बिहिबार, मंसिर ५, २०७६

ब्लग

विश्वकप र क्रोएसियाकी राष्ट्रपतिबाट के सिक्ने?

क्रोएसियाका कप्तान लुका मोड्रिकलार्इ अँगालोमा कसेर आँशु झारेको दृष्य सार्वजनिक भए, दृष्य हेर्ने जो कोहीको आँखा रसाए। उनले पराइ भूमीमा अन्तिम खेल हार्दा लागेको खेलाडीको मनको घाउमा मलम लगाउन आमाले आफ्नै बालकलार्इ काखी च्यापेझैं अँगालोमा कसिन र आँखाबाट आँशु खसालिन्।

विश्वकप र क्रोएसियाकी राष्ट्रपतिबाट के सिक्ने?
रुसमा भएको २१ औं संस्करणको विश्वकप फुटवलको ट्रफी फ्रान्सले उचाल्यो। यो महासंग्रामलाई धेरै नेपालीले महान चाड दशैं, तिहार र बुद्ध जयन्तिभन्दा धुमधामले मनाए। विश्वकपमा कुन देशले जित्ने र हार्ने नाममा करोडौंको सट्टेवाजी भयो। सत्तारुढ दलका नेताज्यूलाई राज्यले पाँच तारे होटल याक एण्ड यतिमा मदिरापानसहित विश्वकपको दृष्यपानको व्यवस्था गर्‍यो। करोडौंको विदेशी कपडा, टाला विक्रि भए, अर्बौंको मदिरा खपत भयो। अनेकौ खेलाडीका तरिका, काईदा, क्षमता र योग्यता देखेर उफ्री-उफ्री मच्चिएर हल्लाउने, हल्लिने र चिच्यानेको संख्या कम थिएन्।
 
तर यहाँ भन्न खोजेको क्रोएसियाजस्तो द्वन्द्वको ज्वालामा लपेटिएको देशले विश्वकपको ट्रफि झण्डै उचाल्दा विश्वका एक-से-एक शक्ति राष्ट्रको सामुन्ने मुटु थर्काउन पछि परेन। जनताको सुख-दुखलाई आफ्नै सुख-दुख सम्झने राष्ट्रपति त्यहाँ पनि रहेछन्। राष्ट्रपति किटारोविचले खेलप्रतिको प्रेम र खेलाडीप्रतीको प्रोत्साहन र ममत्वको व्यवहारले साँच्चै जो कोहीको मन छुन्छ। जब उनले क्रोएसियाका कप्तान लुका मोड्रिकलार्इ अँगालोमा कसेर आँशु झारेको दृष्य सार्वजनिक भए, दृष्य हेर्ने जो कोहीको आँखा रसाए। उनले पराइ भूमीमा अन्तिम खेल हार्दा लागेको खेलाडीको मनको घाउमा मलम लगाउन आमाले आफ्नै बालकलार्इ काखी च्यापेझैं अँगालोमा कसिन र आँखाबाट आँशु खसालिन्। क्रोएसियाकी राष्ट्रपतिसँग यि खेलाडीको कुनै साइनो वा नाता छैन, छ भने केवल देशको नागरिकको नात र साईनो। तर, उनले कति मायाँ, सद्भाव, समर्पण र देशभक्ति देखाइन? यो कुनै पनि तुलो हालेर जोख्न र भाउ लगाउन मिल्दैन् जुन अतुलनिय र अमूल्य छ।

के हामीले र हाम्रा देशका शासक वर्गले यो दृष्यबाट केही सिक्न मिल्दैन? झम-झम झरीमा पनि फाईनल खेलमा शक्ति राष्ट्र फ्रान्सको हातबाट ट्रफि खोस्न नसक्दाको पीडा र दर्द खेलाडिसँगै कसरी साट्न सकिन?

 जहानियाँ राणा शासन, पञ्चायति व्यवस्था, लोकतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा नेपालमा शासक वर्गको थिचोमिचो र सामन्ती संस्कारबाट जनताले मुक्ति पाएका छैनन्। जनतालाई आज पनि रैति सम्झन्छन् नेपाली शासकहरुले। 

नेपालकी राष्ट्रपतिबाट के त्यो कल्पना हामी गर्न सक्छौं? नेपालका प्रधानमन्त्रीबाट के त्यस्तो व्यवहारको सपना देख्न सकिन्छ? मलाई लाग्छ, मुस्किल, कठीन र असम्भवप्राय छ। नेपालका राष्ट्रपति वा प्रधानमन्त्रीले पानीमा अलिकति भिजेको इतिहास (पदमा हुँदा) छैन, आफैँ छाता ओढेको घटना वा खेलाडीलाई भेटेर हात मिलाएको, हेरेको वा अभिवादन गरेको दृष्य देख्न पाइएको छैन।
 
हुन त नेपालका प्रधानमन्त्री वा राष्ट्रपतिले एउटा खेलाडीलाई छुन गयो भने गोमन सर्पजस्तो फँडा उठाएर सादा पोशाकका सेना र प्रहरीले पछाडिबाट चिमोट्ने, पाखुरा समाएर तान्ने, घेरा हाल्ने गर्छन। तर त्यहाँ त यस्तो दृष्य थिएन? नेपालको यथार्थता हेर्ने हो भने सबैभन्दा असुरक्षीत त जंगी अड्डा र प्रहरी हेडक्वाटर, राष्ट्रपति कार्यालय वा प्रधानमन्त्री निवास वालुवाटार देखिन्छ। तत् तत निकायमा दर्शन गर्न कति कठिन छ? गएमा टोपी लगाएर, तिन पुस्ते टिपाएर सिफारिसकर्ता र सँगै जाने सुरक्षाकर्मीका जवानसँगै राख्छन, न की उ कुनै कैदी वा बन्दी अथवा अभियुक्त हो। प्रधानमन्त्री कार्यालयमा त तीन ठाउँमा नाम टिपाएर भित्र छिर्नुपर्छ।
 
राष्ट्रपतिले जनताको सेवा त परै जाओस कतै जानु पर्‍यो भने सर्वसाधरण जनतालाई एक घण्टादेखि हिँड्न र सवारी कुदाउन रोक लगाउँदै अघोषित कफर्युबाट हैरान पार्छन। राष्ट्रपतिको सवारी भएको बेलामा सुरक्षा खतरा हुन्छ भन्दै एम्बुलेन्सलाई रोक्ने प्रहरी भएको देशका नागरिक हौं हामी। 

डनले मोटरसाईकल हुँइक्याउँदा छेक्ने, रोक्ने ल्याकत नभएका प्रहरी र ट्राफिक, बिरामी भएर छटपटिँदै अस्पताल जान लागेको एम्बुलेन्स र बिरामीलाई अस्पताल जानबाट रोक्ने सुशासन भएको देश हो।
 
सरकार प्रमुख.. शासक होइन, सारथी हो भन्ने अनुभूति दिलाउन नेपालका राष्ट्रप्रमुख र सरकार प्रमुखले क्रोएसियाकी यी राष्ट्रपतिले देशका खेलाडीप्रति देखाएको सद्भाव र प्रेमबाट केही सिक्न सक्छन? कि उडाउने हो। ओ हो नेपालका राष्ट्रपतिले यस्तो गरे त यसो भन्छ, उसो भन्छन... कुरा काट्छन भन्दै कुतर्क गर्ने हो?

लोकतन्त्रमा शासक र शासित हुँदैन भन्ने सास्वत मान्यतालाई नेपालका शासकले बुझ्न सकेका छैनन्। उनीहरु आफू खेलाडीलाई भेट्न जान हुँदैन। समय हुन्न। शितलनिवास र वालुवाटारमा बोलाउँछन, अभियुक्त झैं लाईन लगाउँछन, यहाँ बस, उहाँ बस, नजिक नजानु, नछुनु, भन्दै मर्यादाको पाठ घोकाउँछन्। समर्पण, विश्वास र सम्बन्धलाई मर्यादाको लेपन लगाएर कुसंस्कारको नजिर पढाउँछन्।

राष्ट्रपति र प्रधानमन्त्री भए पछि जनताका छोराछोरीको घर जान हुन्न। छुन ह्न्न, बोल्न हुन्न। छाता ओड्न, गर्मीमा कोट हातमा बोक्न हुन्न र जुत्ता चप्पल आफैँ लगाउन हुन्न भन्ने संस्कारलाई नैतिकताको कसीमा हेरिने देशमा परिवर्तनको छलाङ मार्न सकिएला?

सिक्ने गर कुतर्क गरेर कसैले अनुभुत गर्न सक्दैन। आफूतिर नहेर जनतातिर हेर। अनि मात्र नेता बन्न सक्छौ राज नेता बन्न सक्छौ, नागरिक र जनतालाई घुर्क्याउने, चेतावनी दिने र तर्साउने गरेर मन जित्न सकिन्न। मन फाट्यो भने सिलाउन मिल्दैन ...। 
 
प्रतिक्रिया दिनुहोस्