मंगलबार, कात्तिक २६, २०७६

संवाद

' प्रचण्डसँग किन मिल्ने ?'

अहिले प्रचण्डजी कम्युनिस्ट होइन, एमाले पनि कम्युनिस्ट थिएन । र, बाबुरामजी पनि कम्युनिस्ट होइन । उहाँहरूले राख्नुभएको नाम मात्रै हो । हामीले प्रचण्डलाई अहिलेको संविधान मानेर अगाडि नबढ्नूस् भन्यौं । तर ...

' प्रचण्डसँग किन मिल्ने ?'
कम्युनिस्ट राजनीतिको उपनाम 'किरण' राखेका मोहन वैद्य आदर्शवादी क्रान्तिकारी नेता मानिन्छन् । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव उनी अहिले राजनीतिको 'लाइम लाइट'भन्दा केही टाढा पुगेका छन् । जतिबेलासम्म तत्कालीन माओवादीमा थिए, वैचारिक संघर्षका कारण सधैं चर्चाको शिखरमा रहे । 

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान र त्यसयताको राजनीतिक प्रक्रियाबाट राजनीतिक क्रान्ति पूरा भएको मान्न नसकिने वैचारिक भिन्नतामा अहिले पनि उनी अडिग नै छन् । 

माओवादी आन्दोलनले धक्का खाएकाले त्यसलाई पुनर्जीवन दिने उनको भनाइ रहँदै आएको छ । अर्थात्, अहिले पनि उनी क्रान्तिकै कुरा गर्छन् । आफूसँगै १० वर्षे सशस्त्र द्वन्द्वमा होमिएका साथीहरू दुई तिहाइ बहुमतसहितको सत्तामा पुग्दा वैद्य भने क्रान्ति पूरा गर्न अर्को क्रान्तिको आवश्यकता देखिरहेका छन् । 

प्रस्तुत छ नेपाल समयका लागि उपेन्द्र पोखरेल टंक खनालले गरेको कुराकानीको सम्पादित अंश:

 
नेपाली राजनीतिमा धेरै उदाएको नाम मोहन वैद्य किरण अहिले गुमनामजस्तै छ । तपाईं कहाँ हुनुहुन्छ ?

हाम्रो आन्दोलनले केही धक्का खायो, पार्टी विभाजन भयो । यस्तो अवस्थामा नयाँ संगठन बनाएर राजनीतिक रूपान्तरणका लागि अगाडि बढेका छौं । 

पूर्ण रूपमा पार्टीका काममै व्यस्त छु । सञ्चार माध्यममा नछाएको पक्का हो । सञ्चार माध्यममा आउने भनेको सत्ता र सरकारमा हुँदा हो । शक्ति र सत्ता छैन भनेपछि मिडियाले त्यति धेरै प्राथमिकता पनि दिँदैनन् । 

हामीले पनि मिडियामा आउनेगरी धेरै काम गर्न सकेका छैनौं । फरक ढंगले देश र जनताका लागि केही गर्नुपर्छ भन्ने सोचका साथ काम गरिरहेका छौं । 

तपाईंसँग १० वर्षे सशस्त्र विद्रोहमा होमिएको एउटा शक्ति सरकारमा छ । तपाईंहरू अझै क्रान्ति भन्दै हुनुहुन्छ । तपाईंहरूले भनेको क्रान्तिचाहीं कस्तो हुन्छ ? आवश्यकता किन ?

हामीले देशमा व्याप्त सामन्तवाद अन्त्य गर्न आन्तरिक तथा बाह्य साम्राज्यवादी, विस्तारवादीको विरोधमा पार्टी स्थापनादेखि नै संघर्ष गर्दै आएका छौं । विभिन्न चरणमा आन्दोलन पनि भए । त्यही क्रममा १० वर्षे जनआन्दोलन पनि भयो । 

त्यो आन्दोलनको लक्ष्य नयाँ जनवाद थियो, जुन पूरा भएन । त्यही लक्ष्य पूरा गराउनकै लागि फेरि हामी जुटेका हौं । 

तर, साथीहरूले राजनीतिक क्रान्ति पूरा भयो भने पनि हामीलाई त्यस्तो महशुस भएको छैन । माक्र्सवादीहरूले भन्ने गरेको वर्ग संघर्ष हो । पुरानो वर्ग सत्ताबाट बाहिर भएर नयाँ वर्ग अर्थात् शोषित-पीडितले सत्ताको नेतृत्व गर्नुपर्छ भनेको हो । 

संसदीय व्यवस्थाविरुद्ध आन्दोलन गरेका थियौं, फेरि त्यही व्यवस्था आयो । त्यसैले, हामीले त्यसलाई क्रान्तिको उपलब्धि मानेका छैनौं र देशको समृद्धिको पहिलो आधार नै राजनीतिक क्रान्ति भएकाले त्यसको समापनका लागि हामी फेरि क्रान्ति गर्ने भनेर लागेका छौं । 

वैद्यसंग गरिएको कुराकानी भिडियोमा हेर्नुस् । 



कुनै क्रान्ति दमनबाट त कुनै लोकतान्त्रिक शक्तिसँग समायोजन भएका उदाहरण छन् । तपाईंहरूले गर्ने भनेको क्रान्तिलाई कसरी अवतरण गराउने योजना छ ?

क्रान्ति १/२ दिनका लागि चालिने अभियान होइन । यो त युगान्तकारी हुन्छ । र, यो युग परिवर्तनको कुरा हो । सामन्तवाद पल्टिन धेरै समय लाग्यो । पुँजीवादी क्रान्ति हुन ५/६ सय वर्ष लाग्यो । समाजवादी क्रान्ति हुन लामो समय लाग्छ । हामी त्यही यात्रामा छौं ।

नेपालको राजनीतिमा भने तत्काल नतिजा खोजिन्छ । बिहानको आन्दोलनको उपलब्धि साँझ खोजिन्छ, जुन सम्भव हुँदैन । 

कार्ल माक्र्स जन्मेको दुई सय वर्ष पुगेको अवसरमा द्विशतवार्षिकी मनाइँदैछ । घोषणापत्र बनेकै एक सय ७० वर्ष भयो । यसबीचमा माक्र्सवादले तहल्कै मच्चायो नि । 

यो जित हो तर हार पनि सँगै जोडिएको हुनछ । यस्ता हार क्षणिक हुन्छन् । राजतन्त्र र गणतन्त्रका विषय पनि यस्तै हारजितकै कुरा हुन् । 

आन्दोलन कि त दमनमा सकिन्छ, या लोकतान्त्रिक शक्तिसँग मिल्छ । हाम्रो देशमा पनि त्यही देखियो । तर, यी अस्थायी कुरा हुन् । अहिले सामन्तवाद र राजतन्त्रकै कुरा गर्दा पनि त्यस्तो शासन व्यवस्था भएका मुलुकहरू गम्भीर आर्थिक संकटमा त परिरहेका छन् । 

संसदीय व्यवस्था, त्यस खालको लोकतन्त्र अर्थात् पुँजीवाद लामो समय टिकेका उदाहरण छन् । कम्युनिजमको शिशु हुर्कन भने अलि बढी समय लाग्छ । अहिले हामीले अस्थायी धक्का र हार बेहोर्‍यौं । र, फेरि अब संगठित हुँदै जाने भनेर लागेका छौं । 

क्रान्तिकारी विचारको कोणबाट नेपाली समाजको चरित्रलाई कसरी लिनुभएको छ ?

नेपाली समाजलाई आर्थिक र राजनीतिक दृष्टिकोणले विश्लेषण गर्दा अझै पनि अर्धसामन्ती विशेषता धेरै भेटिन्छ । पूरै बाह्यशक्तिले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको अवस्था छ । 

हामीले बारम्बार भन्दै आएका छौं, देशको राष्ट्रिय अखण्डता र स्वाधीनता रक्षाका लागि दह्रैसँग लाग्नुपर्छ । हाम्रा साथीहरू नै सरकारमा जानुभएको छ । साविक एमालेका साथीहरू पनि सरकारमा हुनुहुन्छ । 

नवगठित नेपाल कम्युनिस्ट पार्टीका एक अध्यक्ष केपी ओली राष्ट्रवाद भनेर लाग्नुभएको छ । उहाँले यही राष्ट्रवादको नाराले चुनावमा पनि राम्रो परिणाम ल्याउनुभयो । 

तर, वीरगञ्जको छपगैयामा भारतले सीमा मिचेको छ तर सरकार बोल्दैन । कञ्चनपुरको पुनर्वास र बेलौरी क्षेत्रमा भारतीय सुरक्षाकर्मी आएर नेपाली भूमिमा हस्तक्षेप गरेर बसेका छन् । केही दिनअघि नेपाली सुरक्षाकर्मीलाई पनि उनीहरूले कुटपिट गरेको समाचार आयो । 

यति हुँदा पनि सरकार पटक्कै बोल्दै बोल्दैन । यो के हो ? सप्तरीको तिलाठीको कुरा पनि त्यस्तै छ । जनताले बाँध भत्काइदिन्छन् । महाकालीका पाँच वटा काठे पुल भारतीय सुरक्षाकर्मीले बगाइदिए । कुरा के हो भनेर बुझ्न हाम्रो पार्टीका साथीहरू जानुभयो । तर, सरकारले यस विषयलाई प्राथमिकतामा राख्नै सकेन ।
 

केपी ओली प्रधानमन्त्री बन्नुअघि नै भारतीय विदेशमन्त्री सुषमा स्वराजको बधाइ भ्रमणबाट ओलीजीको राष्ट्रवादी नारा के रहेछ भन्ने स्पष्टै देखियो ।


यस्ता कुरा देख्दा साना लाग्न सक्छन् । तर, देशको स्वाधीनतासँग जोडिएका कुरा आउँदा सरकार किन मौन बस्छ ? किन एक शब्द बोल्न सक्दैन । राजनीतिक दलहरू सत्तामा जानुअघि जनताको मत लिन पूरै राष्ट्रवादी भएर निस्किन्छन् । तर, सत्तामा पुगिसकेपछि यस्ता समस्यालाई देखेको नदेख्यै गर्छन् । यो किन हुन्छ ?

केपी ओली प्रधानमन्त्री बन्नुअघि नै उहाँलाई बधाइ दिन भारतीय विदेशमन्त्री सुषमा स्वराज नेपाल आइन् । त्यतिबेला देशको नेतृत्व सम्हाल्ने प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो । तर, स्वराज प्रधानमन्त्रीलाई नसोधी आउनुभयो । यसले के सन्देश दियो ? 

जे भए पनि हामीले राजनीतिक र कूटनीतिक दृष्टिलाई मध्यनजर गर्नुपर्छ । यसले ओलीजीको राष्ट्रवादी नारा के रहेछ भनेर त स्पष्टै देखियो नि । प्रधानमन्त्रीलाई सोधेर आउनुपर्छ  भनेर उहाँले भन्न सक्नुपथ्र्यो कि पर्दैनथ्यो ? राष्ट्रको मर्यादा राख्नुपर्छ कि पर्दैन ? 

प्रधानमन्त्री ओलीको भ्रमण तात्तातै रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आए । यसको कारण के हो ? 

अरुण तेस्रो र माथिल्लो कर्णाली ज्यादै गहन विषय हुन् । दुवैमा भारतको धेरै स्वार्थ छ । भारतलाई बिजुली र पानी चाहिएको छ । सबैभन्दा बढी आवश्यकता पानीको नै हो र त्यो स्रोत नेपालमा छ । त्यही स्रोत आफ्नो भूमिमा भित्र्याउनका लागि उनीहरू लागिपरेका छन् । 

नेपालको सरकार पनि पूरै भारतको चाकडी र दलालीमै केन्द्रित छ । माथिल्ला कर्णालीबाट नौ सय मेगावाट मात्र विद्युत उत्पादन गर्ने भनिएको छ । तर, सही व्यवस्थापन गर्ने हो भने चार हजार मेगावाट उत्पादन हुन्छ । 

त्यो एकदमै कम लागतमा निर्माण हुन सक्छ । र, लगानी गर्न नेपाली नै सक्षम छन् । त्यहाँ उत्पादित बिजुली भारतीय ग्रिडमा राखेर नेपाल ल्याउने सम्झौता छ । यसको आवश्यकता किन ? 

अरुण तेस्रोको पनि कुरा त्यस्तै छ । उत्पादनका लागि बाँध बाध्दा एक लाखभन्दा बढी मानिस विस्थापित हुनुपर्छ । भूकम्पीय जोखिमको स्थान हो । सामान्य प्राकृतिक विपत्तीले पनि पूरै मधेश समस्यामा पर्छ । दुवै आयोजनाको आवश्यकता भारतलाई हो, हामीलाई होइन । 

हामीलाई मझौला परियोजना नै काफी हुन्छन् । मेगा प्रोजेक्ट आजको नेपालका आवश्यकता होइनन् । 

विकासका लागि सबैभन्दा पहिले प्राकृतिक स्रोतसाधनलाई आफ्नो हातमा लिनुपर्छ । विदेशी शक्तिसँग नेपालको प्राकृतिक सम्पत्तिका बारेमा भएका सम्झौता खारेज गरिनुपर्छ । 

मानवीय स्रोत साधनलाई पनि आफ्नो हातमा लिनुपर्‍यो । गरिब देश त्यसमा पनि तीन करोड जनसंख्यामा एक करोड श्रम गर्ने जनशक्ति बिदेसिएको छ । जसले देश बनाउँछ, उसैलाई बाहिर पठाएर रेमिट्यान्समा गौरव गर्ने परम्परा तोडिनुपर्छ । 

मेगा प्रोजेक्ट नै चलाउनुछ भने नेपालीकै लगानी गर्नुपर्छ । जनता र राज्यका स्रोतले सकेनन् भने मात्र अन्य लगानी खोजिनुपर्छ । दीर्घकालीन महत्व राख्ने परियोजनामा नेपालीकै स्वामित्व हुनुपर्छ । 

विदेशमा काम गर्ने नेपालीले पठाएको रेमिट्यान्स उत्पादनमुखी काममा प्रयोग हुनुपर्छ । त्यो पैसा अहिले खानपानमै सीमित भएको छ । तामाकोशी हामीले बनाउन सक्यौं त । हो, यस्तै परियोजना चाहियो । सित्तैंमा अरूले नाफा लिने हिसाबले हामीले परियोजना जिम्मा लगाउनुहुँदैन । 

हामी कृषिप्रधान मुलुकका बासिन्दा । दैनिक उपभोग्य वस्तुजति सबै बाहिरबाट आयात गर्नुपर्छ । खोई, यहाँको भूमिलाई सदुपयोग गरिएको ? नेपाली अदुवामा भन्सार बढी लगाएर भारतले किन्दै किनेन । यस्तो पनि कहीं सम्झौता हुन्छ ? 

देशको हालत यस्तो हुँदा हाम्रा नेताहरू र सरकारको नेतृत्व गर्ने व्यक्ति नेपालको कायापलट गर्छौं, स्विट्जरल्यान्ड बनाउँछौं भन्नुहुन्छ । त्यो कति सत्य कुरा हो ? त्यसैले राष्ट्रियता र जनजीविकाको अवस्था हेर्दा हामी बेहाल स्थितिमा छौं । 

आफूहरू सत्तामा पुगेपछि हडताल गर्न पाइँदैन भन्दै हुनुहुन्छ । निमुखा, गरिब र सर्वहारा वर्गले परिवर्तन महशुस गर्नेगरी काम गरे किन हडताल र आन्दोलन चाहियो ? उहाँहरूले हिजो लगाएका नारा पूरा गरे किन विरोध गर्नुपर्‍यो ? 

त्यसैले, उहाँहरू आफ्नो अनुहार जोगाउन हडताल गर्नु हुँदैन भन्नुहुन्छ । 

अहिले कम्युनिस्टका नारा लगाएर मत ल्याउनुभएको छ । यो पाँच वर्षका लागि मात्रै हो । सधैं यस्तो हुँदैन । कम्युनिस्ट पार्टी र विचारधाराका अनुयायीलाई दिएको भोट अब पुनर्विचार हुन्छ । अर्को पटक अरू पनि आउन सक्छन् । 

वैज्ञानिक समाजवादको गफ लगाइरहनुभएको छ, नेपाली कांग्रेसले उहिल्यै समाजवाद भनेको हो । भारतले पनि संविधानमै समाजवादको कुरा राखेको छ । तर, नेपालमा कम्यनिस्ट हुँ भन्नेहरूले गफ नै मात्र लगाइरहेका छन् ।

भारतले अरूको लगानीको विजुली किन्दैनौं भनेको छ नि ?

किन्दैन भने किन्दैन, हामी किन लत्रिने ? उत्पादनले हामीलाई पुगेपछि बाँकी रहेको उनीहरूले किन्नुपर्छ, नाकका चालले । हामीले उत्पादन गरेपछि बेच्ने अरू अनेक विकल्प पनि छन् । 

भारत हामीसँग नजिक मात्र न हो । र, ऊसँग इन्धनमा परनिर्भर भइरहेका छौं । बिजुलीबाट सबै क्षेत्रमा हामी निर्भर हुन सक्यौं भने पनि हामी समृद्ध भइहाल्यौं नि ! दुवै मुलुकका जनताका स्वार्थ मिल्छन् । तर, यहाँ त सत्तामा बसेका शासकहरूले बिगारेका छन् ।

नेत्रविक्रम चन्द 'विप्लव' र तपाईंहरूको पार्टीबीच एकीकरणको कुरा कहाँ पुग्यो ?

पार्टी एकीकरणको कुरा उठेको हो । हामीले केही छलफल पनि गर्‍यौं । एकीकरणलाई पूर्णता दिन घनिभूत छलफल भएको छैन । एकता भइहाल्छ भन्ने छैन । तर, हाम्रो प्रयास जारी छ । हुनैपर्छ भन्ने हिसाबले लागेका पनि छैनौं । 

मोहनविक्रम सिंह र ऋषि कट्टेल नेतृत्वका पार्टीहरूसँग पनि प्रयास जारी छ । हामीसँग विचार र सिद्धान्त मिल्ने साथीहरूसँग एकता गर्नुपर्छ भन्ने हिसाबले लागेकाचाहीं छौं । तर, यो काम एकदमै कठिन र अप्ठ्यारो छ । 
 

अहिले प्रचण्डजी कम्युनिस्ट होइन, एमाले पनि कम्युनिस्ट थिएन । र, बाबुरामजी पनि कम्युनिस्ट होइन । उहाँहरूले राख्नुभएको नाम मात्रै हो ।


गाह्रो के रहेछ त ?


हामीले सँगसँगै पनि राजनीति गरेका थियौं । तर, बेग्लाबेग्लै भएपछि सिद्धान्तका कुरा मिलाउन गाह्रो रहेछ । मोहनविक्रम सिंहसँग एकै ठाउँमा काम गरिएको हो । अझ, प्रचण्ड र बाबुरामसँग धेरै नजिक भएर काम गरिएकै हो । पार्टी विभाजन भएपछि सिद्धान्तका कुरा धेरै फराकिला बन्ने गर्छन् । 

तपाईंकै चेलाहरू अर्कै समूहमा हुनुहुन्छ । किन यस्तो भयो ?

यसका धेरै कारण छन् । सबैभन्दा पहिलो कम्युनिस्ट विचारधारा र सिद्धान्त होइन, नारा मात्र लिने साथीहरूको समूह नेपालमा ठूलो छ । हामीमा निम्न जनवर्गीय मनोवृत्ति छ । 

संघर्षबाट त्यो मनोवृत्ति समृद्धिमा परिवर्तन हुनुपर्‍यो । त्यसमा पनि समस्या छ । कम्युनिस्ट विचारधाराभित्र गैरकम्युनिस्ट विचारधारा हाबी हुने र टुक्रिँदो रहेछ । हाम्रो सवालमा पनि यही भएको हो । 

प्रचण्डले बाबुराम भट्टराईलाई नयाँ पार्टीसँग एकताका लागि बोलाउनुभयो । तपाईंलाई बोलाउनुभएको छैन ?

मलाई त बोलाउने आधार पनि छैन । उहाँले भन्नुभएकोचाहीं छ । तर, मैले त्यसलाई गहन रूपमा लिनै चाहिनँ । बाबुराम र प्रचण्डबीच विचार मिल्ने भएकाले उहाँहरू एक भए हुन्छ । तर, मसँग विचार मिल्दैन । 

बाबुरामजी त एकता गर्ने भनेरै लाग्नुभएको हो । गोरखाको निर्वाचन क्षेत्रमा कुरा नमिलेर त हो दूरी बढेको । विचार मिल्ने र छलफल गरेर विचार मिलाउन सक्नेहरूबीच एकता हुनु जरुरी छ र हुनुपर्छ । 

नेपालमा एउटा मात्रै कम्युनिस्ट पार्टी हुँदैन । कम्तीमा दुई वटा हुन्छन् । पहिलो, कम्युनिस्ट नभए पनि ब्रान्ड देखाउने । दोस्रो, देश र जनताको मुक्तिका लागि राजनीति गर्नेहरू ।

हामीले प्रचण्डलाई अहिलेको संविधान मानेर अगाडि नबढ्नूस् भन्यौं । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक पद्धति ठीकै छ । यी आंशिक कुरा हुन् । तर, मूल कुरा हामीले उठाएको वर्गीय राज्यसत्ता भएन । पुरानै राज्यसत्ता रह्यो, रूपान्तरणको आवश्यकता छ । 

'आंशिक प्रगतिलाई ठूलो मान्नु हुँदैन । तपाईंले तुरुन्त नोट अफ डिसेन्ट लेख्नूस्' भन्यौं तर उहाँले मान्नुभएन ।

नेपालमा दुई कम्युनिस्ट पार्टी कसरी सम्भव छ ? कि भन्ने कम्युनिस्ट तर सबैको मोहचाहीं सत्ताकै हो ?

यसलाई दुई कोणबाट हेर्न सकिन्छ । पहिलो कुरा टुक्रिनु स्वाभाविकै हो । विचार होइन, ब्रान्डका लागि आएपछि स्वतः टुक्रिन्छ । अहिलेको अवस्थामा प्रचण्डजी कम्युनिस्ट होइन, एमाले पनि कम्युनिस्ट थिएन । र, बाबुरामजी पनि कम्युनिस्ट होइनन् । उहाँहरूले राख्नुभएको नाम मात्रै हो । समस्या त्यही हो । 

क्रान्तिकारी कम्युनिस्ट पार्टीबीच पनि द्वन्द्व भएर जाने स्थिति छैन । यो दोस्रो कुरा हो । शुरुमा राम्रो काम गरेर जाने साथीहरू पनि बीच–बीचमा पुगेपछि विचलित भएर फेरिँदा रहेछन् भन्ने पनि देखियो । 

तर, कम्युनिस्ट मात्रै फुट्ने भन्ने होइन । अरू पार्टी पनि फुट्छन् । एउटा सर्वहारा वर्गको विचार मान्नेहरू र अर्को पुँजीपति वर्गको विचारधारा मान्नेहरू हुन्छन् । विचार नमिल्नेहरू फुट्छन् । 

भूराजनीतिले पनि फरक पार्छ भनिन्छ । तपाईंलाई पनि त्यस्तै भएको हो र ? 

चलखेल त जहाँ पनि हुन्छ । कम्युनिस्टमा मात्र होइन, कांग्रेसमा पनि हुन्छ । पार्टीमा गैरकम्युनिस्ट प्रवृत्ति आउने एउटा कारणचाहीं बाह्य शक्तिको प्रभाव हो । त्यसको सामना पनि गर्नुपर्छ, बेला-बेला ।

सिद्धान्त एउटै, पार्टीको नाम पनि करिब–करिब मिल्ने तर एकतामा अप्ठ्यारो किन ?

सबैले कम्युनिस्ट नाम राखेका छन् । माक्र्सवाद–लेनिनवाद पनि भन्छन् । तत्कालीन एमालेले जनताको बहुदलीय जनवादलाई माक्र्सवादको नेपाली संस्करण भन्थ्यो । 

केही दिनअघि समाचार पनि आएको थियो, बहुदलीय जनवाद त 'मल्टी पार्टी डेमोक्रेसी' हो भनेर । 'मल्टी पार्टी डेमोक्रेसी' कसरी माक्र्सवादको नेपाली रूप हो ? यो त ढाँट कुरा पो हो । 

तपाईंहरूको कार्यदिशा के ? निर्वाचन प्रणालीमा सहभागी हुने कि हतियार नै उठाउने ? 

निर्वाचनका विषयमा दुइटा कुरा हुन्छन् । एउटा, वर्तमान सत्ता र व्यवस्थालाई मानेर सरकारमा जाने हिसाबले निर्वाचन लड्नु । जस्तो: हाम्रा धेरै साथीले गरिरहेकै छन् । अर्को, आवश्यकताका आधारमा उपयोग गर्ने । 

हामी जाने उपयोगका लागि हो । हामीलाई यो सत्ता र यो व्यवस्थाले परिवर्तन ल्याउँछ भन्ने लाग्दैन । त्यसैले निर्वाचनलाई हामी उपयोग गर्ने हिसाबले नै जान्छौं, कुनै बेला बहिष्कार नै हुन्छ । कुनै बेला उपयोग गर्नेछौं । तर, हतियार उठाउने विषयमा कुनै कुरा भएको छैन ।
 
प्रतिक्रिया दिनुहोस्