बुधबार, कात्तिक २७, २०७६

समाचार

भैरहवा-तौलिहवा सडकमा एक वर्षमा १० प्रतिशत काम

भैरहवा-लुम्बिनी-तौलिहवा सडक विस्तार शुरु भएको वर्षदिन बित्यो । हालसम्म भौतिक र आर्थिक दुवै प्रगति १० प्रतिशत मात्र छ ।  साउन ०७४ देखि शुरु भएको हो, उक्त सडक विस्तार । र, तीन वर्षमा सक्ने सम्झौता छ । भारतीय कम्पनी गावर कन्स्ट्रक्सन लिमिटेडले एक अर्ब ९३ करोड ६३ लाख रुपैयाँमा ठेक्का पाएको छ । 

भैरहवा-तौलिहवा सडकमा एक वर्षमा १० प्रतिशत काम
भैरहवा- भैरहवा-लुम्बिनी-तौलिहवा सडक विस्तार शुरु भएको वर्षदिन बित्यो । हालसम्म भौतिक र आर्थिक दुवै प्रगति १० प्रतिशत मात्र छ । 

साउन ०७४ देखि शुरु भएको हो, उक्त सडक विस्तार । र, तीन वर्षमा सक्ने सम्झौता छ । भारतीय कम्पनी गावर कन्स्ट्रक्सन लिमिटेडले एक अर्ब ९३ करोड ६३ लाख रुपैयाँमा ठेक्का पाएको छ । 

आयोजना प्रमुख राजेश पौडेलका अनुसार ठेकेदार कम्पनीको काम सन्तोषजनक छैन । 'कामको गति बढाउन बारम्बार सचेत गराइरहेका छौं,' पौडेलले भने । 

उक्त सडक ४१ किलोमिटर लामो छ । भैरहवा बुद्धचोकदेखि विमानस्थलसम्म ६, त्यहाँबाट लुम्बिनीको पर्सा चौराहसम्म चार र त्यहाँबाट तौलिहवासम्म दुई लेनको सडक तयार हुनेछ । 

सडक विस्तारका लागि एसियाली विकास बैंकको सहयोग छ । बुद्ध जन्मस्थल जोड्ने सडक समयमै सम्पन्न हुने सम्भावना न्यून रहेको उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष नारायणप्रसाद भण्डारीले बताए । 

ठेकेदार कम्पनीका 'प्रोजेक्ट मेनेजर' पीभी श्रीनिवासले पनि काममा ढिलाइ भएको स्वीकारे । उनका अनुसार विद्युत प्राधिकरणले बिजुलीका पोल र वनले रुखहरू समयमै नहटाउँदा तथा ढुंगा, गिटी, बालुवा र माटो पर्याप्त नपाउँदा काममा ढिलाइ भएको उनको दाबी छ ।

लुम्बिनी भ्रमणमा आउने पर्यटकले अहिले साँघुरो, खाल्डाखुल्डी र धुलाम्य सडकबाट यात्रा गरिरहनुपरेको छ । लुम्बिनीबाट तिलौराकोट पुग्न झनै समस्या छ । 

उक्त सडकमा पर्ने दुई हजार ६८ वटा रुखमध्ये ६० प्रतिशत कटानी भइसकेको छ । माटो पट्याउने, निर्माण सामग्री संकलन, कल्भर्ट र नाला निर्माण, पाँच किमिमा सब-वेसको काम, ल्याब र ठेकेदार कम्पनीको कार्यालय निर्माण सम्पन्न भइसकेको छ । रेडिमिक्स प्लान्टको काम अन्तिम चरणमा र क्रसर प्लान्टको काम सम्पन्न भइसकेको छ । 

आयोजनाका अनुसार ६ लेन सडकको बीचमा 'ग्रिन बेल्ट', २/२ लेनको सडक र दायाँबायाँ सर्भिस ट्रयाकसहित फुटपाथ निर्माण गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्