बुधबार, कात्तिक २७, २०७६

समाचार

गौतमबुद्ध विमानस्थलको विस्तार धमाधम, अब कहिले सकिएला ?

राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कार्यप्रगति ५० प्रतिशत देखिएको छ । निर्माणको मुख्य ठेक्का पाएको चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल कन्स्ट्रक्सन ग्रुप लिमिटेडले चार महिनायता कामलाई तीव्रता दिएको छ । 

गौतमबुद्ध विमानस्थलको विस्तार धमाधम, अब कहिले सकिएला ?
भैरहवा- राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कार्यप्रगति ५० प्रतिशत देखिएको छ । निर्माणको मुख्य ठेक्का पाएको चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल कन्स्ट्रक्सन ग्रुप लिमिटेडले चार महिनायता कामलाई तीव्रता दिएको छ । 

आयोजनाको परामर्शदाता युसिन कोरियन कन्सल्ट्यान्ट र नागरिक उड्डयन प्राधिकरणले गरेको मूल्यांकनमा निर्माणको प्रगति देखिएको हो । 'बीचमा केही समस्या भए पनि अहिले कामको गति राम्रो छ । चिनियाँ कम्पनीले म्यानेजर परिवर्तन गरेसँगै रातदिन काम भइरहेको छ,' आयोजना प्रमुख ओम शर्माले भने । 

शर्माका अनुसार सबै मूल्यांकन गर्दा भौतिक ५० र आर्थिक प्रगति ३३ प्रतिशत भएको छ । आगामी फागुन मसान्तसम्ममा भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न हुने उनको दाबी छ । 

उनका अनुसार धावनमार्गको बेस कोर्सको काम सम्पन्न भएको छ । टर्मिनल भवनको आगमनतर्फको भागमा अन्तिम तलाको ढलाइ सकिएर फिनिसिङ हुँदैछ । प्रस्थानतर्फको अन्तिम तलाको ढलाइ हुँदैछ । प्रशासकीय भवन निर्माण सकिएको छ । कन्ट्रोल टावरको आठमध्ये पाँच तलासम्म काम सकिएको छ । पार्किङ स्थलको दुई तिहाइ काम सकिएको छ । नाला र 'ट्याक्सी वे' निर्माणाधीन छन् ।

आयोजनाका अनुसार बाँकी ५० प्रतिशत काममध्ये आधा विद्युतीय र आधा सिभिलको छ । कुल ६ अर्ब २२ करोड ५१ लाख ३० हजार रुपैयाँमा चिनियाँ कम्पनीले ठेक्का पाएको छ । सेप्टेम्बर २०१९ मा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु गर्ने सरकारी लक्ष्य छ । 

उक्त विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने कामको शिलान्यास १ माघ ०७१ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरेका थिए । मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र क्षमताले धान्न नसकेपछि सरकारले विकल्पका रूपमा भैरहवाको स्तरोन्नती थालेको थियो । 

१६ पुस ०७१ मा कार्यादेश पाई १९ जेठ ०७४ मा निर्माण सम्पन्न गर्ने गरी टेन्डर आव्हान गरिएको थियो । १ माघ ०७१ देखि काम शुरु भएको थियो । निर्धारित समयमा निर्माण नसकिएपछि १७ पुस ०७४ सम्म म्याद थपिएको थियो । दोस्रो पटक १३ असार ०७६ सम्मका लागि समय बढाइएको थियो । 

हालको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ०११ सालमा डा. केआई सिंह र काशिप्रसाद श्रीवास्तवको पहलमा निर्माण भएको हो । शुरुमा भैरहवाको शान्तिनगरमा रहेको विमानस्थल ०२०/२१ सालताका हालको ठाउँमा स्थानान्तरण भएको स्थानीय बालकृष्ण भट्टराईले बताए । 

करिब १० बिघामा रहेको शान्तिनगरस्थित विमानस्थलबाट भैरहवा-पोखरा र भैरहवा-काठमाडौं उडान हुने गथ्र्यो । हालको स्थानमा स्थानान्तरण भएपछि शान्तिनगरमा भैरहवा बहुमुखी क्याम्पस, संस्कृत विद्याश्रम र संघीय प्रहरी एकाइ लुम्बिनीका कार्यालय स्थापना भएका हुन् । शान्तिनगरस्थित विमानस्थलमा पोखराका लागि निर्माण सामग्री बोकेर उड्दै गरेको डकोटा विमान दुर्घटनामा परेको थियो । त्यो नेपालको उड्डयन इतिहासको पहिलो दुर्घटना थियो । 

२०२३ सालदेखि नियमित उडान हुँदै आएको भैरहवा विमानस्थलको स्वामित्वमा पर्याप्त जग्गा छ । ०६१ साल अघिसम्म ८४ बिघा तीन कठ्ठा रहेकामा ०६३ सालमा दुई सय १३ बिघा चार कठ्ठा १५ दशमलव ७५ धुर थप भएको थियो । हाल थप पाँच सय बिघाको मुआब्जा वितरण भइरहेको छ । 

सबै जग्गा विमानस्थलको स्वामित्वमा आएपछि यसको क्षेत्रफल सात सय ८७ बिघा सात कठ्ठा १५ दशमलव ७५ धुर हुनेछ । हालसम्म पोखरामा तीन हजार सात सय रोपनी र काठमाडौंमा सात हजार रोपनी विमानस्थलको स्वामित्वमा छन् । रोपनीको हिसाब गर्दा भैरहवा विमानस्थल करिब १० हजार रोपनीको हुनेछ । 

नयाँ थपिएको जग्गामा राडार, सुरक्षा, ह्यांगर, कार्गो, आयल निगमको डिपो, अध्यागमन, मर्मतसम्भार क्षेत्र, क्याटरिङ, पार्किङ स्थल र थप टर्मिनल भवन हुनेछन् । 

उक्त क्षेत्रफलले आगामी ५० वर्षसम्म अन्तर्राष्ट्रिय उडानका लागि क्षमता राख्ने आयोजना प्रमुख शर्माको भनाइ छ । अहिले भने आन्तरिकतर्फ दैनिक दैनिक ५/६ वटा मात्र नियमित उडान हुँदै आएको छ । एक सय सिट क्षमताका जहाजले यसमा उडान भरिसकेका छन् । 

चिनियाँ कम्पनी र नेपाली सब-कन्ट्रयाक्टर नर्थवेस्ट नेपाल इन्फ्रा प्रालिबीच लेनदेनको विवादका कारण लामो समय काम रोकिएको थियो । नेपाल सरकारले गम्भीर चासो देखाएपछि चीनबाटै मजदूर ल्याएर चिनियाँ कम्पनीले काम अगाडि बढाएको थियो । 

गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर एसियाली विकास बैंक (एडीबी)ले भैरहवा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन लगानी गरेको हो । त्यसका लागि एडीबीले ४०.५, साउदी अरेबियाको साउदी फन्ड (ओएफआईडी) ३०.५, एडीबीकै अनुदान १८ प्रतिशत र नेपाल सरकारको ११ प्रतिशत लगानी रहनेछ । 

विमानस्थलबाट प्रदेश-५ मा पर्ने प्युठानको चाल्नेटार र गुल्मीको सिमीचौरमा पनि घरेलु उडान सञ्चालन हुनेछन् । नेपाल-भारत सीमानजिक भएकाले गोरखपुर र लखनऊसम्मका भारतीय नागरिकले यस विमानस्थलाई प्रयोग गर्ने अपेक्षा छ । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को कोड 'फोर-ई'अनुसार तीन हजार मिटरको धावनमार्गमा बोइङ-७७७ सम्मका विमानहरूले उडान र अवतरण गर्न सक्छन् । त्यो भनेको चौडाइ ५२ मिटर देखि ६४ दशमलव ९९ मिटरसम्मका विमान हुन् । 
प्रतिक्रिया दिनुहोस्