिति बैठक बोलाएर पार्टीको नेतृत्व कसरी चल्छ भन्ने स्पष्ट पार्नुपर्छ। 

तपाईंलाई संस्थापन पक्षबाट सबै काममा समर्थन र र संस्थापन इतरबाट नेतृत्वमाथि दबाबको आशा देखिन्छ । यस्तो अवस्थामा के गरे ठीक हुन्छजस्तो लाग्छ?

कतिपय साथीको धारणा छ, नेतृत्वलाई 'एट्याक' नै गरिहालौं र पाखा लगाऊँ । मेरो चाहना पार्टीलाई सुधार गरेर लैजाऔं भन्ने हो । आफूलाई सहयोग गरिदिए हुन्थ्यो भन्ने सभापतिजीको चाहना होला। 

आवश्यक परेका बेला मैले उहाँलाई सहयोग गरेको छु। निर्वाचनको समयमा र अहिले कम्युनिस्टसँग लड्ने विषयमा पनि सहयोग नै गरें । प्रतिपक्षसँग बोलेर, भनेर र गरेर जे गर्नु पर्ने हो, मैले गर्दै र भन्दै आएकै छु। मैले यो सरकारले के गर्दैछ? यहाँ के के घटना भइरहेका छन्? डा. केसीको प्रसंगमा होस् वा प्रधानन्यायाधीश नियुक्ति प्रकरण, सुनुवाइ समितिको निर्णय र सरकारले अघिल्लो सरकारको निर्णय उल्ट्याउने निर्णयको डटेर विरोध गर्न तथा कम्युनिस्टलाई प्रहार र प्रतिवाद गर्न मैले छाडेको छैन। 

तर, सहयोगको नाममा नेतृत्वले गरेको गल्तीलाई समर्थन गर्न सकिँदैन । र, गलत निर्णयको सती जान पनि सकिँदैन। असीमित समर्थनको चाहना पूरा गर्न सकिँदैन। 

शुभेच्छुक संस्थाहरूको महाधिवेशन परिणाम हेर्दा संस्थापनले पराजय बेहोरिरहेको छ। संस्थापन पक्षको कमजोरी या संस्थापनइतर पक्ष तपाईंसँग गोलबद्ध भएर यस्तो भएको हो?

मैले तेह्रौं महाधिवेशनमा जुन किसिमको अडान लिँदै आएँ, त्यसअनुरूप पार्टी नचलेकै हो। तेह्रौं महाधिवेशनमा भएको निर्णय गलत रहेछ र त्यसलाई 'करेक्सन' गर्नुपर्‍यो भन्ने देशभरका साथीहरूको भावना पाउँछु। 

त्यो जनमतको सन्देशलाई पार्टी नेतृत्वले समयमै बुझ्नु जरुरी छ । पार्टीभित्र जुन किसिमको जनमत देखिएको छ, त्यसलाई स्वीकार्दै तार्किक निष्कर्षमा पुर्‍याउने दायित्व पनि मेरो हो। म तार्किक परिणाममा पुर्‍याएर पार्टीलाई सुधारको बाटोमा लैजान चाहन्छु। जनताको बीचमा यो भरोसायोग्य पार्टी हो, बीपीले निर्माण गरेको पार्टी, लोकतान्त्रिक समाजवादीको लागि समाजमा न्याय र समानताका लागि कांग्रेस नै भरपर्दो पार्टी हो भन्ने म स्थापित गराउन चाहन्छु।
 

सरकारविरुद्ध सडकमै गएर आन्दोलन गर्ने बेला अझै भएको छैन । यसलाई आन्दोलन होइन, प्रदर्शन भनौं । अहिले यो सरकार कता जान खोज्दैछ भनेर जनतालाई सचेत गराउने र हामी पनि सचेत बन्ने समय हो।  
 

तेह्रौं महाधिवेशनमा तपाईंलाई सहयोग नगर्ने नेतृत्वका आकांक्षीहरू तपाईंको नीतिको कारण तपार्इंसँग मिलेका हुन् कि संस्थापन पक्षको कमजोरीका कारण हो?

यसमा धेरै कुरा छन्। जसले मलाई सहयोग नगरी शेरबहादुरजीलाई हिजो समर्थन गर्नुभयो, उहाँहरूको इच्छा वा आकांक्षा शेरबहादुरजीले पूरा गर्न सक्नुभएन होला। उहाँहरूले सोचेअनुसारको काम गर्नु सक्नुभएन वा सोचेअनुसार आफ्ना लागि पनि केही भएन भन्ने होला। त्यसमा अनेक कुरा हुन सक्छन्। 

एउटै कुरा निश्चित हो, तेह्रौं महाधिवेशनमा जसले उहाँलाई म्यान्डेड दिए, त्यसअनुसारको काम भएन। त्यसकारणले पनि 'फ्रस्टेसन' आएको होला। जताबाट जे भने पनि पार्टी ठीक बाटोमा गएन भन्ने कुरा सबैलाई महशुस भएको छ। त्यसका बावजुद आ-आफ्नो महत्वाकांक्षा वा चलखेल गर्ने कुराहरू चलिरहेको होला। पार्टीलाई सुधार गर्ने अभियानमा लागिरहेको छु। 

वर्तमान सरकार कता जान खोज्दैछ भन्ने लाग्छ ? कांग्रेसले सरकारको विरोध गर्न हतार गर्‍यो भन्ने पनि छन् नि?

आन्दोलन नै भनेर अहिले यसलाई नभनौं । आन्दोलन गर्ने बेला भएको छैन। यसलाई प्रदर्शन भनौं । आन्दोलनमै जान त एजेन्डाहरू चाहिन्छ। उपयुक्त समय पनि हुनुपर्छ। अहिले यो सरकार कता जान खोज्दैछ भनेर जनतालाई सचेत गराउने र हामी पनि सचेत बन्ने हो।

हिजो कहाँ गएको थिइस् हुस्सु भनेर प्रजातन्त्र सक्किइसकेपछि हामीले रुँदा वा कराउँदा केही हुनेवाला छैन। दुई पार्टी मिलेर बहुमत ल्याएका छन् । 'कम्युनिजम' ल्याउँछौं र संविधान परिवर्तन गर्छाैंं भनेका छन्।

अब कम्युनिजम भनेको के हो? यसको बाटो कस्तो हो? कांग्रेसले प्रष्ट गर्नुपर्छ । तपाईंहरूले भनेको कम्युनिजम कार्लमाक्र्सले भनेजस्तै वर्गविहीन, शोषणविहीन, दलविहीन र राज्यविहीन बनाउन खोजेको हो कि नयाँ वर्ग जन्माउन खोजेको हो भनेर मैले कम्युनिस्ट साथीहरूलाई सोध्ने गरेको छु तर जवाफ दिनुभएको छैन। 

अहिलेको काम हेर्दा उहाँहरू नयाँ वर्ग जन्माउने बाटोतर्फ जान खोजेको देखिन्छ । सबैलाई पाखा लगाई आफ्ना मान्छेलाई मात्र सबै आर्थिक स्रोत र साधनको दोहन र परिचालन गरेर राज्यको शासनका क्षेत्रमा सबै आफ्ना कार्यकर्तालाई भराएर आफ्नै हैकममा सबैलाई ल्याउने बाटोमा जानुभएको छ। एकपछि अर्को कदमबाट हामीले ती कुराबाट प्रष्ट भइन्छ कि उहाँहरूको क्रियाकलाप कस्तो छ? त्यस विषयमा जनतालाई हामीले बुझाउन सक्नुपर्छ। 

वर्तमान सरकारलाई तपाईंहरूले अधिनायकवादी र सर्वसत्तावादी भयो भनेर आलोचना गरिरहनुभएको छ, त्यसका खास घटना वा कारण केही छन् र ?

मैले बुझेको कम्युनिजम त सर्वहारा वर्गको अधिनायकत्व नै हो । सबै कुरा केन्द्रबाट सञ्चालन गर्न चाहनुहुन्छ । कम्युनिस्ट दर्शनबाट देशको उन्नती गर्ने नै भन्नुभएको छ। त्यही बाटोबाट जनताको सपना साकार गर्नेछौं भन्नुभएको छ । सरकारमा बसेर गरेका निर्णयबाटै त्यो एकाधिकार र केन्द्रीकरणतर्फ देशलाई लगेको देखिन्छ । भिन्न विचार र दललाई दबाउने काममा हुनुहुन्छ।

सबै निकायलाई सन्त्रस्त बनाउने, प्रदेश र स्थानीय तहको अधिकार केन्द्रीकृत गर्ने काम गरिरहनुभएको छ। अदालत, अख्तियारलाई तर्साउने र ती निकायलाई अंकुश लगाउने र नियन्त्रण गर्ने काममा जानुभएको छ । आफूलाई अंकुश लगाउने संवैधानिक शक्तिहरूलाई किनारा लगाउने बाटोमा उहाँहरू हुनुहुन्छ। यसले नै निरंकुशतातर्फ सरकार गएको पुष्टी हुन्छ। त्यसैबाट निरंकुशताको बाटोमा उहाँहरू जानुभएको छ भन्ने देखाउँछ । 

दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन गरिएन, यसले अन्य निकायमाथि पनि अंकुश लगाउने देखिन्छ कि देखिन्न?

दीपकराज जोशी मात्र होइन, अब अन्य संवैधानिक अंगमा पनि प्रहार हुन्छ। पहिले सरकारमा बसेका मान्छेले हामीले दुई तिहाइ ल्याएका छौं भनेर न्यायालयलाई भन्ने गर्नुभयो। यो न्यायलय वा अदालतले हेर्ने विषय होइन भनेर तर्साउने काम गर्नुभयो। अघिल्ला र हालका प्रधानन्यायाधीशमाथिको व्यवहार र उहाँहरूले अदालतमाथि ठड्याएको औंलाबाट प्रष्ट हुन्छ । 

माओवादीको महत्वाकांक्षा र एकाधिकार रोक्ने नेपाली सेना हो । सेनाका सात उच्च अधिकृतलाई एकैचोटी अवकाश दिइएको छ। अदालत र अख्तियारलाई निस्तेज बनाउने र सत्तामुनि सबै निकायलाई ल्याउनु भनेको नै सर्वसत्तावाद हो। सर्वसत्तावाद कांग्रेसले भनेको मात्र होइन, सबैलाई सरकार मातहत ल्याउने क्रियाकलापले नै सर्वसत्तावादको पुष्टी गर्छ। 

कांग्रेसको वर्तमान नेतृत्वले त्यो चुनौतीलाई सामना गर्न सक्दैन भन्नेहरू पनि छन् । त्यसका लागि कांग्रेसले के रणनीति या कार्यक्रम ल्याउन सक्छ?

कांग्रेस आफैं लोकतान्त्रिक संस्कार र संस्कृतिमा रहनुपर्छ, सुध्रिनुपर्‍यो। विगतका कमजोरी वा मैलो धोइपखाली सफा हुने लाइनतिर जानुपर्छ। पार्टी सुदृढ र एकताबद्ध भएर जनतालाई विश्वासमा लिँदै समाजमा जनमत सृजना गर्नुपर्छ। अहिंसामा विश्वास गर्ने कांग्रेसले समात्ने बाटो भनेकै यही हो।

 

दुई पार्टी मिलेर बहुमत ल्याएका छन् । 'कम्युनिजम' ल्याउँछौं र संविधान परिवर्तन गर्छाैं भनेका छन्।


सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति मौन बसेर कांग्रेसले सघाएको पाइन्छ । तर, अर्कोतिर संसद नै बहिष्कार गरेको पाइन्छ। विरोधाभाष भएन र ? 

संसदमा हाम्रा साथीहरूले भूमिका त खेलिरहनुभएको छ । तर, कम्युनिस्टहरू प्रचारमा अगाडि नै छन् । कांग्रेसले लिएका नीतिहरू सबै ठीक थिए भन्ने होइन । तर, कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका जसरी निर्वाह गर्नु पर्ने हो, त्यो देखिएन। 

प्रतिपक्षीको जिम्मेवारी भनेको सरकारलाई रचनात्मक सहयोग गर्नु र समर्थन मात्र होइन, सरकारलाई उचित ठाउँमा उपयुक्त दबाब दिनु पनि हो। जनताको पक्षबाट दबाब पनि दिनु हो। त्यसमा असावधानीहरू देखिएका छन्। सन्तुलित र व्यावहारिक ढंगले आफ्ना कुरा साथीहरूले राख्नु पर्‍यो। 

कुन अवस्थाममा कस्तो विरोध गर्ने भन्ने कुरा संसदीय प्रणालीमा कांग्रेसले अभ्यस्त हुनु पर्‍यो। नेतृत्वले सदनमा आफ्ना दृष्टिकोण दिनुपर्छ।

कांग्रेसले कम्युनिस्ट सरकारले गरेका नकारात्मक कार्यको भित्री सूचना ल्याउन नसकी सतही विषयबस्तुलाई आधार मानेर आन्दोलन किन गर्नु पर्‍यो?


देशको आर्थिक, सामाजिक विषय कस्तो हुनुपर्छ? प्रशासन कस्तो हुनुपर्छ भनेर प्रतिपक्षीले भन्न सक्नु पर्छ। साथीहरूको मिहिनेत देखिएको छैन।

निजीकरण र खुल्ला आर्थिक व्यवस्थाको फाइदा कम्युनिस्टहरूले लिए तर त्यही प्रणाली स्थापित गर्न कांग्रेसले अर्थतन्त्र धरासायी बनायो भन्ने आरोप छ नि?

वास्तवमा कांग्रेसले लिएका सबै नीति खराब थिए भनेर उनीहरूले भन्न खोजे पनि हामीले लिएका नीति यस कारण उपयुक्त छन् भनेर जनतालाई बुझाउने काम कांग्रेसले गरेको छैन। नेपालको उन्नति पुरानो प्रचलन र संस्कारबाट सम्भव छैन। कांग्रेसले राम्रो काम गरेको छ तर जनतालई बुझाउन सकेन।

उदारीकरणले गर्दा मुलुकको आर्थिक अवस्था नै जर्जर भयो भन्ने होइन, यसबाट धेरै सकारात्मक काम भएका छन्। दूरदराजमा कांग्रेसले पुर्‍याएको सुविधाको कांग्रेसले प्रचार गर्न सकेको छैन।

कांग्रेसलाई सुधार गर्ने उपायहरू के के हुन सक्छन्?

पहिलो कुरा त पार्टीलाई विधिविधान, लोकतान्त्रिक प्रकृया र पद्धतिबमोजिम चलाउनुपर्छ। यसको संस्थागत विकासमा जोड दिनुपर्छ। व्यक्तिगत महत्वाकांक्षा र आ-आफ्नो दुनो सोझ्याउने प्रवृत्तिको अन्त्य गर्नुपर्छ। चुनावका बेलामा आर्थिक चलखेल भए भन्ने आरोपहरू लाग्ने गरेका छन् । पार्टीलाई त्यो आरोपबाट मुक्त गर्नुपर्छ। पार्टीलाई आर्थिक चलखेलबाट मुक्त गर्न नसके प्रजातन्त्र रहँदैन। 

समग्र देशमा पैसाको खेल र आर्थिक घोटालालाई हामीले बाहिर ल्याउन सकेका छैनांैं । भ्रष्टाचारले मुलुकलाई कमजोर बनाउँदै लगेको छ । कम्युनिस्ट पार्टीहरूले पैसाको रेलोखेला गरेर कसरी चुनाव जितेर आएका छन्, त्यो पनि हामीले हेरेका छौं। 

हामीभित्र कमीकमजोरी छन् तर उनीहरूभित्र झन् ठूला कमीकमजोरी थाहा पाएका छौं। त्यसलाई हामीले 'एक्स्पोज' गर्न सकेका छैनौं। 

राजनीतिमा शुद्धीकरण कसरी सम्भव होला? कांग्रेसमा पनि त निर्माण व्यवसायीहरू हाबी हुन थालेका छन् नि?

उनीहरू (निर्माण व्यवसायी) लाई रोक्न त पार्टी नै ठीक हुनुपर्छ। तेह्रौं महाधिवेशनलाई नै 'करेक्सन' गर्नुपर्छ। भुईंफुट्टा वर्ग पार्टीमा कसरी हाबी भयो भन्ने खोज्नुपर्छ। पार्टीले आत्म निरीक्षण गर्न जरुरी छ।

आगामी महाधिवेशनमा तपाईं नेतृत्वमा आउने कि नआउने ?

म पदका लागि भन्दा पनि पार्टीलाई 'लिक'मा ल्याउन लागिपर्छु। त्यसपछि मात्र पार्टी र देशको आवश्यकताबमोजिम निर्णय गर्नुपर्छ। यो विकृतिबाट कांग्रेस र देशलाई मुक्त गर्नुपर्छ।
 
प्रतिक्रिया दिनुहोस्