बुधबार, कात्तिक २७, २०७६

समाचार

फास्ट ट्रयाकमा भेरी-बबई, ‘रेड जोन’ पनि कट्यो

राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण ‘फास्ट ट्रयाक’मा अगाडि बढेको छ। १२ किलोमिटर लामो सुरुङ बनाउने जिम्मा पाएको चिनियाँ कम्पनी ‘चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप’ले नेपालमै पहिलोपटक ‘टनेल बोरिङ मेसिन’ (टीबीएम) प्रयोग गरेर सुरुङ खनिरहेको छ। 

फास्ट ट्रयाकमा भेरी-बबई, ‘रेड जोन’ पनि कट्यो
सुर्खेत- राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण ‘फास्ट ट्रयाक’मा अगाडि बढेको छ। १२ किलोमिटर लामो सुरुङ बनाउने जिम्मा पाएको चिनियाँ कम्पनी ‘चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप’ले नेपालमै पहिलोपटक ‘टनेल बोरिङ मेसिन’ (टीबीएम) प्रयोग गरेर सुरुङ खनिरहेको छ। 

टीबीएममार्फत् करिब नौ महिनामा ६३ सय २४ मिटर सुरुङ खनिसकेको छ। अब ५७ सय ६७ मिटर मात्र सुरुङ खन्न बाँकी छ। आधाभन्दा बढी काम सकिएकाले तोकिएको अवधिमै आयोजना सम्पन्न हुने आयोजना प्रमुख शिवकुमार बस्नेत बताउँछन्। ‘अहिलेकै गतिमा काम भए एक वर्षअघि नै काम सकिनेछ,’ बस्नेत भन्छन्, ‘समय घटेपछि एक अर्ब रुपैयाँ पनि जोगिने देखिन्छ।’

१० अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको लागत अनुमान गरिएको उक्त आयोजना आगामी फागुनसम्ममा सम्पन्न गर्ने लक्ष्य छ। आयोजना सम्पन्न गर्न सरकारले तीन चरणको निर्माण योजना अगाडि सारेको छ। पहिलो चरणमा सुरुङ खन्ने कामलाई प्राथमिकतामा राखिएको छ। त्यसलगत्तै बाँध र विद्युत्गृह निर्माण हुनेछ। 

तीन वटै चरणका काम दुई वर्षमै सम्पन्न हुने लक्ष्य राखिएको तथा बाँध क्षेत्र र विद्युत्गृहको डिजाइन पुनरावलोकन भइरहेको बस्नेतको भनाइ छ। 

रेड जोन पनि कट्यो

आयोजना निर्माणले ‘रेड जोन’ अर्थात् सबैभन्दा संवेदनशील क्षेत्र पार गरेको छ। टीबीएम प्रविधिका लागि सबैभन्दा संवेदनशील मानिएको तोली खोलामुनिको क्षेत्र पार भएको हो। आयोजनाका लागि उक्त क्षेत्र सफल हुन्छ या हुँदैन भन्ने चिन्ताको विषय थियो। आयोजनाका प्रमुख बस्नेतका अनुसार जुलोजिकल सर्वेमा उक्त क्षेत्रमा टीबीएमलाई असर पुग्ने आकलन थियो।

उक्त आयोजनाबाट कर्णाली प्रदेशले लाभ पाउँछ कि पाउँदैन भन्ने ठूलो बहसको विषय बनेको छ। आयोजना शुरु हुनुअघि नै कर्णाली प्रदेशले पाउने लाभको बारेमा प्रष्ट पारिएको छैन। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भने आयोजनाको पहिलो लाभ कर्णाली प्रदेशले नै पाउने बताउँदै आएका छन्। 

सुर्खेतकोे चिप्लेस्थित भेरी नदीमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत् प्रतिसेकेन्ड ४० घनमिटर पानी बबई नदीमा खसालिनेछ। बबईमा खसालिएको पानीबाट ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाँके तथा बर्दियामा सिँचाइ सुविधा उपलब्ध गराउने आयोजनाको लक्ष्य छ।

‘सुरुङ निर्माणको परम्परागत युग अन्त्य हुँदैछ, टीबीएम युग शुरू हुँदैछ।’


बाँके-बर्दियाको ५१ हजार हेक्टरमा बाह्रै महिना सिँचाइ गर्ने उद्देश्यले निर्माण थालिएको हो। आयोजनाबाट सिँचाइको प्रत्यक्ष लाभ प्रदेश–५ का बाँके र बर्दियाका नागरिकले पाउनेछन्। त्यहाँबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ। 

सुर्खेत हुँदै बगेको भेरी नदीको पानीलाई सल्यान र दाङ हुँदै आएको बबईमा खसाली इन्टर–बेसिन वाटर ट्रान्सफर गरी बन्न लागेको यो नेपालकै ठूलो र चर्चित आयोजना हो। आयोजना बनेपछि वार्षिक तीन अर्ब र जलविद्युत्तर्फ चार अर्ब रुपैयाँ प्रत्यक्ष पाइदा हुने अनुमान छ। 

अरूलाई पाठ

यो आयोजना समयमै सम्पन्न भएमा अन्य ठूला आयोजनाका लागि पनि पाठ हुन सक्छ। जलविद्युत्, सिँचाइ र खानेपानीजस्ता ठूला आयोजनामा सुरुङ निर्माणमै वर्षौं लाग्दै आएको छ। भेरी–बबई आयोजनामा प्रयोग गरिएको टीबीएम प्रविधिका कारण निर्माण द्रुत गतिमा भएको छ। 

भेरी–बबईमा चमत्कार देखिएपछि अन्य आयोजनाले पनि यसको सिको गर्ने आयोजना प्रमुख बस्नेत बताउँछन्। बस्नेत भन्छन्, ‘सुरुङ निर्माणको परम्परागत युग अन्त्य हुँदैछ, टीबीएम युग शुरू हुँदैछ।’ 

परम्परागत प्रविधिमा ‘ड्रिलिङ’ र ‘ब्लास्टिङ’मार्फत् दैनिक तीन मिटर मात्रै सुरुङ तयार हुन्छ। टीबीएमले भने दैनिक ५२ मिटरसम्म सुरुङ खनेको बस्नेत बताउँछन्।

पाँच सयभन्दा बढीलाई रोजगारी

आयोजना शुरु भएसँगै स्थानीय बासिन्दाका लागि रोजगारीको अवसर मिलेको छ। चिनियाँ प्राविधिक मात्र होइन, सुर्खेतका विभिन्न क्षेत्रका पाँच सय ५० जनाले रोजगारी पाएका छन्। आयोजनाले एक कामदारलाई मासिक २५ हजारदेखि ५० हजार रुपैयाँसम्म पारिश्रमिक दिँदै आएको छ।

सुर्खेतको हात्तीखालदेखि भेरीगंगाको चिप्लेसम्म निर्माण हुने १२ किलोमिटर सुरुङ निर्माणस्थल पर्यटकीय क्षेत्रका रूपमा चिनिन थालेको छ। नेपालमै नौलो प्रविधिबाट सुरुङ निर्माण भइरहेकाले अवलोकन भ्रमणका लागि दैनिक ठूलो संख्यामा पर्यटक पुग्ने गरेका छन्। व्यवसायीदेखि स्कुले विद्यार्थीसमेत आउने गरेको आयोजना प्रमुख बस्नेत बताउँछन्। 

कर्मचारीले खाना खाने १२ देखि एक बजेसम्मको समय पर्यटकहरूलाई अवलोकनका लागि छुट्याइएको छ। सुरुङको मुख्य प्रवेशद्वारसम्म उनीहरूलाई जान दिइने गरेको छ। सुरुङमा टीबीएमको काम सीसी क्यामेरा र प्रोजेक्टरबाट देखाउने गरिएको छ। 
प्रतिक्रिया दिनुहोस्