मंगलबार, कात्तिक २६, २०७६

संवाद

'विदेशी लगानीको प्रमाण भेटिए पार्टी नै भंग गर्न तयार छौं'

रविन्द्र मिश्र, विवेकशील साझा पार्टीका संयोजक हुन्। तर, यो उनको पछिल्लो परिचय मात्र हो। चर्चित पत्रकार, स्तम्भकार, लेखक, कवि, परोपकार आदि बहुआयामिक परिचय बोकेका व्यक्ति हुन्, मिश्र।

'विदेशी लगानीको प्रमाण भेटिए पार्टी नै भंग गर्न तयार छौं'
रविन्द्र मिश्र, विवेकशील साझा पार्टीका संयोजक हुन्। तर, यो उनको पछिल्लो परिचय मात्र हो। चर्चित पत्रकार, स्तम्भकार, लेखक, कवि, परोपकार आदि बहुआयामिक परिचय बोकेका व्यक्ति हुन्, मिश्र। पछिल्लो, राजनीतिक नेताको परिचय थप्नुअघि उनी बीबीसी नेपाली सेवाका प्रधान सम्पादक थिए। राजनीतिक नेताहरूलाई आच्छु-आच्छु पार्ने प्रश्न सोध्ने उनको विशेषताले नेपालीको मन जितेको थियो। विगतमा प्रश्न सोध्ने स्थानमा उनी अहिले आफैं उभिएका छन्। र, विवेकशील साझा पार्टी स्थापनाको एक वर्ष भएको अवसरमा नेपाल समयका सवालहरूको जवाफ दिन उनी तयार भएर उभिएका छन्। 

लामो समय पत्रकारितामा बिताएर एकाएक राजनीतिमा आउनुभयो। राजनीतिको एक वर्षे यात्राको अनुभव कस्तो रह्यो?

यो एक वर्षे यात्रा अनुभव एकदमै उत्साहजनक रहेको छ। जुन उत्साह र उद्देश्य बोकेर हामी आएका थियौं, त्यो यात्रामा हामी अडिग छौं। हामीले हासिल गर्न खोजेको उपलब्धिको धेरै नजिक पनि पुगेका छौं। अब चार वर्षपछिको चुनावमा चाहीं घोषित उद्देश्य हासिल गर्छौं भनेरै अगाडि बढिराखेका छौं। यो अनुभव चुनौतीपूर्ण र उत्साहजनक दुवै भएको छ। 

पहिलेदेखि नै कुनै उद्देश्यका साथ राजनीतिको यस्तो कठिन यात्रामा होमिनु भएको हो वा पत्रकारिताबाहेकको तपाईंको अर्को सोख हो? एक वर्षले उत्साहित या निरुत्साहित के बनाएको छ?

पत्रकारिता मैले असाध्यै खुशीसाथ गरिरहेको थिएँ। र, म कुनै सोखको रूपमा राजनीतिमा प्रवेश गरेको होइन। कुनै पद प्राप्तिको लागि राजनीति रोजेको पनि होइन। केही दशकदेखिको नेपाली राजनीतिको विकृतिले मलाई राजनीतिमा ओर्लन बाध्य बनाएको हो अथवा प्रेरित गरेको हो। 

हाम्रो राजनीति प्रणाली ठीकठाक ढंगले चलेको र मेरो बुढेसकाल सुरक्षित र खुशी साथ बित्छ भन्ने लागेको भए सम्भवतः म राजनीतिमा आउने थिइनँ। तर, देश बनाउने कुरा अलि परै राखौं, आफ्नो बुढेसकाल कस्तो हुन्छ भन्ने पनि पक्का भएन। सामाजिक सुरक्षाको अभावमा पैसा हुनेको बुढेसकाल अलि सहज र नहुनेको असहज हुने स्थिति देखियो। आफ्ना सन्तान बुढेसकालमा साथमा हुन्छ कि हुँदैनन् भन्ने पनि पक्का भएन। विषादि नभएको तरकारी खान, राम्रो अस्पताल जान र राम्रो बाटोमा हिँड्न पाइन्छ कि पाइँदैन भन्ने पनि पक्का भएन। 

यिनै कारणले मलाई राजनीतिमा आउन प्रेरित गरेको हो। र, एक वर्षमा त्यसमा कत्ति पनि तलमाथि भएको छैन। शुरुको सोचभन्दा दृढता अझ बढेको छ। किनभने, दृढ साथीहरू झन् बढी एक ठाउँमा एकढिक्का भइरहेका छौं । 

मिश्रसँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस्

राजनीतिभन्दा बाहिरबाट अरूलाई प्रश्न सोध्नु र राजनीतिमा होमिएर आफैंले प्रश्नको सामनामा गर्नुमा के फरक हुँदो रहेछ?

स्वाभाविक रूपमा प्रश्न गर्न पत्रकारितामा मात्र होइन, जहाँ पनि सजिलो हुन्छ। र, उत्तर दिन गाह्रो। त्यसमा पनि समस्याको बारेमा प्रश्न सोध्न सजिलो छ, त्यसको उत्तर पाउन गाह्रो छ। उत्तर दिन चुनौतीपूर्ण र कठिन हुन्छ। त्यसलाई विश्वासिलो पनि बनाउनुपर्ने हुन्छ। त्यसकारण प्रश्न गर्ने र उत्तर दिने कुरामा फरक त हुन्छ नै। 

पार्टी स्थापनाको लगत्तै स्थानीय, प्रदेश र संघीय तहको चुनावको सामना गर्नुभयो। तीन वटै तहको चुनावमा सहानुभूतिको केही मत पनि प्राप्त गर्नुभयो तर राष्ट्रिय पार्टी बन्न सक्नु भएन। जनताको उल्लेख्य विश्वास आर्जन गर्न नसक्नुको कारण के रह्यो?

पार्टी स्थापना भएको केही महिनामै हामी चुनामा होमिनु पर्यो। संगठन थिएन। सदस्यहरू असाध्यै थोरै थिए। त्यस्तो अवस्थामा संगठितभन्दा सद्भावको भोट आउनु स्वाभाविक थियो। हामीले गर्न सकेनौं भन्ने गलत मूल्यांकनजस्तो लाग्छ। 

राष्ट्रिय पार्टी बन्ने हाम्रो उदेश्य थियो। पाँच वटा दल राष्ट्रिय पार्टी बने, हामी छैटौं नम्बरमा पुग्यौं। थोरै भोटले तीन प्रतिशत मत हासिल गर्न सकेनौं। र, थोरै भोटले मलगायत केही साथी हार्‍यौं। उद्देश्यको धेरै नजिक पुग्नुलाई हामीले सकारात्मक रूपमा लिएका छौं। 

तपाईंहरूले पाउनुभएको आधाभन्दा बढी भोट शहरी इलाका त्यसमा पनि प्रदेश-३ र अझ काठमाडौं उपत्यकाको वरिपरि देखिएको छ। अनि यसरी मात्र राज्यसत्तामा पुग्ने पार्टी बन्छ? 

काठमाडौंबाट सञ्चार माध्यममार्फत् निसृत भएका विचार र समाचारले नेपालको दूरदराजमा विचार निर्देशित गर्छन्। हामी शहरमा जन्मियौं। त्यसैले पहिले शहरको जनसंख्यालाई प्रभावित पार्नु र उनीहरू हामीबाट प्रेरित हुनु एकदमै सकारात्मक लक्षण हो। हाम्रो संगठन निर्माण भएपछि हामी गाउँ-गाउँमा पुग्छौं। 

चुनावपछि मैले प्रदेश-७ का केही जिल्ला र गाउँ घुमें। त्यहाँ अत्यन्तै उत्साहजनक प्रतिक्रिया पायौं। चुनावअघि पनि सबै प्रदेशका केही ठाउँमा पुगेका थियौं। हामीलाई गाउँ नदेखेको र नबुझेको भन्नु गलत हो। म स्वयं पनि डोटी र दार्चुलामा सुकुलमा बसेर पढेको मान्छे हुँ। पार्टीका कैयौं नेताहरु त्यही पृष्ठभूमिका हुनुहुन्छ। पार्टी काठमाडौंमा जन्मे पनि देशभर फैलिनैपर्छ। यसमा हामी सचेत छौं। 

प्रसंग बदलौं, तपाईंहरूको पार्टीको राजनीतिक विचारधारा वा सिद्धान्त के हो त?

हाम्रो दर्शन, वाद वा सिद्धान्त जे भने पनि कल्याणकारी लोकतन्त्र हो। यसको आफ्नै दर्शन, अर्थनीति र राजनीतिक प्रणाली छ। नेपालका मुख्य दलहरूले आफूलाई कम्युनिस्ट समाजवादी र प्रजातान्त्रिक समाजवादी भने। यस अर्थमा समाजवाद र कल्याणकारी लोकतन्त्रमा के अन्तर हो भन्ने प्रश्न उठ्न सक्छ।

समाजवाद यस्तो खुकुलो राजनीतिक दर्शन बनिसक्यो, जहाँ सिंगापुरको र  चिनियाँ कम्युनिस्ट पार्टीको अर्थतन्त्र पनि सँगसँगै अटाउँछ। नेपाली कांग्रेस मात्र होइन, नेपाल कम्युनिस्ट पार्टी पनि अटाउँछ। त्यहींभित्र युरोपका लोकतान्त्रिक देशहरू पनि अटाउँछन्। 

लोकतन्त्र भएका र नभएका शासनपद्दतिहरु पनि समाजवादभित्र अटाए। नेपालको सन्दर्भमा समाजवादी चिन्तन बोकेर आजसम्म राजनीति गरेका नेताहरू पनि त्यहाँ अटाए, जसले शिक्षा र स्वास्थ्यमा आम जनताको सुलभ पहुँच हुनुपर्छ भन्ने डा. केसीको मागलाई समेत मान्दैनन्। 

शिक्षा र स्वास्थ्यलाई निजीकरण अनि व्यापारीकरण गर्न दिने नेपाली कांग्रेस पनि समाजवादी हो। समाजवादमा यस्तो नहुनुपर्ने हो। शिक्षा र स्वास्थ्य निजीकरण, व्यापारीकरण र नाफाखोरी नहुनुपर्ने हो। त्यसैले समाजवादले परिकल्पना गरेको राजनीतिक दर्शन एकदम धुमिल भइसक्यो। विकृत लोकतन्त्र भएका अझ 'मै खाउँ, मै लाउँ' भन्ने राजनीतिज्ञहरू पनि समाजवादभित्र अटाए। 

त्यसैले हामी कल्याणकारी लोकतन्त्र भन्यौं। लोकतन्त्र आधारभूत आवश्यकता हो- हुनैपर्छ। तर, कांग्रेसले ०४८/४९ सालतिर शिक्षा र स्वास्थ्यलाई निजीकरण र व्यापारीकरण गरिदिएको जस्तो छाडा लोकतन्त्र चाहिएको होइन। लोकतन्त्रमा कल्याणको लेप लगाउनुपर्छ। त्यसले मात्र सम्पूर्ण नागरिकको हित गर्न सक्छ, समतामुलक समृद्धि हासिल हुन सक्छ र न्यायोचित वितरणलाई संबोधन गर्न सक्छ भन्ने हाम्रो मान्यता हो। 



कांग्रेसको प्रजातान्त्रिक समाजवाद र नेकपाको वामपन्थी समाजवादको बीचमा तपाईंहरूको कल्याणकारी लोकतन्त्रको स्थान कहाँनेर हो ?

कल्याणकारी राज्यको अवधारणा अंगिकार गरिएको राज्यमा कल्याणकारी लोकतन्त्र हुन्छ। त्यो भनेको परोपकार होइन। कल्याणकारी लोकतन्त्रमा पहिले देश बेस्सरी धनी हुनुपर्छ अनि राज्यले काम नगर्नेहरूलाई पैसा बाँड्छ भन्ने सहज बुझाइ छ। त्यस्तो होइन। 

उदार लोकतन्त्रमा मिश्रित मूल्य-मान्यतालाई अंगिकार गरिएको हुन्छ। त्यहाँ निजीकरणलाई पखेटा फिँजाएर प्रबद्र्धन गरिएको हुन्छ तर शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातजस्ता राज्यको दायित्वभित्रका क्षेत्रहरुमा होइन। यसले गर्दा सही अर्थमा राष्ट्रिय पुँजीको निर्माण हुन्छ। 

कल्याणकारी लोकतन्त्रको अर्थ पखेटा फिँजाएर उड्न चाँहानेलाई उड्न दिने तर उनीहरुलाई कर छलेर भाग्न नसक्ने गरी नियमन गर्ने व्यवस्था हो। त्यसबाट राज्यले प्राप्त गर्ने लाभलाई दूरदराजका जनताका लागि अवसर प्रबद्र्धन गर्न प्रयोग गर्नुपर्छ। उनीहरूलाई परनिर्भर होइन, आत्मनिर्भर बनाउनका लागि राष्ट्रिय पुँजीको प्रयोग गर्नुपर्छ। 

कम्युनिस्ट नेताहरूले यो कुरा गर्दा लोकतन्त्रको अंश हुँदैन। कम्युनिजमले अहिलेको विश्वमा काम गर्दैन भन्ने कुरा साम्यवाद विघटन भएका मुलुकहरूले पनि देखाइसके। अहिलेको चीन पनि साम्यवादको अवधारणाले काम गर्दैन भन्ने प्रमाण हो। 

उता कांग्रेसले प्रजातान्त्रिक समाजवादको जग हाल्ने मौका पाएको बेला गिरिजाप्रसाद कोइरालाले निहित स्वार्थका कारण स्वास्थ्य र शिक्षालाई निजीकरण गरिदिनुभयो। काँग्रेसको पापले नेपाली समाजमा जुन किसिमको श्राप छोडेर गयो, त्यसको असर हामीले भोग्दैछौं। कांग्रेसको उक्त पाप इतिहासमा कहिल्यै धोइँदैन।

मानौं, तपाईंहरूले आफ्नो विचारधाराअनुरूप राजनीतिक मुद्दाहरू उठाएर राजनीति गर्नुहोला। तर, अहिलेका ठूला र लोकतान्त्रिक भनिने पार्टीहरूले भोलि तपाईंहरूका मुद्दा सजिलै 'हाइज्याक' गरिदिन सक्छन्। त्यतिबेला तपाईंहरूको पार्टीको सान्दर्भिकता नै सकिने त होइन?

(हाँसो) यस्तो खतरा नभएको होइन। डा.गोविन्द केसीको सत्याग्रहको सन्दर्भमा पार्टीले शिक्षा र स्वास्थ्य राज्यको दायित्वभित्र राख्यो। यसअघि शिक्षा र स्वास्थ्यमा यस्तो बहस चलेको थिएन। कांग्रेस र कम्युनिस्टले पनि सत्तामा छँदा यि विषयलाई राज्यको दायित्व ठानेका थिएनन्। 

अहिले आएर कांग्रेस र कम्युनिस्ट दुवैले शिक्षा र स्वास्थ्यलाई सिद्धान्ततः राज्यको दायित्व भन्न थाले। उनीहरूले समाजवाद त बुझेकै रहेनछन्। यस्ता सवालमा उनीहरुले हाम्रा मुद्धाहरु 'हाइज्याक' गरे पनि हुन्छ।

आफूलाई समाजवादी दावी गर्ने सरकारले महिनाको २० लाख र १ लाख कमाउनेलाई लगभग बराबर कर लगाइरहेको थियो। मैले २० लाख कमाउनेका लागि करको दायरा बढाउनुपर्छ भनेर लेखें। ३ महिनापछि आएको बजेटमा बढी कमाउनेको लागि करको दायरा बढ्यो। र, अहिले औसतमा ३५ प्रतिशत छ। कसैले 'हाइज्याक' गरे पनि स्थापित गर्ने कर्ता त थाहा भइहाल्छ।

विवेकशील साझा पार्टीको मुल चरित्र आम जनतामा आधारित पार्टी हुनेछ कि कार्यकर्तामा आधारित? पार्टी संगठनको नयाँ आधार कसरी निर्माण गर्नुहुन्छ?

हाम्रो पार्टीको मुल चरित्र 'मास बेस्ड' नै हो। तर, पार्टी नेतृत्वमा अलिकति 'क्याडर बेस्ड' चरित्र पनि हुन्छ। अन्यथा पार्टी अगाडि बढ्नै सक्दैन। केही निश्चित मानिस पूर्ण रूपमा राजनीतिमै होमिनुपर्छ। उनीहरूको ध्यान अन्यत्र जानु हुँदैन। तर, त्यही कुरा समर्थक र शुभेच्छुकहरूमा लागू गर्दा उनीहरूको जीवन चल्न सक्दैन। र, त्यहाँबाट भ्रष्टाचार पनि शुरु हुन्छ। 

अहिलेजस्तो समाजलाई असाध्यै राजनीतिकरण गर्न हामी चाहँदैनौं। हामीलाई डेढ/दुई लाख सदस्य भए पर्याप्त हुन्छ। चुनावमा उम्मेदवार बनाउन सदस्य चाहिन्छ। आगामी स्थानीय चुनावमा करिब ३७ हजारजति उम्मेदवार आवश्यक हुन्छन्। उम्मेदवारको लागि पनि एक एक जना प्रस्तावक र समर्थक हुनैपर्छ । 

निश्चित संख्याले पार्टी चलाउन दियौं भने बाँकी जनतालाई स्वतन्त्र रहन दिनुपर्छ। किनकि ठूलो संख्यालाई दलमा आबद्ध गराउँदा समाजको चरित्र बिग्रियो। स्वतन्त्र र सचेत नागरिक नभैकन समाजबाट अहिले लागेको राजनीतिक रंगलाई पखाल्न सकिदैन। समाजलाई सुसंस्कृत बनाउन पनि धेरै गाह्रो हुन्छ । 

अन्य दलहरू जस्तै तपाईंहरू पनि अरू दललाई आलोचना गर्दै जन्मिनु भएको छ। अरूलाई  प्रश्न मात्र गर्ने कि समाधानमुखी राजनीति गर्ने?

हरेक विचार र आविष्कारको जन्म प्रश्नबाटै हुन्छ। हामी पनि प्रश्नैबाट जन्मिएका हौं। प्रजातन्त्र पुनःस्थापना भएको २७ वर्ष बितिसक्दा पनि विकास र समृद्धिको बाटोमा मुलुक अग्रसर हुन सकेन। हामीलाई लाग्यो, विचारले भन्दा राजनीतिज्ञहरूको आचरणले गर्दा मुलुकमा परिवर्तन आउन सकेन। 

२०४७ सालको संविधानमा पनि कमजोरीहरू थिए होलान्। तर, कमजोरीले मात्र विकास र समृद्धिलाई रोकेका होइनन्। कमीकमजोरीलाई सुधार गर्दै लैजान सकिन्थ्यो। तर दलहरुलाई विचार प्रधान लाग्यो, आचरण प्रधान लागेन। विचार बोकेर सत्तामा आए, आचरण कहिल्यै सुध्रिएन। आचरण नसुध्रिँदा देशको हालत जस्ताको तस्तै रह्यो। त्यसैले प्रश्न सही नउठ्दासम्म सही समाधान पनि नआउँदो रहेछ।

हो, पुराना दलहरूलाई गाली गरेर मात्र अगाडि बढ्न सकिदैन। लोकतन्त्रका लागि लडेका पुराना दल र नेताहरूलाई सलाम गर्छौं। १४ वर्ष जेल परेका नेता अहिले हाम्रो देशको प्रधानमन्त्री हुनुहुन्छ। गोलघरमा पनि बस्नुभएको थियो। 

तर, १४ वर्ष म जेल बसेको थिएँ। मैले गरेको लगानीको ब्याज मैले खान पाउनुपर्छ भन्ने आचरणप्रति हाम्रो आपत्ती छ। पुराना दलहरूको कमजोरीको आलोचना हुनुपर्छ। तर उहाँहरूका सवल पक्षको प्रशंसा गर्छौं। 

तपाईंहरूमाथि प्रतिक्रियात्मक राजनीति गरेको आरोप छ। जनताले प्रश्न होइन, समाधान दिन सक्ने दल चाहेका छन्। तपाईंहरू समाधानको राजनीतिमा कहिलेदेखि प्रवेश गर्नुहुन्छ?

त्यो विश्लेषण गलत भएजस्तो लाग्छ। भर्खरै हामीले शिक्षा र स्वास्थ्य राज्यको दायित्व हो भन्ने बलियो अडान अगाडि सार्‍यौं। यो त 'प्रो-एक्टिभ' भूमिका नै हो। भ्रष्टाचार विरोधि, वातावरण सन्तुलन तथा संपदा संरक्षण जस्ता कैयौं सवालहरुमा हामी रचनात्मक कार्य सहित अघि बढेका छौं।

हामी समस्या समाधानको राजनीतिमा प्रवेश गरिसकेका छौं। अहिले शिक्षा र स्वास्थ्यका कुरा गरिरहेका छौं। सार्वजनिक यातायातको कुरा गर्छौं। भोलि परराष्ट्र र कृषि नीतिका कुरा गर्छौं। जनसरोकारका हरेक बिषयमा समाधानमुखी बाटो पहिल्याउने हाम्रो प्रयत्न हुनेछ। 

शिक्षा र स्वास्थ्य त डा. गोविन्द केसीले अगाडि सारिदिनुभएको एजेन्डा होइन र? तपाईंहरूको आफ्नै एजेन्डा के त?

हो, डा. केसीले शिक्षा र स्वास्थ्यमा सहज र सुलभ पहुँच हुनुपर्छ भन्नुभयो। केदारभक्त माथेमा आयोगको प्रतिवेदन लागू हुनुपर्छ भन्नुभयो। हामी पनि त्यसको पक्षमा छौं। तर त्यसलाई हामीले प्रस्थानविन्दु मात्र मान्छौं। जस्तो माथेमा प्रतिवेदनले १० वर्षसम्म काठमाडौं उपत्यकामा निजी कलेज नखोल्नु भनेको छ। हामी १० वर्षपछि पनि चिकित्सा क्षेत्रमा निजी कलेज हुनु हुँदैन भन्छौं। 

दूरदराजका जनताले पनि आफ्नै ठाउँमा आधारभूत स्वास्थ्य सेवा पाउनुपर्छ। जनतालाई निःशुल्क स्वास्थ्य सुविधा हुनुपर्छ भन्ने हाम्रो उद्देश्य हो। डा. केसीको माग र माथेमा आयोगको प्रतिवेदनभन्दा पनि अझ अगाडि जाने नीति हो हाम्रो। 



मुलुकलाई नेतृत्व गर्ने नौलो एजेन्डा के हो त तपाईंहरूको ?

कल्याणकारी लोकतन्त्र नौलो एजेन्डा हो। शिक्षा, स्वास्थ्य, यातायातमा सरकारको दायित्व प्रधान हुन्छ। र, राजनीतिमा क्षमता र आचरणको महत्व त्यत्तिकै छ। आचरण र क्षमतालाई जोडिएन भने विकल्प ढोंग मात्र हुन्छ। राजनीतिमा यी नयाँ एजेण्डा नै हुन्। विचारसँग आचरण र क्षमता पनि जोडिनुपर्छ र राजनीतिक व्यवहारमा देखिनु पनि पर्छ। 

आगामी निर्वाचनपश्चात् अर्थात् पाँच वर्षपछि विवेकशील साझा पार्टीको हैसियत के होला?

पाँच वर्षपछि विवेकशील साझालाई नेपालको नम्बर एक पार्टी बनाउनुपर्छ। र, पार्टीले देशको नेतृत्व गर्नुपर्छ। पाँच वर्षपछि पनि हामीले सरकारको नेतृत्व गर्न पाएनौं भने देशको लागि दुःखदायी परिस्थिति हुनेछ। जसरी काठमाडौं महानगरमा विवेकशील साझाको नेतृत्व पराजित हुँदा र एमालेका विद्यासुन्दर शाक्य विजयी हुँदा एक वर्षमा जे भोग्नुपरेको छ, अर्को चार वर्षपछि पनि विवेकशील साझालाई नेतृत्वमा नपुर्‍याउने हो भने मुलुकले यस्तै हविगत बेहोर्नुपर्नेछ।
 
बलियो सांगठनिक आधार भएका पुराना दललाई पाखा लगाउँदै पाँच वर्षमा एक नम्बर नै हुने दाबी कसरी गर्न सक्नुहुन्छ?

पाँच वर्ष त लामो समय हो। चार महिनाभित्र राष्ट्रिय पार्टी हुन्छौं भनेका थियौं। त्यतिबेला हामी छैटौं पार्टी बन्यौं। हामीहरु आगामी निर्वाचनमा एक नम्बर बन्न सक्दैनौं भनेर यात्रा गरिरहेका छैनौं। वैचारिक, सांगठनिक र आचरणगत हिसाबले हामी त्यसरी नै तयारी गरिरहेका छौं। 

मानौं, पाँच वर्षमा तपाईंहरूले सरकारकै नेतृत्व गर्नुभयो रे। नागरिकको अपेक्षालाई सम्बोधन गर्न सक्नुहोला? यहाँ त सरकारमा जानुभन्दा पनि परिणाम दिन नसक्ने समस्या बढी छ।

नेपाली समाजले राजनीति र राजकाजलाई छुट्याउनुपर्‍यो। धेरै वर्ष राजनीति गरेको व्यक्ति नै राजकाजका लागि उपयुक्त हो भनेर हामीले जसरी भोट दिइरहेका छौं, त्यहाँ आधारभूत त्रुटि छ। राजकाज भनेको क्षमता, इमानदारी र 'कमनसेन्स' पनि हो। तीन वटै कुरा नबुझेका राजनीतिज्ञहरू सत्तामा पुगेकोले 'डेलिभरी' दिन सकिरहेका छैनन्। त्यो राजकाजको क्षमता उनीहरूमा देखिँदै देखिएन। 

पार्टी स्थापनादेखि नै हामीले 'मेरिटोक्रेसी' अर्थात् उत्कृष्टता भनिरहेका छौं। इमानदारी र उत्कृष्टता नभएका तर राजनीति जानेका मान्छेहरू मात्र नेतृत्वमा पुगे भने तिनीहरूले देशलाई झन् बढी हानी गर्छन्। उनीहरूमा अलिकति क्षमता हुन्छ तर इमानदारी हुँदैन। 

राजनीतिक दलका जति पनि नेताहरू छन्, उनीहरू राजनीतिकर्मी हुन् तर राजनेता होइनन्। सोही कारण उनीहरूले 'डेलिभर' गर्न सक्दै सक्दैनन्। यसलाई बदल्न आवश्यक भएकोले नै हामी आएका हौं।

मित्रराष्ट्रहरूलाई हेर्ने तपाईंहरूको दृष्टिकोण के हो? विदेशबाट लगानी भएको पार्टीका रूपमा तपाईंहरूलाई आरोप लगाइने गरेको छ नि ?

हामी मित्रराष्ट्रहरूसँग समनिकटताको सम्बन्ध राख्न चाहन्छौं, समदूरीको होइन। 'दूरी' शब्दले नकारात्मकता जनाउँछ। मित्रराष्ट्रहरूलाई साथमा लिएर र कूटनीतिमा आफ्नो इज्जत र सम्मानलाई स्थापित गरेरै अगाडि बढ्ने हो। 

विभिन्न कालखण्डमा हामीकहाँ कुशल कूटनीति नभएको होइन। तर, अहिले एकदमै दयनीय स्थिति छ। यसलाई पुनःस्थापना गर्न जरुरी छ। हामीले कूटनीतिक निर्देशिका बनाइसकेका छौं। 

जहाँसम्म विदेशीबाट लगानी भएको आरोप छ, त्यो तथ्यहीन र आधारहीन आरोप मात्र हो। कुनै पनि विदेशी संस्थाले हामीलाई अलिकति पनि लगानी गरेको प्रमाण कसैले ल्याउँछ भने हामी सार्वजनिक क्षमायाचना मात्र होइन, पार्टी नै भंग गरिदिने प्रस्ताव ल्याउँछौं। 

पार्टी स्थापना दिवसको अवसरमा कुनै सन्देश दिन चाहनु हुन्छ कि ?

हामी तराई, पहाड र हिमाललाई एकताबद्ध गर्दै, युवा/महिलालगायत जनसंख्यालाई एकताबद्ध गर्दै र समावेशितालाई अंगिकार गर्दै समृद्ध मुलुकको रूपान्तरणको यात्रा एकै पुस्तामा सम्भव छ भनेर देखाउन चाहन्छौं। सक्षम तथा इमानदार नेतृत्वले मात्र यस्तो कार्य सम्पन्न गर्न सक्छ भनेर देश र जनतालाई प्रमाणित गरेर देखाउन चाहन्छौं। 
प्रतिक्रिया दिनुहोस्