बुधबार, कात्तिक २७, २०७६

अर्थ

बजेट समिक्षाः 'सबै ऋणमा निर्भर'

दुई तिहाइ बहुमतनजिकको वाम सरकारले चालु आर्थिक वर्ष ०७४/७५को भन्दा ३७ अर्ब रुपैयाँ बढीको बजेट मंगलबार संघीय संसदको संयुक्त बैठकमा ल्याएको छ ।  गत वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले

बजेट समिक्षाः 'सबै ऋणमा निर्भर'
काठमाडौं– दुई तिहाइ बहुमतनजिकको वाम सरकारले चालु आर्थिक वर्ष ०७४/७५को भन्दा ३७ अर्ब रुपैयाँ बढीको बजेट मंगलबार संघीय संसदको संयुक्त बैठकमा ल्याएको छ । 

गत वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले १२ खर्ब ७८ अर्बको बजेट ल्याएको थियो, जसको चालुतर्फ आठ खर्ब तीन अर्ब र पुँजीगतमा तीन खर्ब २५ अर्ब थियो । 

वाम सरकारको कुल १३ खर्ब १५ अर्ब रुपैयाँको बजेटमा पुँजीगततर्फ करिब २३ प्रतिशत अर्थात् तीन खर्ब रुपैयाँ विनियोजन गरेको छ । चालुतर्फ भने आठ खर्ब रुपैयाँ प्रस्ताव गरेको छ । यस्तै, वित्तीयतर्फ एक खर्ब रुपैयाँ प्रस्ताव गरिएको छ । 

नयाँ बजेटबारे नेपाल समयले अर्थ–राजनीतिका केही जानकारसँग प्रतिक्रिया लिएको छ । प्रस्तुत छ उनीहरूको प्रतिक्रिया–

आकार ठूलो भए पनि स्रोत कमजोर: पूर्वअर्थमन्त्री आचार्य


पूर्वअर्थमन्त्री महेश आचार्यले केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेटको आकार ठूलो भएको र पुँजीगत खर्च गर्ने आधार प्रस्ट्याउन नसकेको बताए । 

‘बजेटको आकार ठूलो छ । पुँजीगत खर्च २३ प्रतिशत अर्थात् तीन अर्ब २५ करोड छुट्याए पनि बजेटको स्रोत कमजोर छ,’ आचार्यले भने, ‘बजेटको ठूलो हिस्सा वैदेशिक ऋण र आन्तरिक ऋणमा निर्भर छ ।’

पुँजीगत खर्च कसरी बढाउने भन्नेमा कुनै योजना नदेखिएकाले राज्यको पुरानै विकास प्रशासनबाट बजेट परिचालन हुने सम्भावना नभएको आचार्यले बताए । 

पुँजीगत खर्चका लागि धेरै योजना प्रस्ताव गरिए पनि वास्तविक पुँजीगत खर्च बढाउने उपाय नदेखाइँदा देश र जनताको अपेक्षालाई यसले सम्बोधन गर्न नसक्ने उनको दाबी छ । 

उनले भने, ‘बजेटको थोरै हिस्सा मात्र आन्तरिक स्रोतले ओगटेको र त्यसको खर्च पनि सबै नहुने पुरानै समस्यालाई सम्बोधन गर्न सकेको छैन ।’ 

पुँजीगत खर्च कम हुनु राम्रो होइन: अर्थशास्त्री डा. पौडेल

अर्थशास्त्री तथा एमाले नेता डा. विजय पौडेलले बजेटमा चालु खर्चभन्दा पुँजीगत खर्च आधाभन्दा कम हुनु राम्रो नभएको बताए । ‘बजेटको कमजोर पक्ष भनेको पुँजीगत दायरा घटाउनु हो,’ डा. पौडेलले भने । 

राष्ट्रिय आयोजनाहरूलाई पूरा गर्ने अपेक्षा देखिनु बजेटको राम्रो पक्ष रहेको उनको भनाइ छ । ‘कुल गार्हस्थ उत्पादन (जीडीपी) आठ अंकमा पु¥याउने र पूर्वाधार तयार पार्ने कुरा बजेटको राम्रो पक्ष हो,’ डा. पौडेलले भने । 

बजेट महत्वाकांक्षी होइन: अर्थशास्त्री आचार्य

अर्थशास्त्री केशव आचार्यले वाम सरकारको बजेटलाई महत्वाकांक्षी बताउन नमिल्ने प्रतिक्रिया दिए । ‘कम्युनिस्ट सरकारले ठूलो र ‘बिग ब्याङ’ बजेट ल्याउने धेरैको अपेक्षा थियो, त्यो भएन,’ उनले भने । 

आर्थिक वृद्धिदर आठ प्रतिशत र मुद्रास्फीति साढे ६ प्रतिशत हुने अर्थमन्त्रीको प्रक्षेपणबाट यो बजेट जीडीपीको ४० प्रतिशतभन्दा कम हुने आचार्यको भनाइ छ । 

‘मुख्य कुरा कार्यान्वयन हो र त्यसका लागि कार्यविधि आउला,’ उनले भने, ‘त्यसपछि मात्र केही भन्न सकिन्छ ।’

 
प्रतिक्रिया दिनुहोस्