बुधबार, कात्तिक २७, २०७६

समाचार

दुर्गमका जनताको अझै पुगेन स्वास्थ्य सेवामा पहुँच

गाउँगाउँमा सिंहदरबार नाम दिएर संघियता अनुरुप राज्यको पुर्नसंरचना भएर हरेक स्थानीय तहमा सरकार गठन भएपनि कर्णालीको दुर्गमका जनताको अझै स्वास्थ्य सेवामा पहुँच पुग्न सकेको छैन। 

दुर्गमका जनताको अझै पुगेन स्वास्थ्य सेवामा पहुँच
प्रतिनिधिमुलक तस्बिर
सुर्खेत- गाउँगाउँमा सिंहदरबार नाम दिएर संघियता अनुरुप राज्यको पुर्नसंरचना भएर हरेक स्थानीय तहमा सरकार गठन भएपनि कर्णालीको दुर्गमका जनताको अझै स्वास्थ्य सेवामा पहुँच पुग्न सकेको छैन। 

राज्यको हरेक सूचाङ्कमापछि परेको कर्णाली प्रदेशका अधिकांश जिल्लामा स्वास्थ्य सेवा पहुँच न्यून देखिएको छ। विभिन्न रोग तथा महामारी नियन्त्रणका लागि खर्च हुने अर्बौं रकम शहरमै केन्द्रित हुँदा स्वास्थ्य सेवा पहुँच न्यून देखिएको हो। स्वास्थ्य सेवामा काम गर्ने विभिन्न तथ्याङ्कहरुलाई हेर्दा अझै पनि दुर्गमका नागरिकहरुले सहज स्वास्थ्य सेवा पाएका छैनन्।

जसले गर्दा एकतर्फ स्वास्थ्य सेवा प्रभावकारी बन्न सकेका छैनन् भने अर्कोतर्फ वर्षेनी उपचारको अभावमा हजारौं नागरिकहरुले ज्यान गुमाउनुपर्ने बाध्यता छ। विभिन्न महामारी रोग निवारणका लागि सञ्चालित अभियानहरु पनि सफल देखिएका छैनन्। केही स्वास्थ्य संस्थाको तथ्याङ्कलाई केलाउने हो भने राज्यको अर्बौंको लगानी शहरमै केन्द्रित रहेको पुष्टि गर्दछ। सेवाहरु दुर्गम क्षेत्रमा नपुग्नु र पुगेका सेवासम्बन्धी जनचेतनाको कमी हुनुले राज्यलाई चुनौती दिएको छ।

रिपोर्टः १ ग्रामिण क्षेत्रका आमाहरु जोखिममा

यस्तै दुर्गममा स्वास्थ्य सेवा पुग्न नसक्दा दुर्गमक्षेत्रका आमाहरु अझै जोखिममा छन्। ग्रामिण क्षेत्रका अधिकांश महिलाहरुले घरमै बच्चा जन्माउनुपर्ने बाध्यता उनीहरुको छ। गाउँघरमा प्रसुति गृहको र दक्ष जनशक्तिको अभावका कारण सदरमुकाम बाहिरका महिलाहरुले घरमै बच्चा जन्माउने गरेका हुन्। जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेत दिएको जानकारी अनुसार झण्डै तीस प्रतिशत आमाहरु घरमै सुत्केरी हुने गरेका छन्। दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच नपुग्दा अझै पनि ३० प्रतिशत आमाहरु जोखिममा छन्।

कार्यालयको आर्थिक वर्ष २०७४-०७५ को तथ्याङ्क केलाउँदा दुर्गम क्षेत्रका महिलाहरु घरमै सुत्केरी हुने गरेका छन्। उसो त यातायातको साधन अभाव र पर्याप्त  चेतनाको कमिले पनि दुर्गमका महिलाहरुले घरमै बच्चा जन्माउँदा शिशु र आमालाई खतरा हुन्छ। शिशुलाई विभिन्न रोग र कतिपय आमा र शिशुको ज्यान समेत जान सक्ने खतरा छ।

कार्यालयको तथ्याङ्क अनुसार ७० प्रतिशत महिलाहरु स्वास्थ्य संस्थामा सुत्केरी हुने गरेका छन्। स्वास्थ्य संस्थामा आउने आमाहरु मध्ये ३ सय ७५ जनाले अप्रेशन गरेर शिशुलाई जन्म दिने गरेको कार्यालयका सूचना अधिकारी बसन्त श्रेष्ठले जानकारी दिए। त्यस्तै, स्वास्थ्य संस्थाबाट प्राप्त हुने यातायात खर्च वापत ९९ प्रतिशत आमाहरुले सो सुविधा प्राप्त गरेका छन्। जसमा ३८ लाख ४१ हजार रुपैँया सुत्केरी आमाहरुलाई दिइएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। सुत्केरी भत्ता लिने पनि शहरकै बढी छन्।

रिपोर्टः २ चार जिल्लामा कुष्ठरोगको उपचार अभाव

कर्णाली प्रदेशका चार जिल्लाहरुमा अझै पनि कुष्ठरोग सम्बन्धी सेवा पुग्न सकेको छैन। कुष्ठरोग जस्तो गम्भीर रोगमा पनि राज्यको न्यून सहभागिता छ। राज्यले कुष्ठरोग सम्बन्धी जनचेतना मूलक कार्यक्रमहरु गर्न नसक्दा अझै पनि कालिकोट, जुम्ला, मुगु र डोल्पा कुष्ठरोगीको यकिन तथ्याकं छैन।

कुष्ठरोगीहरु सुगम भन्दा दुर्गममा बढी हुनसक्ने भएपनि स्वास्थ्य सेवाको अभावले एउटा पनि विरामी भेटिएका छैनन्। जसले गर्दा कर्णाली प्रदेशमा पछिल्लो ६ महिनाको अवधिमा २४ जना कुष्ठरोगीहरु भेटिएका छन्। आइएनएफद्वारा सञ्चालित साइनिङ्ग अस्पताल सुर्खेतले दिएको जानकारी अनुसार सुर्खेतमा सबैभन्दा बढी कुष्ठरोगीहरु भेटिएका छन्। 

सुर्खेतमा मात्रै ११ जना कुष्ठरोगीहरु भेटिएको साइनिङ्ग अस्पताल सुर्खेतका प्रमुख मंगल थारुले जानकारी दिए। त्यस्तै दैलेखमा २ जाजरकोटमा ३ सल्यानमा ४ रुकुमका १, हुम्लामा १ र अन्य बाट २ गरी जम्मा २४ जना विरामीहरु भेटिएका हुन्।

रिपोर्टः ३ क्षयरोगी सुगममै बढी

यस्तै क्षय रोग पनि दुर्गम भन्दा शहर क्षेत्रमै बढी देखिएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार हुम्ला जिल्लामा सबैभन्दा कम क्षय रोगी भेटिएका छन्। हुम्लामा तीन जना महिला र पुरुष पाँच जना गरी जम्मा आठ जना क्षयरोगी भेटिएका हुन्।

त्यस्तै डोल्पामा पाँच जना महिला, आठ जना पुरुष गरी १३ जना नयाँ क्षयरोगी भेटिएका छन्। यस्तै मुगुमा पाँच जना महिला र ११ जना पुरुषमा गरी १६ भेटिएका छन्। यस्तै कर्णाली प्रदेशका अन्य जिल्लाहरु दैलेखमा २६ जना महिला र ५४ जना पुरुष, जाजरकोट जिल्लामा २१ जना महिला, २२ जना पुरुष क्षयरोगका संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखाका अधिकृत खगेन्द्रप्रसाद गैरेले बताए।

जुम्लामा १२ जना महिला र १५ जना पुरुष,  कालिकोटमा १३ जना महिला र २१ जना पुरुषहरुमा क्षयरोगको लक्षण देखिएको उनले बताए। रुकुम पश्चिममा २९ जना महिला र ५१ जना पुरुष,  सल्यानमा २४ जना महिला र ५४ जना पुरुषमा क्षयरोग देखिएको छ । प्रदेशका १० जिल्ला मध्ये सबैभन्दा बढी दैलेखमा क्षयरोगीहरु फेला परेको मन्त्रालयले जनाएको छ। कर्णाली प्रदेशका १० जिल्लामा तीन सय ७९ जना नयाँ क्षयरोगका विरामीहरु फेला परेका छन्।
प्रतिक्रिया दिनुहोस्